आमाको वेदना / गोपालप्रसाद रिमाल

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदा कुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।
एउटा आगो,
एउटा रश्मिपुञ्जको उदय भइदिए कस्तो हुन्थ्यो,
जसले यस तमलाई ज्योतिर्मय तुल्याइदेओस् !
कस्तो हुन्थ्यो !!
* * *
अनि एक झिसमिसे बिहान,
जब सूर्यले आफ्नो पहिलो सुनौलो तीर
अन्धकारतिर हानेका मात्र के थिए-
मलाई मीठो थाहा भयो ।
मभित्र एउटा आगो जन्मेको छ,
जो बिस्तारै रूप पाउन लागिरहेछ ।
यस ज्ञानले मेरो मस्तिष्कमा
सपनाको वसन्त ओइरिदियो;
आशाको साउने भेल पोखिदियो;
मेरो खुट्टा भुइँमै रहेन ।
साथसाथै त्यस आगाको आहारा भएर बेह्रिनुपरेकाले
म संसारको निम्ति
पलमा देखिने पलमा हराउने
बिजुलीझैँ भएँ ।
* * *
त्यसले रूप पाउन थाल्यो;
घाम-जून, जल-थल, आकाश समीर सबले
त्यसको स्याहारमा सगाइदिए ।
कैयौँचोटि थाहा पाएँ ।
मेरो मुटुको ढुकढुक
सिर्जनाको स्पन्दनसँग दयालु भएर चलिरहेछ ।
* * *
त्यो जन्म्यो ।
मैले थाहा पाएँ, संसारमा किन फूल फुल्दछन् !
त्यसको निम्ति मेरो स्नेह दशधारा भएर बह्यो ।
ताराहरूले
रातमा सुतेकी वसुन्धरालाई जगाउने
झोलुङ्गे गीत मलाई सिकाइदिए ।
त्यो हुक्र्यो ।
* * *
म आमाको आशिष
आकाशजत्तिकै प्रशस्त छ-
उता जीवनको औँसीमा कल्पित त्यो आगाको झिल्को
मेरा मनका लहरहरूसित खेल्दै
शुक्लपक्षको
चन्दमाजस्तै भएर बढिरहेछ ।
यता त्यसलाई जन्माउँदा हुर्काउँदा भोगेको
सारा वेदना
छातीभित्र रही-रही चिच्याइरहेछ ।
के त्यो भने जस्तो होला !!

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom