Loading

आमा बन्यौ निष्ठूर / रुद्र ज्ञवाली

Rudra Gyawaliसम्वत् साल थियो बहत्तर नयाँ बैशाख मैन्हा थियो
बाह्रौं सौर्य गते र सप्तम तिथी आकाश मैलो थियो
छुट्टीमा शनिवारको दिन सबै सामान्य लाग्थ्यो तर
घुम्दै बाह्र थियो सुई समयको काँपिन् धरा थर्थर

घाँटी च्याप्प सुक्यो र ढक्ढक गरी बढ्दै गयोे स्पन्दन
छातिभित्र अनिष्टको अगतिलो घण्टी बज्यो टङ्टङ
हल्लिए सबथोक कम्पित भए गाग्री घडा पल्टिए
ढोका झ्याल दलिन कट्कट गरी थर्केर काँप्दै थिए

भुक्थे कुक्कुर वस्तुभाउ डरले बाँ बाँ कतै गर्दथे 
छोडी गुँड कराउँदै वनभरी पँक्षी उडेका थिए 
भाँडा वर्तन टाँडबाट घरका झर्दै र फुट्दै थिए
सग्ला बोट बुट्यान जे जति थिए ढल्दै र उठ्दै थिए

भान्सामा म थिएँ दुधे शिशु टिपी च्यापी उठें काखमा 
हल्लायो झन जोडसँग र कुदें वेतोडले त्रासमा
गर्दै ढल्पल बल्तल्ल दगुरी कुल्चें जसै आँगन
काटेको रुखझैं ढल्यो घर स्वयं गर्दै ठूलो गर्जन

धूलो बुङ्ङ उड्यो सबैतिर निशा कालो छरेझैं भयो
पैताला मुनिबाट यो जगत नै फाटी झरेझैं भयो
सग्लो गोठ थियो अझै र त्यसमा आसा अडेको थियो
आँखाकै अघि जीर्ण गोठ पनि त्यो मुर्दा बनी पल्टियो

चारैतर्फ विभत्स दृश्य छ कतै देखिन्न सग्लो घर 
आत्तिएर गुहार माग्दछु कतै पाउन्न क्यै उत्तर 
गाऊँ टोलभरी सुनिन्छ ननिको चित्कार मात्रै अहो
सारा ध्वस्त भयो निमेष भरमै हे दैव यो के भयो

भत्क्यो रे भिमसेनको धरहरा यो देशको गौरव
सिन्धु पाटन दोलखातिर अझै गर्दै छ रे ताण्डव
भत्क्यो सुन्दर त्यो कला मुलुकको स्वाहा भयो सम्पदा
भत्कियो सबथोक हेर्नु कसरी यो देशको दुर्दशा

आसा जे मनमा थिए ति घरका भित्तासँगै चर्किए
बाँकी छैन कुनै कुरा घरसँगै भत्केर टुक्रा भए 
बस्ने बास ढल्यो र ओत रुखको लिएर बाँच्नु प¥यो
खाली पेट छ बस्त्र छैन तनमा के भोग्नु ऐले प¥यो

केही छैन खबर् उता खसमको चिन्ताग्निमा जल्दछु
आउन्नन् यस हालमा पनि अझै सन्तापले मर्दछु
ज्यूदैछौ कि तिमी प¥यौ प्रलयमा जल्दैछु यै तापमा 
बाटो बन्द छ घाइते म छु स्वयं खोज्दै म जाउँ कहाँ

भन्थे संकटका घडी मनुजको हो दैव उद्दारक
खै आउन्न लिएर राहत कुनै भाग्यो कहाँ इश्वर
आमाबाट कदापि हुन्न ननिको भन्थे सबैले तर
आमा हौ धरणी परन्तु अहिले आमा बन्यौ निष्ठुर

Segments: 
Author: 

Comments