Loading

आजको राशिफल/ चार्ली डेल्टा बराल

Rasifalकिशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो शत्रु मभन्दा धेरै बलियो छ। ल भन्, अब कसरी विजय प्राप्त गरुँला त्यो शत्रुमाथि? बरु उसैले पो ममाथि विजय प्राप्त गर्ने भो। अनि आजको यो मेरो राशिफल मेरैलागि शत्रु हुने भयो कि भएन?

शिव : हैन, कसलाई शत्रु बनाइस् र शत्रुविजयको कुरा गर्दैछस् ए किशोर ?

किशोर : छ नि , त्यै छुल्याहा कनकसिंह । सा...ले हुँदै नभएको कुरा हाकिमलाई सुनाउँछ मेरो बारेमा । अनि हाकिम जहिलेपनि मसँग आगो । हेर् न शिव, त्यो एकोहोरे हाकिमको आजको राशिफल पनि “ शत्रु पराजय हुने” भन्ने रै'छ । ल भन् त, आजको मेरो एक्लो राशिफलले ती दुई शत्रुमाथि विजय प्राप्त गर्ला त?

शिव : ए किशोर ! हिजोको मेरो राशिफलमा के लेखिएकोछ, थाहा छ? पुराना साथीसँग भेटहुने । भयो पनि। शिवमन्दिरमा पुराना साथीसंग भेट भयो । मेरी श्रीमती छक्क परिन्, कस्ता जान्ने ज्योतिषी भनेर । मचाहीँ छक्क परिनँ । मेरै धनु राशिका अरू कुनै साथीको पनि पुराना साथीसँग भेट भएन । मैले भने नि! मेरा जुन पुराना साथीसंग भेट भएको थियो, तिनको राशि नै अर्कै । उनको तुला । तुला राशिमा पुराना साथीसँग भेट हुने कुनै उल्लेख थिएन ।

हेर किशोर! ज्योतिषीहरूको विद्यानै शव्दजाल फ्याँक्ने हो , मिलोस् कि नमिलोस् । सुन् , एउटा ज्योतिषीको कथा ।

म बाह्र वर्ष हुँदाको एउटा रमाइलो घटना अझै ताजा छ । एक दिन त्यस्तै दिउँसोको एक बजेको थियो होला, गेरुवस्त्र लगाएको एउटा जटाधारी जोगी भासिएको स्वरमा अलक निरन्जन भन्दै हाम्रो घरको पिडीमा आएर थचक्क बस्यो अनि पिडीकै खम्बालाई अंगालो हालेर खुइय्य गर्दै खम्बामै टाउको अड्यायो । मेरो बाले बोल्नुभन्दा पहिल्यै जोगीले सकिनसकी बोल्यो – “घरधनी बाबु ! हिजोदेखि यो पेटमा चाइमाइ केही चारो परेको छैन । लौ न केही खाऊँ” । मेरे बा जोगी संन्यासी भनेपछि मानभाउ गरिहाल्ने । आमालाई अह्राई हाल्नुभयो – “ए शिवकी आमा ! मोहीमा सख्खर हालेर एक ठूलो गिलास झट्टै ल्याइहाल् । दूध पनि तताई हाल । गुरुलाइ दूध चिउरा केरा ख्वाई हाल्नुपर्यो।"

मोही खाई सकेपछि जोगीका आंखा ताजा र झरिला देखिए । बाले गुन्द्रीमाथि राडी ओछ्याउनु भयो र जोगीलाई आरामसंग बस्न अनुरोध गर्नुभयो। दूध चिउरा केरा पनि आइपुग्यो। दूधमा बालेनै चिउरा हाल्नुभयो र बोक्रा छोडाएर पांच कोसा मालभोग केरा दूध चिउरामै हालिदिनु भयो। जोगीले पनि दूध चिउरा केरा मुछेर मज्जासंग खायो । खाईसकेपछि ओम् भन्दै ढ्याउऽऽ डकारेर मुख चठ्यो अनि “घरधनी बाबु ! चाइमाइ एकछिन पल्टन्छु है” भनेर आफ्नो कुटुरोलाइ शिरान बनाई सुत्यो । जोगी चार बजेतिर बिउझ्यो अनि उठेर बस्यो । बाले कुरा कोट्याउदै सोध्नुभयो : गुरु ! तपाईले कहिलेदेखि संन्यास ग्रहण गर्नु भयो ?

“घरधनी बाबु ! म संन्यासी भएको चाइमाइ तीन वर्ष भयो । कति मायामोहको जंजालमा अल्झी रहनु भनेर चाइमाइ मन बिरत्तिएर आयो अनि सबै सांसारिक मायामोह त्यागेर संन्यासी भएँ” जोगीले भन्यो ।

“गुरू तेसोभए तपाईको घर कहाँ हो र घरमा को को छन् ?” बाले सोध्नुभयो ।

“घरधनी बाबु ! चाइमाइ मेरो घर पूर्व २ नं. मा छ । तीनभाई छोरा र चाइमाइ दुईबहिनी छोरी छन् । अनि मेरी बुडी पनि छ... भन्छु भन्न त... चाइमाइ तीन वर्षदेखि मरेबांचेको केही थहा छैन” जोगीले तरक्क आंसु चुहाएर भन्यो ।

“संन्यासी हुनुअघि के गर्नु हुन्थ्यो त गुरु ?” बाले सोध्नु भयो ।

“घरधनी बाबु ! चाइमाइ म ज्योतिषी हूं । बनारसमा चाइमाइ ज्योतिषशास्त्रबमा आचार्य गरेको मान्छे । गाउंघरमा चाइमाइ आफ्ना संतानको राशिफल हेरिदे, जन्मकुण्डली बनाइदे, ग्रहदशा हेरिदे भनेर आमाबाबु आइरहन्थे । राम्रै थियो” जोगीले भन्यो ।

“गुरु ! तपाई त ज्योतिषी पनि हुनुहुदोरैछ । मेरो छोरो शिव बाह्र वर्षको भइसक्यो र पनि जन्मकुण्डली बनाएको छैन । ग्रहदशा हेराएको पनि छैन । अब यो सबै काम गरिदिने तपाईको जिम्मा । मेरो घरमा तपाई मन लागुन्जेल बस्नुहोला” बाले जोगीलाई भन्नुभयो ।

“घरधनी बाबु ! चाइमाइ यो जोगी एकै ठाउंमा त के बसिरहन्थ्यो । भोलिदेखि चाइमाइ म तपाईको छोराको जन्मकुण्डली बनाउने र ग्रहदशा हेर्ने काम शुरु ग्रिहाल्छु” जोगीले भन्यो ।

भेलिपल्ट देखि मेरो जन्मकुण्डली बनाउने र ग्रहदशा हेर्ने काम शुरु भयो । जन्मकुण्डली बनाउदै जांदा र ग्रहदशा हेर्दै जांदा एकाएक जोगीले बरर्र आंखाबाट आंसु झार्दै रुन्चे ओठ हल्लाउन थालिहाल्यो । जोगी रोएको देखेर मेरो बाको ओठतालुनै सुकेर आएछ । जोगीले बकिहाल्यो – “घरधनी बाबु ! चाइमाइ शिवको ठूलो खड्गो आउँदैछ । चाइमाइ यो वर्षभित्रै आउदैछ” । जोगी किन रोयो भनेर बाले बल्ल बझ्नु भएछ । अनि त बा पनि रुन थाल्नुभयो । बा रोएको देखेर आमा पनि रुन थाल्नुभयो । बाआमाको म एक्लो छोरो। खपीनसक्नुको पीर त पर्ने नै भयो । बाआमा रोएको देखेर म पनि रुन थालें । चारजनाको या रुवाबासीले छिमेकीलाई पनि निम्त्यायो । मान्छे जम्मा हुने भैगए । एकछिन पछि बाले आंसु पुछ्तै सोध्नुभयो –“गुरु ! शिवको यो खडगो कसरी टर्छ त” ?

“टरिहाल्छ नि । चाइमाइ पूजापाठ, शान्तिस्वस्ति गरेपछि खडगो तेसै टर्छ । चाइमाइ पीर गर्नुपर्दैन । मेरो त चाइमाइ मेरी बुढीले दिनकादिन कति खडगो काटती हो भनेर पो चाइमाइ आंसु झरेको । बुहारीले चाइमाइ राम्रोसंग खान दिन्छन् दिदैनन् ? चाइमाइ छोराले लाउन दिन्छन् दिदैनन् ? यस्तै सम्झनाले चाइमाइ मन चरक्क चिरिन्छ” भन्दै मायामोह त्यागेर हिँडेको जोगी भक्कानिएर रोयो ।

हामी केटाकेटीलाई त्यो जोगीको चाइमाइ थेगो सुन्दा खूब रमाइलो लाग्थ्यो । अनि चाइमाइ जोगी भन्न थाल्यौं । हाम्रो गाउंमा तेस्तै पचीस घरधुरी थिए । चाइमाइ जोगी झण्डै एकमहिना जति हाम्रो गाउंमा बस्यो । केटीहरुको चिना वा जन्मकुण्डली बनाउने चलन थिएन । तर दसजना केटाहरुको जन्मकुण्डली बनायो र भविष्यमा कस्ले के गर्नुपर्छ भनेर राम्रोसंग अथ्र्यायो । गाउंबाट बिदा हुने बेलामा नगद र जिन्सी आएको भेटीमा बोक्नसक्ने जति चिउरा र सख्खर राखेर बांकी जिन्सी गाउंकै साहुलाई बेच्यो ।

तर हेर किशोर ! त्यो ज्योतिषी जोगीले यी पनि धेरै बांच्छन् भनेका तीनजना केटा आठ वर्ष नपुग्दै बिते।

किशोर : ए शिव ? तँ कताको म कताको । कामको सिलसिलामा हाम्रो भेट भयो । मिल्ने साथी पनि भयौं । काठमाण्डूमा बसुन्जेल हाम्रो भेटघाट हुने नै भयो । चाइमाइ जोगीको कथा सुनाइस् भने म पनि एउटा जोगीको विचित्र कथा सुनाउंछु , सुन् ।

पशुपतिको कैलाश डांडाको चौरमा एउटा जोगी सानु कुटी बनाएर बस्न थाल्यो । गाउंका केही गंजडी केटाहरु गांजा खाने लोभले जोगीकहां गए । जोगीले गजडी केटाहरुलाई सम्झाउंदै भन्यो – “बाबु हो ! म गांजा, सिगरेट, रक्सी, भांग, धतुरो. अफिम आदि कुनै पनि लागूपदार्थ खान्न । यी खाने चीज पनि होइनन्, खानु पनि हुदैंन । तपाईहरु पनि नखानोस् । यो अनमोल जीवनलाई राम्रो राम्रो काममा लगाउनोस्।"

गंजडी केटाहरु ‘यो त अर्कैखाले जोगी परेछ’ भन्दै फर्के । गाउंका साथीभाई र मान्यजनहरुलाई पनि जोगीले भनेको कुरा सुनाए । त्यसपछि गाउंका केही मान्यजनहरु जोगीकहां गए । कुरा गर्दै जांदा यो कुनै चानचुने जोगी होइन रहेछ भन्ने निस्कर्षमा पुगे । मृदुभाषी, वाकपटुता र गहन अध्ययनको धनी यो जोगीको चर्चा सबैतिर हुनथाल्यो । एकदिन वार्तालापकै सिलसिलामा एक सज्जनले सोधिहाले – “गुरु महाराज ! तपाई कहांदेखि आउनु भयो र संन्यास लिएको कति भयो ?"

जोगीले भन्न थाल्यो – “वाह्र वर्षको उमेरदेखिनै म जोगीसंन्यासीको संगतमा लागें । उनीहरुबाटै मैले अर्ति, उपदेश र शिक्षा पाएको हूँ । पछि गएर मैले आदरणीय, श्रध्देय एवम् परमपूज्य गुरुदेव बाल ब्रह्मचारी श्री १००८ स्वामी ज्ञानानन्द सागरजी महाराजबाट दीक्षा प्राप्त गरें । परमपूज्य गरुदेवले मलाई पनि बाल ब्रह्मचारी श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती जस्तो गरिमामय सम्मानबाट विभूषित गर्नुभयो । आज आसामका भक्तजन र जनसमुदायले पनि मलाई यसरी नै चिन्दछन् । अहिले म परमपूज्य गुरुदेवकै आज्ञा अनुसार देवादिदेव महादेवबाट संरक्षित यस पावनभूमि नेपालमा श्री पशुपतिनाथ भोलेबाबाको दर्शन गर्न आसामबाट आएको हूँ” ।

जोगीका भत्तहरु दिनप्रतिदिन बढन थाले । भक्त भएका साहुमहाजनले त्यो साधारण कुटीलाइ सुविधासम्पन्न भव्य आश्रममा परिणत गरिदिए । अव जनसाधारण र भक्तहरुको भीड थाम्न नसकेर जोगीले समय निर्धारण गर्यो । विहान ९ बजेदेखि १० बजेसम्म जम्मा एक घण्टा साधारण भक्त र सर्वसाधारणलाई धार्मिक प्रवचन दिनथाल्यो । अरु गण्यमान्य र साहुमहाजनलाई भने तोकेको विशेष समयमा भेट दिनथाल्यो । आश्रमको सम्पूर्ण देखभालका लागि थुप्रै चेलाचेली मध्येबाट तीन ओटी चेलीलाई मात्र चयन गर्यो । आश्रमको गतिबिधि अव यिनै तीनटी चेलीको चांजोपांजोमा चल्नथाल्यो ।

बझिनस् के शिव ! एकदिनको कुरा हो । म विहान घुम्नजांदा कैलाशडाडामा पुगें । त्यस्तै सात बजेको थियो । आश्रममा ठूलो भीडं देखें । के को भीडं रहेछ भनेर हेर्दा त जोगीको मृत शरीर पो देखें । चौबीसै घण्टा आश्रममा बस्ने जोगीकी ती खास तीनटी चेली छाति पिटिपिटी रोइरहेका थिए । आंसु त अरुका आंखामा पनि थियो । तर ती चेलीको हृदयविदारक विलाप अचम्मैको थियो । पहिली चेली विलाप गर्दै थिई – “कहिल्यै नमर्ने गुरु आजै मर्नु भो।" दोस्री चेलीको विलाप त झन के भन्ने – “गुरुलाई मरेको कहिल्यै देखेको थिइन आजै देखें”, भनेर मुडंकीले छाति पिटतै थिइ । तेस्री चेली पनि के कम थिइ – “गुरु कहिल्यै मर्दिन भन्नु हुन्थ्यो, आजै मर्नु भो, बेक्सीकै बानले मर्नु भो ।” भन्दै छाति पिटेर अघिल्ली दुई चेलीलाई आंखा तर्दै थिइ ।

प्रहरीटोलीले पनि जोगी कालगतिले मरेको हो कि भवितव्यले मरेको, हो जांचबुझ गर्नथाल्यो । एकएक चिज हेर्नथाल्यो जोगीको दराज खोलेर हेर्दा नोटका बीटा फेला परे । गन्दा १५ लाख रुपिँया रहेछ । केही औषधि पनि फेला परे । पढेर हेर्दा परिवार नियोजनका खाने चक्की रहेछन् । एउटी चेलीले मुख खोलिहाली – “यो ओखती त गुरुले हामीलाई खान दिर्इ राख्नुहुन्थ्यो । यो ओखती खाएपछि कुनै रोगब्याधि लाग्दैन, तिमीहरु सधैं निरोगी हुन्छौ भन्नुहन्थ्यो । बुझ्नेहरु मजासंग हांसे । पाचकको गोली पनि भेटियो । “यो ओखती गुरु आफै खानुहुन्थ्यो । यो ओखती खाएपछि मर्नु पर्दैन भन्नुहुन्थ्यो, आजै मर्नु भो । हामीलाई अनाथ टुहुरी बनाएर जानुभो” भन्दै तेश्री चेलीसंगै अरु चेली पनि विलाप गर्नथाले । खोज्दै जांदा प्रहरीटोलीले केही कागजपत्र भेट्टायो । पढदा एउटा शैक्षिक प्रमाणपत्र रहेछ । टीकादत्त भट्टले संस्कृत साहित्यमा आचार्य उतीर्ण गरेको प्रमाणपत्र भएको पुष्टि भयो । नागरिकताको प्रमाणपत्र पनि भेटियो । यस प्रमाणपत्रमा अछाम जिल्लाको मंगलसेन बस्ने टीकादत्त भट्ट भनी उल्लेख गरेको रहेछ । एकजना प्रहरीले दुबै प्रमाणपत्रको विवरण उपस्थित भीडलाई पढेर सुनायो । भीडबाट दुईजना प्रहरीको अगाडि. आए । “टीकादत्त भट्ट भन्ने मान्छेलाई हामी राम्ररी चिन्दछौं । यो बदमास मान्छे हो । यो चण्डालले मंगलसेनकी दुई सर्किनी केटीलाई बिगारेर बेपत्ता भएको हो । बेपत्ता भएको पनि दस वर्ष भयो । एउटी सर्किनी केटीको त गर्भ तुहाउदा ज्यानै गयो । अर्कीले छोरो पाएर बसेकी छ । यसको श्रीमती र दुई सन्तान पनि छन् ।" अव शंका गर्ने ठाउँ नै रहेन । यो जोगी भनाउँदो मान्छे भारत आसामको नभएर हाम्रै नेपालको अछाम जिल्लाको मंगलसेन निवासी रहेछ।

ए शिव! आजको राशिफलमा यो जोगी मर्छ भनी लेखिएको छ कि क्या हो? पत्ता लगाउनु यसको राशि।

शिव : “ए किशोर ! यहीं बत्तिसपुतलीमा एउटी माता बस्छिन् रे । उनको नाम गोमती भट्टराई हो रे । बहुत जान्ने हुन रे । भूत, वर्तमान र भविष्य तीनै कालको कुरा जान्दछिन रे । जाउं हामी पनि उनकहां । सोधौं न आफ्ना कुरा । हेरौं कत्तिको जान्दछिन् ।

किशोर : शिव ! देखिहालिस् बाल ब्रह्मचारी सच्चिदानन्द सरस्वतीको चर्तिकला । अव माता गोमतीको चर्तिकला हेर्ने भए जाऊँ ।

दिन र समय मिलाएर किशोर र शिव दुवै माता गोमती कहां पुगे । त्यस्तै १२, १३ जना अटाउने कोठा रहेछ । माता चाहीं जालीदार कुर्सीमा बसेकी थिइन् । सबैले देख्नेगरी दानपात्र लेखिएको एउटा खुत्रुके राखिएको थियो । खुत्रुकेको सिसाभित्र हजारको नोटमात्र देखाइएको थियो । किशोर र शिव पुग्दा त्याहां दुइजोडी दम्पति अ-आफ्ना बच्चाका साथमा र अरु तीनजना महिला थिए ।

पहिलो जोडीको श्रीमानले दुखेसो पोख्तै थियो – माता ! यो मेरो छोरो मात्र चार वर्षको भयो । यति सानै उमेरमा यसलाई रक्तक्यान्सर भएछ । नेपालमा उपचार हुन नसकेपछि बम्बइ लगें । त्याहां पनि डाक्टरले निको पार्न सकेनन् । फेरि यसलाई बैंकक लगें । त्याहां पनि डाक्टरले हामीलाई निराशनै बनाए । माता ! अव हामी तपाईकै शरणमा आएकाछौं । खर्चको के कुरा भो र, छोरो निको भए हुन्थ्यो ।" श्रीमतीले पनि गहभरी आंसु पारी श्रीमानको परिचय दिदै भनिन् - "माता ! मन्त्रीज्यूलाई त के भो र । अरु पनि छोरा छन् । मेरो त यत्ति एउटा छोरो हो । यो गयो भने त म निसन्तान भैहाले नि । बरु मेरो सबै सम्पति जाओस् तर छोरो निको होस् । सम्पति भनेको आज जान्छ भोलि आउंछ । छोरो त गा-गएै हुन्छ । माता ! शरणको मरण नगरी दिनुहोला ।"

श्रीमान श्रीमतीको बिलौना सुनी सकेपछि माता गोमतीले थालमा अलिकति चामल हालिन् र चोर औंलाले चामलका गेडा यताउति चलाइन् र एकछिन पछि भनिन्- "मन्त्रीज्यू ! मैले जोखाना हेर्दा देखिसकें । तपाईले गरेको भाकलको त यहां पहाड नै भैसकेछ । त्यसमा दक्षिणकाली माईलाइ कालो बोको भोग चढाउंछु भनेर भाकल गर्नुभएको रहेछ । तर भाकल आजसम्म पूरा गर्नुभएनछ । त्यसैले दक्षिणकाली माईको कोपभाजनमा तपाईको छोरो परेछ । भाकल पूरा गरिहाल्नोस्, छोरो निको भइहाल्छ ।"

मन्त्रीले पनि भने – "माता ! हामीले दक्षिणकाली माईलाइ कुनै भाकल गरेको सम्झना छैन । गरेको भए पूरा गरी हाल्थ्यौं नि।"

माता गोमतीले फेरि भनिन् -"मन्त्रीज्यू ! जोखाना हेर्दा मैले सबै कुरा देखिसकें । तपाईको भाकलको यो पहाडले नै भन्छ –'म मन्त्री भइराखूँ' भनेर तपाईले देवीदेवतालाई म यो चढाउंछु त्यो चढाउंछु भन्दै कतिपल्ट हो कति, भाकल गर्नुभएछ । सम्झना छ ? जनतामा गएर मलाई चुनाउमा जिताउनोस्, म तपाई जिल्लाबासीलाई बाटोघाटो बनाइदिन्छु, स्कूलकलेज खोलिदिन्छु, उद्योगधन्दा खोलिदिन्छु, बिजुलीपानी ल्याईदिन्छु,, अस्पताल बनाईदिन्छु , जिल्लाबासी तन्नेरीहरुलाई जागिर दिन्छु, अरु बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था गरिदिन्छु भनेर जनतालाई गरेको भाकलको छ सम्झना ? ल भन्नोस् मन्त्रीज्यू ! आजसम्म कतिवटा भाकल पूरा गर्नु भो ? जोखानाले भन्छ एउटा पनि छैन।"

माता गोमतीको ब्यंग्य सुनेपछि मन्त्री दम्पति आफ्नो बाटो लागे ।

त्सपछि अर्को दम्पति अधि सर्यो र लोग्ने भन्न थाल्यो –"हजुर ! यो मेरो छोरो दिनकादिन दुब्लाउँदैछ । राम्रोसंग खांदापनि खादैन । जिङरिंग भइसक्यो । सरकारी अस्पतालमा देखाएं । डाक्टर भन्छ – दिशापिसाप जंचा, खकार जंचा, रगत जंचा, छातिको एक्स्रे गरा। कति लाग्छ भनी बुझेको त हजुर ! मेरो त सातो गयो । तेत्रो पैसा म जाबो भरियाले कताबाट ल्याउनु ? बन्दहडताल भएको दिन भरियाले काम पनि पाउंदैन, भोकै बस्नुपर्छ । धन्न यो मेरी जहानले दस घरको धन्दा गर्छे र पेट पलिराछौं । अव यो मेरो छोरो हजुरकै शरणमा छ । यो गरीबमाथि दया गर्नुहोला ।"

माता गोमतीले जोखाना हेरिन् र भनिन् -"तिमीहरुले त दक्षिणकाली माईको भाकल पूरा गरेनछौ नि । तेसैले माई रिसाएकी रैछन्।"

भरियाकी जहानले भन्नथाली – "हजुर ! कति भो कति दक्षिणकाली माईको दर्शन गरुं र पूजा गरुं भनेको । मनको धोको मनमै रह्यो, कहिल्यै पूरा भएन । गरीबले त मनमै भाकल गर्यो बस्यो । तेसैले हो कि छोरामाथि माई रिसाएकी।"

माता गोमतीले भनिन् - "मनले जान्छु भन्नुनै भाकल हो । लौ तिमीहरुले दक्षिणकाली माईलाई कालो बोको चढाउनु, भोग चाही नदिनु । तिमीहरुको छोरोलाई जाती भइहाल्छ।"

अवको पालो एउटी महिला अघि सरिन्, "माता ! म ममता राई हुँ । मसंग दुइटी छोरी छन् । सौता ल्याएदेखि लोग्नेले हामीलाई हेर्नैछाड्यो । हामीलाई अलपत्र पार्यो । हाम्रो त बिजोग हुनेभयो । लौ न माता! हामीमाथि लोग्नेको दया जागोस् ।"

माताले जोखाना हेरिन् र सल्लाह दिइन् - "ममता ! तिमीले पशुपतिनाथ मन्दिरको दक्षिणपट्टि रहेको उन्मत्त भैरवलाई नबिराई दस दिन पूजा गर्नु । तिम्रो लोग्ने तिमीसंगै फर्केर आउंछ।"

यो सुन्नासाथ ममताले माता गोमतीको पाउ समात्तै भनिहालिन् - "माता ! यो बुध्दि मलाई पहिल्यै किन आएन ? मेरी सौता त सबदिन पशुपति जान्छे र उन्मत्त भैरवको पूजा गर्छे । मेरो आंखा खोलिदिएकोमा माताको जय होस् ।"

अर्की महिला अघि सरिन् - "माता ! म रेखा आले हूं । मेरो बिहे भएको पांच वर्ष भयो । मबाट सन्तान भएन भनेर लोग्ने र सासूससुराले यो त बांझी रैछ भन्नथाले । लोग्ने अर्को बिहे गर्छु भन्छ । म के गरुं अव ? मबाट कसरी सन्तान होला ? माता ! मेरो उद्दार गरिदिनोस् ।"

माता गोमतीले जोखाना हेरिन् र भनिन् - " रेखा ! तिम्रो पेटमा पिसाचले बास गरेकोछ । त्यसैले तिम्रो सन्तान नभएको । अव म मन्त्रेको यो जन्तर तिम्रो घांटीमा बांधिदिन्छु । पिसाच पुच्छर लुकाएर भागिहाल्छ । अनि तिमीलाई सन्तानको सुख प्राप्त हुनेछ । अँऽ रेखा ! सुन, यो जन्तर बांधेर पनि तिम्रो सन्तान भएन भने तिम्रै लोग्नेमा दोष छ , तिम्रै लोग्ने बांझो छ भनी जान्नु । दसोटा बिहे गरेपनि तिम्रो लोग्नेबाट सन्तान हुंदैन।"

माताको यो कुरा सुनेपछि रेखा दंग पर्दै विदा भइन् ।

किशोर र शिवको पालोकी अन्तिम महिला आइन् र भन्नथालिन् - "माता ! म तारा बस्नेत.हूं । छोराको आश गर्दागर्दै पांच ओटी छोरी भैसके । यसले छोरा नपाउने भइ भनेर लोग्ने अर्को बिहे गर्छु भन्नथाल्यो । अर्को बिहे गर्यो भने त मेरो र पांच ओटी छोरीको बिचल्ली भइहाल्यो नि । छोरा पाउने कुनै उपाय छ भने आज्ञा पाउं माता।"

माता गोमतीले जोखाना हेरिन् र तारालाई राम्रोसंग नियाल्दै भनिन् - "तारा ! तिमीले लोग्नेलाई अति छाडा छोडेकी रै'छ्यौ । यसरी छाडा छोड्नै हुदैनथ्यो । लोग्नेलाई छाडा छोडेपछि त छोरा अन्तै जाने भैहाले नि । अनि तिमीले छोरी नपाए कहांबाट पाउंछ्यौ त छोरा ? बुझ्यौ त कुरा ? ल अव तिमी लोग्नेस्वास्नीले पशुपतिनाथ मन्दिर दक्षिणस्थित कामदेवको मूर्तिमा नबिराई दस दिन पूजा गर्नु । कामदेव भगवानको कृपाले तिमीले छोरो पाउनेछ्यौ ।"

अव किशोर अगाडि आए। "माता ! म किशोर भूर्तेल । माताको महिमा, दैवीशक्ति र गुणगान सुनेरनै हामी दुईसाथी माताको दर्शन गर्न आएकाहौं । माताको अदभूत दैवीशक्ति प्रत्यक्ष दर्शन गर्न पाउदा हामी धन्य भएकाछौं । म माताको यो दैवीशक्तिलाई 'या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः' भन्दै वन्दना गर्छु । माता ! म मेरा तीनै कालका केही जिज्ञासा लिएर उपस्थित भएकोछु । माता समक्ष मेरा जिज्ञासा राख्न आज्ञा चाहन्छु ।"

"किशोर ! तिमी आफ्ना जिज्ञासा खुलेर राख । माता दुर्गाको अनुकम्पाबाट म तिम्रा सबै जिज्ञासा शान्त पार्नेछु । तिमी मेरा परमभक्त रहेछौ, खुशी लाग्यो । अपठ्यारो मान्नु पर्दैन । धक फुकाएर सोध" भन्दै माता गोमतीले आश्वासन दिइन् ।

माता ! मेरा जिज्ञासा यस्ता छन् -

मेरो जन्म कुन ठाउँमा, कुन साल, कुन महिना र कति गते भयो ?
मेरो बाल्यकाल कहां बित्यो ?
मेरो शिक्षा दीक्षा र व्रतबन्ध कहां भयो ?
मेरा बिहे कुन कुन साल र महिनामा भयो ?
मेरा दुईगुडबाट कति सन्तान भए ? कति खेर गए ? अव कति छन् ? तिनमा कति छोरा र कति छोरी छन् ?
सौतासौती मिलेर मलाई सुख दिइरहेका छन् कि भुत्लाभुत्ली गरेर दुख दिइरहेका छन् ?

"माता ! मेरा यी जिज्ञासा शान्त भएपछि म आफ्नो भविष्यको जिज्ञासा राख्ने आज्ञा माताबाट पाउनेनैछु", भन्दै किशोरले दुई हात जोडेर माता गोमतीलाई राम्रोसंग हेरे ।

माता गोमती त किशोरको जिज्ञासा सुन्दासुन्दै कालीनीली हंशले ठाउं छोडेकी जस्तै भइ सकिछन् । हेर्दाहेर्दै जालीदार कुर्सीबाट माता गोमती भट्टराइको मुत्रधारा झरेको पो देखियो । किशोरले पनि हत्तपत्त भने, 'ए शिव ! एक अम्खोरा शीतलजल ल्याइहाल , मातालाई ख्वाइहाल्नु पर्यो' । शिवले पनि नजिकै रहेको गाग्रीबाट ढलोटको एउटा ठूलो ग्लासमा पानी ल्याएर दिए ।

"माता ! शीतलजलले मन शान्त पार्छ । भूलेका सबै कुरा मनसपटलमा फुरेर आउंछन्", भन्दै किशोरले त्यो सबै पानी माता गोमतीलाई ख्वाए । माता बौरिनन् । 'शिव ! अर्को एक ग्लास शीतलजल' । शिवले अर्को ग्लास पानी पनि दिए । 'मता ! अर्को एक ग्लास शीतलजल ज्यूनार होस् । यसले माताको दैवीशक्ति एकैछिनमा प्रकट हुनेछ । मेरा सबै जिज्ञासा शान्त हुनेछन्' भन्दै त्यो ग्लासको पानी पनि ख्वाए । तैपनि माता बौरिनन् । त्यसपछि किशोरले ऊ र शिवपछिका आगन्तुकलाई सुनाउदै भने–'मातालाई आराम भएन । माताले आज कसैसंग भेटघाट नगरिकन आराम गर्नुपर्छ ।' अनि माता गोमती भट्टराइलाई सुनाएर भन्यो – 'माता ! यो भक्त नयांनयां जिज्ञासा लिएर मातासमक्ष भोलि फेरि उपस्थित हुनेछ । आजलाई विदा चाहन्छू ।'

माता गोमतीले पनि बोल्नैनसक्ने भासिएको स्वरमा भनिन् - ' भैगो तपाई अव नआउनोस् ।'

शिव– 'किशोर ! तैले माता गोमतीको आजको आधादिनको राशिफल त चौपटै बनाइस् । होस् गर , मौका पर्योभने तेरो पूरादिनको राशिफल माताले चौपट पारिदेलिन् । खूब बाठो भएर मेरा दुईगुडबाट कति सन्तान भए भनिस् । भाउजुले सुन्नुभयो भने खोज्नुहोला तेरो अर्को गुड ।'

किशोर - ' हुदै नभएको गुड कताबाट फेला पार्लिन् र । बरु गोमती माताको चर्तिकला देखिहालिस् । तं आफैं भन्, रेखा आले र उसको लोग्नेको अव तं बांझो र तैं बांझी भनेर कति मारामार हुने हो । तारा बस्नेतकै कुरा गर । तं छाडा दसतिर गएर आउंछस् अनि छोरीमात्रै पाइस् भनेर मलाई दोष दिन्छस् भन्दै लोग्नेस्वास्नीको कति झगडा हुने हो । मैले सोधेका कुरा गर्छस् भने त्याहां झुट बोल्ने कुनै ठाउँनै थिएन । अनि त मुत्नपुगी त्रीकालदर्शिनी माता गोमती । त्रीकालदर्शिनी माता गोमतीमात्र होइन, मै हूं भन्ने त्रीकालदर्शी ज्योतिषीले पनि मेरो प्रश्नको उत्तर दिन त सात जन्म तपस्या गरेपनि तेत्तिकै हो ।'

हेर शिव ! यी फटाहा ज्योतिषीहरुले तेरा जीवनमा घटिसकेका घटनाहरु भन्नै सक्तैनन् । तर भविष्यमा तेरा जीवनमा यस्तायस्ता घटना घटछन् भनेर तंलाई छाति ठोकेर भनिदिन्छन् । घटुन् नघटुन् के मतलब, बकिदिए लेखिदिए पुगिहाल्ने । विश्वास गर्नेले गरी पनि हाल्ने ।

शिव - ए किशोर ! गंगापूर्ण पोष्टमा निस्केको आजको राशिफल पनि हेरिहालौं न । राशिफलको लेखक कोहो थहा छ ? पं. पुरुषोत्तम जमरकट्टेल । उनको राशिफलको कमाल हेर । मिथुन राशिमा सन्तान सुख प्राप्त हुनेछ भन्ने छापिएकोछ । ए किशोर ! तं अव आफैं भन्, के अरु एघार राशि हुनेहरुले आज सन्तान सुख प्राप्त गर्ने छैनन् त ? कस्तो निस्कृष्ट तर्क हो त्यो जमरकट्टेलको । अझ सिंह राशि पढिहेर् परिवारमा माधुर्य छाउनेछ । विद्यामा प्रगति हुनेछ । मन कमजोर हुनेछु । आश्चर्य ? अरु एघार राशि हुनेहरुको परिवारमा माधुर्य छाउने छैन त ? विद्यामा प्रगति पनि हुने छैन त ? हैन कस्तो तर्क हो त्यो जमरकट्टेलको । परिवारमा माधुर्य र विद्यामा प्रगति भैसकेपछि मन कसरी कमजोर हुने ? भन्न खोजेको के ? कि पविारमा माधुर्य नभए, विद्यामा प्रगति नभए मात्र मन कमजोर हुदैन भन्या हो ? ए किशोर ! तैले माता गोमतीलाई मुताएजस्तै, गएर त्यो पं. पुरुषोत्तम जमरकट्टेललाई पनि मुत्नेगरी झापड हानौं न । वृश्चिक राशि हेर् त - सोचेको कुरा पुग्नेछु । के अरु एघार राशि हुनेहरुको सोचेको कुरा पुग्दैन त ? कुम्भ राशि हेर् -फसेको धन उठ्नेछु । अरु एघार राशि हुनेहरु हेर्याहेरै पुर्पुरामा हात लाएर बस्नेभए त ?

ए किशोर ! हुन त म पनि जमरकट्टेलनै हूं । तर त्यो पं.पुरुषोत्तम भन्नेले त जमरकट्टेल थरकै अपमान गर्यो । अवदेखि म त त्यसलाई पं. पुरुषेत्तम कुकुरकट्टेल भन्छु । त्यसलाई कुकुरकट्टेल थरनै सुहाउँछ , बुझिस् ।

किशोर - ल ल झापड दिने कुरा नगर, तंपनि कुकुरकट्टेलनै होलास् । तर के गर्छस् ? यस्तै निरर्थक राशिफलमा विश्वास गर्ने पाठक पनि नेपालमा धेरै छन । यस्तैखाले राशिफलले पत्रपत्रिकाको बिक्री मनग्गे बढाएकोछ । पत्रपत्रिकाले सत्यतथ्य भन्दापनि पाठकको रुचिलाई बढी ध्यान दिन्छन् । अनि तेरोमेरो कोठेगफले केही लछारपाटो लाउदैन । एउटा कुरा बिचार गर् शिव ! एउटा मरेको बच्चाको जन्मकुण्डली बनाउन जमरकट्टेल त के ? मैं हूं भन्ने ज्योतिषीलाई भन्, मजासंग बनाइदिन्छ । मरेको बच्चाले भविष्य निर्माणकालागि भविष्यमा के के गर्नुपर्छ , सबै लेखेर दिन्छ । त्यो बच्चा कतिसम्म बांच्छ त्यो पनि लेखेर दिन्छ । किन भन्छस् भने यी त भविष्यमात्रै देख्तछन् र जान्दछन् । भविष्यवक्ता हुन् । भूत र वर्तमानका वक्ता होइनन् ।

हेर शिव ! अहिले विश्वको जनसंख्या ७ अर्व २० करोड पुगिसक्यो । हामीसंग जम्मा १२ वटा राशि छन् । भाग लगा एउटा राशि कतिजनाको भागमा पर्छ ? एउटा राशि ६० करोड मानिसको भागमा पर्छ । ल भन्, त्यो जमरकट्टेलले लेखेको राशिफल ६० करोड मानिसलाइ ट्वाक्क मिल्छ त? असम्भव । एक दुईलाई मिलिहाल्यो भने पनि त्यो काकताली परेको हो । यिनै काकताली परेकाहरुले पं. पुरुषोत्तम जमरकट्टेल ज्योतिषी त कस्ता जान्ने? भनेर डंका पिटिहाल्छन् ।

विश्वमा अहिले हरेक सेकेण्डमा दुई सय बच्चा जन्मन्छन् भन्ने अनुमान छ । हरेक सेकेण्डको त एउटै राशि हुन्छ । त्यही राशिमा कति बच्चा मरेका जन्मन्छन्, कति जन्मनासाथ मर्छन्, कति केही घण्टा वा दिन वा महिनामा मर्छन् । कोही अन्धा , कोही बहिरा , कोही लाटा, कोही हातखुट्टा बिग्रेका, कोही अतिरिक्त अंग भएका जन्मन्छन् । कति जुम्ल्याहा , तिम्ल्याहा वा चम्ल्याहा वा सोभन्दा बढी पनि जन्मेका छन् । कति शरीरै टांसिएर जन्मेका जुम्ल्याहा पनि छन् । अनि सद्दे जन्मेका मध्येमा पनि त्यही राशिका कति भीख मांगेर हिँड्छन् भने कति अकूत सम्पतिका मालिक छन् । कति कालो अक्षर भैंसी बराबरका छन् भने कति प्रकाण्ड विद्वान छन् । त्यही राशिमा कति जन्मिरहेका छन्, कति मरिरहेका छन् । यसकारण शिव ! पं. पुरुषोत्तम जमरकट्टेल जस्ता ज्योतिषीले निकालेको आजको राशिफल मात्र कोरा कल्पना हो भन्दा अरु ज्योतिषीहरू पनि रिसाउलान् त?

Segments: 

Comments