Loading

आदिकविको गाउँमा जमघट/ लीलानाथ

चुँदी रम्घा (तनहुँ), अषाढ ६ - असारको सिमसिमे पानीमा रुझ्दै राजधानीबाट एक हुल साहित्यकार शनिबार चुदीरम्घास्थित आदिकवि भानुभक्त स्मृति भवनको प्रांगणमा भेला भए । एकातिर असारको चटारो, अर्कातिर झरी परेको मौका । लगाएको बाली उठाउने र धान रोप्ने यो बेलाबाट अलिकति फुर्सद निकालेर आदिकविका सन्तानसँगै उनका छिमेकीको जमघट पनि बाक्लियो । अनि सुरु भयो कविता वाचन । आशु छन्द कवि रमेश खकुरेल कुर्लिए ः

भानुको एउटा सालिक

ढालेर के हुन्छ

उनको प्रतिमा हरेक

नेपालीको मुटुमा छ...

स्कुलेदेखि प्रौढ उमेरसम्मका स्थानीय भानुको गाउमै भएको साहित्य गोष्ठीमा आफ्ना रचना सुनाउन र राजधानीबाट आएका वरिष्ठ साहित्यकारका रचना सुन्न उत्साहित थिए । त्यो अवसर जुटाएको थियो यो वर्ष हिरक जयन्ती मनाइरहेको नेपाली शिक्षा परिषद्ले । परिषदले हिरक जयन्तीका अवसरमा मुलुकभर आफूले विभिन्न साहित्यकारहरूको प्रतिमा स्थापना गरेका ठाउँहरूमा कार्यक्रम गर्दै जाने क्रममा यहा आएको सचिव रमा शर्माले जानकारी दिइन् । यसअघि परिषदले धरानमा यस्तै कार्यक्रम गरिसकेको छ । असार भानुभक्तको जन्म महिना पनि हो ।

त्यस अवसरमा बमबहादुर थापा जिताली, रुद्र शर्मा, सुमन विष्ट, एलिजा ढकालसमेतले रचना

सुनाए । प्रमुख अतिथि रहेका शिक्षा सचिव शंकरप्रसाद पाण्डेले नेपाली भाषाको विकासमा नेपाली शिक्षा परिषदको योगदानको चर्चा गर्दै यस्ता सात्यिक कार्यक्रमलाई शिक्षा मन्त्रालयले अतिरिक्त क्रियाकलापमा राखेर त्यसको प्रबर्धन गर्दै आएको बताए ।

भानु जन्मेहुर्केर बाल्यकाल बिताएको चुदीरम्घामा उनका नाति/पनातिहरूले मुरी/पाथीका दरले दान गरेको माटो -जग्गा) मा भानुभक्त भवन बनाइएको रहेछ । कार्यक्रममा उपस्थित पनाति ८६ वषर्ीय मुक्तिनाथ आचार्य तिनै दातामध्ये एक थिए । भर्खरै सरकारले प्रदान गरेको क्षेत्रीय पुरस्कार पाएको खबर परिषद्की सचिव शर्माले सुनाउँदा उनको अनुहार उज्यालियो । उनी स्वयं पनि लेखक रहेछन् । आह्वान, हितको संवाद, भानुभक्तको रामायणलगायतका कृति उनले लेखेका छन् । आदिकविको नातिको रूपमा चिनिन पाउँदा कस्तो लागेको छ ? यो प्रश्नमा मुस्काउँदै उनले भने, 'त्यो कुलको रत्नका रूपमा चिनिन पाउनु भाग्यको कुरा हो ।'

भानु जन्मोत्सव विकास समितिले भानुभक्तले प्रयोग गरेका सामग्रीहरूको संग्रहालय बनाएको छ । त्यसमा उनले प्रयोग गरेका थाल, कचौरा, गिलास, आरी, पेटारो, हुक्का, किताब राख्ने खटिया, ताई, खुर्पेटो, झारी, ओदान, डडेउरोलगायतका सामग्री संकलन गरेर राखेको छ । आदिकविको गाउँमा स्वदेशीसँगै दार्जिलिङ, सिक्किमलगायतबाट समेत साहित्यप्रेमीहरू आउने गरेको समितिका अध्यक्ष सूर्यभक्त आचार्यले बताए । 'हामी भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थल बनाउने अभियानमा छौं,' उनले भने । भानुको गाउँमा उनका नाममा विद्यापीठ स्थापना भएको छ । सडकको नामकरण उनकै नामबाट गरिएको छ । ढिलै भए पनि भानुको योगदानको स्मरण गर्न थालिएकामा स्थानीयले खुसी व्यक्त गरे ।

[Source: Kantipur Daily]

Segments: 

Comments