Loading

नवआधुनिक रङ्गमञ्चको वर्ष/ कृष्ण शाह यात्री

"नाटकलाई यथार्थको उद्घाटनसित मात्र नजोडी सामाजिक हितसँग पनि जोडेर हेरिन्छ र त्यसै प्रयोजनका लागि नाटक लेखिनु पर्छ ।" महान नाटककार बालकृष्ण समले धेरै अघि उठाएको यो विषयले अहिले नेपाली रङ्गमञ्चामा फराकिलो भूमी पाएको छ । हुन त कला र साहित्यका हरेक अङ्ग समाजसित गाँसिएको हुन्छ । समाज ती विधाहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष निर्देशित भइरहेकै हुन्छ । यहाँ रङ्गमञ्चको सामाजिक उत्तरदायित्वप्रतिको भूमिकाको मात्र चर्चा गर्न खोजिएको होइन । आजको नवआधुनिक रङ्गमञ्चको मुहार कस्तो छ र गत वर्ष यसअर्थमा कस्तो रहृयो भन्ने दृश्य उल्लेख गर्न लागिएको हो ।

अघिल्लो बर्षलाई आधार मान्ने हो भने नेपाली रङ्गमञ्च समाजप्रति बढी जिम्मेवार र परिपक्व बन्दै गएको छ भन्न सकिन्छ । केही अपवादलाई छाड्ने हो भने यो वर्ष रङ्गमञ्चका लागि उज्यालो वर्ष मान्न सकिन्छ । रङ्गमञ्चमा साँच्चै धेरै महत्वपूर्ण कामहरू भएका छन् ।

तीन दशक लामो सङ्घर्षपछि रङ्गकर्मीहरूको छुट्टै प्रज्ञा प्रतिष्ठान गठन भयो यसै वर्षको आरम्भमा । 'नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठान'को विधेयक २०६४ मा पारित भए पनि विविध कारणले प्रतिष्ठान चार वर्ष ढिलो स्थापना भयो । सङ्गीतज्ञ अम्बर गुरूङको कुलपतित्वमा अहिले यस प्रज्ञा प्रतिष्ठानले काम थालिसकेको छ । यस प्रज्ञा प्रतिष्ठान एकातिर आफ्नै भौतिक संरचना र अस्तित्वको लडाई लडिरहेको छ भने अर्कातिर नयाँ नेपालको नयाँ एकेडेमीको स्थापनासँगै जनअपेक्षित धेरैतिरको महत्वाकांक्षालाई सन्तुलनमा राख्दै अघि बढिरहेको छ । गतवर्ष प्रतिष्ठानले पूर्वाञ्चलस्तरिय नाटक तथा सङ्गीत उत्सव लगयात नाटकसम्बन्धी विभिन्न गोष्ठिको आयोजना गर्‍यो । पाँच वर्षदेखि हुन नसकेको राष्ट्रिय नाटक महोत्सवलाई भने निरन्तरता दिन सकेन । २०६८ को आरम्भमा महोत्सव गर्ने तयारी गरिरहेको छ । ७४ वषर्ीय कुलपति अम्बर गुरूले प्रतिष्ठानलाई परिपक्व कदमका साथ अघि डोर्‍याउनेछन् भन्ने धेरैको विश्वास छ । कुशल सङ्गीतकार कुशल प्रशासक र योजनाकारका रूपमा कत्तिको खरो उत्रनेछन् । त्यो अबको तीन वर्षपछि मात्र ठोस रूपमा भन्न सकिन्छ ।

'काठमाडौं अन्तराष्ट्रिय नाटक महोत्सव २०१०' गत वर्षको अर्को ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ । हुन त नेपालमा हरेक वर्षजसो नाटक उत्सवहरू भइ नै रहन्छन् तर आरोहण-गुरूकुलको आयोजनामा सम्पन्न भएको महिनादिने यस नाटक महोत्सवले भने फरक अर्थ बोकेको छ । महोत्सवमा पाश्चात्य र पूवर्ाीय सोह्र देशका रङ्गकर्मीहरू भेला मात्र भएनन् । उनीहरूका प्रस्तुतिले मूलधारको नेपाली रङ्गमञ्चमा थुप्रै महाप्र्रश्नहरू तेस्र्याएर गएको छ । विषयवस्तुको उठान र प्रस्तुति, दर्शक र कलाकारको मनोविज्ञान, अवआधुनिक प्रविधि, विधाभञ्जन र बहुल रङ्गमञ्चीय अवधारणा लगायतका विषयमा उठेका बाक्ला जिज्ञासाहरूले फरक बहस ल्यायो । महोत्सवका सूत्रधार सुनील पोखरेल यसका लागि साधुवादका पात्र बनेका छन् ।

उक्त नाटक महोत्सवका उद्घाटनका दिन राष्ट्रपति डा. रामवरण यादवले भने जस्तै नेपाली रङ्गमञ्चमा गर्व गर्नु पर्ने ठाउँ प्रशस्त छ । यहाँ कालजयी नाटयकृतिहरू लेखिएका छन् । सबैभन्दा लामो नाटकको इतिहास छ हामीसँग । वास्तवमा तीनलाई विश्वमा चिनाउने यस्तै कामहरू हुन् ।

गत वर्षको सन्दर्भसँगै गाँसिएको अर्को महत्वपूर्ण पाटो हो बाल तथा युवा नाटक महोत्सव । भनिन्छ - कुनै पनि मुलुकमा जबसम्म बालबालिकाहरूमा नाटकप्रति सतेचता जगाउन सकिन्न त्यो ठाउँको रङ्गमञ्चको गति र उर्जा न्यून हुन्छ । हामीकहाँ एक दशकयता आएर बालालिका, किशोर र युवाहरूमा केन्दि्रत नाटय जागरणका कामहरू सन्तोषजनक रूपमा हुन थालेका छन् । सरकारीस्तरबाट यसका कुनै पनि काम भएको छैन तर नीजि क्षेत्रमा लोभलाग्दा कामहरू भएका छन् । दर्जनौँ स्कुल र कलेजहरूमा थिएटर क्लब स्थापित छन् जहाँ नियमित रङ्गमञ्चीय गतिविधिहरू भइरहन्छन्् । सन्दर्भ बाल नाटक महोत्सवकै हो । रसियन कल्चर सेन्टर र शैली थिएटरले आयोजना गरेको बाल नाटक महोत्सवमा बालबालिका र किशोर रङ्गकर्मीहरूले देखाएको उत्साहप्रद सहभागिता हेर्दा नेपाली रङ्गमञ्चको ठूलो उर्जा तयार भइरहेको लाग्यो सबैलाई । आयोजक नाटयकर्मी नवराज बुढाथोकीको परिकल्पना सार्थक देखिन्थ्यो । पाका बालकथाकार शान्तदास मानन्धर सातै दिन महोत्सवमा देखिए । महोत्सवबाटै उनले नयाँ उर्जा पाएको बताउँदै भने, "म अब बालबालिकाहरूको लागि नाटक पनि लेख्छु ।"

नाटक साहित्यका अरू विधाभन्दा पृथक भएकाले, पाठ्य मात्र नभई प्रदर्शन-योग्य पनि हुनुपर्छ । २०६७ साल मञ्चीय गुण भएका नाट्यकृति प्रकाशनका दृष्टिले पनि उर्वर वर्ष मान्न सकिन्छ । यो वर्ष कृष्ण पहाडीको 'मरूस्थलको यात्रा', अशेष मल्लको 'जङ्गलमा एकदिन', किशोर अनुरागको 'जङ्गे पिल्लर', डि.बी. किरातीको 'भत्किएका घरहरू', कृष्ण शाह यात्रीको 'निर्वासित मनहरू', 'अतिरिक्त यात्रा' र 'जलपरी', नन्दलाल आचार्यको 'युग उचाल्ने अक्षरकर्मीको अवसान', पुरू लम्सालको 'ठूलीका सपनाहरू', प्रवीण पुमाको 'हेत्छाकुप्पा' आदि नाटयकृति प्रकाशित भए । यो वर्ष नाटक र रङ्गमञ्चमाथि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा डा. अभि सुवेदी -समसामयिक नाटक), कृष्ण शाह यात्री -प्रयोगवादी नाटक), डा. कुसुमाकर न्यौपाने -लोक नाटक), डा. शिव रिजाल -आधुनिक नाटक), आदिका दर्जन बढी कार्यपत्रहरू प्रस्तुत गरिए । नाटयविद् डा. केशवप्रसाद उपाध्यायका अनुसार नेपाली नाटक र रङ्गमञ्चमा अब स्पष्ट उत्तरआधुनिक सङ्केतहरू देखिन थालेका छन् ।

यो वर्ष सर्वनाम नाटय समूह, ज्योतिपुञ्ज साइन थिएटर, मण्डला थिएटर र पाठशाला थिएटरका गतिविधिहरू उल्लेख्य रहे । सर्वनामले यसै वर्ष पुतलीसडकमा आˆनै प्रेक्षालय भवन निर्माण कार्य सम्पन्न गरेको छ । अशेष मल्लको निर्देशनमा सर्वनामबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा नाटकहरू मञ्चन भए । सडक नाटकमा नाम कहलिएका नाटयकर्मी अशेष मल्लको शोध निर्देशनमा यस वर्ष पद्यकन्या कलेजबाट रङ्गमञ्चमाथि केन्दि्रत रही दर्जनबढी शोधपत्रहरू पुरा भए । यसैगरी ज्योतिपुञ्जले सङ्केत नाटक अभियान दश वर्ष पुगेको अवसरमा यो वर्षलाई 'सङ्केत नाटक वर्ष'का रूपमा घोषणा गरी कृष्ण शाह यात्रीको निर्देशनमा वर्षभरी विभिन्न नाटकहरू मञ्चन गर्‍यो । मण्डला थिएटरले काठमाडौँ लगायत मुलुकका प्रमुख सहरहरूमा राजन खतिवडा र समुना के.सी.को निर्देशनमा 'मिस जुली', चरणदास चोर' लगायतका स्टेज नाटक प्रदर्शन गरी मोफसलमा पनि नाटकको राम्रो माहौल बनाइराख्यो ।

पाठशाला थिएटरले फागुन महिनामा गुरूकुलमा दशदिने 'कलेज थिएटर फेस्टिभल'को आयोजना गर्‍यो । यसमा किशोर र युवा रङ्गकर्मीहरूको उल्लेख्य सहभागिता देखियो । महोत्सवका संयोजक सुमन रायमाझीले अर्का वर्ष पनि यसलाई निरन्तरता दिने बताए । यसै वर्ष लिटिल एञ्जल्स स्कुल हात्तीबनले 'पहिलो अन्तरविद्यालयस्तरिय कविता मञ्चन प्रतियोगिता'को आयोजना गर्‍यो । जसमा महाकवि देवकोटा, भूपी शेरचन, माधव घिमिरे आदिका कविताहरू मञ्चन भए । यसैगरी 'ललितपुर उच्च मा.वि.ले 'एकाङ्की नाटक मञ्चन प्रतियोगिता' र काठमाडौँ विश्वविद्यालयले 'अन्तर क्याम्पसस्तरिय नाटक प्रतियोगिता'को आयोजना भयो ।

यो वर्ष काठमाडौमा कोरियाली रङ्गकर्मीहरूले पार्क जोङ उको निर्देशनमा कोरियाली नाटक 'डु इट नाउ'लाई नेपाली भाषामा मञ्चन गरे । निर्देशक जोङ उका अनुसार भाव बुझेर नेपाली भाषामा नाटक तयार गर्न लगभग एक महिना कोरिया र नेपालमा अभ्यास गर्नु पर्‍यो । सम्भवत विदेशी कलाकारले नेपाली भाषामा प्रस्तुत गरेको यो पहिलो नाटक हो । नाटकलाई दर्शकहरूले पनि रूचाएको देखियो । यसै वर्ष चाइनिज गीति नाटक र कोरियन नृत्य नाटक नाटक पनि काठमाडौंमा मञ्चन भयो ।

नेपाली रङ्गमञ्चले यो वर्ष केही मूर्धन्य नाटककार र कलाकारलाई समेत गुमाउनु पर्‍यो । प्रसिद्ध मनोविश्लेषणवादी नाटककार गोविन्द मल्ल गोठाल नाटक र एकाङ्कीमा योगदान दिने फणीन्द्रराज खेताला र बालकृष्ण समसँग लामो समय रङ्गकर्म गरेकी रङ्गकर्मी शान्ति मास्केको यसै वर्ष देहावसान भयो । उहाँहरूको योगदान रङ्गमञ्चले सधैं सम्भिmरहने छ । यो वर्ष समयमा संविधान बनाउन संविधान सभासदस्यहरूमा दबाबसिर्जना गर्न विभिन्न नाटयसमूहरूले नाटक मञ्चन गरे । विदेशी भाषाका अनुवादित नाटकहरू पनि मञ्चन भए । विभिन्न भाषा-भाषीका नाटकहरू समेत मञ्चन भए ।

समग्रमा भन्नु पर्दा २०६७ साल नेपाली नाटक र रङ्गमञ्चका लागि उर्जाशील र महत्वपूर्ण वर्ष बन्योे । वर्षभरी भएका रङ्गमञ्चीय अभ्यास र गतिधिहरू हेर्दा नेपाली रङ्गमञ्च अझै समृद्ध, समाजोपयोगी, समयसापेक्ष र व्यवसायिक बन्दै गइरहेको पुष्टि हुन्छ । नेपाली रङ्गमञ्च अब नवआधुनिक धारमा दौडिन थालेको प्रतीत हुन्छ । यो अझै उज्यालो भविष्यको सङ्केत र अपार खुशीको कुरा पनि पक्कै हो ।

[Source: Gorkhapatra]

Segments: 

Comments