Loading

नतोडिने इतिहास बनाइन् अर्चनाले/ सुरेश सुवेदी

महिला गजलकारितामा अर्चना

वास्तवमै २०३५/४० को गजलकारिता र २०६० भन्दा पछाडिको गजलकारिताको हरेक पक्षमा एउटै रुपबाट मूल्याङ्कन र व्याख्या गर्न सकिन्न। कारण, हरेक सन्दर्भमा २०६० भन्दा पछाडिको गजलकारिताले निकै लामो फड्को मारिसकेको छ। यही समयकी स्रष्टा हुन् सप्रेम अर्चना। नेपाली गजलको समस्या के हो भने, यस क्षेत्रमा सुरुमा लाग्ने स्रष्टाहरुको सङ्ख्या धेरै भए पनि स्थापित भएपछि बिस्तारै उनीहरु गजलबाट पलायन हुन थाल्छन्। नारी हस्ताक्षरमा तुलनात्मक रुपमा यो समस्या अझ बढी छ। यस अर्थमा सप्रेमले पनि आफ्नो गजलकारितालाई निरन्तरता दिने हुन् वा होइनन् त्यो उनमा भर पर्ने कुरा हो। तर, अहिले सप्रेम जुन रुपमा उपस्थित भएकी छन्, त्यो भने नारी गजलकारिताका लागि मात्र होइन, समग्र गजलकारिताकै लागि अत्यन्त सुखद् पक्ष हो। हुनत अर्चना समग्र गजलमा नै आफूलाई अब्बल दर्जामा उभ्याउन सफल छिन्। तर, समग्र गजलकारितालाई एकातर्फ राखेर नारी गजलकारिताको मात्र विश्लेषण गर्ने हो भने, अर्चना नारी हस्ताक्षरको अग्रिम पङ्ति्कमा उभिइसकेकी छिन्। त्यसमा पनि अर्चनाले प्रकाशन गर्न लागेको बहरकेन्द्रित गजलसङ्ग्रह महिला गजलकारिताको इतिहासमा पहिलो गजलसङ्ग्रह हो। यस अर्थमा पनि अर्चनाले महिला गजलकारितामा कहिल्यै पनि नतोडिने एउटा सुन्दर इतिहास बनाइन्। 

आफ्ना गजलमा अर्चना 

इतिहास निर्माण गर्ने नाममा राम्रैखालको होडबाजी चलिरहेको सन्दर्भमा अर्चनाले पनि एउटा इतिहास त निर्माण गरिन्। तर, यो होडमा अरुभन्दा अर्चना किन फरक रहिन् भने उनले कहिल्यै पनि इतिहास बनाउनुलाई लक्ष्य ठानिनन्। बरु उनले गजलमा साधना गरिन्, र नै त आए विविध विषयवस्तुमा यति सुन्दर गजलहरु।

०४६ सालको राजनीतिक परिवर्तनले निर्माण गरेको चेतनशील समाजमा मान्छेका आधारभूत स्वतन्त्रतासँगै हुर्किएकी अर्चनाले यो छोटो अवधिमा यहाँ भएका राजनीतिक उतारचढावबहरु आत्मसात् गरिन्। निश्चय पनि साहित्य भौगोलिक, राजनीतिक, सामाजिक, सांस्कृतिक पक्षभन्दा इतर रहन सक्दैन। कुनै न कुनै रुपमा, यी सबै पक्षको प्रभाव देखिन्छ साहित्यमा। अर्चनाका अधिकांश गजलहरु यही परिदृश्यको सेरेफेरोमा निर्माण भएका छन्। 

अर्चनाका गजलमा प्रयुक्त विषयवस्तु 

अर्चनाले आफ्नो सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई समेटेकी छिन्। अर्चनाका गजलले समेटेका विषयवस्तुमध्ये एउटै शीर्षकमा पनि गहिरिएर अध्ययन गर्ने हो भने त्यो पर्याप्त हुन्छ, तर यहाँ त्यसो नगरेर यिनका गजलमा राष्ट्रभाव र प्रेमभाव गरी दुई विषयवस्तुमा विश्लेषण गरिएको छ। 

राष्ट्रभाव

अत्यन्त छोटो समयावधिमा मुलुकमा थुप्रैखाले राजनीतिक परिवर्तनहरु भए। अर्चनाले परिवर्तनलाई अस्वीकार त गरेकी छैनन् तर उनी परिवर्तनपछिको राज्य सञ्चालनप्रति पटक्कै सन्तुष्ट छैनन्,

किन स्वागत भो परिवर्तनको 
मनमाथि रह्यो गजबार अझै

जनता लुटिए नहुँदा नियम
चलिरा'छ कतै सरकार अझै।

वर्तमान प्रणालीप्रतिको उनको यो मीठो प्रहारले थाहा पाउन सकिन्छ कि परिवर्तित राज्यको कार्यशैलीप्रति सप्रेम कतिसम्म असन्तुष्ट छिन्। 

२०४६ सालमा निकै ठूलो राजनीतिक परिवर्तन भयो तर २०४६ सालको परिवर्तनको अर्को पाटो के पनि रह्यो भने, यो प्राप्ति नै सम्पूर्ण बनेन र नै यसैको पृष्ठभूमिबाट देश युद्धमा फस्यो। मान्छेको बाँच्ने अधिकारसमेत हनन भयो। त्यही युद्धको पृष्ठभूमिले यत्रो राजनीतिक परिवर्तन त भयो तर मुलुक द्वन्द्वबाट उम्कन सकेन। अर्चनालाई चिन्ता छ, युद्धका कारण कतै हामीले आफ्नै अस्तित्व त मेटाउँदै छैनौँ? हो यही अस्तित्व बचाउनका लागि सङ्घर्ष गर्न तयार छिन् उनीः 

अन्धकारमा दीप बाल्दछु
देशनिम्ति यो ज्यान फाल्दछु।

कागजी नियमहरु बनेका छन्, तर कार्यान्वयन भएका छैनन्। अझै पनि हामीले भोगेको समाज हुकुम–प्रमाङ्गीबाटै चलेको छ, यस कार्यमा खेद व्यक्त गर्छिन् अर्चनाः 

छ त केवल कागजमा नियम
गणतन्त्र भए पनि शासक छ।

छोटो समयमै थुप्रैखाले परिवर्तन भए, तर अर्चना यतिमै मात्र सीमित रहन चाहन्नन्। अझै धेरै बाँकी छ गर्नलाई र त गजलमार्फत प्रश्न गर्छिन्ः 

किन मौन बस्यौ अब ए जनता
गर युद्ध अझै कति शीर्षक छ।

यिनले आफ्ना गजलमा सीमा विवादका कुरा पनि उठाएकी छिन्। हाम्रो मुलुक स्वतन्त्र भएर पनि स्वतन्त्र हुन नसक्नुमा उनी चिन्तित छिन्। केवल राष्ट्रवादका कुरा मात्र  गर्ने कथित राष्ट्रवादीहरुलाई भन्छिन्ः 

सोचेर मात्र बस्छौ, के गर्छ यो कुराले 
बन्दैन देश हाम्रो यो अल्छि पाखुराले।

वास्तवमा राष्ट्रियताका नाममा आदर्श–गफ छाँट्ने राष्ट्रवादीहरुका लागि यहाँभन्दा ठूलो सन्देश अरु के नै हुन सक्ला र?

समग्रमा राष्ट्र, राष्ट्रियताका नाममा जति गजल लेखेकी छिन् अर्चनाले, लाग्छ यति समग्रतासहित राष्ट्रका नाममा लेखिएका गजलहरु अझैसम्म पनि लेखिएका छैनन्। 

प्रेमभावमा अर्चनाका गजल 

प्रेम शाश्वत सत्य हो। मान्छेले कुनै न कुनै रुपमा प्रेम गरिरहेको हुन्छ। अझ साहित्य र प्रेम त झन्डैझन्डै एकअर्काका परिपूरकजस्तै हुन्। यद्यपि अनिवार्य भने होइन। तर, गजलको सन्दर्भ हेर्दा प्रेमको कुरा पनि उठ्छ। गजलको शास्त्रीय मान्यतालाई हेर्ने हो भने पनि, गजल प्रेमी–प्रेमिकाबीचको संवाद हो। पछिल्लो चरणमा यो मान्यता पूर्णरुपमा हाबी भएको छैन। गजल यो मान्यताभन्दा टाढा पनि छैन। सन्दर्भ  हो, अर्चनाका गजलमा निहित प्रेमभाव। राष्ट्रभावका गजलमा जसरी उनी सफल छिन्, त्यो सफलता प्रेमभावमा पनि कायम छ। 

प्रेमी पागल हो, जब ऊ प्रेमिल संसारमा हराउँछ। ऊ यो संसारमा सबै कुराको सम्भावना उत्तिकै देख्छ। र, कल्पना गर्छ सारा ब्रह्माण्ड नै आफ्नी प्रेमीकालाई उपहार दिन पाए...तर गजलमा प्रेमिका बनेकी अर्चना सम्झाउँदै भन्छिन्ः 

विश्वास राखी हौसला देऊ सङ्घर्ष चुन्छु म
नझारी देऊ आँगनमा तारा आकाशै छुन्छु म।

हो, अर्चना सङ्घर्ष गर्न रुचाउँछिन्, अँागनमा झारिएका काल्पनिक ताराहरु मन पर्दैन उनलाई। उनी चाहन्छिन् ती ताराहरु, जसलाई छुनै परे पनि आकाशमै छुन चाहन्छिन्। प्रेमभावमा लेखिएका अर्चनाका समग्र गजलमा उत्कृष्टता पाइन्छ। यहाँसम्म कि खोट लगाउनकै लागिमात्र खोज्ने हो भने पनि अर्चनाका गजलमा त्यो पाउन सकिन्न। उनका गजलमा देशप्रेम, व्यक्तिप्रेम, दार्शन, सद्भाव, विश्वास, समपर्ण, गुनासो, मान्छेप्रतिको दृष्टिकोणजस्ता कुराहरु पाउन सकिन्छ। 

सैद्धान्तिक संरचनामा अर्चनाका गजलहरु 

गजल हुनका लागि आन्तरिक संरचना आवश्यक छ। आन्तरिक संरचना भन्नाले लय, भाव, शिल्प, बिम्ब, प्रतीकको प्रयोग, सेरको पूर्णता, मिसराबीचको संयोजनजस्ता कुरालाई बुझिन्छ। यी समग्र कुरामा अर्चनाले सारै राम्ररी ध्यान दिएकी छिन्। 

रदिफ, काफियाजस्ता बाह्य सैद्धान्तिक तत्वहरुमा पनि खोटरहित छिन् अर्चना। अधिकांश गजलहरु पूर्ण काफियामा लेखेकी छिन् यिनले। रदिफ अनिवार्य होइन गजलका लागि, तर यसको जहाँ प्रयोग गरिन्छ त्यहाँ काफियासँगको संयोजन सुन्दर हुनैपर्छ। अर्चनाले यसरी आफ्ना गजलमा त्यो मेल पनि प्रस्तुत गर्न सकेकी छिन्। र, उनले केही ठाउँमा प्रयोग गरेको …तखल्लुस' जुन ढङ्गले प्रयोग हुनुपर्ने हो त्यही ढङ्गले प्रयोग गरेकी छिन्। अर्थात्, द्वैध अर्थ आउने गरी। समग्रमा अर्चनाका गजल विषयवस्तु छनोटको आधारमा यसको भाव, बिम्ब, प्रतीक, शिल्प, लय, रदिफ, काफिया, तखल्लुसको प्रयोग र बाँकी अन्य सबैमा चक्रीय हिसाबमा (…क'भन्दा …ख' ठूलो …ख'भन्दा …ग' ठूलो र …ग'भन्दा …क' ठूलो) छन्।

अनाममण्डली र अर्चना 

२०६२ सालदेखि अनौपचारिक रुपमा अनाममण्डलीको गजलयात्रा सुरु भएको हो। गजलको क्षेत्रमा क्रियाशील यो संस्थाले त्यतिखेर देखि नै शनिबार नियमित गजलको कार्यक्रम गर्दै आइरहेको छ। अर्चना कहिलेदेखि अनाममण्डलीको नियमित कार्यक्रममा आउन थालिन् त्यो मलाई यकिन छैन। तर, उनी जुन दिनदेखि आइन् त्यसपछि निरन्तर आइरहिन्। उनले अनाममण्डलीलाई आफ्नै ठानिन् र माया गरिन् एउटा अबोध बालकलाई एउटी ममतामयी आमाले गरेको मायाजस्तै। अनाममण्डली उनको आफ्नै भयो र उनी अनाममण्डलीकी आफ्नै भइन्।

केवल अनौपचारिक 

धेरै समयअगाडि अर्चनाको गजलको एक मुठो पाण्डुलिपि मेरो हातमा थमाइएको थियो, मात्रै पढिसकेर प्रतिक्रिया दिने भन्ठानेर लगभग एक सातापछि प्रतिक्रियासहित फर्काउन खोज्दा मैले थाहा पाए पाण्डुलिपि मलाई भूमिका लेखनका लागि दिइएको रहेछ। मलाई थाहा छ, सृजना गर्नु र भूमिका लेख्नु नितान्त भिन्न कुरा हुन्। तर यो सत्य हो, भूमिका लेख्ने नाममा मैले अर्चनाका गजल धेरै पल्ट पढेको छु र उनका गजलमा मैले गजलमा हुनुपर्ने समग्रता भेटेको छु र लेखेको छु निकै समय लगाएर, सम्भि्कदिउँ्क एउटा अनूभूति, एउटा पाठकीय दृष्टिकोण वा भूमिका नै। 

झन्डै पाँच महिनापछि अर्चनाका गजलबारे यति लेखेको छु मैले। जेहोस्, अर्चनाका गजल सन्दर्भमा मैले एउटा लेख, भूमिका, दृष्टिकोण, अनूभूति जे सम्झौँ तयार गरेको छु। उनको कहिल्यै नतोडिने यो सुन्दर इतिहास, इतिहास मात्र नबनोस्। उनी अहिले नै एक अब्बल दर्जाकी गजलकार बनिसकेकी छन्। आफ्नो नाममा लेखिने यो सुन्दर इतिहासलाई सार्थक बनाउन पनि अर्चनाले निरन्तरता दिनेछिन्। गजललेखनमा उनलाई निरन्तरताको कामना। 

सुरेश सुवेदी
अध्यक्ष, अनाममण्डली

 

Author: 
Segments: 

Comments