Loading

उज्यालो खस्नुअघि

-सीमा आभास

विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू झण्डै दस दिन जति मात्र सँगै बस्न पाए । देशको बिग्रँदो स्थितिको कारणले उसले लामो बिदा लिन पाएन । फर्किएर छिटै आउँछु भन्दै लोग्ने बिदा भएको दिन ऊ झलझली सम्भिmरहन्छे । सात गते बिहान उनीहरूले फोनमा कुरा गरेका थिए । दस गते बिहान आइपुग्छु भनेर लोग्नेले वचन दिएको थियो । २०६० साल चैत आठ गते ऊ यस घरमा भित्रिएको चार महिना मात्र भएको थियो । भोलिपल्ट बिहान घरमा आइपुग्ने लोग्नेलाई कुरेर बसेकी अगाडि लोग्ने फर्किएर आउनुसट्टा नौ गते लोग्नेको लास आँगनमा ल्याएर लडाए । त्यस दिनदेखि उसलाई यो कोठा अँध्यारो लाग्न थालेको थियो । ऊ त्यो खाटमा सुत्न छोडिन् । तथापि त्यही कोठाको भुइँमा सुत्थी । उसलाई त्यो खाट रित्तो र चिसो होला जस्तो लाग्थ्यो ।

दुई जीउकी भएकीले घाटमा जानु हुँदैन भने पनि उसले मानिन । अन्तिम संस्कार गर्न जाँदा मात्रै घाटमा लोग्नेको मृत अनुहार देखेकी थिई । अनुहार चिनिन । अनुहार चिनिन सक्नेखालको पनि थिएन । अगाडि निधारबाट छेडिएको गोली पछाडि निस्किएको थियो । उसले चिन्ने आधार भनेको हातखुट्टाका औँला थिए । औँलामा कतै पनि चोटपटक थिएन । अन्तिमपल्ट देखेको लोग्नेको अनुहार र त्यो क्षतविक्षत अनुहार एकैपटक सम्भिmएपछि उसका आँसुले पनि बाटो पाएन । ऊ रून सकिनँ । एकोहोरो हेरिरहने, टोलाउने मात्र गर्थी । त्यसपछिदेखि ऊ सपनामा थिई कि विपनामा आफूलाई छुट्याउन सकेकी थिइनँ ।

उसको तीन महिनाको गर्भले उसलाई अर्को चोट थप्यो । ऊ तेह्रौँ दिनको काम सकेर दुःख बारेर बसेकी थिई । गर्भलाई एबोर्सन गर्ने सोच बनाएकी थिई । अरूले पनि एबोर्सन गर्ने नै सल्लाह दिएका थिए । सम्झी पहिलोपटक उसको गर्भ आएको थाहा पाएपछि लोग्ने र ऊ कति खुसी भएका थिए । बारम्बार आˆनो खुसीमा तरबार लगाउनुपर्ने परिस्थितिले उसलाई ढुङ्गो बनायो । उसको सबैभन्दा ठूलो खुसी भनेकै लोग्ने थियो । गोलीको खोकाले उसको खुसी पड्कायो । अब फेरि जानीजानी अर्को खुसीमा हतियार लगाउन उसको मनले मानेन । एबोर्सन गर भन्नेहरूदेखि उसलाई नमिठो लाग्यो ।

तीन महिने मासिक सकिएको दिन साँझ आठ बजेतिर ऊ आˆनो कोठामा छिरी । कोठा गजधुम्म उभिएको जस्तो लाग्यो । ऊ त्यही खाटको छेउमा गएर उभिई । सानो नानीलाई हेरेझैँ खाटलाई मायालु आँखाले हेरी । त्यो खाटमा ऊ, लोग्ने र उसको बच्चा सँगै सुतेको कल्पना गरी । उसलाई लोग्ने आउँछ कि जस्तो लाग्यो । ढोकातिर हेरी र ढोका थोरै खोली । भित्तामा राखेको लोग्नेको तस्बिर हेरी । ऊ इन्स्पेक्टर भएको दिनको तस्बिर थियो त्यो । बिहे गरेको तेस्रो दिन ऊ इन्स्पेक्टर भएको थियो । त्यो दिन सम्झी । ऊ र लोग्ने खुबै खुसी भएका थिए । त्यसदिन लोग्नेसँग मलाई बच्चा देऊ भनेर मागेकी थिई । उसको जीवनको अर्को खुसी बच्चा पाउनु थियो ।

उसलाई ढोकामा लोग्ने आएर उभिएको जस्तो लाग्यो र ढोकातिर हेरी । ढोका खुल्ला रहेछ । ढोका बन्द गरी । एकछिन टोलाई । ऐना अगाडि उभिई । आफ्नो शरीरका कपडा उल्टिएपछि उसले पहिलोपटक आˆनो शरीरलाई ऐनामा नियालेकी थिई । आˆनो ज्यान धान काटिसकेको बाँझो खेतजस्तो उजाड लाग्यो । तलदेखि माथिसम्म सेता कपडा, रित्ता हात, बुच्चा नाक, कान, अलिअलि मोटाउन थालेको पेट । उसलाई विरक्त लागेर आयो ।

भित्तामा झुण्डिएको जीड र दुबोको मालाबीचमा रहेको बिहेको तस्बिर हेरी र आँखाभरि आँसु पारी । बिहेका दुइटा चुरा छुटेका रहेछन् । तीनै चुरा हेरी । नराम्रो लाग्यो चुरा देखेपछि । बिस्तारै हातले चुरा उठाई र खाटमा राखी । सोची- "आइमाईको लागि श्रृङ्गार भन्ने कुरा कति ठूलो सजाय रहेछ । लोग्ने बाँचुञ्जेल त्यसमा बाँधिनुपर्ने, मरेपछि विधवा बनेर श्रृङ्गार छुनु पनि नहुने अनि श्रृङ्गार सम्भिmएरै तड्पिनुपर्ने," ती चुरादेखि रिस उठेर आयो । चुरा टिपी र भुइँमा फ्याँकी । टुक्राटुक्रा भएर चुरा फुटे । फुटेका चुराका धारले मुटु नै रेटेकोझैँ ठानी । टुक्रिएका चुरा टिपी र रूमालमा पोको पारेर खाटमा ˆयाँकी ।

अर्को दिन आˆनो नाम एकल महिलामा दर्ता गराउन गएकी थिई । नाम दर्ता गराएर आएपछि उसलाई फरकखालको अनुभूति भयो । आफूजस्ता धेरै महिलालाई देखी । सबै जना जवान स्वास्नीमान्छे नै थिए । कसैले दुर्घटनामा, कसैले युद्धमा विविध कारणले लोग्ने गुमाएका स्वास्नीमान्छेहरूको जमात थियो त्यहाँ ।

एकल महिलालाई सरकारले दिएको सुविधा, दातृसंस्थाले गर्ने सहयोग, सीपमूलक कार्य गर्न पाउने... यस्तैयस्तै कुराहरूको विषयमा जानकारी पाई । यस्ता कुराहरू सुनेपछि एकल महिलालाई उपहास गरेजस्तो लाग्यो । "लोग्ने मरेकाहरूलाई सीपमूलक काम त देला तर लोग्नेको अभाव कुन पैसा, कुन काम, कुन सीपले पूरा गर्ला ?" उसले संस्था र सरकारलाई मनमनै प्रश्न गरी ।

आफूलाई तड्पाएर बस्नुभन्दा कुनै निर्णय लिन नै जाति ठानी । उसलाई विधवा भएर बस्नुपर्दाको पीडाले क्रमैसँग जलाउन थाल्यो । यो समाजको नियम र कानुनमा आगो लगाउन पाए पनि हुने जस्तो लाग्यो ।

"बिहेजस्तो नितान्त व्यक्तिगत सम्बन्धलाई पैसासँग तुलना गर्ने ?" समाजलाई खिस्याउँदै हाँसी ।

उसलाई समाज विरोधाभासमा बाँचेको जस्तो लाग्यो । व्यक्तिगत आवश्यकतालाई पैसा र कामसँग तुलना गर्ने कस्तो अन्धो समाज ? उसले बुझेका कुराहरूमाथि प्रश्न गरी ।

बेलुकाको खाना खाइसकेपछि आठ बजेतिर आˆनो कोठामा छिरी । आˆनो जीउका सेता र उराठ लाग्दा सबै कपडा पालैपालो खोली । बढ्दै गरेको पेटलाई ऐनामा नियाली । बिहेका कपडा निकाली र खाटमा राखी । कपालको चुल्ठो खोली । पानी पोखिएझैँ उसको ढाडभरि लरक्क परेको कालो कपाल पोखियो । बिहेको श्रृङ्गार बाकस निकाली र खाटमा राखी । बाकसबाट क्रमैसँग सामान निकालेर खाटभरि छरपष्ट पारी ।

जीउका सेता कपडा फुकालेर उसले पालैपालो बिहेका कपडा लगाउन थाली । बिहेमा लगाएका सबै कपडा लगाइ । डिजिटल क्यामेरा निकालेर आˆनो फोटो आफैँले खिची । फेाटो हेरी र मुस्कुराइ ।

बेहुलीले गर्ने जत्तिकै बाक्लो शृङ्गार गरी । बेहुलीजस्तै बनेपछि खाटमा गएर बसी । ऊ बेहुली भएर भित्रिएको दिन सम्झी । ऐना अगाडि उभिई । आफूलाई बेहुलीजत्तिकै राम्री लाग्यो । आˆनो शरीरको कुनै भागसँग पनि गुनासो नरहेको पत्ता लगाई । बेहुली भएको दिन पनि उसले आफूलाई लुकीलुकी ऐनामा यसैगरी हेरेकी थिई । फुर्किएकी भन्लान् भन्ने डरले त्यसदिन ऊ जबर्जस्ती चुप लागेकी थिई । आˆनो खुसी व्यक्त गर्न सकेकी थिइन तर अहिले उसलाई कसैको पनि डर छैन । तलदेखि माथिसम्म आफूलाई नियालेर हेरी र मुसुक्क मुस्कुराइ । बिहेको भोलिपल्ट पनि लोग्नेको अगाडि उभिएर आफूभित्र उम्लिरहेको खुसी देखाउन मन थियो उसलाई तर सर्माएर, धकाएर आफूलाई फुकाउन सकिनँ । फेरि सम्झी- भोलिपल्ट बिहान लोग्नेको अनुहार राम्रोसँग हेर्न नसकेको । त्यसबेला पनि उसले यही दराजको ऐनामा आफूलाई लुकीलुकी नियालेकी थिई । आफूलाई नियाल्दा ऊ मुसुक्क मुस्कुराएकी थिई । उसलाई पूरै सम्झना छ, आˆनो मुखभरि टम्म मिलेका सेता दन्तलहरहरू, रातो लिपिस्टिक दुईपट्ट िहुँदा देखिएको आकर्षक

क्षण Û अहिले पनि उसलाई त्यस्तै लाग्यो । दन्तलहर र मिलेको शरीर । पेट अलिक भुम्म उठेको भए पनि साडी लगाउँदा सुहाएको नै ठानी । आफूलाई पूर्णरूपमा सिँगारेको ज्यान ऐनामा घुमीघुमी हेरेको यो नै पहिलो होला । यसअघि कहिल्यै आफूलाई यसरी हेर्ने मौका पाएकी थिइन । निकैबेर लगाएर आफूलाई हेरी । सकेसम्म पूरै जीउ आउने गरी आˆनो फोटो आफैँले खिची । फोटो पनि राम्रो नै लाग्यो । फोटोभन्दा पनि आˆनो ज्यान झन् राम्रो लाग्यो ।

आफूले लगाएका बिहेका कपडा र श्रृङ्गार पुछी फेरि र पहिले नै लगाएका सेता कपडा लगाई । ऐना अगाडि गएर उभिई । सेता कपडामा आफूलाई हेरेपछि आˆनो शरीर र श्रृङ्गारदेखि नै रिस उठेर आयो । श्रृङ्गारका सामान मिलाएर बाकसमा राखी र श्रृङ्गारको बाकस भुइँमा बजारी । बाकस उपि|mएर उसको शरीरमा ठोक्कियो । त्यसलाई खाटमाथि राखी र आग्लोले हानी । झर्‍याम्म आवाज निस्कियो । श्रृङ्गार सामान फुटेर खाटभरि र भुइँभरि भए । श्रृङ्गार बाकस कच्याककुचुक भयो । उसले लगाएको सेतो सारीको फेरमा सिन्दूर पोखियो । सेतो सारीमा सिन्दूर मिसिएको देख्दा मुटु दुखेको अनुभव गरी र देब्रे हातले सारीबाट सिन्दूर टकटकाई ।

अलबमबाट बिहेका फोटाहरू निकाली । सबै फोटाहरू एकएक गरेर हेरी । बिर्सिएका कतिपय घटनाहरू फोटो हेरेपछि ताजा भए । बिहेका फोटाहरू निकालेर पालैपालो गरेर जलाउन थाली । अलबमका फोटाहरू सबै जलाए पनि भित्तामा झुण्डिएको दुबोको माला र फोटोलाई चलाउन सकिन । बिहे अगाडिको उसको र लोग्नेको फोटो कागतमा पोको पारेर ब्यागमा राखी । आˆनो पेटमा हात लगेर बारम्बार सुम्सुम्याई ।

आˆनो अगाडि उभिएको ऐनामा ढोकाको आग्लोले हानी । ऐना फुटेर भुइँभरि भयो । जलेर रहेको उसको र लोग्नेको फोटोको टुक्रामा रगत तुपतुप चुहेपछि मात्रै थाहा पाई उसको नाडीमा ऐनाको चोइटोले काटेछ । नाडीमा चोट लागेर रगत बगेको देखी । नाडीमा चोट लागे पनि ऐना फुटेको हेरेपछि उसको मन हलुका भयो ।

बिहे अगाडिका आˆना लुगाफाटा झोलामा राखी । बैङ्कको चेक र लोग्नेले दिएको औँठी ब्यागमा राखी । बाँकी गरगहनाहरू दराजबाट निकालेर बाहिर राखीदिई । सेता कपडा पोको पारेर कोठाको कुनामा फ्याँकीदिई । क्यामेरा ढोकाको छेउमा राखीदिई । बिहेका कपडा निकालेर खाटभरि असरल्ल पारी । बिहेअगाडि लगाउने गरेको सुतीको नीलो टिसर्ट र कालो रङको पेन्ट लगाई । नीलै रङको कपाल बाँध्ने रबरले कपाल बाँधी । आफूलाई फुक्का भएको महसुस गरी । बिहे गरेदेखि बल्ल अहिले मात्रै उसको शरीरले आराम अनुभव गरेकोेझैँ गरी ।

खाट अगाडि ठिङ्ग उभिई । मिलाएर राखेका सिरक र सिरानी फस्ल्याङ्ग पारी । तन्ना उतारी ओछ्यानबाट । डसना निकालेर उल्टो बनाई । फेरि भुइँभरि छरिएका ऐनाका टुक्रामा आफूलाई हेरी । ऐनाका टुक्रामाथि तन्ना फ्याँकीदिई । सिरकको खोल पट्याएर झोलामा राखी ।

लोग्नेले लेख्ने गरेको डायरीको एउटा पन्ना च्याती र आˆनो ब्यागबाट कलम निकाली । उसले ठूला अक्षरमा लेखी- "म छायाँदेवी हुँ ।"

ताराहरू धिप्धिप् बिस्कुन बनेर आकाशमा छरिइरहेका थिए । घरका मान्छे र छिमेकीहरू मस्त निद्रामा थिए । उज्यालो खस्नुअघि टर्चलाइट बाल्दै झोला र ब्याग हातमा बोकेर कसैले थाहा नपाउने गरी ऊ लुसुक्क कोठाबाट बाहिर निस्की ।

-कीर्तिपुर

Segments: 
Author: 

Comments