Loading

तिमीले बजायौ मलाई म त मादल भएँ / रामबहादुर पहाडी

तिमीले बजायौ मलाई म त मादल भएँ
तिमीले बनायौ मलाई म त पागल भएँ ।

तिम्रो हातैले अनि कहिले लातैले पनि
सधैँ बातैलै हान्यौ म त घायल भएँ ।

न मेरो घर छ कहीँ न मलाई डर कसैको
जता मन लाग्यो उडेँ म त बादल भएँ ।

तिम्रो विश्वास गरेँ तिम्रै आँखामा बसेँ
परेलीबाट खसेँ म त गाजल भएँ ।

तिमीलाई को सक्छ छुन तिमी आकाश भयौ
सबैले कुल्ची हिँडे म धरातल भएँ ।

म हाँसेँ रोयौ तिमी म रूँदा हाँस्यौ तिमी
तिम्रो मन कालो भयो म त कायल भएँ ।

[शब्दाङ्कुर ११४]

Segments: 

Comments