Loading

थारू समुदायमा प्रचलित लोककथा/ रोहिणी घिमिरे

थारू समुदायमा प्रचलित लोककथा साहित्यकार कृष्णराज चौधरी 'सर्वहारी’ द्वारा संकलित थारू लोककथा संग्रह बजारमा आइसकेको छ। साहित्यकार र्सवहारीका प्रकाशित झन्डै डेढ दर्जन कृतिहरूमध्ये यो पछिल्लो कृतिमा थारु समुदायमा प्रचलित १८ वटा लोककथाहरू समेटिएको छ।

लेखक र्सवहारीले यस संग्रहमा संकलित लोककथाका पात्रहरूको नाम भने सकेसम्म थारु भाषामै प्रस्तुत गरेका छन्। नकबिलरी (ठूलो नाक भएकी बिराली), कमखोद (थोरै खाने मान्छे), कमदेख (अलि-अलि मात्रै देख्ने मान्छे) भनेर यसरी आवश्यकताअनुसार कोष्ठभित्र नेपाली भाषामा पनि अर्थ्याएका छन्। यसै गरी मामा-भैने, हिटवा, बुधनी, सपरजुवाजस्ता कथाका शर्ीष्ाकले लोककथालाई जीवन्तता दिएको आभाष मिल्छ।

विभिन्न साहित्यिक संघ-संगठनमा समेत आबद्ध र्सवहारीद्वारा संकलित केही लोककथा उनकै जन्मस्थल आसपासका क्षेत्र, मठ-मन्दिर, तालतलैयासँग जोडिएका पाइन्छन्। तीमध्ये बाह्रो बर्डिवा शीर्षकको लोककथा पनि एक हो। १२ जना बर्डिवा (ग्वाला) गाईवस्तु चराउन जंगलमा गएको बेला धामी-झाँक्री बनेर झारफुक गर्ने खेल खेलेछन्। सो खेल खेल्ने क्रममा बोका, सुँगुर, कुखुराको बलि दिएको अभिनय गर्नुपर्ने भएछ। त्यसैले दुइ जना धामीबाहेक बाँकी १० जनाले बोका, सुँगुर र कुखुराको अभिनय गरेछन्। मुख्य गुरुवा (धामी) बन्नेले कुशको पातले प्रत्येकको घाँटी रेटेको जस्तो गर्दै बलि दिएको अभिनय गरेछ। तर घाँटीबाट साँच्चिकै रगत बगेर ती घाँटी रेटिनेहरू सबै मरेछन्। बाँकी दुइ धामी बन्नेहरू पनि डराएर घर नफर्किई तिनै लासमाथि मरेछन्। यस कथाको कथासार यही हो।

उक्त कथामा बताइएअनुसार बर्दियाको पद्नाहा गाविस-४ मा बाह्रो बर्डिवा नामको मन्दिर अद्यापि छ। त्यहाँ रहेको अजंगको ढुंगा तिनै गोठालाहरूको लासको थुप्रोले बनेको भन्ने भनाइ छ। उनीहरूको गाई धपाउने लौरोचाहिँ जामुनको रुखमा परिणत भएको किंवदन्ती छ। प्रत्येक वर्षो मंसिरशुक्ल पञ्चमीमा बोका, सुँगुर र कुखुराका भाले बलि दिई पूजाआजा गर्ने चलन अद्यापि छ। तिनै गोठाला (बर्डिवा) को नामबाट बर्दिया हुन गएको विश्वास गरिन्छ।

यसरी यस संग्रहमा संकलित प्रायः कथाहरू कथा मात्र नभएर कुनै प्रसिद्ध स्थानसँग सम्बद्ध छन्। हुन त लोककथाहरू एउटा गाउँबाट अर्को गाउँमा गएर सुन्दा केही थप-घट भएको पाइन्छ, तर पनि कुनै न कुनै स्थान, मठ-मन्दिर, नदी, पोखरी आदिसँग भने जोडिएकै हुन्छ। जुन ठाउँको लोककथा हो, त्यस ठाउँको भाषा, संस्कृति, परम्परालाई जोगाउन पनि यस्ता कथाले सघाएका हुन्छन्। साहित्यकार र्सवहारीका लोककथाहरू पनि विशेष गरी थारु समुदायको पहिचान बोकेका स्थान, नदीनाला, पोखरी आदिसँग जोडिएका छन्।

तर यस संग्रहमा थारु समुदायमा प्रचलित दन्त्यकथाहरूलाई पनि समेटिएको जस्तो लाग्छ। किनकि एकादेशमा भनेर शुरु गरिएका र कुनै स्थान, जातजाति आदिसँग नजोडिएका काल्पनिक एवम् चामत्कारिक कथाहरूलाई पनि यस संग्रहमा स्थान दिइएको छ।
लिखितरूपमा संग्रहित नहुँदा कतिपय स्थान, जातजाति, भाषभाषीका लोककथाहरू लोप हुने अवस्थामा पुगिसकेका छन्।

त्यसैले पनि थारु समुदायमा प्रचलित लोककथाहरूलाई संग्रहित गरी जस्ताको त्यस्तै बचाइराख्न पुस्तकको रूप दिइएको भनाइ संकलक चौधरीले अघि सारेका छन्। यो कृति थारु समुदायलाई मात्र नभएर अन्य समुदायका व्यक्तिहरूका लागि पनि पठनीय छ। थारु समुदायमा उनीहरूकै भाषामा भनिँदै आएका यस संग्रहमा संकलित लोककथाहरू कस्ता रहेछन् त भन्ने खुल्दुली सबै समुदायलाई नहोला भन्न सकिन्न।

कृति: थारु लोककथा
लेखकः कृष्णराज सर्वहारी
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रालि
मूल्यः रु. १००/

Segments: 

Comments