थाहाछैन कहिलेको हिसाब छोडी गयो / विभोर बराल

Author

थाहाछैन कहिलेको हिसाब छोडी गयो
जिन्दगीले टेबलमा किताब छोडी गयो

आकासबाटै दिन र रात गर्नेहरूलाई
जूनकीरीले सानो यौटा जबाब छोडी गयो

हिउँ जस्तो सम्बन्धमा लाग्न थाल्यो आगो
उसले जब मुस्कानको दबाब छोडी गयो

क्रुर मुटुभित्र फुल्यो सिर्जनाको फूल
चेतनाले हेर कस्तो प्रभाव छोडी गयो

वर्षौदेखि कुरिरा’छु त्यही रातलाई
झिसमिसेमा जसले रातो गुलाब छोडी गयो

[साभार: मधुपर्क असार, २०६८]

Segments