Loading

कताबाट फेरि यो सुनामी आयो / कृष्णहरि बराल

थिए शिरमाथि हजार दु:ख आफ्नै,
कताबाट फेरि यो सुनामी आयो।
लियो ज्यान धेरै, पियो बस्ती सारा,
बिना सूचना नै यो बेइमानी आयो।

कतै मर्नु पर्ने नपाएर पानी,
कतै पानीमा नै डुबिमर्नु पर्ने।
कतै सास फेर्न पनि छैन हावा,
कतै आँधीमा नै उडिमर्नु पर्ने।
नसोचेको कहिल्यै, नचाहेको कहिल्यै,
किन फेरि यस्तो यो हरामी आयो।

लियो ज्यान धेरै, पियो बस्ती सारा...

हामी सन्तती हौँ यसै धरतीका,
तर बेलाबेला किन घात गर्छ।
यहाँ हामीले भुल के नै गर्यौँ र,
घरि आगो छर्छ, घरि पानी छर्छ।
नसहेर हो कि यो यात्रा उज्यालो,
बिथोल्नै भनी यो प्रतिगामी आयो ।

लियो ज्यान धेरै, पियो बस्ती सारा...

Segments: 

Comments