शिरीषको फूल उपन्यासमा पात्रविधान / अम्बु भवानी

No votes yet

नेपाली साहित्यमा चम्किलो ताराको रूपमा चम्किएकी पारिजात दार्जीलिङ जिल्लाको चियाबगानमा वि.सं. १९९० फागुन ३० गते जन्म भएको थियो । संखुवासभामा पुख्र्यौली घर भएकी विष्णुकुमारी वाइवा (पारिजात)को २०११ सालमा काठमाडौँ प्रवेश भयो । नेपाली साहित्यमा वि.सं. २०१२ देखि नै हलचल मच्चाउन सफल पारिजातको 'शिरीषको फूल' मदन पुरस्कार (२०२२) प्राप्त छ । जुन उपन्यासको अङ्ग्रेजी अनुवाद संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा पढाइ हुनु उनको विषेश सम्मान हो । हुरी बतासले रूखहरू हल्लाएझँै आधुनिक उपन्यास क्षेत्र हल्लाउन सफल 'शिरीषको फूल' उपन्यास घटना प्रधान हैन र यसको कथानक पनि सबल छैन । पात्रहरू पनि सामाजिक छैनन् तर पात्रहरूको सशक्तताले यो उपन्यास ज्यादै सफल छ । नायिकामा केन्दि्रत प्रस्तुत उपन्यास त्रिकोणात्मक पात्र कथामा बुनिएको छ । जसमा सकम्बरी, सुयोगवीर र शिवराजमा केन्दि्रत छ ।

हरेक उपन्यासलाई अगाडि बढाउने तत्व पात्र हो । नभई नहुने उपन्यासको मूल कथाको घटना अगाडि बढाउने क्रममा उपन्यासमा दोस्रो विश्वयुद्धको बादल मडारिएको बेला आफ्नो अङ्ग विदेशी भूमिमा खर्चनु परेका र आफ्ना अङ्गहरू गुमाएर फर्केका नेपालीहरूको अस्तित्व छाम्ने क्रममा उपन्यासकार पारिजात जन्मिछिन् । जुन उपन्यास नौलो आयाम थप्न सफल हुन्छ । उपन्यासकार लेखिका भएकीले पितृसत्तात्मक समाजमा पुरुषहरूको पाखण्डीपना र नारीलाई भोग्य साधन सम्झने क्रममा पुरुष पनि भोग्ने मेसिन मात्र बन्न पुगेको यथार्थ पात्रहरूको चरित्रमार्फत उदाङ्गो पारेकी छन् । उपन्यासको विषयवस्तु सामाजिक धरातलमा अन्तर्निहित नभएकोले यसमा रहेका चरित्रहरू पनि असामाजिक छन् । विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ । यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्‍याएका छन् ।

सकम्बरी, सुयोगवीर, शिवराज, (त्रिकोणात्मक) मुजुरा (वरीकी दिदी), सानु (बहिनी), आमा, काम गर्ने भान्से, पसल्नी र ठिटो आदि यस उपन्यासका अन्य पात्र हुन् ।

सुयोगवीर

उपन्यासको नायक कुण्ठाग्रस्त पात्र अविवाहित सुयोगवीर ४५ वर्षे भूतपूर्व सैनिक हो । नारी शोषणको पक्ष उद्घाटन गर्ने कथा सुयोगवीरमा केन्दि्रत छ । केही रहर र केही बाध्यताले दोस्रो विश्वयुद्धमा लड्न हिँडेको उसले युद्धमा न त कुनै शत्रुलाई मार्न सकेको छ न त कुनै तक्मा पाएको छ । उसको अचेतनामा असन्तुष्टि छ । युद्धका बेलामा लुतो लागेर पेन्सनमा घर फर्केको र घर पहाडमा भए पनि काठमाडौँमै हल्लिरहेको छ । सुवेदार पदसम्म पुगेको सुयोग उपन्यासको मुख्य पात्र हो ।

दोस्रो विश्वयुद्धमा कमाएको सुवेदारसम्मको हैकमवाद वर्मा र मलेसियाका जङ्गलमा मान्छेका छातीमा गोली हान्दै र भुडीमा सङ्गीन रोप्दै हिँडेका सैनिकहरू मध्येको सुयोगवीर, आदिवासी महिलामा सामूहिक बलात्कार गर्ने निर्दोष नारीहरूसँग प्रेमको नाटक रचेर एकान्त यौन तृप्तिपछि पनि सन्तुष्ट नभएर तिनै महिलाका छातीमा सङ्गीन रोपेर सन्तुष्टि लिने नृशंस बनिसकेको देखिन्छ । दिनभरि कोठामा बसेर बाहिर हेर्नु विनाउद्देश्य डुल्न र साँझमा नयाँसडकको बारमा बसेर रक्सी खानु उसको दिनचर्या हुन्छ । पेन्सन प्राप्त उ आर्थिक दृष्टिले कमजोर छैन । विश्वयुद्धमा जापानका विरुद्ध लडेको र उसले निरपराध युवतीहरू माथि गरेको पशुवत क्रूर, बलात्कार प्रेमको नाटक आदि घटना सम्भिmरहेको र जुनसुकै घटनामा पनि महिला नै शिकार बनेको प्रस्तुति उपन्यासकारले सुयोगवीरको चरित्रमार्फत चित्रण गरेकी छन् । आफ्ना जवानीका क्षणहरू बन्दुक बोक्नमै बिताएको सुयोगवीर अहिले जीवनको विश्लेषण गर्न नसकेर छटपटिएको छ तर वस्तुको वस्तुसत्य मात्र स्वीकार्ने विसङ्गतिवादी बन्दछ भने विसङ्गतिभित्र सङ्गति खोज्ने प्रयास गरिन्छ । त्यहीबाट विसङ्गति सुरु हुन्छ । यस विसङ्गतिभित्र जीवनका भावनागत सत्य शान्ति सुख, सौहार्द, आस्था, विश्वास र जीवन बोधका तीव्र तिर्खाहरू अदृश्य र अमूर्त हुँदाहुँदै पनि वस्तु जतिकै स्पष्ट र कटु बोध भइदिन्छ । मानवको मन अन्तर्मुखी छ भने अस्तित्व बोधको पीडाले बढी पोल्छ । यहाँ सुयोगवीरका अन्तर्वेदनालाई अस्तित्वबोधका अमूर्त काँढाहरूले नराम्री घोचेका छन् ।

सुयोगवीर र शिवराजको भेट रक्सी खाँदा भट्टीमा हुन्छ । जहाँ सुयोगवीर र शिवराजको कुराकानीका साथै परिचय हुन्छ । रक्सी खाने क्रममा शिवराज र सुयोग साथी हुन्छन् । तेस्रो भेटमा सुयोगलाई शिवराजले घरमा लान्छ । कम्पाउण्डसहितको नीला शिरीषका बोटले भरिएको क्याम्पभित्र मध्यम परिवारको रूपमा शिवराजको घर हुन्छ । जहाँ शिवका तीन बहिनीहरू मुजुरा, सकम्बरी, सानुसँग सुयोगको परिचय हुन्छ । तीन बहिनीमध्ये सकम्बरी देख्दा कार्टुन जस्ती लाग्ने हातमा चुरोटको धुवाँ सलबलाइरहने अनौठो आकृति तथा बुलेट जस्तो बोली र हाँसोले उसलाई आकषिर्त गर्छ । अधबैँसे भू.पू. सैनिकको मित्रता शिवराजको परिवारसँग बढ्दै जान्छ । युद्ध भनेको आफूजस्तै मानिसहरूलाई काटमार गर्नु हो भन्ने धारणा सुयोगमा हुन्छ । सिपाही जहिले पनि उत्ताउलो हुन्छ भन्दै ऊ युद्धका बारेमा शिवराजसँग निकै गफ गर्छ । नजानिँदोरूपमा सुयोग त्यो घरसँग तानिएको हुन्छ । उसको मनमा उमेरको हिसाबले मुजुरासँग आफ्नो बिहे हुन सक्ने कल्पना आँउछ र मान्छे बन्न खोज्छ तर यो कुरा शिवराजसँग खुलस्त भन्न सक्दैन तर सकम्बरी चाहिँ नजानिँदो पाराले यसको दिलमा बसिसकेकी हुन्छे । कताकता बरीविना एक्लो महसुस गर्ने सुयोग बरीको स्वास्थ्यको पनि चिन्ता गर्न पुग्छ । उ बरीले चुरोट पिइरहेको बेला 'क्यान्सर लाग्ला है' भन्छ तर जवाफमा बरी स्वागत छ भनेर उसको मुख टाली दिन्छे ।

सुयोगलाई आफ्नो उमेर र पे्रम गर्न नसक्ने अवस्थाले अत्यन्त निराशमा पर्छ । बरीको घर गएको बेला सुयोग झ्यालबाट बरीलाई दुबेचौरमा फुक्का भएर पल्टिरहेको देख्छ र आफूले नाङ्गै पारेका स्वास्नी मानिसहरूलाई सम्झन्छ । एउटा सिपाहीको के विश्वास ? भनेर सुयोगलाई तिरस्कार गरे पनि ऊ भने बरीलाई नै निरुद्देश्य पछ्याइरहन्छ । बरीलाई प्रेम गरेर मुजुरालाई पत्नी बनाउन चाहने ऊ आफूलाई प्रेम गर्नुपर्छ भन्नेसमेत थाहा नपाउने बुद्धु ठान्छ । 'बूढो भई सक्नुभो अब बिहे गर्नुस्' भन्ने बरीको भनाइले सुयोग मर्माहत हुन्छ । उसलाई आफू रित्तिएको भाँडो जस्तो निस्सार लाग्छ । बरीको सम्झानाले मात्र पनि हायल कायल हुने सुयोग भित्रभित्र सल्कन्छ । सुयोगमा बरीलाई पाउने चाहना झन् झन् बढ्छ ।

सुयोग सम्झन्छ हेडहन्टरकी छोरीलाई उसको सुन्दरता र सलक्क परेको जीउले आकषिर्त ऊ जङ्गली जनावर बनेको थियो । आफ्नो बन्दुक देखाएर झ्याङबाट बाहिर निस्केको सुयोगले उसलाई खुब फकाएको थियो तर उसले नमानेपछि राइफलको कुन्दाले टाउकामा हिर्काएर बेहोस बनाई रातभरी उसलाई पशुभन्दा पनि निर्लज्ज भएर भोगेको थियो । त्यसपछि उसका अङ्गहरू रक्ताम्मे पारेर मारेको थियो । फेरि उसले मारवरिङको बस्तीमा बस्ने भैंसी गोठाल्नी कचीनको घटना सम्झन्छ । कचीनलाई देखेर ऊ मोहित भएको थियो र चाँदीको दाम र रुबीको औँठी देखाएर फकाएको थियो । ऊ रोएको कुनै पर्वाह नगरेर अर्को सिपाही ऊतिर लागेको थियो र बिहान भैँसी गोठाल्नीको रगतपिच्छे भएको लास भेटिएको थियो । सुयोग लासको बीभत्सता देखेर न तर्सिने भइसकेको थियो । हेडहन्टरकी छोरी र कचीनलाई मूल्य दिन नसक्ने सुयोग सकम्बरीको कल्पना गरेर बर्बराउँछ ।

वर्मामा बस्दा मार्टिनचीलाई प्रेम गरी बिहे गर्ने झुटो आश्वासन दिएर राखेको थियो गर्नसम्म भोग गरेर उसको सुन्दरतालाई किचिमिची पारेको थियो । अन्त्यमा रुँदै बिहे गरौँ भन्ने मार्टिनचीलाई छातीमा फलामे बुटले हानी भागेको थियो । ऊ अहिले त्यही मार्टिनचीलाई आँसुमा पौडी खेलिरहेको सकम्बरीको मुडुलो टाउको कल्पना गर्दछ । तीन जनाको जीवन बर्वाद पारिसकेको सुयोग डेथभ्यालीको सम्झनामा हराउँछ । ति तीन जनाको झटारो एउटै सकम्बरीबाट पाएको छ । युद्धको बेलामा जे पायो त्यही खाएर हिँडेको बेला उसले मानिसलाई जाँडका कीरासँग तुलना गरेको थियो । यी सबै जिन्दगीका भीषण युद्धबाट फर्किएको सुयोग आफूले सकम्बरीलाई पाउन नसक्ने कल्पनामा जिल्लिएर बसिरहन्छ । भित्रभित्रै सल्किएको सुयोग झन्झन् छटपटाउँछ विगतका तीन नारीमाथि गरेको अत्याचारको बदला नारी पात्र सकम्बरीकै माध्यमबाट उपन्यासकारले भोगाएकी छिन् । सुयोग सकम्बरी पाउने आशमै छ, शिवराजका घरमा गएका बेला एकदिन बरीले 'ओठ नीलोतुथो जस्तो भइसक्यो भनेर अपमानित गर्छे र बुढेसकालमा के सुट फेरि फेरि लगाउने भन्दै व्यङ्यसमेत गर्छे । यसले सुयोगमा झन् बरीको तिर्खालु बनाउँछ ।' ऊ मनमनै भन्छ आफूले बलात्कार गरेकालाई प्रेम गर्न नसकेको र प्रेम गरेकालाई बलात्कार गर्न नसकेको कुरा सोच्छ र बरीलाई इन्सेक्ट किलर सुनगाभाझैँ ठान्छ । भित्रभित्रै आफू मरेको सम्झन्छ ।

यस्तै प्रकारले सुयोग बरीको घरमा आउने क्रम बढिरहेको हुन्छ । उनीहरूको चिनजानी भएको वर्षदिन भइसक्छ । शिरीषको फूल पनि दोस्रोपटक फुलिसकेको हुन्छ । साँझ पर्न लागेको बेला बरी शिरीषको रूखमुनि उभिरहेकी हुन्छे । सुयोग सरासर ऊतिर गएर बरीलाई बोलाउँछ र गर्धन अठ्याएर ओठमा म्वाँइ खाइदिन्छ, उसको सैनिक उदन्डता प्रस्तुत गर्दछ । यसपछि बरीको केही प्रतिक्रिया हुन्न तर सुयोग भने जोसमा आएकोमा अपराध बोध गर्दै पश्चातापमा जल्न थाल्छ । ऊ द्वन्द्वमा पर्छ र मनको डरले शिवराजको घरमै आउन छोड्छ । बाटोमा शिवराजसँग भेट हुन्छ र शिवराजले भन्छ बरीलाई सन्चो छैन । सुयोग छटपटाउँछ व्यर्थै शिवराजसँग चिनजान भएछ भनेर विहृवल हुन्छ । हप्तादिनपछि शिवराजकहाँ जाँदा मुजुराले पनि बरीलाई सन्चो नभएको बताउँछे । सुयोग आफूलाई अपराधी ठान्न थाल्छ, पश्चातापमा डुब्छ बरी झनै सिकिस्त हुन्छे ऊ किन बिरामी परी भन्ने कसैलाई थाहा हुँदैन । शिरीषको फूल र्झन लागेको बेलामा बिहानै सुयोग बरीको घरमा पुग्छ तर उसको मृत्यु भइसकेको कुरा भान्सेबाट थाहा पाउँछ । यसरी आफ्नो आवेगरूपी प्रेमले बरी मरिसकेपछि सुयोग जीवनको महाशून्यलाई अनुभव गर्छ, रित्तिन्छ र सबै चीजको निरर्थकता जीवनको असफलता, दुर्भाग्य र निस्सारतालाई स्वीकार गर्दै र्फकन्छ । ऊ स्वीकार्छ एकोहोरो प्रेम बलात्कार ठहर्छ ।

[मधुपर्क मासिक]

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.