Loading

सिजो लेखनको अभ्यास / किशोर पहाडी

'सिजो' कोरियाली काव्य लेखनको एउटा शैली हो । कविताको जापानी शैली 'हाइकु' भएझँै कोरियामा धेरै वर्षअघिदेखि 'सिजो' लेखिँदै आएको रहेछ । धेरै वर्षको अर्थ करिब करिब ७०० वर्षअघिदेखि ।

'सिजो' विशेषतः तीन हरफमा रचना हुन्छ । यसका ६ वटा वाक्यपद्धति हुने गर्दछन् । हरेक शब्द २ देखि ७ अक्षरका हुने गर्दछन् । यसलाई सरल रूपमा भन्ने हो भने 'सिजो' तीन हरफ तथा १४ देखि १६ अक्षरमा लेखिन्छ । यसमा जम्माजम्मी ४४ देखि ४६ अक्षर हुने गर्दछन् ।

जस्तै ः
"रात र दिनलाई एकै गरेर बसिरहेँ
फूलको छेउमा काँडासँगसमेत लड्दै
तिमी भने कहाँ गयौ बहारहरू बोकेर"
(भीष्म उप्रेती)

यसमा अगाडिको हरफमा १६ अक्षर छन् । बीचको तथा अन्तिम हरफमा पनि १६ अक्षर नै छन् ।

अर्को ः
"जूनको अनुहारमा जून पर्दा खल्लो भो
बरु चूक अन्धकार आए पो हुने थियो
अँध्यारोमा बरु चट्याङ भए हुन्थ्यो होला"
(रामकुमार पाँडे)

१५-१५-१५ को यस सिजोले पूर्णतः ४५ अक्षर बोकेको छ । यसरी हेर्दा यो ५-७-५ को हाइकुजस्तै नियम बन्धित देखिन्छ तर यसमा बढी अक्षर हुने हुनाले यो बढी असरदायी छ भन्ने कुरा अनुमान गर्न सकिन्छ ।

साधारणतः सिजोको पहिलो हरफले परिचयात्मक विषय दिन्छ । दोस्रो हरफले त्यही परिचयात्मक विषयलाई उठान दिन्छ भने तेस्रोमा एउटा चरमबिन्दुझैँ पुर्‍याउँछ अर्थात् तेस्रो हरफमा चाहिँ पाठक या स्रोताको हृदय र मस्तिष्कलाई झनन्न पार्न सक्ने खालको क्षमता हुनुपर्छ ।

उदाहरणार्थ ः
"नजरको तीरले हान्ने त मुटुमै हो
भुतुक्क भै ढले पनि जुरुक्क उठी दौड्दै
आएर उसले मलाई राख्यो प्रेम प्रस्ताव ।"
(सुष्मा मानन्धर)

अर्को ः
"उज्यालो दिनसँग माया लागेको छ
अँध्यारोलाई रातसँग स्नेह जागेको छ
गुँडुल्किएर सुत्न कति मजा रातमा ।"
(किशोर पहाडी)

अघि नै भनियो, सिजोको ७०० वर्ष पुरानो इतिहास छ । कोरियामा यसलाई दुई श्रेणीमा विभक्त गरिएको छ । ई.सं. १९०८ देखि अगाडिलाई 'परम्परागत सिजो' तथा १९०८ पछिको लागि 'आधुनिक सिजो' भनी वर्गीकरण गरिएको छ । केही समय 'सिजो' लेखनमा शिथिलता आएको देखिए पनि सन् १९०६ मा दाएगु इओसाले 'हृयोल्जुक्गा' सिजो प्रकाशनमा ल्याएपछि आधुनिक सिजोको विजारोपण भएको भन्ने कुरा देखिन आएको छ ।

त्यसपछि सन् १९२० देखि १९२६ सम्मको समयमा लेखिएका 'सिजो'को सङ्कलन 'एक सय आठ बेदना' लाई कोरियाली आधुनिक सिजो इतिहासले आधुनिक 'सिजो' को पहिलो सङ्कलन भनी परिचय गराएको छ । यसरी नै सिजोको विकाशक्रमले एउटा आशालाग्दो मोड लिएको भनी भन्न सकिन्छ ।

विभिन्न समयमा 'सिजो' का आकार तथा नियमहरूमा परिमार्जित हुँदै आएको देखिए पनि हाललाई हामीले यसलाई प्रत्येक हरफमा १४ देखि १६ अक्षरमा लेखिने तीन हरफको काव्य हो भन्ने कुरा बुझ्यौँ भने सजिलो हुन जाने देखिन्छ । गेयात्मकता हुनु यसको अर्को पक्ष हो । संरचना गेयात्मकता र अन्तिम हरफको झनन्नले नै सिजोलाई प्रभावकारी बनाउनमा मद्दत गर्दछ ।

कोरियामा 'सिजो' सङ्कलनका विभिन्न पुस्तक समय समयमा प्रकाश हुँदै आएका छन् । त्यसरी नै सन् १९६० तिर ती ताएग्युक र जो जोङ्गयूनले एउटा सिजो पत्रिका पनि प्रकाशित गरेको देखिन्छ- 'सिजो मुन्हाक' नामको । यसरी कोरियाली साहित्यमा 'सिजो' को विकासक्रम बढ्दै गएको देखिन्छ ।

विस्तारै विस्तारै त्यसपछि कोरियालीहरूले 'सिजो' लाई कोरियाली बाहेक अन्य भाषामा पनि लैजान प्रयास गरेको देखिन्छ । अन्य भाषाभन्दा खेरी मूलतः उनीहरूले यसलाई अङ्गे्रजी भाषामा लगेको देखिन्छ ।

नेपालीमा पनि लेखियोस् भन्ने चाहना 'पेन कोरिया' मा देखिएको हुँदा दिनभरिको कार्यशालाबाट केही नेपाली कविले पनि सुन्दर सुन्दर सिजोको सिर्जना गरेका छन् ।

केही ः
"ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि
मैले त राम्ररी छुट्याउन पनि पो सकिनँ
कानमा आएर उचाङ्ग ठोकिन्छ रङ्गहीन भएर ।"
(मञ्जुल)

"गाग्रीमा पानी चढेकी, बढेकी सानी
प्यास बढ्यो चर्को, बढेछ जवानी
पोखोस् या बोकोस् उसकै जिन्दगानी"
(मुरारीप्रसाद सिग्देल)

"तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो
बोल्न खोज्दा अनुहार गुलाफ फुलिदिन्थ्यो
तिमी त पौडी सकेछौ मनभित्र माछो बनेर"
(सुष्मा आचार्य)

र, एउटा कोरियाली सिजो ः
"पहाड जति नै अग्लो होस्, यो स्वर्गकै मुनि त हो
चढ, चढ र माथि चढ्दै जाऊ चुचुरो नपुगुञ्जेल
तर कोही चढ्दैनन्, सबै थकाइको सास फेर्छन् चुचुरो नपुग्दै"
(याङ्ग सा-इओन)

जापानी काव्य शैली 'हाइकु', 'तांका', 'चोका' लेखनमा चासो राख्ने नेपालका केही कविले अब आउँदा दिनहरूमा कोरियाली काव्य शैलीको 'सिजो' लेखनमा पनि अग्रसर हुँदै गएमा 'सिजो' लाई लोकप्रिय बनाउन सकिनेमा दुई मत छैन । (गोरखापत्र दैनिकमा प्रथम प्रकाशित)


पुष्कर लोहनीद्वारा रचित केही सिजोहरू

Comments