स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व / कृष्णचन्द्रसिंह प्रधान

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला 'शारदा' मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् 'गोठाले' । त्यस बेलादेखि 'गोठाले' भएको साहित्यकार गोविन्दबहादुर मल्ल यही नामले चिनिन्छन् र हामी सम्बोधन गर्दै आइरहेका छौँ ।

'गोठाले' को यो ऐतिहासिक पृष्ठभूमि आफैँमा एउटा घटना थियो । कालिक यात्राको अविस्मरणीय क्षण वास्तवमा उसबेला पनि प्रजापरिषद्सित उनको कुनै सम्बन्ध थिएन । पछि पनि राजनीतिक भएर कुनै पार्टीसित आबद्ध भएनन् ।

हेर्दा पुड्कापुड्का लाग्ने, डिम्मडाम्म परेको जिउ, गोरो अनुहार, फराकिलो ललाटका साना तर आकर्षक आँखा, सधैँ नाक कोट्याइँरहने, अलि हँसिलो, अलि सोझो, अलि अड्दै, अलि हाँस्दै, अलि भकभकाउँदै बोल्ने गोविन्द दाइ आफ्नै किसिमको अलग चिनारी राख्छन् । सौम्य, शालीन, छवि, केही गम्भीर र सङ्कोची स्वभावका गोविन्दबहादुर मल्ल जोसुकैका निम्ति भद्रपुरुष देखिन्छन् । पाको पोखल्ड्याङको त्यो घर साहित्यकार, बुद्धिजिवीहरूको आकर्षणको केन्द्र थियो । 'शारदा' यहीबाट निस्कन्थ्यो । यसै घरको चोकमा स्थापना गरिएको थियो जोरगणेश प्रेस । पुस्तक छाप्ने मुख्य थलो पनि यही प्रेस भएकोले शिक्षित समुदायसित यसको सम्बन्ध झन् नजिकियो । यहाँ बालकृष्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा आइरहन्थे । सिद्धिचरणको कर्मभूमि यहीँ थियो । भवानी भिक्षु वर्षौँसम्म यहीँ बसे । यहीँ बसेर रिमाल सोच्थे सबैको भेट्ने थलो र विचार विमर्श गर्ने सगमस्थलको रूपमा यो विख्यात थियो । यसै घरका सु. ऋद्धिबहादुरका ज्येष्ठ पुत्र हुन् गोविन्दबहादुर मल्ल । अकवि पनि कवि हुने वातावरण आफैँ पनि प्रेरणादायी हुन्छ र बौद्धिक । त्यहाँ गोविन्द, विजय देखापर्नु आश्चर्य होइन ।

मान्छे एउटै भएर पनि भिन्नै आचरणका हुन्छन् । भिन्नै स्वभावका भएर पनि एउटै विचारका हुन्छन् । एउटै बाबुका सन्तानमा पाइने भिन्नताले पृथक व्यक्तित्व रच्दो रहेछ । कम बोल्ने र एक्लै यताउती घुमिरहने गोविन्ददाइलाई प्रायः नयाँ सडकमा साँझपख ओहोरदोहोर गरिरहेको देख्थे मानौँ लेख्ने कुनै प्लट सोच्दै हिँडिरहन्छन् । मनमा कुनै विचार खेलाउँदै टहलिरहेका छन् । राजनीतिक गतिविधिमा सहभागी नभएजस्तै साहित्यिक, साँस्कृतिक सङ्घसँस्थाहरूमा पनि उनको सँलग्नता कमै हुन्छ । यस्ता क्रियाकलाप छँदैछैन भन्दा हुन्छ । सक्रिय रहेर निर्वाह गर्न सामाजिकता कमै देख्छु । सँलग्न नरहेर चासो लिने गरेजस्तो कटिबद्धता नभइकनै सम्बन्ध राखेजस्तो उनको सँलग्नता आफ्नै किसिमको असँलग्न छ । उनी मात्रै लेख्छन् र लेखेर हरफमा सहभागी रहेको अन्तरसम्बन्धित भित्र उनी जोडिएका हुन्छन् । कहिलेकाहीँ आफ्नै नाटकको मञ्चन, प्रदर्शनमा सहभागी भएजस्तो आउजाउ गरिरहे पनि यो सक्रियतामा उनको नेतृत्व हुँदैन । उपस्थिति भइदिने उत्सुकताले उनलाई आकषिर्त गर्छ । यति हो ।

गोविन्दबहादुर मल्ल गोठाले सिर्जनात्मक व्यक्तित्वका साहित्य सिर्जक हुन् । सङ्गठनात्मक क्रियाकलापका रचनाकार होइनन् । अर्थात् उनी स्रष्टा हुन् । एक शिल्पी, एक द्रष्टा र समाजका अन्तरविग्रह, अन्तरसँरचनाका एक अध्येता पनि । कुनै पनि विषय वा फाँटको नेतृत्व गर्ने सङ्गठनात्मक भूमिका उनको देखिँदैन । त्यस खालको स्वभाव तथा प्रकृतिका उनी नहुनाले साहित्य र सायित्येतर कुनै क्षेत्रमा प्रभाव जमाउने नेतृत्वको अपेक्षा उनी राख्दैनथेँ, चाहना पनि गरेनन् । यसकारण प्रायः उनी अलग तटस्थ र निरपेक्षित देख्छु । कसैबाट प्रभावित भई सँलग्न पनि हुँदैनन् । कसैमा आफूलाई विसर्जन पनि गर्दैनन् । सात साललगत्तै सिद्धिचरण श्रेष्ठको सम्पादनमा प्रकाशित दैनिक आवाज जोरगणेश प्रेसबाटै निस्केको थियो । गोविन्द गोठालेको सँलग्नता नरहेको पनि थिएन तर पत्रकारको रूपमा आफूलाई उनले प्रतिस्थापित गरेनन् । यसरी सङ्गठनहरूबाट अलग, सामाजिक गतिविधिहरूबाट अलग, साहित्यिक क्रियाकलापहरूबाट अलग, आन्दोलनहरूबाट पनि अलग भई दिन्छन् तर तिनीहरूको महत्ता नभएर होइन, अर्थहीन सम्झेर पनि होइन, यो काम आफ्नो ठान्दैनन् । लेखक भएर उनी हेर्छन्, नियाल्छन्, अध्ययन गर्छन् र यसको आवश्यकता बुझेर असन्तोष विद्रोह, सङ्गठनहरूप्रति विमति राख्दैनन् ।

यस पृष्ठभूमिमा सापेक्षित निरपेक्षता अँगालेर सकारात्मक रहेका गोविन्दबहादुर मल्ल 'गोठाले' ले सिर्जनामा तल्लीन स्रष्टाको रूपमा आफूलाई प्रस्तुत गरेका छन् । यस कारण उनको रचनामा निरपेक्षित अवलोकनले ठूलो ठाउँ ओगटेको छ । यथार्थ समुपस्थित गरेर आ-आफ्नो विचारअनुसार निष्कषिर्त हुन स्वयँ पाठकलाई जिम्मा लगाउँछन् । यो प्रवृत्ति, सोच उनको उपन्यासमा, कथाहरू र नाटकमा पनि छ । राम्रो-नराम्रो, ठीकबेठीक, उचित-अनुचित ठम्याउन स्वयँ पाठक सक्षम छन् । उनीहरूलाई आदेश-निर्देश गर्ने लेखक को हो ? किनभने पाठक पनि सर्जक हुन् र उनीहरू अथ्र्याएर रचानाको पुनसिर्जन गर्छन् । यो स्वतन्त्रता उनीहरूको हो आफ्नो समय त्यहाँ छरपुस्ट यथार्थता, विभ्रान्त, सत्य, इमान्दारीपूर्वक पाठकसमक्ष राखिदिने काम लेखक गर्छन् । यसलाई परिवेश दिएर, वातावरण दिएर, जीवन्तता प्रदान गर्ने स्रष्टा आफैँ त्यहाँ आर्विभूत भइदिएको प्रतीत हुन्छन् ।

व्यक्तिगत रूपमा हामी के हौँ, कस्ता छौँ भन्ने कुरो उनीहरूको चारित्रिक प्रवृत्तिले चिनाउने गर्छ । त्यहाँभित्र दबिएको चाहना, ईष्र्या, भय र क्रियाशील हुन्छ । म के भन्छु भने कसैलाई हानि नपुर्‍याइकन अघि लाग्न प्रेरित गर्ने, प्रवृत्ति, विचारहरू अस्पृश्य हुँदैन । विनाशकारी हुँदैन ।

ईष्र्याकै कुरा गरौँ, यसलाई नराम्रो मानेर अक्सर मानिसहरू अथ्र्याइरहेका हुन्छन् । विष नभएको सर्प र ईख नभएको मानिस हुँदैन । उखान भन्छन् । कहावतलाई जिन्दगीमा मानिसले भोग्ने गरेको अनुभवको निचोड भन्छु । यसको सकारात्मक मूल्य बिर्सन्छौ । मलाई लाग्छ ईष्र्याविना कोही ठूलो मान्छे भएकै छैन । निस्पृह मान्छेका निम्ति यसको अर्थ नहोला तर व्यवहारमा यसले हामीमा ठूलो भूमिका खेल्ने गरेको छ ।

असल-खराब दुवै किसिमका प्रवृत्ति, ईष्र्याहरू हामीमा विद्यमान रहे पनि यसको रचनात्मकताले उत्कर्षतर्फ आकषिर्त गरिरहेको हुन्छ । यसलाई जीवन-वृत्तिको रूपमा परिभाषित गर्छन् । यो ईष्र्या जो वृत्तिको रूपमा हामीमा अन्तर्निहित छ । यसलाई जुन नामले सम्बोधन गरे पनि बोलिचालिको भाषामा ईख गर्नु भन्दछन् । यो ईख ममा पनि छ, गोविन्ददाइमा पनि छ । धेरैमा देख्छु । त्यसैले नै केही गर्न सकेका छौँ ।

आत्मवृत्तान्तमा लेखेको छु- 'शारदा' पत्रिकामा दाजु हृदयचन्द्रको नाम छापिएको देख्दा मलाई ईष्र्या लागेको थियो र मनमनै भनेछु दाजुको नाम छापिन सक्छ भने मेरो नाम किन छापिन सक्दैन ? म दाजुप्रति ईखालु भएछु । यहाँ छापिएको नामले लेखकलाई सङ्केत गरेको छु । यसरी दाजुदेखि ईखिएर म लेखक बन्न पुग्छु । भित्रभित्रै प्रतिस्पर्धा पनि गर्थे । यही ईष्र्या गोविन्द दाइमा पनि छ । एक दिन नयाँ सडकबाट फर्किरहँदा उनलाई भूगोलपार्कको फुटपाथमा भेटेछु । एक्लै फटफट हिँड्दै गइरहेका थिए । यो २०२६ सालको कुरा हो । ने.रा.प्र.प्र. मा हामी केही सदस्यहरू भरखरै मनोनित भएका थियौँ । मनोनित हुनेमा विजय पनि थिए । गोविन्द, विजय दाजुभाइ भएकाले पनि आफू त्यसमा नपर्दा ईष्र्या लाग्नु स्वभाविकै हो । परिवारमा यस्तो उदाहरण धेरै भेटिन्छन् । नदेखिने गरी भित्रभित्रै एकार्कप्रति ईष्र्या गरिरहेका हुन्छौँ । स्पर्धा गरिरहेका हुन्छौँ । 'शारदा' मा छापिएका अरू लेखकहरूको नामले म आकषिर्त भइनँ । दाजुको नामले छोइएछु । यस्तै अरूको मनोनयनले गोविन्ददाइलाई क्यै प्रभाव पर्दैन । विजयको मनोनयनले उनी आकषिर्त हुन्छन् ।

अब म लेख्दै लेख्दिन- उनी एकाएक पड्किन्छन् । ऐकेडेमिसियन हुन नपाएकोमा भित्रको असन्तोषले अभिव्यक्ति खोज्यो । अनि कुर्लेका हुन् । सामाजिक क्रियाकलापमा सँलग्नता नरहेको कुरामाथि भनिसकेँ । यो नेतृत्व तथा सक्रियताको खाँचो रहेको स्थितिमा त्यसले पनि ध्यानाकषिर्त गर्‍यो होला । आफू नपर्दा अपमान ठान्ने उनी भाइप्रति ईषिर्त हुनु अस्वाभाविक होइन । एकाघरकै भए पनि प्रतिस्पर्धा हुने गर्छ । यसले प्रतियोगी बनाएर अघि लागि रहन सघाउ पुर्‍याउँदो रहेछ । मलाई लाग्छ यो ईष्र्या हरेकमा अन्तर्निहित हुन्छ । भित्र दबिएका यी चाहनाहरू नै ईष्र्या भएर क्रियाशील हुन्छन् । म के भन्छु भने कसैलाई हानी नपर्‍याइकन अघि लाग्न उत्साहित गर्ने ईष्र्या, विचारहरू अस्पृश्य हुँदैन । विनाशकारी हुँदैन । सायद, गोविन्ददाइको यो साहित्यिक उपलब्धिहरूमा ईष्र्या, स्पर्धाको अनपेक्षित उपस्थिति, प्रेरणास्पध रहेको छ । विधाहरू पनि दुवैका उस्तै हुन्- कथा, नाटक, उपन्यास ।

दुवै कथाकार हुन्, नाटककार छन् । उपन्यासकार हुन् । यस घटनापछि गोविन्ददाइका आधा दर्जन पुस्तक निस्केँ । कथा, नाटक, उपन्यास गरी मानवीय जगत्सित परिचित हुने गोठालेले मनोविश्लेषणको बाटो रोझे । मानवीय त्रुटी, दोष, प्रवृत्तिहरू उत्खनन् गरेर त्यहाँभित्र अन्तर्निहित मनुष्यता साक्षात्कार गर्ने जिज्ञासाले उनको सिर्जनात्मकतालाई सदैव उत्प्रेरित
गरिरहृयो ।
- साभारः मधुपर्क २०६३, माघ

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom