Loading

शिव गौतमको एकल कविता वाचन


'म जहाँ जान्छु,
नेपाल बोकेरै जान्छु,
म जता हिँड्छु,
हिमाल उचालेरै हिँडछु...'

लामो समयदेखि कुण्ठित राष्ट्रप्रतिको मोहलाई कवि शिव गौतमले बिहीबार खुलेर पोख्ने मौका पाए । अमेरिकाको हार्वर्ट स्वास्थ्य विज्ञान स्कुलमा अध्यापनरत उनले पुरानो बानेश्वरस्थित गुरुकुलको सम हलमा एकल कविता वाचन गरे । 'विदेशमा यस्तो भेटघाट कहाँ पाउनु ?' उनले भने, 'साहित्य मेरो मन भुलाउने बाटो हो ।' उनले आफ्नो कृति 'मुटुनेरीको सिस्नेरी' कविता संग्रहबाट दर्जनौं रचना सुनाउन भ्याए ।

एकघन्टे प्रस्तुतिमा शिवलाई कविता वाचनका लागि कालीप्रसाद रिजाल, तुलसी विवश, उषा शेरचनलगायतले सघाए । कवि मञ्जुलले गौतमको रचना क्षमतामाथि टिप्पणी गरेका थिए । 'उनका कवितामा सरल, सुबोध र गम्भीर भाव पाइन्छ ।' उनले प्रंशसासँगै गौतमको 'मुटुनेरीको सिस्नेरी' कवितासमेत सुनाए ।

गौतम रोजगारको सिलसिलामा २६ वर्षदेखि बिदेसिएका थिए । 'तन बाहिर भए पनि मन त स्वदेशमै छ,' उनले भने, 'स्वदेश सबैभन्दा प्यारो हुँदो रहेछ ।'

(Source:Kantipur Daily)

Segments: 

Comments