Loading

शशि भण्डारी लेकालीदेखि विचलनसम्म / जयदेव भट्टराई

यसपालिको फागुनले वैगुन गरेर गयो नेपाली साहित्यलाई । डायमनशम्सेर राणा, शशि भण्डारी, हृषीकेश उपाध्याय जस्ता स्रष्टालाई एकैपटक गुमाउनुपर्‍यो । उपन्यास लेखेर तयार पार्ने, 'मेरो म' नामक संस्मरणको कृति प्रकाशित गर्ने कृष्णप्रसाद भट्टराईसमेत यही फागुन महिनामै जानुभयो । राजनीति क्षेत्रमा त्यागी, सङ्घर्षशील, सन्त र योद्धाका रूपमा प्रसिद्धि कमाउनुभएका नेपाली काङ्गे्रसका संस्थापक कृष्णप्रसाद भट्टराई राजनीति क्षेत्रमा बौद्धिक व्यक्तित्वको रूपमा सुपरिचित नाम हो । उपन्यास लेखन, संस्मरण प्रकाशनबाट साहित्यिक क्षेत्रमा पनि उहाँले आफूलाई उभ्याउनु भयो । कुनै पार्टीको ठूलो नेता भएपछि उसले बोलेका, भाषण गरेका, पत्रपत्रिकामा छापिएका रचना समेटेर मोटामोटा कृति तयार पारेर तँछाडमछाड गर्ने जमातमध्येबाटै हेर्ने हो भने नेतालाई साहित्यकार बनाउन कम्मर कस्नेहरूको पनि कमी छैन । कृष्णप्रसाद भट्टराई लेखेरै अघि बढ्नु भएको हो, उहाँ महान, ठूला, सफल समर्पित साहित्यकार होइन साहित्यकार भनेर भनिदिँदा फरक नपर्ने स्रष्टा । उहाँले लेखेका कुरासमेत प्रकाशमा आउनसकेका छैनन् ।

लेखेर, छापेर, लागिपरेर साहित्यमै समय दिने, सातवटा कृति प्रकाशित गराइसक्ने, सङ्गीतमा पनि सक्रिय रहने शशि भण्डारी यतिखेर सम्झनै पर्ने नाम । साहित्य सङ्गीतलाई माया गरेर जीवनको पाँचदशक यसैमा बिताउने उहाँ, उहाँ बितेर गएपछि भने उहाँलाई सम्भिmने र माया गर्नेहरू खासै देखिएका छैनन् । यसपालि उहाँकै सन्दर्भ उल्लेख गर्न लागिएको छ ।

'फुर्सद छैन' 'समय नै हुँदैन' केही गर्न सकिएन जस्ता कुरा गरेर पन्छिन खोज्नेहरूका लागि शशि भण्डारी अपवादमा पर्नुहुन्छ । ६० वर्षको उमेर काटिसक्दा पनि समयलाई चारैतिर बाँड्ने उहाँ समय र सीपले, सिर्जना र साधनाले, सक्रियता र सपर्मणले 'शशि भण्डारी' हुन सफल हुनुभयो । उहाँलाई चिन्नेहरूका लागि, परिवारका लागि, इष्टमित्र र आफन्तहरूका लागि उहाँ 'शशि भण्डारी' 'शशि' 'शशिराम' हो । धेरैले चिनेको शशि भण्डारी स्रष्टा शशि भण्डारी हो, सङ्गीतमा रमाउने शशि भण्डारी हो । जीवन बाँच्ने र परिवार पाल्ने मेसोमा पर्यटन व्यवसाय रोजेर पर्याप्त समय दिनुपर्ने शशि भण्डारीले साहित्य सङ्गीत रोजेर समय दिनुभयो, साधना गर्नुभयो । चिन्नेहरूका लागि उहाँ आफन्त हो, मित्र हो, परिवार हो, शुभचिन्तक हो । जान्नेहरूका लागि उहाँ गायक हो, सङ्गीत साधक हो । मान्नेहरूका लागि शिक्षक, बुझ्नेहरूका लागि साहित्यकार ।

वि.सं. २०१९ सालमै साहित्यिक क्षेत्रमा प्रवेश गर्ने शशिले लेखनमा भन्दा बढी समय सङ्गीतमा दिनुभयो । प्रसिद्ध सङ्गीत साधक गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, नवीनकिशोर राई, निर्मला श्रेष्ठ, इन्द्रनारायण आदिको सक्रियतामा, शशि भण्डारीको संलग्नतामा स्थापित 'लेकाली' सँग आवद्ध हुनुअघि नै शशि गायन क्षेत्रमा अघि सरिसक्नुभएको थियो । सङ्गीत क्षेत्रमा उहाँको योगदानको चर्चा बेग्लै पाटोको रूपमा रहेको छ । सङ्गीत क्षेत्रले उहाँ बितेर गएको एक महिना हुनलाग्दासम्म सम्झनासम्म गरेको छैन । साहित्यिक क्षेत्रमा पनि उहाँको खासै सम्झना गरिएको छैन । बरू अमेरिकामा डायमन शम्सेर राणा, शशि भण्डारीप्रति शोकव्यक्त गर्दै कार्यक्रम आयोजना गरिएको छ । त्यही सम्झना यहाँ भने गरिएको छैन ।

वि.सं. २०५८ सालमा 'सम्झनाका तरेली' नामक संस्मरणात्मक कृति प्रकाशित भएपछि उहाँ साहित्यमा सक्रिय भएर लाग्नुभयो । यसपछि उहाँका 'क्षितिजसँगैको आकाश' (२०५८ कविता सङ्ग्रह), लक्ष्मी दिदी (२०६० उपन्यास), उही क्षितिज उही आकास (२०६० कविता सङ्ग्रह), शीतको जून -२०६१ हाइकु सङ्ग्रह), डाँडावारिको घाम (२०६२ ताङ्का सङ्ग्रह), विचलन (२०६२ उपन्यास) प्रकाशमा आइसके । एउटा कथा सङ्ग्रह र उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेको छ उहाँको । उहाँको ६० वर्ष प्रवेशको सन्दर्भमा प्रकाशित शशिको साठीवर्ष नामक ६३० पृष्ठको बृहद् ग्रन्थभित्र अटाएका ११४ जना वरिष्ठदेखि कनिष्ठसम्मका लेखकमध्ये धेरै कमले मात्र यतिखेर पुनः उहाँलाई सम्झिदिए पनि उहाँप्रति न्याय नै होला ।

"शशि भण्डारीका उपन्यासहरू पनि मैले पढ्न लगाएर सुनेको छु । उहाँको लक्ष्मी दिदी उपन्यासले मेरो मलाई राम्ररी नै छोयो । विचलन उपन्यास पनि निकै राम्रो छ । त्यो उपन्यासमा देखाइएका जरसाहेब मैले आँनै आँखा अगाडि देखेजस्तो लाग्छ उनको पुस्तकालयको विवरण पढ्दा मैले त्यस्तै पुस्तकालय देखेको सम्झिएको थिएँ । यस्ता कैयौँ प्रसङ्गहरू विचलनमा छन् । ती प्रसङ्गहरूले उपन्यासलाई जीवन्त बनाइदिएका छन् ।"
(डायमन शम्सेर राणा, शशिको साठी वर्ष, २०६४)

आजका शशि परिपक्व छन् । हात बाँधेर बसेका छैनन् । युवा जोस जाँगर लिएर कलमका वाइपङ्खी घोडा दौडाइरहेछन् र नै त शशिले 'विचलन' जस्तो चारसय पचास पेजको घागडान उपन्यास र अरू कृतिहरू लेख्नसके । त्यसो त शशि लेख्ता रहेछन् धेरै पहिलेदेखि नै । हामी 'लेकाली' लाई उनले त्यसको सुइँको सम्म पनि कहिल्यै दिएनन् । त्यो उनको कमजोरी थियो कि हामीप्रतिको श्रद्धा थियो, मलाई थाहा छैन । हो, २०५८ सालपछि चाहिँ उनको लेखाइले आकाश र क्षितिज दुवै ढाकिरहेछन् । अझै पनि प्रकाशनको साइत पर्खेर खात लागेका छन् शशिका थुप्रै पाण्डुलिपिहरू । उनको यो सिर्जनात्मक लगनशीलतालाई हृदयदेखि नै मेरो सलाम ।
(गणेश रसिक, शशिको साठी वर्ष)

राजधानीको मध्यभाग कमलाक्षी काठमाडौँमा सम्पन्न भण्डारी परिवारमा भुवनेश्वर र चिनुदेवी भण्डारीका माहिला छोराको रूपमा वि.सं. २००४ सालको चैत ३१ गते जन्मिनुभयो शशिराम भण्डारी । वि.सं. २०३४ सालको फागुन १० गते काठमाडौँकी विजयावदन श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिनुभएका शशिराम भण्डारीले एम.ए. सम्मको शिक्षा आर्जन गरेर चार वर्ष वनस्थली विद्याश्रममा पढाउनुभयो । पर्यटन व्यवसाय, शिक्षण, सङ्गीत, साहित्य, समाजसेवामा लाग्दालाग्दै २०६७ सालमै फागुन २३ गते उहाँको निधन भयो । २०५८ सालमा वीरेन्द्र-ऐश्वर्य सेवा पदक - २०६१ मा एकीकृत विकास सम्मान - २०६२ मा हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार, २०६३ मा हरिबहादुर खड्का साहित्य पुरस्कार आदिद्वारा सम्मानित शशि भण्डारीले जीवनमा लामो समय बाँच्न नपाएपनि आˆना काम र कृतिबाट धेरैका मनमनमा बाँचिरहनु हुनेछ । यतिखेर उहाँका पत्नी विजयावदन, छोरा बुहारी सजीव र क्यारिन भण्डारी, छोरी डा. युविका भण्डारी, छोरी ज्वाइँ डा. स्मृति भण्डारी भोजपुरे र सिरू भोजपुरे मात्र होइन नेपाली भाषा साहित्य, सङ्गीत क्षेत्रमा चासो राख्नेहरू पनि शशि भण्डारकिो निधनबाट दुःखी भइरहेको बेला हो । साहित्य सङ्गीतमै बढी रम्न चाहने शशिका बाँकी कृतिहरू प्रकाशन गरेर उहाँलाई साहित्यिक क्षेत्रमै अझ बढी चिनाउन र फैलाउन सकियो भने उहाँप्रतिको श्रद्धाजली अरू के होला र ? 'लेकाली' बाट सक्रियता देखाउने शशि 'विचलन'सम्म आइपुग्नुभयो । सङ्गीतबाट साहित्यमा लागी यसैमा बढी रमाउने शशि भण्डारीको गुन हामीले कहिले सम्झिने ?
(Source: Gorkhapatra Daily)

Comments