सप्रेम अर्चनाको गजल सुनेपछि/ मञ्जुल

यात्रामा हिँड्दै गएपछि भगवान् पनि भेटिन्छन्; तीर्थस्थल पनि; भन्छन् मानिसहरु। चितवन, बन्दीपुर र पोखराको साहित्यिक यात्रामा थुप्रै युवा कवि; लेखकहरुसँग जाँदा मलाई यस्तै भयो। अक्षर नै भगवान्, स्रष्टा नै तीर्थस्थल मान्ने मैले साह्रै सुन्दर युवा प्रतिभाहरुसँग भेट गर्ने मौका पाएँ। यही यात्रामा भेटिएकी थिइन्; साह्रै सुन्दर वर्तमान र त्यस्तै सुन्दर भविष्य पनि बोकेकी युवा प्रतिभा; सप्रेम अर्चना।

त्यहाँ त्यस्ता युवा प्रतिभाहरु थुप्रै थिए। तिनै युवा प्रतिभाहरुको माझमा चरीजस्ता ज्यान भएका निर्बोध­निर्बोधजस्तै देखिने, कतै हराए­हराएजस्तै देखिने, तर हँसिलो र विनम्र अनुहार भएका एक जोडी सँगै बस्थे। ती जोडी विवाहित पतिपत्नी रहेछन्– विभोर बराल र सप्रेम अर्चना। 

कुदिरहेको बसमा सुनाएको सप्रेम अर्चनाको पहिलो गजलले नै मलाई छुनुसम्म छोयो। 

नयाँ धून यौटा सुनायो गजलले
र अर्को नयाँ धून पायो गजलले,

सबै ढाल्न खोज्थे सहारा छुटाई
सधैँ हात मेरो समायो गजलले।

तालीहरु खूब मीठो र शिष्ट तरिकाले बजे। गजलवाचनमा यस्तो मीठो ताली पाउनु, गजल वाचनमा यस्तो सुन्दर शिष्टता पाउनु, गजल र गजलकार दुवैका लागि अहोभाग्य हो, त्यसो त त्यस्तै अहोभाग्य हो हामी स्रोताहरुका लागि पनि। 

मैले उनलाई अरु पनि गजल सुनाउन अनुरोध गरेँ। तिनका गजलले मलाई मात्र होइन अरुहरुलाई पनि प्रभाव पारेको मैले छर्लङ्ग देखेँ। मन थाम्न सकिनँ र भनेँ, …सप्रेम अर्चना छिटोभन्दा छिटो निकाल्नुपर्छ तिम्रो गजलको किताब।'

त्यसैको परिणाम हो यो गजलसङ्ग्रह– …सपना कहाँ छुन सक्छु र!' म चाहन्छु यिनको एकल गजलवाचन पनि भव्यरुपमा गरियोस्– कहीँ; र म त्यहाँ पूराका पूरा आनन्द लिएर यिनका गजलहरुको श्रवण गर्न पाऊँ। साथमा होऊन्– युवा पिँढीका थुप्रै प्रतिभाहरु र साथमा हुनुहोस्– डीपी भण्डारी, रोचक घिमिरे र उहाँहरुजस्तै अग्रजहरु पनि। मेरो सपना पूरा होस्। 

अर्चनाको मलाई सबैभन्दा मनपरेको कुरा हो– गजलवाचन। सुमधुर स्वरमा, नडराईकन अक्षरहरुलाई– शब्दहरुलाई मोतीका दानादानाजस्तो पारेर पूराका पूरा अनुभूतिका साथ एकदमै बुझिने गरी गीतिमय तरिकाले भन्नु। वाचन पहिलो स्वपान हो स्रोताहरुसम्म पुर्‍याउने। अर्को कुरा हो– उनका गजलमा प्रयोग गरिएका सरल शब्द र गहिरो भाव। स्रष्टाहरुले सरल शब्दहरु प्रयोग गर्न सक्छन् तर गहिरो भावचाहिँ नहुन पनि सक्छ; स्रष्टाहरुले गहिरो भाव व्यक्त गर्न सक्छन् तर सरल शव्दचाहिँ नहुन पनि सक्छ। यो दुईको मेल आफैँमा एउटा अनुपम सौन्दर्य हो। सप्रेम अर्चनामा मैले दुवै कुरा एकैसाथ, सुन्दर ढङ्गले बसेको पाएँ– यसैले पार्‍यो मलाई भुतुक्कै। 

स्रष्टाहरुलाई­ खासगरी काब्यका स्रष्टाहरुलाई, स्रोताहरुसमक्ष आमनेसामने हुने धेरै सुअवसरहरु प्राप्त हुनसक्छन्। यस्तो बेला ती स्रोताहरुप्रति अपार श्रद्धा राखेर तिनीहरुको आँसु­हाँसोलाई आफ्नै आँसु­हाँसो बनाउन सक्ने स्रष्टाहरु नै सफलताको चुलीमा पुग्न सक्छन् भन्ने मेरो धारणा छ। स्रष्टाहरुले आफूलाई पनि हेर्नुपर्छ, आफ्नो मनलाई पनि हेर्नुपर्छ। तर, स्रष्टाहरुले अरुलाई पनि हेर्नुपर्छ। परकायगमन गरेर अरुहरुको मनलाई पनि अनुभूत गर्न सक्नुपर्छ। यसैले बनाउँछ सफल गजलकार। 

वाह! वाह!! प्रशंशा पाउँदा चुलिएँ भनेर घमण्डी हुनु पछारिएर धुलोपिठो हुने बाटोमा जानु हो। तर, तिनै स्रोताहरुमा समाहित भएर अघि बढ्नु युगानुयुगसम्म बाँचिरहन सक्ने बाटोमा जानु हो। 

सप्रेम अर्चना ठीक बाटोमा छिन् भन्ने मलाई लागेको छ। अर्को एउटा गजल प्रस्तुत गर्न चाहन्छु म उनको। कति सुन्दर अनुहार देखाएर उपस्थित छ यो प्रेम र समर्पणको।

कतै छुट्नु पर्दैन भन्ने भरोसा
छ यो प्रेम मर्दैन भन्ने भरोसा।

यस्तै मीठो अर्को एउटा गजल प्रस्तुत गर्न चाहन्छु म। यो गजल पढ्दा मैले यो गजलमा संसारको सबैभन्दा सुन्दर फूल देखेँ; संसारको सबैभन्दा सुन्दर उपहार देखेँ,

ममा फूलभन्दा बढी बासना छ
तिमीमा समर्पित हुने चाहना छ,

कहाँ छेक्न सक्छन् अरुले मलाई
म फुत्केर भाग्ने कयौँ बाहना छ।

यस्ता मीठा गजललाई त सङ्गीतमा आबद्ध गरेर सुन्न पाए झन् कति मीठो हुन्थ्यो होला। आउला त्यो दिन पनि एकदिन। 

गजलहरु सबै तपाईंहरुकै हातमा छन्– पढ्नुस्; आनन्द लिई­लिईकन पढ्नुस्। अन्तमा मलाई के भन्न मनलाग्छ भने, गजलकारले जब आफूसमक्ष नभएका टाढा­टाढाका स्रोताहरुलाई पनि याद गरेको हुन्छ; तिनीहरुको आँसु­हाँसोमा समाहित भएर जब गजलकारले युगको आवाज बोलेको हुन्छ, त्यो बेला मलाई झन् हर्ष लाग्छ। 

सप्रेम अर्चनाले यो कुरालाई पनि बढो मीठो ढङ्गले प्रस्तुत गरेकी छन्। एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु म यहाँ– जसले आफू र आफूअगाडि उभिएका मानिसलाई मात्र होइन एउटा फराकिलो वृत्तलाई ओगट्छः 

अन्धकारमा दीप बाल्दछु
देश निम्ति यो ज्यान फाल्दछु,

सप्रेम अर्चना! आफ्नो बाटो मूलबाटो बनाउँदै अघि बढ्नू, मेरो सारा आशीर्वाद छ तिमीलाई। युगले तिमीलाई आफ्नो बोली बनाओस् । 

मञ्जुल

Segments: 
Author: 
field_vote: 
No votes yet

Comments

Recent Comments

About Online Sahitya

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.