Loading

समालोचकको दृष्टिमा विधागत रमेश विकल/ प्रेम तिवारी

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित 'रमेश विकलः बिम्ब एक प्रतिबिम्ब अनेक' नामक समालोचना ग्रन्थमा उनका जीवनीलाई प्रश्रय दिने समग्र साहित्य र जीवनवृतिसँग सम्बन्धित समालोचनाहरूलाई समावेश गरी उनका योगदानलाई आधार मानेर समालोचनात्मक लेखहरूको क्रम निर्धारण गरिएको छ । ग्रन्थमा जीवनवृत्ति तथा कृतित्वसम्बन्धी २, कथासम्बन्धी २२, उपन्याससम्बन्धी ९, नाटकसम्बन्धी २, बालसाहित्यसम्बन्धी ५, नियात्रासम्बन्धी ४ र आत्मकथासम्बन्धी १ गरी ४५ वटा समालोचकीय रचनालाई स्थान दिइएको छ । यसमा कतिपय कृतिहरूको दोहोर्‍याइ-तेहर्‍याइ समालोचना भएका छन् भने कतिपय कृतिहरूका बारेमा कलमसमेत डोबेको पाइँदैन । यसैले कतिपय पक्षमा केन्दि्रत समालोचनाहरू प्रकाशित हुन बाँकी छन् तापनि प्रकाशित विधा र कृतिमा केन्दि्रत भएकाले उनका कृतित्वको भने बहुपक्षीय मूल्याङ्कन भएको मान्न सकिन्छ ।

जीवनकृति तथा कृतित्व खण्डमा विकलको जन्म, जन्मस्थल, बाल्यकाल, शिक्षादीक्षा, प्रेरणा, प्रभाव, विवाह, पारिवारिक जीवन, रूचि, स्वभाव, मान्यता, सेवा, पेसामा संलग्नता, राजनीति, जेल जीवन, विदेश भ्रमण, सम्मान, पुरस्कार, लेखन प्रारम्भ र विकास, देहवसानपछिका कार्यहरूमा प्रकाश पारिएको छ । यसमा उनका जीवनका उतार-चढाबलाई प्रस्ट पार्दै उनका जीवनका हरेक कुराको अध्ययनपश्चात जो कोहीले पनि आˆनो जीवन सार्थक बनाउन अनुशरणयुक्त हुने कुरा उनीहरूले उल्लेख गरेका छन् । त्यसैगरी उनलाई साहित्य साधनामा कथाकार, उपन्यासकार, निबन्धकार, नाटककार, नियात्राकार, आत्मसंस्मरणकार बालसाहित्यकार थिए भनिएको छ । काठमाडौँको सम्पन्न परिवारमा जन्मेका विकलले सुरूमा साहित्य साधना कविताबाट गरे पनि सार्वजनिक साहित्य यात्रा २००६ को 'शारदा' पत्रिकामा प्रकाशित 'गरिब' कथाबाट भएको हो । उनले झण्डै छ दशक विविध साहित्य साधनामा बिताएका थिए । उनले सामाजिक एवं मनोवैज्ञानिक धारलाई सशक्त बनाउँदै समाजवादी यथार्थवादीधारलाई मलजल गरेको कुरा रचनाहरूमा पाइन्छ । उनलाई कलाशिल्पका माध्यमबाट सामाजिक यथार्थको सूक्ष्म निरीक्षण गरी वस्तुसत्यको उदात्तीकरण गर्ने स्रष्टा भनिएको छ । ती रचनाले उनलाई विविध विधाका साधकका रूपमा परिचित गराउँदै नेपाली साहित्यका विशिष्ट व्यक्ति ठहर्‍याएको छ ।

कथा खण्डमा विकलका कथाहरू समालोचकीय दृष्टिमा के कस्ता छन् । बहुपक्षीय अध्ययनका आधारमा प्रस्तुत गर्ने काम समालोचकहरूले गरेका छन् । त्यसमा आलोचनात्मक यथार्थवाद कसरी भेट्टाइन्छ भने प्रमाणसहित केलाउने काम भएको छ । कथाका कथ्य र विषयको कलात्मक संयोजनद्वारा नै वर्ग विभेद देखाउनुलाई मूल प्रवृत्ति हो भन्ने अर्थमा उनीहरूले उत्कृष्ट आलोचनात्मक यथार्थवादी कथाकार मानेका छन् । उनीहरूले सामाजिक पक्षको कुरूप घटना, विषयवस्तु, सामन्ती संस्कारलाई समाज दुरूहताको कारक हो भन्दै विसङ्गतिको परिवेशमा अमानवीय घटना हुने कुरा विकलको कथामा पाइन्छ । सामाजिक कुप्रथाप्रति आलोचनात्मक स्वर र प्रगतिशील, प्रगतिवादी विचार उनका कथामा प्रकट भएको औँल्याउदै वेथिति र वर्गीय दृष्टिकोणले नेपाली जनजीवनमा पारेको नकारात्मक असरबारे चर्चा गरेका छन् । सामाजिक विकृतिको स्वाभाविक चित्रण गर्न विषय वस्तु, परिवेश, चरित्र र भाषाशैलीबाट सामाजिक यथार्थको विश्लेषण गर्नुलाई उनीहरूले उनका मूल कथाकारिता मानेका छन् । उनका कथाले समाजलाई स्वस्थ बनाउने सन्देश सम्प्रेषण गरी उन्नतिशील समाज निर्माणमा बाधा पुर्‍याउने हैकमी, चाकडी, चरित्रहीनता, लुब्धपन, लैङ्गिक विभेद र भ्रष्टाचार जस्ता पक्षलाई हटाउनु पर्ने सन्देश दिएको छ ।

समालोचकहरूले परिचित गराउने क्रममा प्रगतिशील यथार्थवादी कथाको मुख्य आधार माक्र्सवादी सिद्धान्त हो, राजनीति र कलाक्षेत्रमा प्रतिबद्ध भई माक्र्सवादी सिद्धान्तलाई कलात्मकता प्रदान गर्न कथाकारले जीवन चेतना, कलाचेतना र सौन्दर्यचेतनाको प्रस्तुतिबाट अगाडि बढेका छन् भन्दछन् । निम्न सामाजिकस्तरका पात्रहरूलाई स्थान दिई गाउँलाई कार्यपीठिका बनाएर लेखिएका कथामा सामाजिक विकृति र विसङगतिको विरोध, परिवर्तनको आसमा जोड दिइएको छ । नेपाली समाजको आर्थिक द्वन्द्वको चित्रणद्वारा सामाजिक समस्या प्रस्तुत गर्न आर्थिक दबाबमा परेका गरिबहरूको जीवन चित्रणका माध्यमबाट नेपाली शासन व्यवस्था नै असन्तुलित ढाचामा भएकाले नै निम्न वर्गीय व्यक्तिहरूले सङकटपूर्ण नियति व्यहोर्नु परेको कुरा रचनामा पाइन्छ । द्वन्द्वको चित्रण गर्न खप्पिस विकलका कथाका पात्रहरूको अनुभूति, वेदना, पीडा र सम्वेगको संयोजनबाट मानिसको आन्तरिक र बाहृय सामाजिक वातावरणका बीच सम्बन्ध स्थापना गरी कृतिहरूको शिल्पगत सफलता र विधागत सन्तुलन मिलाएको कुरा ती रचनामा उठाइएको छ ।

विकल जीवन परिवेश, जीवनदृष्टि, वैचारिक मूल्यबोध, यथार्थबोध र जीवनबोधका सन्दर्भमा सफल लेखक हुन् त्यसैले नेपाली कथाको फाँट निकै फराकिलो भएको समालोचकहरूले प्रस्ट पारेका छन् । वस्तुतत्व, संरचना, भाषाशैलीले उनका कथा रोमन्सीय प्रवृत्तिका रहस्यात्मक, रसात्मक तथा रमणीयार्थक भएकाले नै युग सन्दर्भसँग गाँसिएको छ । उनीहरूले कथायात्रालाई चरणमा विभाजन गरी पृष्ठभूमिका घटना र कथानक भित्रका चित्रहरूलाई महत्व दिएर वैविध्यक पात्रहरू भेट्टाइने कुरा उल्लेख गरेका छन् । त्यसमा सामाजिक पर्यावरणको छाप देखिने र समाज तथा पात्र संयोजनमा बाल, युवा तथा वृद्ध केन्द्रको पूर्वाधार तयारी गरी चेतना फैलाउनुका साथै सामाजिक, राजनीतिक, बालमनोवैज्ञानिक र वेदनायुक्त रहेको प्रस्ट्याइएको छ ।

विकलका कथालाई सूक्ष्म तरिकाले अध्ययन गर्दा प्राथमिक चरणमा आर्थिक विषमताले निम्न वर्गमा समस्याहरू जन्मने र आर्थिक कारणले नै भेदभाव, अन्तरविरोध जन्मने देखाउँदै दोस्रो चरणका कथाहरू समाजवादी-यथार्थवादी ढाँचामा सर्वोत्कृष्ट छन् भन्नमा उनीहरूले कन्जुस्याइँ गरेका छैनन् । सिर्जनात्मकता, मौलिकता र प्रयोगका कारण उनी शिखरमा पुगेको तथ्य उद्धृत गरेर उनले नेपाली साहित्यलाई लगाएको गुन हामीले बिर्सनु हुँदैन भन्ने ठहर समालोचकहरूको छ ।

उपन्यास खण्डमा विकलका प्रतिबिम्वित यथार्थको सङ्क्षिप्तता केलाउने काम भएको छ । जीवन दर्शनबारे उनीहरूले सामन्ती उत्पीडनद्वारा ध्वस्त जिन्दगीको कारूण चित्र उतार्दै शोषित पीडित समुदायका पीडा, चित्कार र आक्रोशको कर्णभेदी आर्तनादमात्र नभएको, युग जीवनको क्रान्तिकारी चेतना आत्मसात गरेको कुरा उठाएका छन् । आर्तनाद युगजीवनको प्रसव पीडा हो, त्यसले सुखद भविष्य निम्त्याई शिशुको जन्म दिनु हो भनेर समालोचनामा ठोकुवा गरिएको छ । उनीहरूले बाहृय संरचना, शब्द सङ्ख्या र पदीय आधारमा प्रयुक्त टुक्काको विश्लेषण र वर्गीकरण गरी टुक्काले कथ्य र लेख्य भाषिक अभिव्यक्तिलाई कसिलो तुल्याउनका साथै अर्थलाई प्रस्ट र चमत्कारी तुल्याएको छ भनेका छन् ।

उपन्यासमा आञ्चलिकता अविरल बग्दछ इन्द्रावतीलाई महत्वपूर्ण ठानेर सुनौलीमा पनि धेरथोर भेट्टाउन सकिने कुरा उनीहरूले बताएका छन् । उनका उपन्यासमा भूगोल, कालखण्ड, प्रकृति तथा वातावरण, जीवन पद्धति, रीतिरिवाज, संस्कृति, भाषा, रहनसहन, भेषभूषा आदिको चित्रणले नै आञ्चालिकता उजागार भएको मान्नै पर्छ भनिएको छ ।

समालोचकले विकलको औपन्यासिक आरम्भदेखि २०२१ सम्मलाई आलोचनात्मक यथार्थवादी चरण, २०२२ देखि २०३१ सम्मलाई यौन र प्रयोगशीलचरण र २०३२ पछिलाई समाजवादी यथार्थवादीचरण भनी विभाजन गरेको पाइन्छ । विकलको उपन्यासको वस्तु परिचय, औपन्यासिक तत्वहरूको योजना, स्वतन्त्रता र यौन चिन्तन, भाषिक प्रस्तुति र त्यसले दिने सन्देशका बारेमा उनीहरूले विश्लेषण गरेका छन् । उनका सिर्जनात्मकता र सांस्कृतिक दिवालियापनको पनि आलोचना गर्न समालोचकहरू पछि परेका छैनन् ।

नाटक खण्डमा उनका एकाङ्कीको भाषा सामान्य, सरल, बोलीचालीका स्थानीय कथ्य भाषालाई प्रयोगमा ल्याएको कुरा उठाउँदै उनी पात्रका भावनामा बगेर कवितात्मक तथा संवादात्मक भाषाको प्रयोग ठिकै भएको समालोचकले उठाएका छन् । एकाङ्रकी वस्तु, संरचना, दृश्यविधान एवं शिल्पशैलीका आधारमा सामान्य, मध्यम, उच्च र उत्कृष्ट छन् भन्दै उनीहरूले नाटकको सफलता भन्नु 'मञ्चन' भएकाले उनका सबै नाटकहरू उत्तीर्ण छन् भनेका छन् । सामान्य जस्तो लाग्ने कथावस्तुलाई घटनाक्रमका आधारमा रचिएका, त्यसमा थाहा नपाइँदो पाराले गहिरो प्रभाव दिने संवादहरूले सरल, सरस भाषाको प्रयोगले गम्भीर चिन्तन दिनुलाई उनको नाट्य विशेषता मानेका छन् ।

बालसाहित्य खण्डमा समालोचकहरूले विकलको सिर्जनाअन्तर्गत बालकथा, बाल उपन्यास, बालनाटक, बाल एकाङ्की र बालगीतहरू छन् । उनले दुई दर्जनभन्दा बढी बालकृति रचनाहरू बालसाहित्यको फाँटमा सुम्पेका छन् । यी सङख्यात्मक र गुणात्मक हिसाबले महत्वपूर्ण छन् । उनैले बालबालिकालाई उपन्यास र एकाङ्कीको रस चखाउने काम गरे । उनकै सिर्जनाबाट बलबालिका, अभिभावकका साथै समग्र समाज लाभान्वित भएको कुरा सन्देह गर्ने ठाउँ छैन । उनले बालसाहित्य उठानका लागि गरेका सिर्जनाले नेपाली बालसाहित्यका प्रसिद्ध सर्जक भएको भन्ने ठम्याई समालोचकहरूको छ ।

उनका सम्पूर्ण बालकृतिले बालसाहित्यको क्षेत्रलाई उठाएको, रचनाहरू बालपयोगी भएको समालोचकहरूले उठान गरेका छन् । बालसाहित्य खडेरी परेको अवस्थामा झुल्केको विकलको योगदान र सक्रियतामा कुनै कमी नभएको चर्चा गरिएको छ । बालसाहित्यले बालकलाई जस्तो भाव र चिन्तन दिन सक्छ, भविष्यमा पनि त्यो त्यस्तै बन्छ भनेर विवेचना गरिएको छ । उनले आधुनिक परिवेश र युगान्तकारी परिवर्तनको सन्देश सम्प्रेषण गर्नुपर्नेमा पुरातनवादी चिन्तन वा धारणा प्रस्फुटन हुन पुगेको छ भन्दै आध्यात्मवादी विचारलाई क्रमिक रूपमा सुधार गर्दै गएको उनीहरूको ठम्याई छ । उनका समस्त बालकथाहरूमा धुत्र्याइँ, दुष्टता, आशक्ति, दुस्साहस र दुराचारको परिणाम जहिले पनि नकारात्मक हुने नैतिकता, होसियारी, चनाखोपन, आत्मविश्वास, दृढनिश्च जस्ता सकारात्मक मानवीय गुणहरूले कलिलो मस्तिष्कमा मनोवैज्ञानिक तरिकाले शिक्षा दिने कलामा उनलाई निपूर्ण देखाइएको छ ।

नियात्रा खण्डमा विकलको यात्रा साहित्यसम्बन्धी तीनवटा समालोचकीय रचना प्रकाशित छन् । यसलाई समालोचकहरूले धेरै राम्रो सिर्जनशील, प्राकृतिक र सौन्दर्यबोध गराउने उत्कृष्ट, मौलिक, जीवन्त बिम्बविधान, सांस्कृतिक, ऐतिहासिक, पौराणिक कथा तथा किँवदन्ती र उखान टुक्काहरूले सजिएको कृति मानेका छन् । सामाजिक, आर्थिक न्यायका लागि उनले सुधार र रूपान्तरणको आवाज उठाएर धार्मिक जातीय विभेद र सामाजिक कुसंस्कार तथा कट्टरवादको धज्जी उडाउन निम्न वर्गका स्वरहरू फैलाएका छन् । उनीहरूले यसलाई डायरी शैलीमा परिवेश, प्रकृति आदिको चित्रात्मक, काव्यात्मक, रसात्मक वर्णन र लालित्यमय प्रस्तुतिले सजिएको उत्कृष्ट नियात्रा हो दर्ज गरेका छन् । यस कृति तत्सम, तद्भव र आगन्तुक शब्दहरूका साथै ठेट् स्थानीय शब्दको प्रयोगले साझा भाषालाई स्थान दिएर भूस्वर्गको खोजमा अँध्यारोबाट उज्यालोतिर गतिशील छ भन्दै खोजी प्राप्ति र प्राप्ति खोजीको समन्वयद्वारा मानवीय सभ्यताको विचरणीय मोडमा पुगेको देखाइएको छ ।

यस कृतिको विषयवस्तु, यात्रा, प्रस्तुति र वैचारिक भाषा शैलीगत प्रवृत्तिको विश्लेषण गर्दै उनीहरूले यात्रा साहित्यमा विकलको प्रवृत्तिगत वैशिष्ट्यता र तिनका उपलब्धिहरू पहिल्याएका छन् । यी विविध प्रवृत्तिको वर्णनद्वारा यात्रा साहित्यलाई समृद्ध तुल्याउन विकलले जिउन सिकेको, विचलित नभई सङ्घर्ष छिचौल्न सकेको हुनाले उनको जीवन सफल रहेको समालोचकहरूले प्रस्ट्याएका छन् ।

आत्मकथा खण्डमा एउटा मात्र समालोचकीय रचना प्रस्तुत गरिएको छ । समालोचकले प्रस्तुत रचनामा आत्मकथाको सैद्धान्तिक परिचय र नेपाली आत्मकथाको परम्परा प्रस्ट पार्दै विकलको आत्मलेखन सन्दर्भमा 'मेरो अविरल जीवन गीत' को अध्ययन र विश्लेषणबाट नै उनलाई नेपाली आत्मकथाकारहरूमा विशिष्ट र यशस्वी स्थान प्राप्त भएको छ भनेका छन् । घटना यथार्थ, अलङ्कारपूर्ण, कवितात्मक, चमत्कारी, वर्णनमा चित्रात्मकता, अनुभूतिमा तीव्रता, विचारमा प्रगतिशीलता, अभिव्यक्तिमा सरलता, वस्तुविन्यासमा सामाजिकता, स्वाभावमा निश्चलता, विद्वतापूर्ण तार्किक, न्यायपूर्ण निर्णयले युगीनता र आञ्चलिकता उनका आत्मकथाका विशेषता रहेको बताउँदै समालोचकले यिनै विशेषताले नै उनलाई आख्यान विधामाझैँ आत्मकथामा पनि शिखरस्थान प्राप्त छ भनेका छन् ।

नेपाली साहित्यका प्रायः सबैजसो विधाका साधक रमेश विकलको जीवनवृत्ति र कृतित्वलाई नियाल्दा उनको जीवन सार्थक, लोभलाग्दो, अनुशरणलायक, शिक्षाप्रद पथप्रदर्शक छ । उनका अथक प्रयास र लगनशीलताले नै नेपाली साहित्यलाई शिखरमा पुर्‍याउन मद्दत गर्‍यो । उनले जीवनमा यति धेरै बहुविधाका कृतिहरू दिएर नेपाली साहित्यिक क्षेत्रलाई अविस्मरणीय गुन लगाएका छन् । बहुविधाका स्रष्टाको कृतिहरूलाई लब्धप्रातिष्ठित समालोचकहरूले नजिकबाट हेरेर कृतिभित्रका गुणदोष पारदर्शी नाङ्लोमा केलाउने काम गरेका छन् । उनीहरूले कृति केलाउँदा निस्केका भूस, कनिका र चामललाई एक एक गरेर छुट्टयाउने काम भएको पाइन्छ । 'रमेश विकलः बिम्ब एक प्रतिबिम्ब अनेक' ग्रन्थ ओजिलो, गहकिलो कृतिभित्र सबै पठनीय सामग्री सजिएका छन् । मुखपृष्ठ स्रष्टाको आकर्षक तस्बिरले शोभायमान छ भने कृतिलाई सुन्दरता प्रदान गर्न सम्पादनकर्ताहरूको प्रयास सफल नै देखिन्छ ।

(Gorkhapatra)

Segments: 

Comments