Loading

प्रयोग र साहित्य/ नरेश शाक्य

साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत नै छ । कति दुःखलाग्दो, हास्यास्पद पनि । कुपमण्डूकजस्तो उनीहरू आत्मलाप गाएर बस्छन्, कुप बाहिरको संसार देख्न अस्वीकार गर्छन् ।
दर्शन, विज्ञान, कला, साहित्य र संस्कृति सबै प्रयोग नै हुन् । प्रयोग धर्मी । मानव जातिले आˆनो अस्तित्व र विकासको क्रममा हासिल गरेको उपलब्धि । माक्र्सको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी दर्शन, फ्रायडको मनोविज्ञान, अन्य वैज्ञानिक सिद्धान्तहरूले अपनाएको बाटो प्रयोगकै हो । प्रयोगविना उनीहरू आजसम्मको ऐतिहासिक अवस्थामा आइपुग्न सक्ने थिएनन् । माक्र्सले त आफनो सिद्धान्तको बारेमा के भनेका छन् भने- "मेरो सिद्धान्त रुढी होइन, कार्यमा मार्ग निर्देशक तìव हो । तसर्थ कुनै पनि धर्म, वाद, सिद्धान्त वा दर्शनका अनुयायीहरूले आˆनो मत शत-प्रतिशत ठीक भएको दावी गर्न मिल्दैन । हठ गर्न मिल्दैन । प्रयोगको कसीमा जाँच्नुपर्दछ, घोटिनुपर्दछ । बुद्धले भनेझैँ प्रामाणिकता खोज्नुपर्छ ईश्वरवादी, अनिश्वरवादी दुवैले । विज्ञानले अवलम्बन गरेको बाटो पनि त्यही हो । प्रयोग प्रयोगबाटै यो समस्त संसारको उत्पत्ति र विकासको सिंहावलोकन, अनुसन्धान र आविष्कार विज्ञानले गरेको छ । त्यही प्रयोगको आधारमा मानव जीवनलाई विकासको यस चरणमा पुर्‍याइदिएको छ । धामी, झाँक्री, वैद्य, विजुवा वा दैवको भरमा परेर बसेको भए औषधि विज्ञान, भौतिक तथा रासायनिक विज्ञान आजको अवस्थामा आइपुग्न सक्ने थिएनन् ।

माक्र्सवाद वस्तुजगत्मा गरिएको एउटा प्रयोग, दार्शनिक प्रयोग थियो भने फ्रायडवाद मनोजगत्मा । माक्र्सले भनेका छन्- "अरू सम्पूर्ण दार्शनिकहरूले जीवन र जगत्को व्याख्या गरेका छन् भने मूल कुरा त त्यसलाई फेर्नु हो ।" यो 'फेर्नु' को प्रयोग माक्र्सले नगरिदिएका भए हामी दार्शनिक अल्मल्याइँमा नै रहने थियौँ । यो फेर्नुले हामीलाई दृष्टि दियो, एउटा सचेत र क्रान्तिकारी दृष्टि । लेनिनवाद रुसको विशिष्ट परिस्थितिमा माक्र्सवादकै प्रयोग थियो । यो प्रयोगले माक्र्सवादलाई लेनिनवादको तहमा विकसित गर्‍यो । रुसको भूमिमा क्रान्तिकारी रूपान्तरणको प्रक्रिया सुरु भयो । माओका विचारहरू तत्कालीन चीन र अन्तर्राष्ट्रिय परिस्थितिको उपज थियो । माक्र्सवादको नवीनतम प्रयोग, यो नवीनतम प्रयोगमार्फत सुतिरहेका चिनियाँ जनताले क्रान्तिको हतियार फेला पार्‍यो र उनीहरू जुर्मुराउँदै उठे-नयाँ चीनको निर्माण गर्न । नौलो जनवादमार्फत । विरोधमा माओले एक ठाउँमा भनेका छन्- यान्त्रिकीकरणको माक्र्सवादको त्यो हिस्सा जुन चिनियाँ क्रान्तिको वस्तुस्थितिसँग मेल खाँदैन, त्यसलाई मिल्काइदिए हुन्छ । हो, यस्तै साहसिक प्रयोगको हामीलाई खाँचो छ ।

साहित्य, कला र सङ्गीतको क्षेत्र त झनै प्रयोगको हो । साहित्य, कला र सङ्गीतलाई बचाउनु छ, जीवन्त राख्नु छ, स्तर उकास्नु छ भने प्रयोग गर्नैपर्छ । समाजमा विद्यमान र अन्तर्निहित तथ्यलाई उजागर गरेर देखाउनु छ भने नवीन तथ्यलाई उजागर गर्ने क्रममा, पुरातनको भत्र्सना गर्ने क्रममा नवीन दृष्टि वा सोच, नवीन शिल्प र प्रविधिको प्रादुर्भावको आवश्यकता पर्छ । पुरानै लिकमा घसि्रएर हिँडिरहनेले क्रान्तिकारी दृष्टि अँगाल्न सक्दैन । परिवर्तनकारी भूमिका खेल्न सक्दैन । येनान गोष्ठीमा कला साहित्यबारे प्रवचन दिँदै माओले घिसेपिटे पार्टी लेखनको विरोध गर्नुभएको छ र सिर्जनशील साहित्यको निम्ति आग्रह गर्नुभएको छ तर किन हाम्रा समालोचक वन्धुहरू पुरानै राग अलाप्छन् ? हुर्कंदो र गर्भाशयमा प्रकट भइरहेको तथ्यलाई स्वीकार गर्न गाह्रो मान्छन् ?

किम इल सुङ्गको 'जुचे विचारधारा' माक्र्सवादकै एउटा प्रयोग थियो जसले कोरियाको भूमिबाट साम्राज्यवादलाई मिल्कायो र एउटा सम्प्रभु र उन्नत कोरियाको निर्माण गर्‍यो ।

प्रयोगवादलाई घृणा गर्ने हाम्रा साहित्यिक मित्रहरूले आफनो मस्तिष्कको सङ्कीर्ण ढोका खोल्नैपर्छ । प्रयोगविना कसरी तथ्य उजागर हुन्छ ? कसरी विकासले फड्को मार्छ ? साहित्यलाई नयाँ उचाइमा कसरी पुर्‍याउँछ ? साहित्यका नाममा हामी सधैँ भोटको सवाइ, प्रेमलहरी र लोकलहरी पढेर गाएर बस्न सक्दैनौ । यसले साहित्यिक जिज्ञासुहरूका भोक-तिर्खा मेट्न सक्दैन । नयाँ आस्वाद, नयाँ सन्तुष्टि दिन सक्दैन । चेतनालाई नयाँ र माथिल्लो स्तरमा उठाउन सक्दैन । साहित्यलाई जीवन्त राख्न प्रयोगको आवश्यकता पर्छ । प्रयोग त्यो पहिरन हो, त्यो गहना अथवा आभूषण हो जसले व्यक्ति व्यक्तित्वलाई माथि उठाउँछ । सिर्जनात्मक क्षमताको दर्शन गराइदिन्छ । साहित्यको अग्रगमन नचाहने, विकास नचाहनेहरूले मात्र प्रयोगको विरोध गर्छन् ।

"साहित्यमा २+२=४ मात्र हुँदैन त्यो ४ वा ६ पनि हुन्छ ।" देवकोटाको यस भनाइलाई साभार गर्न चाहन्छु । नबाबको मदिरालाई खुन भन्ने र फूलमा पद्मनिी हाँसेको देख्ने क्षमता चाहिन्छ । फर्मुला लेखनको दायरा, सीमित परिधिलाई प्रयोगात्मक लेखनले सधैँ नकार्छ, बहिष्कार गर्छ । तसर्थ साहित्य सधैँ प्रयोगात्मक हुन्छ, तदर्थवादी होइन ।

संसारमा नित नयाँनयाँ दृष्टिकोणको उद्भव र आविर्भाव भइरहन्छ । त्यसको सकारात्मक भूमिका र पक्षलाई हामीले आत्मसात् गर्न सक्नुपर्छ । त्यो आत्मसात् गर्न सकेनौँ भने हाम्रो चिन्तन समयभन्दा पछाडि, पूर्वाग्रही बन्न जान्छ । पूर्वाग्रही धारणाले सिर्जनशीलजस्तो केही कुराको पनि निर्माण गर्न सक्दैन । हामीले समाजलाई फेर्न, मानव जीवनलाई फेर्न खाएको औषधि डेट एक्स्पायर्ड हुनजान्छ जसको सेवनले स्वास्थ्यमा अनुकूल होइन कि प्रतिकूल असर पार्न जान्छ । यस विषयमा हामीले समयदेखि नै सचेत हुनुपर्छ ।

साहित्यले अब साहित्य, कला र सङ्गीतको त्रिवेणी बन्नुपर्छ । दर्शन, विज्ञान, मनोविज्ञान र राजनीतिको संयोजन हुनुपर्छ । माक्र्सवादले प्रयोगात्मक साहित्यको कहिले विरोध गर्दैन बरु पक्षपोषण गर्छ । प्रयोगका लागि ढोका सदैव खुल्ला राख्छ तर हाम्रा केही साहित्यिक बन्धुहरू प्रायोगिक साहित्यको न्वारानदेखिको बल झिकेर विरोध गर्छन् । भान्सा बाराबार गर्छन् । यो उनीहरूको अल्पज्ञानको परिचय हो । अल्पज्ञान सधैँ डरलाग्दो हुन्छ । उनीहरूले या त माक्र्सवाद बुझेकै छैनन् वा बुझेर पनि बुझ पचाएका छन् । आफनै दुनो, निहित स्वार्थको पूर्तिका निम्ति तथ्यलाई, वास्तविकतालाई तोड मरोड गरेका छन् । यदि त्यसो हो भने त्योभन्दा घीनलाग्दो कुरा अरू के हुनसक्छ ? साहित्यलाई अनुर्वर र अनुत्पादक हुनबाट बचाऔँ । प्रयोगको लहर बढाऔँ ।

(This article was first published in Madhuparka Literary Magazine)

Segments: 
Author: 

Comments