Loading

नूतन मार्ग निर्माण गर्दै अर्चना/ विभोर बराल

युवा गजलअनुरागी सप्रेम अर्चना पाठकसमक्ष आएकी छिन् शास्त्रीय तथा लोक छन्दका साथै फारसी बहरमा बाँधिएका गजलहरूको सँगालो 'सपना कहाँ छुन सक्छु र!' लिएर। आफ्नो यस कृतिमार्फत उनले नौलो किर्तिमान पनि बनाएकी छिन्। उनी प्रथम नारी स्रष्टा बन्न पुगेकी छिन् छन्दमा आधारित गजल सङ्ग्रह प्रकाशित गर्ने। 

अर्चनाको यस कृति मार्फत नेपाली गजलविधामा नौलो सुमधुर धून गुञ्जिएको छ। पाठक तथा श्रोताको मनमस्तिष्कलाई झंकृत गर्न सक्षम उनका गजलहरूले विषयगत हिसाबमा विविधता बोकेका छन्। उनका गजलले कतै देशको दुराअवस्थाप्रति असहमती तथा आक्रोश प्रकट गरेका छन् त कतै सुन्दर भविष्यको लागि सङ्घर्ष गर्ने प्रण बोकेका छन्। कतै व्यंग्य, कतै वेदना, कतै प्रणय त कतै आशा — उनका गजल मानवीय भावना तथा चेतनाका अति सुक्ष्मतम् पाटा केलाउन सफल देखिन्छन्। 

छन्दमा गजललेख्न सरल छैन। कतिपय भन्छन् — यसले सिर्जनालाई खुम्च्याउँछ, छन्द मिलाउन बढी ध्यान जाँदा भावगत पक्षमाथि अन्याय हुन्छ। तर यस्ता भनाइलाई असान्दर्भिक बनाइदिएका छन् अर्चनाका गजलहरूले। प्रतिभा र अभ्यास हुने हो भने छन्दमा जिन्दगी भर्न सकिन्छ भन्ने प्रमाण हो उनको यो कृति। उनी बल गरेर जबरजस्ती गजल लेख्दिन्न्। जब उनको हृदयमा भावनाको आँधीबेहरी आउँछ तब उनी स्वयं पनि रोक्न सक्तिनन् आफूलाई एउटा सुन्दर गजल जन्माउनबाट। यस सङ्ग्रहमा परेका कतिपय गजलहरू उनले पन्द्रदेखि बिस मिनेटको अवधिमा पूरा गरेकी हुन्। वास्तवमै अनुपम गजललेखन प्रतिभा सँगालेकी छिन् सप्रेम अर्चनाले।

आफ्ना गजलमा निकै सुक्ष्मरूपमा मानवीय संवेदनालाई प्रस्तुत गर्न सफल अर्चनालाई उनको पेसाले पनि साथ दिएको हुनुपर्छ। मनोविमर्शकर्ताको रूपमा उनी सधैँ तल्लीन रहन्छिन् सेवाग्राहीहरूले मनभित्र गाँठोपारेका भावनाका पोकाहरू खोतल्न। 

जसरी हिमालबाट फूटेको नदी आफ्नो बाटो बनाउँदै महासागर तर्फ लम्कन्छ, सप्रेम अर्चना पनि लम्किँदैछिन् गजलको महासागर तर्फ — नूतन मार्ग निर्माण गर्दै। 

सहयात्राको प्रत्याभूतिका साथ बधाइ तथा शुभकामना।

विभोर बराल

Author: 
Segments: 

Comments