Loading

नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम/ दिपक विहिन

प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-"साहित्यलाई पनि आम उपभोग्यवस्तुजस्तै विज्ञापनमार्फत् बेच्न थालिएपछि साहित्यका उपभोक्ताहरू अन्यौलमा पर्न थालेका छन्।"

नेपाली साहित्यमा नोवल पुरस्कार मानिने मदन पुरस्कारसमेत वितेको वर्ष गैरसाहित्यिक रचनाले पायो । हुन त यसअघि पनि थुप्रैपटक गैरसाहित्यिक कृतिले सो पुरस्कार पाइसकेको छ । यद्यपि, गैरसाहित्यिक कृतिले मदन पुरस्कार प्राप्त गर्नुले पनि वितेको वर्षको नेपाली साहित्य प्रकाशनलाई आङ्कलन गर्न सकिन्छ।

"साहित्य पनि उपभोग्यवस्तुजस्तो भयो, प्रचारका हिसावले", पाठकलाई पुस्तक पढ्न वाध्य पार्ने विज्ञापनका कारण पढ्नेको सङ्ख्या र बानीको विकास हुने विश्वास राख्ने साहित्यकार पुरूषोत्तम सुवेदी भन्नुहुन्छ-"गम्भीर खालका साहित्यलाई यस्तो प्रचारले के असर पार्ला ? प्रचारवाजीले कमजोर मानिसलाई जबरजस्ती स्थापित गर्दिन्छ ।"

वितेको वर्षमा कथा, उपन्यास, कविता, संस्मरणलगायत गरी करिव ३० वटा नयाँ पुस्तक अध्ययन गरेको बताउनुहुने साहित्यकार सुवेदीले मनपरेको एउटा पुस्तकको नामसमेत लिन चाहनुभएन । "नामै लिन चाहन्न । नाम लिनु खतरा छ । अन्यौलको स्थिति हो", संख्यात्मक भेलका बीचबाट गम्भीरखालका साहित्यिक कृतिसमेत प्राप्त हुने विश्वास राख्नुहुने साहित्यकार सुवेदीले भन्नुभयो-"उपन्यासका केही पुस्तकले बजारमा हलचल ल्याए तर प्रचारमा देखिएजस्तो अध्ययनमा पाइएन ।" गम्भीर र राम्रा रचनाको महत्व र मूल्य लामो समयसम्म रहने भएकाले कुनै पनि कृतिको तत्कालै मूल्याङ्कन गर्न नसकिने बताउनुहुन्छ, सुवेदी ।

नेपाली साहित्यमा प्रचारवाजी खतरनाक रूपमा आएकोले गम्भीर साहित्यलाई अझ ओझलमा पार्दै लैजाने ठहर छ, उहाँको । "स्रष्टा र पाठक होहल्ला होइन चुपचाप बस्छन्", संसारभर नै गम्भीर साहित्य चर्चाभन्दा बाहिरनै रहने गरेको उल्लेख गर्दै साहित्यकार सुवेदी भन्नुहुन्छ-"राम्रोखालको साहित्यिक पत्रकारिता नभएकै कारणले गम्भीर साहित्य ओझलमा र प्रचारवाजी साहित्यले व्यापार गरिरहेको छ ।"

वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको बुझाइमा नेपाली साहित्यको प्रकाशन निराशाजनक नभए पनि स्तरीय साहित्य प्रकाशन हुन नसकेको बताउनुहुन्छ । सरकारी प्रकाशनगृहमा शिथिलता आएको भए पनि निजी क्षेत्रका प्रकाशनले नेपाली साहित्यको प्रकाशनमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्नुहुँदै चालिसेले भन्नुहुन्छ-"साहित्यमा छिरेको विज्ञापनले नेपाली साहित्यलाई धरासायी बनाउनसक्ने खतरा छ ।" विगतेका वर्ष गम्भीर खालका साहित्यभन्दा पनि प्रचारवाजी बढी पाइएको र जसको हातमा मिडिया छ उसैको चर्चा बढी हुने गरेको ठम्याई उहाँको छ । यद्यपि, नेपाली साहित्यको अवस्था निराशाजनक नभएको उहाँ बताउनुहुन्छ । वितेको वर्ष पढेकामध्ये झमक घिमिरेको 'डाँडाको फूल', कृष्णप्रसाद भट्टराईको 'राम्रो म', परशु प्रधान र नारायण तिवारीको सम्पादनमा निस्केको कथासङ्ग्रह 'तराई मधेशका कथा' जस्ता पुस्तकहरू आफूलाई मनपरेको साहित्यकार चालिसे बताउनुहुन्छ ।

मधुपर्क मासिकका निमित्त सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को अध्ययनमा पनि ०६७ साल नेपाली साहित्यको लागि समग्रमा उपलब्धिमूलक भएन । साहित्यकार रोदन भन्नुहुन्छ-"हल्लामा आएका पुस्तक गुदी नभएका तर राम्राकृति ओझलमा ।"

चाउचाउको विज्ञापनजस्तो प्रचारवाजी नेपाली साहित्यको लागि घातक हुने धारणा राख्नुहुने साहित्यकार रोदनका अनुसार यस वर्ष पनि गजल, कविता, नियात्रात्मक पुस्तक बढी प्रकाशनमा आए । उहाँका अनुसार माओवादीको पूर्वछापामार तारा राईको उपन्यास 'छापामार युवतीको डायरी', झमककुमारी घिमिरेको आत्मपरक निवन्धसङ्ग्रह 'डाँडाको फूल', तृष्णा कुँवरको कथासङ्ग्रह 'सिराज अहमद', दुर्गा घिमिरेको दोस्रोसंस्करण कृति 'जेल संस्मरण', स्व.लैनसिंह वाङ्देलको 'मुलुक बाहिर म', रोदनकै स्रष्टाहरूसँगको अन्तरवार्ता संगालो

'प्रसङ्गवस', सनतकुमार वस्तीको 'गजलनामा' लगायत केही पठनीय पुस्तकहरू वितेको वर्ष नेपाली साहित्यभण्डारमा आएको छ ।

गजलकार ज्ञानुवाकर पौडेलले २०६७ सालमा प्रकाशित आफूले पढेको पुस्तकमध्ये साझ प्रकाशनबाट प्रकाशित बाबुराम लामिछानेको कथासङ्ग्रह 'पाखाको', बुद्धिसागर चपागाईंको उपन्यास 'कणर्ाली ब्लूज', प्रकाश सुवेदीको यात्रासंस्मरण 'छोरीलाई भेट्न जाँदा'लगायत पुस्तकहरूले मन जितेको बताउनुहुन्छ ।

गैरसाहित्यिक कृतिका रूपमा विवेक शाहको 'मैले देखेको दरबार' ले पनि नेपाली पाठकबीचमा निकै चर्चा पायो । कविका रूपमा आˆनो छवि बनाएका बुद्धिसागर चपागाइर्ंको उपन्यास 'कणर्ाली ब्लूज' ले पनि चर्चाका साथै आम्दानीसमेत गर्न सफल बन्यो । नारायण वाग्लेको 'मयूर टाइम्स' ले जति प्रचार पाएको थियो, त्यो अनुपातमा पाठकबीच लोकपि्रयता कमाउन सकेन ।

नेपाली साहित्यको शोकको वर्षको रूपमा २०६७ साललाई लिन सकिन्छ । नेपाली साहित्यका प्रतिनिधि स्रष्टाहरूलाई वितेको वर्ष गुमाउनुपरेको छ । कृष्णचन्द्रसिंह प्रधान, फणिन्द्रराज खेताला, गोविन्द मल्ल गोठाले, डायमन्ड शमशेर राणा, जगन्नाथ शर्मा त्रिपाठीलगायत साहित्यकारलाई २०६७ सालले गुमाएको छ ।

॰[साभार: गोरखापत्र]

Author: 

Comments