Loading

नेपाली ललितकलामा समावेशी स्वरूप/ ज्ञानेन्द्र विवश

आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ । एक प्रकारले भेद्भावरहित समाज तथा समानताको भावनासहितको राष्ट्रिय परिकल्पनामा राज्यले अग्रगमनको सोच बनाइरहेको छ । समावेशीकरणको यो आवाज र यो मुद्दाले वर्तमान समयमा विविध जाति, भाषा, धर्म, क्षेत्रका बहुसङ्ख्यक समुदायलाई प्रतिनिधित्व गर्दै आएको छ । यसमा पनि समाजले उपेक्षा गरिरहेका वर्ग तथा समुदायलाई बढीभन्दा बढी समेट्नुपर्ने आवाजहरू पनि मुखरित भइरहेका छन् । त्यसैले यो समावेशीको अभियानमा आज अल्पसङ्ख्यक समूहको प्रतिनिधित्वले समानताको अधिकार माग गरिरहेका छन् भने राज्यले पनि त्यसमा प्राथमिकता दिएर कार्य गर्ने नीति नै सार्वजनिक गरिसकेको छ । यही परिप्रेक्ष्यमा नेपाली कलामा पनि समावेशीकरणको आवाजले अभिव्यक्तिको रूप लिनु स्वाभाविक हो ।

यद्यपि नेपाली कलामा समावेशीकरणको संस्थागत विकासका पहलहरू हिजोदेखि आजसम्मै हुँदै आएका छन् । समावेशीको कुरा गर्नु भनेको समानताको अवसर र सुविधा उपलब्ध गराउनु हो । कोही कसैप्रति कुनै प्रकारको भेदभाव नराखी समान हैसियतमा व्यवहार गर्न सक्नु र राज्यले समेत त्यो अवसर उपलब्ध गराउनु पर्दछ भन्ने आवाजहरू वर्तमान परिवर्तित सन्दर्भमा केही बढी नै उठिरहेका छन् । यसरी सर्वत्र आ-आफ्ना हक र अधिकारका निम्ति आन्दोलनको अभियान चलिरहेका बेला विशेषतः विविध जाति, भाषी र पिछडिएका समुदायले आफूलाई पनि अब समान हैसियतको खोजी गर्नु स्वाभाविक पनि हो । यो खोजी भनेको राजनीतिक परिवर्तनको उपलब्धि हो । नयाँ चेतनाको वा मानवीय चेतना र जागरणको उपलब्धि पनि हो । हिजोसम्म एकतन्त्रीय शासनको दवदवा, अशिक्षा, गरिबी र थिचोमिचोमा रहेर पिल्सिएका समुदाय आज स्वतन्त्रताको उपयोग गर्दै आफूलाई सम्मानित नागरिकको हैसियतपूर्ण मान्यता प्राप्तिमा कस्सिएका छन् । असमानताको व्यवहारले कतिपय अवसरहरूबाट वञ्चित हुनुका कारण जातीय पहिचानसमेत सङ्कटमा पर्नु र त्यसका लागि पनि समानताको माग अघिआउनु कुनै ठूलो कुरा होइन । सामाजिक, आर्थिक, राजनीतिक आदि कारणले समाजका केही समुदाय दलित वा अछुतको अपहेलित आरोप खेप्न बाध्य भइरहेको सन्दर्भले पनि समावेशीकरणको अवधारणालाई साकार पार्न सघाएको देखिन्छ ।

नेपालमा नेपालीहरूले स्वतन्त्रता र समानताको लडाइँमा आफूलाई समर्पित गर्दै आएको उहिलेबाटै हो । वि.सं. २००७ सालमा हामीले देश र जनताको स्वतन्त्रताका लागि जीवन बलिदान दिएर १०४ वर्षे राणा शासनबाट मुक्ति पायौँ । त्यसपछि देशमा आंशिक प्रजातन्त्रको आगमन भयो । त्यसपछि क्रमशः २०१७ साल, २०३६ सालका आन्दोलनमा होमिँदैै हामी लामो समयसम्म पञ्चायती शासन व्यवस्थामा जकडिन बाध्य भयौँ । त्यसबीच सानातिना आन्दोलनका अभियानले तत्कालीन सत्ता वा सरकारलाई तर्साउने कार्य नगरेका होइनन् । यद्यपि ती सबैले देशमा प्रजातन्त्र ल्याउने दिशामा कुनै ठोस कदम चाल्न सकिरहेको थिएन । लगातारको आन्दोलित मनःस्थितिका परिणामस्वरूप २०४६/२०४७ सालमा आएर हामीले बहुदलीय प्रजातन्त्र पायौँ तर यसले पनि हामीलाई वास्तविक स्वतन्त्रता दिन सकेन । त्यसपछि २०६२/२०६३ सालको संयुक्त जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्रको स्थापनामा टेवा त पुर्‍यायो तर अझै पनि पूरा अधिकार जनतामा आइसकेको छैन । लगभग अढाइ सय वर्ष पुरानो राजसंस्थालाई सदाका लागि हटाउने कार्यमा समेत सफलता हासिल गरिएको र जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिए पनि यथार्थमा त्यो उपलब्ध नभइरहेको स्थिति विद्यमान छँदैछ।

राणाकालदेखि समावेशी संलग्नता ः

हामीकहाँ कतिपय सामूहिक कलाप्रदर्शनी र कलाकार्यशालाहरूले पनि जातीय, क्षेत्रीय तथा अरू अनेक विविधताका साथ समानताको आग्रह गर्दै कलामा समावेशी स्वरूप सार्वजनिक हुँदैआएका हुन् । राणाकालीन समय अर्थात् वि.सं. २००० सालमा काठमाडौँमा भएको 'राष्ट्रिय उद्योग प्रदर्शनी' मा विशेषगरी नेवार समुदायका कलाकारहरूका साथै ब्राहृमण, क्षेत्री आदि जातिका चित्रकार, मूर्तिकारका कलाकृति समाविष्ट थिए । त्यसभन्दा अगाडि तत्कालीन राणा सरकारले नेवार समुदायका अतिरिक्त अन्य जातका मानिसलाई पनि कला सिक्ने अवसर उपलब्ध गराएका थिए । तत्कालीन जुद्धकला पाठशाला जुन त्यो बेला राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेका थिए । त्यहाँ साहित्यकार एवम् नाट्यसम्राट तथा कलाकार बालकृष्ण सम, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, कुलमानसिंह भण्डारी आदि जस्ता व्यक्तित्वहरूले चित्रकला सिक्ने अवसर पाएका थिए । त्यतिबेला पनि जातीय समानता तथा समावेशी चरित्रका मानिसहरूको उपस्थिति रहेको स्पष्ट नै देखिन्छ । उनीहरूले जातीय विभेद्को खोजीभन्दा पनि सिर्जनात्मक कलाकारिताको विकासमा ध्यान दिएका थिए । वास्तवमा यो कुरा आज आवश्यक छ कि हामीले आफ्नो क्षेत्रमा जातभातको असमानतालाई तोडेर सामाजिक एकताको अभियानमा मात्र मौलिक सीप र सिर्जनाको संसार निर्माण गर्न सक्नु पर्दछ ।

राणाकालीन समयमा कलालाई हेरिने दुई किसिमको दृष्टिकोण थियो भन्ने कुरालाई हामी सहजै अनुमान गर्न सक्दछौँ । शासकीय राणाहरूले कलालाई केवल अभिजात वर्गको रूपमा मात्रै हेर्ने गर्दथे । उनीहरू आफूभन्दा तल्लो वर्गका जातिलाई यस कार्यमा खटाएर त्यसबाट सिर्जित कर्ममा आनन्दित हुन्थे । यो काम माथिल्लो वर्गको होइन र त्यसमा हात हाल्नु भनेको आफ्नो जातलाई अछूत पार्नु हो भन्नेसम्मको सङ्कुचित मानसिकता विद्यमान थियो । त्यसर्थ पछिसम्म पनि चित्रकलामा लाग्नु भनेको आफ्नो जात छोडेर निम्न वर्गका दुःखी मानिसले गर्ने काममा हात हाल्नु हो भन्ने अत्यन्त साँघुरो धारणा विकसित थियो तर त्यही राणा वर्गभित्र अर्काथरि एक प्रकारले भन्ने हो भने केही उदारवादी राणाहरू पनि थिए । कलालाई हेर्ने उनीहरूको दृष्टिकोण फरक थियो । कला भनेको सबैलाई मनपर्ने, सबैको समान चासो र समान अधिकारको कुरा हो भन्ने आशय थियो । यही कारण तत्कालीन समयमा राणा वर्गका कतिपय व्यक्तिले चित्रकला सिक्ने कार्यसमेत गरेका उदाहरणहरू छन् । राणा परिवारकै एक सदस्य बालकृष्ण समले त चित्रकला सिक्ने मात्रै होइन, चित्रकला सिकाउने काममा पनि दक्षता हासिल गरेका थिए । त्यस्तै जगदीशशमशेर राणाले पनि पारिवारिक प्रेरणाबाटै मास्टर तेजबहादुर चित्रकार आदिबाट चित्रकलाका आधारभूत ज्ञान आर्जन गरेका थिए । यसबाट पनि कलालाई हेर्ने आँखा र अवधारणामा ठूलो विभेद रहेको देखिन्छ तर खुसीको कुरा के हो भने कलाकर्ममा अनुभवी जमात भनेका चाहिँ माथिल्लो वर्ग होइनन् समाजका तल्लो समुदाय नै हुन् भन्ने कुरालाई किञ्चित पनि बिर्सन सकिँदैन ।

यसैगरी वि.सं २००८ सालमा ललितपुरमा आयोजना गरिएको 'ललितपुर आदर्श कलाप्रदर्शनी' मा पनि विविध जातका विभिन्न कलाकारहरूले आफ्ना सिर्जनात्मक काम प्रस्तुत गरेका थिए । समाजमा जातीय विभेद् भए पनि सिर्जनामा त्यस किसिमको साँघुरो दृष्टिकोण न्यून मात्रामै रहेको अनुभव गर्न सकिन्छ । कलामा विभेदको कुरा गर्दा मूलतः त्यसमा शिक्षा र चेतनाको स्तरले प्रभाव पार्दछ । यसपछि वि.सं. २०१३ सालमा हनुमानढोका दरबारमा नेपाली कलाकारहरूका कलाकृति प्रदर्शित भएका थिए । सोही साल मोरङ युवक सांस्कृतिक समूहको आयोजनामा अर्को उल्लेखनीय कलाप्रदर्शनी सम्पन्न भएको पनि यहाँ स्मरणीय हुन्छ । ती कलाप्रदर्शनीहरूमा सहभागी कलाकर्मी विभिन्न जात, धर्म, सम्प्रदाय र समुदायका थिए । यसले पनि नेपाली कलामा त्यो बेलाबाटै समावेशी संस्करणको अध्याय आरम्भ गरेको कुरालाई बुझ्न सकिन्छ ।

वि.सं. २०११ सालमा परोपकार संस्थाद्वारा आयोजना गरिएको राष्ट्रिय प्रदर्शनी, २०१४ सालमा तत्कालीन स्वास्थ्य शिक्षा र श्रम विभागको आयोजनामा गरिएको 'व्यवसाय कलाप्रदर्शनी', २०१५ सालमा घरेलु उद्योग विभागको राष्ट्रिय उद्योग प्रदर्शनी, २०१७ सालमा पर्यटन विभागले आयोजना गरेको प्रदर्शनी लगायतका कलाकार्यमा सहभागी भएका कलाकारहरू पनि जातीय, क्षेत्रीय आदि आधारमा विविधता भएको कुरालाई स्वीकार्न सकिन्छ । त्यसपछि पनि अनेक कलाप्रदर्शनी भएका छन् । ती प्रदर्शनीहरूमा एकै जात, एकै समुदाय वा एउटै क्षेत्रका मानिसको मात्रै संलग्नता भएको थिएन ।

कलामा संस्थागत समावेशी संलग्नता ः

नेपाली कलामा समावेशीकरणको संस्थागत स्वरूपलाई हेर्दा केही मात्रामा हुँदै आएकोे पाइन्छ । कलाका कतिपय संस्थाहरूमा पनि समावेशी स्वरूप रहेको पाइन्छ । हामीकहाँ कलाका संस्थाहरू थोरै भए पनि तिनमा सम्बद्ध व्यक्तिको प्रतिनिधित्व जातीय, भाषिक, क्षेत्रीय र समुदायका तर्फबाट भएका छन् । यसमा राजधानी केन्दि्रत अथवा सहर केन्दि्रत समुदायको मात्रै संलग्नता छ भन्न सकिँदैन । नेपाली कलाको संस्थागत विकासको अभिप्रायले वि.सं. २०२२ सालमा सर्वप्रथम स्थापना भएको नेपाल ललितकला संस्थामा पनि बाहुन, नेवार, क्षेत्रीको समानुपातिक संयोजन रहेको पाउन सकिन्छ । जनआन्दोलन २०६२/२०६३ मा सम्पूर्ण कलाकारहरूको प्रतिनिधित्व आधिकारिक कलासंस्था 'ललितकला लोकतान्त्रिक अभियान' ले गरेको थियो । यसको सफल नेतृत्व कलाकार किरण मानन्धरबाट भएको थियो भने यस अभियानमा दर्जनौँ समावेशी चरित्रका कलाकारहरूले साथ दिएका थिए । नेपाल कलाकार समाज, नेपाल ललितकलामञ्च, ललितकला समीक्षक समाज, नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, आधुनिक कला समाज, सिर्जनशील कलाकार समूह, नेपाल पानी रङ समाज, आरम्भ आदि जस्ता कलासंस्थामा आवद्ध कलाकारहरूले देशका विभिन्न भागका बासिन्दाको भावनालाई समेट्ने जमर्को गरेका छन् ।

वि.सं. २०३३ सालमा काठमाडौँमा स्थापना भएको जुनकिरी, युवा कलाकेन्द्र, धरान, ललितकला सङ्गम, विराटनगर तथा पोखरेली कलाकार समूह, पोखरा, मेजिनिन ग्रुप, आर्टिस्ट सर्कल, पर्सिव ग्रुप त्यस्तै २०४२ सालमा नेपाल कलाकार समाज र २०४५ सालमा न्यु आर्ट सर्कललगायतका कलासंस्थाहरूले पनि विविध जाति, समुदाय र क्षेत्रका प्रतिनिधि कलाकारहरूलाई समेटेको पाइन्छ । यी केही कलासंस्थाहरूमा सम्बद्ध कलाकर्मीले समानताका आधारमा कलाकारितालाई सबैको चासोको विषय बनाउने र सबैलाई समान अवसर दिने कार्यमा आफूलाई समर्पित गराएका छन् । हुन त यस कार्यमा अझै सन्तोषजनकरूपमा ठोस कार्य हुनसकेको छैन तर निराश भएर समावेशी संरचनाको अस्तित्व नै सखाप भयो भनिहाल्न सकिने स्थिति चाहिँ छैन ।

भर्खरै स्थापना भएको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा कुलपति किरण मानन्धर, उप-कुलपति ठाकुरप्रसाद मैनाली, सदस्य-सचिव कान्छाकुमार कर्माचार्य तथा प्राज्ञ परिषद् सदस्यहरू क्रमशः कर्णप्रसाद मास्के, शारदा चित्रकार, शान्तकुमार राई, ओमबहादुर खत्री र रविनकुमार कोइराला पनि समावेशी स्वरूपकै संरचना हो । कलामा समावेशीको संस्थागत आग्रह र अपेक्षा गर्नु भनेको सबैभन्दा पहिले आफ्नो क्षेत्रमा उसलाई विज्ञ बनाउन पनि आवश्यक हुन्छ । सो प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसभाका सदस्यहरू विजय थापा, मुकेश मल्ल, ज्ञानेन्द्र विवश, नीमा लामा, घ्याल्मो बल, सुष्मा राजभण्डारी, धनु याख्खा, पवनकुमार राजवंशी, जीवनाथ पोखरेल, भुवन थापा 'बहुवि' र ताराप्रसाद ओझा पनि समावेशी संलग्नताकै परिचित अनुहार रहेका छन्् ।

आज आएर कलाक्षेत्रमा काम गर्नेहरूका अनेकौं कलासंस्थाहरू स्थापित भएका छन् । ती प्रत्येक कलाका संस्थाले मूलतः आ-आफ्ना जातीय पहिचानको खोजी र तिनको स्थापनामा जोड दिने कार्य गरेका छन् । वास्तवमा राज्यले आज यही कुराको प्राप्तिको आग्रह गरेको हुनु पर्दछ । सबैको जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, सामाजिक आदि विविध रूपबाट अस्तित्व रक्षाको कामना पनि समावेशीकरणका माध्यमबाटै गर्न सकिन्छ । 'चित्रकार समाज', 'नेपाल पम्परागत कलाकार समाज' जस्ता कला संस्थाहरूले पुख्यौर्ंली कला-धरातललाई बचाएर राख्ने कार्य गरेका छन् । चित्रकार समाजले आफ्नो जातीय पेसाकै रूपमा स्थापित 'पुँ' लोककलालाई आजसम्म पनि अझ व्यवस्थित किसिमले जोगाएर ल्याएको पाइन्छ । प्राज्ञ शारदा चित्रकारले यसमा ठूलो योगदान दिएको कुरा यहाँ उल्लेखनीय हुन्छ । त्यस्तै, पौभाकलालाई जगेर्ना संरक्षण र विकास गर्नका लागि परम्परागत कलाकार समाजले महìवपूर्ण भूमिका खेलेको छ । यी कला नेपालका पुराना र मौलिक कलाका स्वरूप हुन् । प्रेममान चित्रकार, अमिरमान चित्रकार, लोक चित्रकार, दीपक जोशी, उदयचरण श्रेष्ठ, समुन्द्रमान श्रेष्ठ आदिले यसमा अलगअलग भूमिका खेल्दै आएका छन् । यद्यपि यसमा चित्रकार, शाक्य, बज्राचार्य, श्रेष्ठजस्ता स्थानीय नेवार समुदायका जातिकै बाहुल्य भए पनि अन्य जातीय विविधताको खोजी गर्न सकिँदैन । आज पौभाकलाकै अर्को रूप मानिने थाङ्का चित्रमा तामाङ, शेर्पा आदि जातिका पनि सहभागी हुन थालिरहेका छन् । त्यस्तै, मिथिला क्षेत्रमा बनाइने त्यहाँको लोककला 'मिथिलाकला' का सिर्जनामा पनि अनेक जातीय पहिचान स्थापित रहिआएको पाइन्छ । विशेषतः पिछडिएका जातिको संलग्नता यसमा पहिलेदेखि नै हुँदै आइरहेको देखिन्छ । यसमा सिराहाका जीतबहादुर रायमाझी, प्रतीक रायमाझी, उमा चौधरी, दुखनीदेवी महतो, अरूलिया महरा, श्यामसुन्दर यादव आदि तथा जनकपुरका सीतादेवी कर्ण, विन्दुदेवी कर्ण, मिथिला यादव जस्ता कलाकारहरूको नाम लिन अग्रणी छ ।

यसरी नै 'किराँत ललितकला समाज' ले आफ्नै जातीय पहिचानको खोजीलाई अगाडि बढाउँदै नेपाली कलाको विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । यसमा किराँत राई यायोख्खा अन्तर्गत राई, याक्थुम चुम्लुङमा लिम्बू, सुनुवार समाजमा सुनुवार मुखिया र याख्खा छुमाअन्तर्गत याख्खा जाति रहेका छन् । यिनमा क्रमशः शान्तकुमार राई, अर्जन खालिङ, नवेन्द्र लिम्बू, टेकवीर मुखिया, धनु याख्खा आदि संस्थागत सक्रियतामा जुटेका कलाकारहरू हुन् । अन्य जातजातिका पनि यस्ता संस्थाहरू धेरै छन् । ती सबैले मूलतः आफ्नै जातीय कलाकारिता अस्तित्वको रक्षा गर्दै कला विकासमा योगदान दिने उद्देश्य निर्धारण गरेका छन् । परिवर्तित सन्दर्भमा उपेक्षित वर्ग र समुदायका केही पठित समूहले यसरी संस्थागत अगुवाईमा कार्य थालनी गरिरहेका छन् ।

कलामा समावेशी पहिचानका चरित्र र चित्रहरू ः

कलामार्फत् विविध जातीय पहिचानको समावेशी चरित्रहरूलाई चित्रित गर्दै आउने सिर्जनशील र व्यावसायिक कलाकर्मीहरूको जमात पनि ठूलै छ । अघिल्लो पुस्ताका चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, अमर चित्रकार, रामानन्द जोशी, हिरण्यध्वज जोशी, इन्द्र प्रधान, दिलबहादुर चित्रकार आदिले विभिन्न जातजातिका पहिचानलाई कलात्मकरूपमा आकृतिवद्ध गर्दै आएका हुन् । उनीहरूका कलामा उपत्यकाका जनजीवनका जीवन्त झाँकी, संस्कृति र सम्पदाका अनेक आयामलाई उतारिएको पाइन्छ । त्यसबाहेक कतिपय कलाकारहरूले उपत्यका बाहिरका जीवन, प्रकृति र संस्कृतिलाई चित्रमा निकै मिहिनेतका साथ आकार दिएको भेटिन्छ । कलाकार तेजबहादुर चित्रकार, रामानन्द जेाशी आदिले देशका विभिन्न भागमा गई कलासिर्जना गरेर उदाहरणीय कार्य गरेको कुरालाई बिर्सन सकिँदैन । त्यो बेला नै उनीहरूले आफ्ना कलारचनामा समावेशी चरित्र र चित्रको उपस्थिति गराएका थिए । त्यसैगरी, कलाको महानगरी प्रान्सको पेरिसबाट नेपाल फर्किएपछि कलाकार लैनसिंह बाङ्देलले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरूपका कलासिर्जना गरेका थिए । उनले 'मुनामदन', 'आमा र बच्चा', 'हिमाल' आदि शृङ्खलामा बनाएका कलाले नेपाली समाजका जातीय र समावेशी चरित्रलाई अझ आधुनिकरूपमा प्रकाश पार्न सघाएको विश्वास गर्न सकिन्छ ।

त्यसैगरी यस कार्यमा अरू सुन्दर सिर्जना गरी विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, समुदायका प्रतिविम्बलाई क्यानभासमा उतार्ने कार्यमा धेरै कलाकारहरूको योगदान रहेको छ । जातीय आधारमा कुनै भेद्भाव नराखी कलाकारले सांस्कृतिक पहिचानका चित्र र संस्कृतिलाई आकार दिने काम गरेका छन् ।

अग्रज कलाकारहरू उत्तम नेपालीदेखि शशी शाह, कृष्ण मानन्धर, वत्सगोपाल बैद्य, हरिप्रसाद शर्मा, उर्मिला उपाध्याय गर्ग, प्रा. गोविन्दनारायण ज्यापू, चिनीकाजी ताम्राकार, गोविन्दलालसिंह डङ्गोेल, शङ्रनाथ रिमाल, गेहेन्द्रमान अमात्य, शङ्करराजसिंह सुवाल, राज मानन्धर, के.जी. रञ्जित, शशीकला तिवारी, टेकवीर मुखिया, मदन चित्रकार, हीरालाल डङ्गोल, हेम पौडेलजस्ता अघिल्लो पुस्ताका कलाकारहरूमा पनि समावेशी रूपको उदाहरणीय एकता पाइन्छ ।

मूर्तिकलामा पनि सिर्जनाका सुन्दर पहिचान प्रकट हुँदै आएका छन् । तिनमा पनि समावेशी आयामका अनेक अनुहारहरू छन् । प्राज्ञ ओमबहादुर खत्रीसँगै प्रा. गोविन्दनारायण ज्यापू, रवीन्द्र ज्यापू, विष्णु बराल, डा. लय मैनाली, सुदर्शनविक्रम राणा, भुवन थापा 'बहुवि', धनु याख्खा, राजु पिथाकोटे, पुष्पा शेरचन, गोविन्द चौधरी, कमलेश महर्जन, लक्ष्मण भूजेल, रामकृष्ण भण्डारी, धर्मराज शाक्य आदि रहेका छन् । यी नाम र जातीय पहिचानले पनि मूर्तिकलामा कत्तिको समावेशी संलग्नता छ भन्ने कुराको स्वतः नै अनुमान गर्न सकिन्छ । यसबाहेक धातुमूर्तिमा संलग्न पाटन र भक्तपुरका कतिपय कलाकारहरूले परम्परागत कलामा आफूलाई समर्पण गर्दै आइरहेका छन् । यसमा कालु कुमाले, राजेश अवालेलगायत कैयौं मूर्तिकार छन जसले आफ्नो जीवन त्यसैमा विताइरहेका छन् ।

नेपाली कलाक्षेत्रमा महिला कलाकर्मीहरूमा समेत शशीकला तिवारी, प्रमिला गिरी, रागिनी उपाध्याय, शोभा वाग्ले, विधाता के.सी., भद्रकुमारी घले, सुनिता राणा, देविना मल्ल, सङ्गी श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, रुक्मणि धिताल, मञ्जु उदास, अर्पिता शाक्य, प्रमिना श्रेष्ठ, रुचिका के.सी. आदि छन् । त्यस्तै देशका विभिन्न भागमा पनि समावेशी नामका कलाकारहरू रहेका छन् । जस्तै बागलुङका मुकुन्द शाक्य, मच्छिन्द्र शाक्य, वसन्त राजभण्डारी आदि छन् । वसन्त जो बुट्टेनलीमार्फत् नेपाली हस्तकलाको पुरानो पहिचानलाई जोगाएर ल्याएका कलाकर्मी हुन् । पर्वतका गणेशकुमार, सुनील कुमाल, मन हरिजन, शान्तिनारायण श्रेष्ठ, सागर जोशी, जगतबहादुर गुरुङ, जगत पुन आदिका साथै पोखराका दुर्गा बराल, गोपाल श्रेष्ठ, आलोक गुरुङ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, एल.पी. गुरुङ, वाई.सी. भूर्तेल, रमेश श्रेष्ठ, किरण रञ्जित, एन.बी. गुरुङ, पद्म घले, सुनील सिग्द्याल, सूर्य बराइली, इशान परियार, राजदुर जोशी, सञ्जय गुरुङ्ग, केदार पालिखे, मिलन शेरचन, ज्योति गुरुङ, कीर्ति गुरुङ, हेमकान्ति गुरुङ, सलोना रञ्जित आदि कलाकारहरू पनि समावेशी सर्जकका राम्रा उदाहण हुन् । यी कलाकारहरू आ-आफ्ना सिर्जनात्मक कलाकर्मद्वारा आज नेपाली कलाजगत्मा स्थापित छन् ।

कलाकार्यशाला र कलाप्रदर्शनीहरू ः

गत वर्ष नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, लोककला विभाग र चित्रकला विभागले आयोजना गरेका दुई पृथक कला कार्यक्रमले समेत नेपाली कलामा समावेशीकरणको सकारात्मक पहल प्रारम्भ गरेको थियो । लोककला विभागले गरेको प्रदर्शनीमा देशका पुराना र नयाँ पुस्ताका महिला चित्रकारहरूको अद्वितीय सहभागिता रहेको अनुभव गर्न सकिन्थ्यो । 'वषर्ा महिला कलाप्रदर्शनी' नाम दिइएको सो प्रदर्शनीमा उपत्यकाका महिला कलाकारहरूका अतिरिक्त सुगम र अति दुर्गम भेगका महिला कलाकारले समेत भाग लिएर आफ्ना नवीन चित्रकारिताका माध्यमबाट नयाँ कला चेतनाका नारी आवाजलाई सशक्त किसिमले आकार दिएका थिए । यसरी सहभागिता जनाएर मूलतः सह-अस्तित्व र समावेशी सर्जकको चिनारी प्रस्तुत गर्ने कलाकारहरू लगभग सय जनाको सङ्ख्यामा थिए ।

उनीहरूले देशका विभिन्न ठाउँमा रहेर आफ्नो जातीय पहिचान, सांस्कृतिक, सामाजिक र प्राकृतिक परिवेशलाईसमेत कलाका माध्यमबाट आकार दिँदै आइरहेका छन् । ग्रामीण जीवनका अनेक समस्या, अभाव र अवसर उपलब्ध नहुँदानहुँदै पनि कलाकर्ममा उनीहरूले समानताको भावनाले प्रारम्भ गरेको कलाचेतनाका सार्वजनिक सिर्जना आफैंमा गौरवमय कर्मको उपलब्धि हो । यसले प्रकारान्तर रूपमा कलामा आफ्नो हक र अधिकारको खोजी गर्दै मूलतः कलाक्षेत्रमा समावेशीकरणको सबल हस्ताक्षर निर्माण गरिरहेको कुरालाई अस्वीकार गर्न सकिँदैन । सो कार्यमा अग्रज कलाकार उर्मिला उपाध्याय 'गर्ग' को समेत सहभागिता रहेको थियो ।

नेपाली कलामा अब साँच्चै समावेशी संलग्नताको शुभारम्भ महिला कलाकर्मीहरूको उत्साहप्रद उपस्थितिले समेत पुष्टि गरिसकेको स्मरणीय हुन्छ । सहर बजारका आधुनिक प्रयोग र प्रविधिमा अनेक सुविधा तथा अवसरलाई उपभोग गर्दै आइरहेका महिला समुदायका अतिरिक्त ग्रामीण तथा दूर भूभागका महिलाहरूले पनि कलामा देखाएको सक्रियता र सिर्जनात्मक कामका ताजा रचना वास्तवमा हाम्रै अमूल्य सम्पदा, संस्कृतिका धरोहर हुन् । तिनका सिर्जनामा भेटिने स्थानीय जनजीवन, प्रकृति र सांस्कृतिक परिवेशका छापहरू नेपाली कलाका समावेशी परिचयका साक्षात् अभिव्यक्ति मान्न सकिन्छ । उक्त कार्यक्रमको संयोजन स्वयम् महिला कलाक्षेत्रकी अग्रज तथा प्राज्ञ शारदा चित्रकारबाट भएको थियो ।

त्यसैगरी चित्रकला विभागले आयोजना गरेको 'सद्भाव कलाकार्यशाला' मा देशका विभिन्न क्षेत्रबाट सहभागी हुन आएका कलाकर्मीहरूका कलाकर्मले सिर्जनाका नवीनभाव अभिव्यक्त गरेको यथार्थ स्मरणीय हुन्छ । त्यस सहभागितामा के पुरुष तथा के महिला एकप्रकारले भेदभावरहित सिर्जनात्मक बान्कीका बहुआयामिक पक्ष उद्घाटित भएका थिए । चित्रकला विभागको उक्त सद्भाव चित्रकला कार्यशालामा देशभरिबाट लगभग दुई सयको हाराहारीमा कलाकारहरू सहभागी हुन आएका थिए । स्थलगतरूपमा तिनले प्रज्ञाप्रतिष्ठान परिसरमा रचना गरेका कलाकारिताका विविध रूपहरू अनेक भाव, अनेक जाति, अनेक संस्कृतिका साझा अभिव्यक्तिका सद्भावजन्य सिर्जना भएर सार्वजनिक भएका थिए । उनीहरूका ती उदाहरणीय तथा प्रशंसनीय कलाका संरचना वास्तवमा नेपाली कलाको पछिल्लो समावेशी चरित्रका साक्षात् स्वरूप हुन् । यसले नेपाली कलामा विकसित हुँदै आइरहेको कलात्मक चेतनाका सुन्दर सिर्जनाका परिचयलाई नवीकृत गर्दै आएको तथ्य पनि सार्वजनिक गरेका थिए । यस अतिरिक्त कलामा समान चेतना, समान धारणाका साथै समान भावना अनि समान सिर्जनाका समावेशीकरणको समायोजन आफैँमा महìवपूर्ण जमघटका क्षण हुन् ।

देशमा स्थापित हुँदै आएको लोकतान्त्रिक शासन व्यवस्थाले पिछडिएका वर्ग, समुदाय, जाति, क्षेत्रका समुदायलाई समानताका आधारमा राष्ट्रिय मूलधारमा ल्याउने र त्यसमार्फत् समावेशीकरणको सुरुआत गर्ने लक्ष्य लिएको छ । यस परिपे्रक्ष्यमा पनि लामो समयको सङ्घर्ष र आन्दोलनपछि प्राप्त भएको प्रथम नेपाल ललितकला प्रज्ञा-प्रष्ठिानले प्रथम पटक आयोजना गरेको सद्भाव कलायात्राले अन्ततः सद्भावजन्य समीकरणको पनि प्रारम्भ गरेको कुरालाई मनन गर्नु पर्दछ । यस कार्यमा अनेक जाति, अनेक क्षेत्र, अनेक भाषी, अनेक समुदाय तथा अवसरहरूबाट वञ्चित र सुगम-दुर्गमका कलाकारले समान हैसियतमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

वि.सं. २०५८ सालमा रोटरी क्लब अफ विराटनगर मिडटाउन र ललितकला सङ्गम विराटनगरको संयुक्त आयोजनामा वृहत् कलाकार्यशाला सम्पन्न भएको थियो । उक्त कलाकार्यशालामा वरिष्ठ कलाकार लैनसिंह बाङ्देलदेखि कलाक्षेत्रमै कपाल फुलाउने धरानका कर्ण मास्के कलारचनामा तल्लिन भएका थिए । विराटनगरका दुर्गालाल चित्रकार, गोपाल कलाप्रेमी, गङ्गा सुवेदी, लक्ष्मण नेवटिया, धु्रवनारायण डङ्गोल, सुवोधचन्द्र, सरोजा खड्गी, सन्ध्या डङ्गोल, तृप्ति सुधांशु तथा जलेश्वरका राम इकवाल साह आदिले पनि भाग लिएका थिए । त्यस्तै, इटहरीका विक्रमश्री, हेटौँडाका सूर्यनारायण सन्यासी, वीरगन्जका सन्तोषकुमार देवकोटा, पोखराका यादवचन्द्र भूर्तेल, बुद्धि गुरुङ, आलोक गुरुङ, लोकप्रसाद गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, महेन्द्र राजभण्डारी, सञ्जय गुरुङ, राजदोर जोशी, धनकुटाका उमेशचन्द्र अधिकारी, सुशील शाक्य, धरानका स्वयम्प्रकाश श्रेष्ठ, चन्द्र श्रेष्ठ र प्रनोद दत्तमात्र होइन, अरू कतिपय युवा सिर्जनाकर्मीहरू समावेशीकरणकै सहभागी समूह थिए । विराटनगरका वयोवृद्ध दुर्गालाल चित्रकार, माधवराज आचार्य तथा विराटनगरjmै अनुराधा थापा पनि सहभागी भएका थिए ।

समावेशी संरचनामा विविध अभिव्यक्ति ः

नेपाली कलामा समावेशीकरणको संस्थागत तथा स्वतन्त्ररूपमा काम गर्ने कलाकारहरूमा समावेशीकरणको अवस्था कस्तो छ ? भन्ने जिज्ञासामा अधिकांश कलाकारहरू कलामा समावेशीकरणको आवश्यकता नभएको बताउँछन् । उनीहरू प्रत्येक कलाकारले उहिलेदेखि नै समावेशी स्वरूपमै कलाकर्म गरिरहेको दाबी गर्छन् । कलाकार तथा कलासमीक्षक मुकेश मल्लका अनुसार सामाजिक संरचनाको बनोट, अधिकार र अवसरहरूमा तथा समाजमा बसोबास गर्ने हरेक जातजातिको असन्तुलन पहुँचले गर्दा समाजकै विकासमा पनि देखिन गएको नकारात्मक असर, पछिल्लो कालमा आएर टड्कारोरूपमा देखिन आयो । यसले समावेशी वा समान अवसरको खोजी गरेको हो भन्ने मल्लको ठहर छ । अर्कोतर्फ विकासको क्रममा औपचारिकरूपबाट निश्चित वर्ग, जातजातिलाई अलग्ग पारिएपछि व्यक्ति विशेष मात्र होइन, समाजभित्र रहेका निश्चित जाति- उपजातिहरू र समग्रमा नेपाली संस्कृति, संस्कार र आफ्नो पहिचानको विकासमा पनि यसले गहिरो नकारात्मक प्रभाव पार्ने काम गर्‍यो । यसर्थ समाजको सकारात्मक विकास, राष्ट्रको पहिचान, नेपाली संस्कृतिको संस्थागतरूपमा विकास गरी समावेशीकरणको अवधारणालाई संवोधन गर्न नै आवश्यक ठानिएको हो भन्ने मान्यता उनको छ । सुरुमा लैङ्गिक विभेदको मुद्दा उठ्यो र पछि समष्टिगतरूपमा महिला मात्र होेइन पिछडिएका तमाम वर्गलाई अन्य वर्गसँगसँगै उभ्याइ राष्ट्रको विकासमा समान सहभागिता, समान अवसर, मौका र राष्ट्रको स्रोतमाथि समान अधिकार गराइनुपर्छ भन्ने अवधारणा आएको कुरा मुकेश मल्ल बताउँछन् ।

अर्का कलाकार जीतबहादुर रायमाझी 'मैथिल' का अनुसार मिथिलाका आदिवासीहरूले गर्दै आएको कला नै मिथिलाकला हो । यो कला अशिक्षित, विपन्न र पिछडिएका वर्गका मानिसले बनाउने गर्दछन् तर वैदिक, कायस्थले बनाउने वैदिक कला हो । यसमा धार्मिक भावनाको बाहुल्य रहन्छ । उनको विचारमा खासगरी मिथिलाक्षेत्रका बासिन्दाले बनाउने लोककला जातिगत कला हो । समाजमा नै सर्वप्रथम समानताको भावना विकसित हुनुपर्ने कुरामा उनी जोड दिन्छन् । समाजमै असमानता भएपछि त्यहाँ समावेशी खोज्नुको कुनै अर्थ नरहने रायमाझीको राय छ । आफ्नो जाति, संस्कृति र आफ्ना परम्परा, सभ्यता, संस्कारलाई चिनाउने क्रममा सबैको समान भावना हुनुपर्दछ । यसलाई सबैको साझा पहिचानका रूपमा लिनुपर्ने आग्रह पनि उनको छ । आज खोजिएको समावेशीलाई राजनीतिक वा आर्थिक अथवा व्यक्तिगत स्वार्थका रूपमा हेरिनु हुँदैन भन्ने सुझाव उनी दिन्छन् । यसो भयो भने विकृतिको जन्म हुने र खोजिएको लक्ष्यमा पुग्न नसकिने तर्क उनको छ । समावेशीको मुद्दा देशव्यापीरूपमा उठिरहेको छ भन्दैमा सबैतिर सबैले समावेशीकरणको आँखाले हेर्न नहुने पनि सत्य हो । किनभने पहिले शिक्षा र चेतनाको तहलाई फराकिलो पार्न सक्नु पर्दछ भन्ने भनाई रायमाझीको छ ।

त्यसैगरी, कलाकार श्रीजनकुमार राजभण्डारीको विचारमा आर्थिक र सामाजिकरूपमा विकास भएपछि मात्रै समावेशीको कुरा सार्थक हुन्छ भन्ने छ । समावेशी हुनका लागि देशका प्रशासनमा कुनै निश्चित समुदायका मान्छेको प्रतिनिधित्व हुनुपर्ने आवश्यकता उनी औँल्याउँछन् तर पनि कुनै एक जाति विशेषले अर्को जातिको चित्र निर्धक्कपूर्वक बनाइरहेको उनी सम्झन्छन् । आफ्नो पहिचानका निम्ति बाटो प्रशस्त हुनुपर्ने कुरामा जोड दिँदै उनी समावेशीकरणका लागि सोचमा सकारात्मक चेतना चाहिने बताउँछन् । अर्का कलाकार एन. बी. गुरुङका विचारमा नयाँ पिँढीमा समावेशी संलग्नता बढेको छ । उनी कलाकर्ममा समावेशीको सोचाइले काम गर्दा त्यो सिर्जनाको निष्पक्ष मूल्याङ्कन गर्न नसकिने उनी बताउँछन् । अर्का कलाकार पदम घले चाहिँ अहिलेसम्म नेपाली कलामा समावेशी नभएको बताउँछन् । समावेशीकरण प्रारम्भिक चरणमा रहेको उनको धारणा छ । त्यसैगरी कलाकार एरिना ताम्राकार नेपाली कलामा समावेशी चित्र र चरित्र एकदमै आवश्यक भएको बताउँदै त्यसका लागि उदार दृष्टिकोण र भेद्भावको भावना कसैमा पनि हुनु नहुने औँल्याउछिन् । अर्की कलाकार सौरगङ्गाको विचारमा नेपाली कलामा समावेशी चरित्र विस्तारै हुन थालेको छ । समावेशीकरणले नै कलामा विविधता आउने र आ-आफ्ना कलामा बेग्लै जातीय र सांस्कृतिक पहिचानको निर्माण हुन सक्दछ भन्ने उनको धारणा छ ।

यसरी अवसर दिनेक्रममा हेर्ने कुरा भनेको उसको सिर्जना नै हो । नेपालको परम्परागत कला विशेष गरेर पौभाकला, संस्कार र चाडपर्वमा नेवार यसमा पनि चित्रकार, शाक्य आदि जातिको बाहुल्य रहेको छ, अर्थात् नेपालमा प्रचलनमा रहेका अधिकांश चाडपर्व, संस्कार, मठ मन्दिर, चैत्य आदिको विकास र संरक्षणमा नेवार जातिको वाहुल्य रहेको छ । यसैगरी, लामा, शेर्पा आदि पनि परम्परागत कला थाङ्का, र लोसार आदिमा र पर्वमा लामा लगायत, गुरुङ, तामाङ र थारू, धिमाल, दनुवार आदिका आ-आफ्नै संस्कृति, र मधेसमा भोजपरी र मैथिलीका मिथिला कला र संस्कार, चाडपर्व आदिमा गहन संलग्नता छ । यहाँ भने राष्ट्रको जिम्मेवार पद र नेपाली कलालाई हेर्ने आधिकारिक निकाय, कलाको नीति बनाउने ठाउँमा यी वर्गका व्यक्तिहरू प्ाुगेका छन् कि छैनन् यो महìवपूर्ण कुरा हो । यसर्थ यस्ता ठाउँमा भने निश्चय पनि समावेशीकरणको हिसावले यी वर्गकै बाहुल्य रहनु आवश्यक छ । अनि मात्र राष्ट्रको संस्कृति र पहिचानलाई देश र विदेशमा समेत पहिचान गर्न र पुर्‍याउन सकिन्छ भन्ने मान्यता कलाकार तथा कलासमीक्षकहरूको रहेको छ ।

मधुपर्क बैशाख, २०६८

Segments: 

Comments