हङकङमा मुक्तक मेला / निर्मल श्रेष्ठ

No votes yet

Ram Kaji Kone

हङकङ, माघ ५ - बामे सर्दै खेलेको आँगन भुल्न कहाँ सकिन्छ र
दसै धारा दूधको भारा तिर्न कहाँ सकिन्छ र...

मुक्तककार रामकाजी कोनेको मातृभूमि प्रेमले ओतप्रोत पहिलो वाचनले नै दर्शकश्रोताको ध्यान खिच्यो । तालीले हल गुन्जायमान बन्यो । रामकाजीले लगालग सिर्जना प्रस्तुत गर्दै गए । लाग्थ्यो, मुक्तक चोटिलो, पोटिलो र रसिलो हुन्छ भन्ने दर्शकश्रोताले पहिलोपटक थाहा पाउँदै छन् ।

'मुक्तक मन्त्र' र 'मुक्तक मेला' गरी दुई पुस्तक निकालेका रामकाजी नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष हुन् । पेसाले भने खाँटी व्यवसायी । 'तपाईं व्यापारी मान्छे, साहित्यमा कसरी लाग्नुभयो ? यसमा के छ मज्जा ?' उनले सधैंजसो झेल्नुपर्ने प्रश्न रहेछ यो । नमोबुद्ध क्लबको सभाहलमा आइतबार दिउँसो उनले यसको जवाफ मुक्तकबाटै दिए ।

नेपालको हरेक जनआन्दोलनमा राजनीतिक जागरण ल्याउन मुक्तकको समेत भूमिका रहेको सुनाउँदै रामकाजीले मुक्तकले 'चार पंक्तिमा सिंगो महाकाव्य' अटाउने क्षमता राख्ने बताए । अन्तिममा उनले नेपालको वर्तमान सन्दर्भसँग मेल खाने बताउँदै यसरी बिट मार्न चाहेः

उहिले नितान्त आफ्नो घाउ दुख्थ्यो
किन होला मलाई नेपाल दुख्छ अचेल...

समुद्रपारिको यो मुक्तक मेलामा अर्का मुक्तककार रमेश पौडेल पनि आकर्षण बने । यी सञ्चारकर्मीले केही चोटिला सिर्जना सुनाएर वाहवाही पाए । वर्तमान राजनीतिक बेथितिप्रति व्यंग्य गरिएका मुक्तकहरू उनले प्रस्तुत गरेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठानले हङकङमा पहिलोपटक 'मुक्तक मेला' गरेको हो । नेपाल साहित्य प्रतिष्ठान हङकङले समेत हातेमालो गरेको थियो । साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक साम्बाहाम्फेले भने, 'पहिलोपटक भएको मुक्तक मेलाबाट स्थानीय स्रष्टाहरूलाई पनि हौसला मिलेको छ ।' मुक्तक मेलामा साम्बाहाम्फे र बज्रकुमार राईले समेत सिर्जना वाचन गरेका थिए । रामकाजीले भने, 'हङकङमा मुक्तक परिचित गराउन पाइयो खुसी लागेको छ ।' यहाँ पनि प्रतिष्ठानको शाखा विस्तारका लागि पहल भइरहेको उनले जनाए ।

'नेपाली मुक्तक विधाको श्रीवृद्धि र विकासका लागि देश तथा विदेशमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं,' मलेसिया, कोरिया र इजरायलमा मुक्तक प्रतिष्ठानको शाखा विस्तार भइसकेको जनाउँदै रामकाजीले थपे, 'हामी सिर्जनाबाट पनि सेवा पुर्‍याउन सकिन्छ भन्ने उदाहरण पनि पेस गर्न चाहन्छौं ।'

विगतमा प्रतिष्ठानले मुक्तक वाचनबाटै आर्थिक संकलन गरी दार्चुला र सुनकोसी बाढीपीडितलाई आर्थिक सहयोग गरेको थियो । आइतबार हङकङमा आयोजित कार्यक्रमबाट समेत प्रतिष्ठानले एक लाख ६४ हजार रुपैयाँ संकलन गरेको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.