मुबायलगीता / कोमलप्रसाद पोखरेल

भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।

यता गयो मुवायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल ।

छ सेट हातमा भने जुटाइ दिन्छ बर्बधु
विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल
न पढ्नुपर्छ कत्ति नै छ सीम साथमा भने
असीम बन्छ इज्जतै भिर्यो मुबायलै भने
स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल
मिलिक्क देश नै धनी बनाउने मुबायल
गरीब खानले मरे त अन्न हो मुबायल
असक्त रोगले मरे छ ओखती मुबायल
छ घूस ख्वाउनै भने गरेर हेर डायल
छ देश मास्नुनै भने त अस्त्र हो मुबायल
उमेरले बुढो भए छ साथमा मुबायल
भने छछं गरी परी नचाउने मुबायल ।

स्वकीय श्रीमती त्यसै लत्याउने मुबायल
पराय स्त्रीहरू स्वयंं हत्याउने मुबायल
विभागमा पुग्यो भने रुँगाउने मुबायल
दिएन दच्छिना भने रुवाउने मुबायल ।

कुनै कतै असुन्दरी र प्रौढ नै भए पनि
छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी
युवाहरू पिछा गरी घुटुक्क गर्दछन् जब
यही नयाँ विकास हो भनी बुझे भयो अब ।

कहीँ त शोडषीहरू हँसाउने मुबायल
कहीँ त एसमेसले फसाउने मुबायल
कि यौवना घरैभरी सजाउने मुबायल
कि ता विदेशमा लगी भजाउने मुबायल ।

छ भात थालमा भने त दाल हो मुबायल
कतै धुसा न पाइने कतै सिरक् मुबाय
निदाउँदैन रातमा छ हातमा मुबायल
मुसार्छ सुम्सुम्याउदै भनी प्रिंये ? मुबायल ।

यदाकदा घटी बढी भएछ भागमा भने
वरिष्ट दल्हरू स्वतः फुटाउने मुबायल
फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ बास्तब
हुटेलमा पसेभने जुटाउने मुबायल ।

सभा मिटिङ् जताततै घनक्क घन्कने यही
अनेक टोनमा बजी रनक्क रन्कने यही
कथा, पुराण आदिमा पसेभने त क्वै जब
टिटीँ टुँटु गर्यो कि ता जरुक्क उठ्दछन् तब ।

अज्ञात स्थानमा लगी करोड माग्छ यो कथम्
पुगेन माग लौ भने लिदैछ ज्यान यो स्वयम्
तथापि मानिसै न हो हुदैन कत्ति कायल
रहेछ जादुको छडी समान यो मुबायल
धनी छ देश भेषमा करोड रिन् छ केशमा
न खान क्यै छ साथमा तथापि सेट हातमा
युवा पति प्रदेशमा कि श्रीमती विदेशमा
लगी स्वतन्त्रले चराउदै छ यो मुबायल ।

कलेज जान्छ ठाँटमा लिएर सेट हातमा
तथापि ऊ गरीबझैँ कुुरा कथुर्छ बातमा
यदाकदा त दल्बलै लिएर हिंड्छ साथमा
पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।

चिठी बरा कता गइन् † यहाँ त सौतिनी पसी
रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी
न प्रेम पत्र लेखिने न ता कुनै घरायसी
सबै कुरा सिध्याउने रहुछ यो मुबायल ।

गएल हुन्छ टावर त्यसै सकिन्छ पावर
सधैँ छ व्यस्त सर्किट प्रतीक भो मुबायल
धुरुक्क पार्छ ब्लफ्कल प्रसस्त हुन्छ मिस्कल
कि भन्छ नित्य स्वीचफ व्यथा भयो मुबायल ।

सुरुङ्गा, झापा
komalprd@gmail.com

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom