Loading

मेरी अर्धाङ्गिनी / बूँद राना

काली भनूँ काली छैनन् गोरी भनूँ गोरी ।
पहेँली छन् सुनसरी फुलेसरी तोरी ।।

न ता उनी कोरियाली न ता फिलिपिनी ।
खाँटी नेपालीकी छोरी मेरी अर्धाङ्गिनी ।।

चिप्लो पार्ने बानी छैन कुरा गर्छिन झर्रो
तर्कारीमा करेला हुन् ओखतीमा हर्रो ।।

यिन्का अघि सारा फिका मह, मिश्री, चिनी ।
गुलियोमा गुलियो छिन् मेरी अर्धाङ्गिनी ।।

गर्न धेरै पर्दैन क्यै आँखा तरे पुग्छ ।
फलामको डण्डी पनि कर्कलोझैँ नुग्छ ।।

ढुङ्गा ताछ्न चाहिँदैन हथौडा र छिनी ।
कमालकी कालिगढ मेरी अर्धाङ्गिनी ।।

खीरजस्ती सेरोफेरो मङ्ग बसाउने ।
फुल्की, चाछ भनिद्यूँ कि मुखै रसाउने ।।

कैले लाग्छिन् मालपुवा कैले लाग्छिन फिनी ।
दिव्य भव्य स्वादकी छन् मेरी अर्धाङ्गिनी ।।

हुनुपर्ने कुरा जब हुन्न भने जस्तो ।
अरु केही हुन्न भन्छिन्, हुन्छ कस्तो-कस्तो ।।

दिमागको नसा तन्किन्छन् रे तिनिनिनी ।
मान्नु पर्छ दिमागी छन् मेरी अर्धाङ्गिनी ।।

कति बेला घाम लाग्छ ? कैले पर्छ पानी ?
मौसमको हालचाल सकिँदैन जानी ।।

जान्ने यन्त्र कहाँबाट ल्याउने हो किनी ?
सदा सदाबहार छिन् मेरी अर्धाङ्गिनी ।।

यिन्को ईष्र्या गर्छन् अरे सधैँ अप्सराले ।
यस्ती सँगी पाई हेर मक्खै छ यो काले ।।

को मनिषा ? को माधुरी ? को हुन् के हुन् तिनी ?
सबैभन्दा अब्बल छिन् मेरी अर्धाङ्गिनी ।।

प्रगतिको चुली चढ्न गर्नुपर्छ आँट ।
उमेरको कुरा यहाँ आयो कहाँबाट ?

प्रेरणा हुन् प्रत्यक्षमा नमुना हुन् यिनी ।
आँट्यो कि त्यो पुर्‍याउँछिन् मेरी अर्धाङ्गिनी ।।

ब्यहोरेर कति-कति प्रतिकूल काल ।
शानसँग उब्भिएकी बनी सतीसाल ।।

समस्याको दोहोलो यी काढ्छिन् बिनी-बिनी ।
चानेचुने छैनिन् सत्ते मेरी अर्धाङ्गिनी ।।

संसारमा खोजिसाध्य कहाँ थियो द्यौता ।
साथीजस्तो साथी मैले पाएको छु यौटा ।।

जुनीभरिलाई यिन्को बनेको छु ऋणी ।
म त भन्छु सर्वस्व हुन् मेरी अर्धाङ्गिनी ।।

भन्नु होला प्रशंसा त अलि बढी भो' कि ?
जे आयो त्यो भित्रको हो भन्या' छैन घोकी ।।

ता ता थैया, ताथै ताथै, ताक्धिनाधिन धिनी ।
नाचुँ-नाचुँ गराउँछिन् मेरी अर्धाङ्गिनी ।।

(मधुपर्क कात्तिक, २०६७)

Segments: 
Author: 

Comments