Loading

शेक्सपियर, हामी र मर्ने सालिकहरू / कृष्णचनद्रसिंह प्रधान

बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, वाल्मीकि, व्यास, गिलगमेसजस्तो पनि ।

भरखरै उनको एउटा अर्को तस्बिर सार्वजनिक गरिएको छ । यो तस्विर उनको मृत्युको छ वर्षअघि मार्टिन डोरसाउनले बनाएका हुन् भन्ने उनका अनुयायी स्टेन्ले वेल्सको अनुमान छ । अनि तस्विर हेरेर शेक्सपियरलाई 'हिरोकवि' भने ।

मचाहिँ उनीमा कविता देख्न थाल्छु । त्यस्तै सुन्दर, सौम्य, निर्मल, दिव्य उनको अनुहारमा छाएको स्निग्धता, फरासिलो ललाट, स्वप्निल आँखाहरू, घना घुर्मैलो बादलु कपाल, शालीन मुखाकृति कविता नै त हो नि । कविता अङ्कति अनुहार पढेर खुशीले आँखा रमाउँछन् ।

काल्पनिक सिर्जना लाग्ने बिम्बहरूको मिथकीय आख्यानात्मक लोक अदभुत् छ । अचेतन मनको सिर्जनाजस्तो आस्थाहरूको बिम्बले संबोधित आदिम विश्वास परम्परा भएर मिथकमा अविभूर्त हुन्छ ।

शेक्सपियर कल्पना होइन । आदिम बिम्ब पनि नभनौं । एउटा यथार्थ हो । कहिलेकाहीँ अवतरित हुने अलौकिकताजस्तो बिम्ब सिर्जित मिथकझैँ उनी सम्बोधित हुन्छन् ।

लण्डन सहरदेखि टाढा हेन्लेयी स्टि्रट छ । त्यहाँको एउटा गाउँ हो स्ट्रेटफोर्ड । गाउँ नै भन्छन् अहिले पनि । मलाई सहरजस्तै लाग्छ । पोखराजस्तो पर्यटकीय स्थल पनि लाग्छ । लुम्बिनी, भादगाउँजस्तो पनि लाग्छ । यथार्थमा पर्यटकहरूको घुइँचो लागिरहने स्ट्रेटफोर्ड धार्मिक, सांस्कृतिक, पर्यटकीय मनोरम क्यै भएर पनि होइन । शेक्सपियरको जन्मथलो भएकोले उनकाप्रति आस्था राख्ने श्रद्धालुहरूको तीर्थ भइदियो स्ट्रेटफोर्ड, मक्का मदिना र भेटिकन सिटीजस्तो पवित्र पनि ।

म हेन्लेयी स्ट्रेटफोर्ड गाउँमा शेक्सपियरलाई भेट्न पुग्छु । उनी जन्मेको घर, उनले निर्वाह गरेको शैली, गुजारेको जीवन, बस्ने सुत्ने लेख्ने ठाउँ यावत् जीवन दिग्दर्शित गर्ने निवासस्थानमा ।

यो उमेरमा पनि तपाईंलाई स्वस्थ र निरोगी देखेर प्रफुल्लित मन सादर अभिन्दन गर्दछ शेक्सपियर महोदय ।

एकाएक देखापरेको नौलो आगन्तुकमा केही खोज्न थालेझैँ उनका आँखा ममाथि दगुर्न थाल्छन् ।

चिन्ता गर्नुपर्ने छैन महाशय । म यसरी नै बाँचिरहनेछु तिमीहरूसँगै, तिम्रा पछिका पुस्ता र विद्वत् समाजमा पनि ।

सगर्व प्रस्फुरित उनको आवाजमा गहिरो आत्मविश्वास थियो ।

म तपाईंको अमरताको अविछिन्नता चाहन्छु ।

हैन हैन । म अमर भएर बाँचेको कहाँ छु र ? तिमीहरू नभएको भए उहिल्यै मरिसक्थें । नमर्ने गरी कोही जन्मदैनन् । जन्मेका पनि छैनन् । मर्नुपर्नेहरूले गर्ने असल कामले दीर्घायु प्रदान गर्दोरहेछ । यति हो ।

उसो भए असल काम गर्नेहरू मर्दैनन् भन्न खोज्नुभएको हो ?

कहाँ र ? उनीहरू पनि बाँच्दैनन् । जसलाई तिमी देखिरहेका छौ, मलाई हेर, म पनि कहाँ बाँचेको हुँ र ? इतिहासमा बाँच्नु भनेको महान् कामको लागि उत्प्रेरित गर्नु हो । एउटा परिकल्पित महìवाकाङ्क्षा भन्दा हुन्छ । यसो त ढुङ्गा, मूर्ति, सालिकहरूमा पनि बाँच्न खोज्दा रहेछौ । म सुसंस्कृत मनका स्रष्टा मान्छेहरूमा बाँचेको छु । उनीहरूको श्रद्धा र सँग्लो मन जितेर बाँचेको छु । भक्तजनको मनमा ईश्वर बाँचेजस्तो । तिनीहरू मरे भने हाम्रा ईश्वर पनि मर्नेछन् ।

कसैको अस्तित्व नमान्दैमा आकाश खस्छ र ? संस्कारको निरन्तरतामा हाम्रो परम्परा, विश्वास टिकेको छ । मचाहिँ मानिसमाथि विश्वास गर्छु । ऊ अविवेकी होइन । वैगुनी नहुनाले मूल्यको कदर गर्नेहरूको सद्व्यवहारमा हामी बाँच्दा रहेछौँ । सबैभन्दा ठूलो कुरा हो आफूमाथिको विश्वास । आफूप्रति इमान्दार होऊ । असङ्ख्य मानिसहरूको मन जितेर उनीहरूको आस्थामा बाँच्नेलाई अर्को शब्दमा अमर हुनु भन्छौं । अरूलाई अनुगृहित गर्ने त्याग, हृदय जित्ने सिर्जनात्मक विलक्षणता, मानवीय वैचित्र्यलाई उनीहरूकै यथार्थतामा जीवन्तता दिने कलामा हामी बाँच्छौँ । अलौकिकतालाई पनि लौकिक रूप दिने सिर्जना शक्तिको प्रशंसा गर्नैपर्छ ।

महोदय तपाईंको र मेरो युग एउटै होइन, समाज एउटै होइन । संसार धेरै बदलिसक्यो । मान्यता, प्रवृत्ति, आदर्श, विचारहरू फरक भइसके । वर्तमान पछ्याउँदै जब तपाईं हिंड्न सक्नुहुन्न । तपाईंलाई पछ्याएर अबको समयपछि लाग्दैन । फेरि पनि पुस्तौँपछिका पुस्तामा तपाईं आफूलाई जीवित देख्नु हुन्छ । विगतको अनुसरण गरेर अनागतको उपेक्षा गर्नु एक प्रकारको मृत्युवरण गर्नु होइन र ? तपाईं जन्मेको ठाउँ पनि तपाईंको बेलाको जस्तो छैन । यो गाउँ, सडक, वातावरण, मानिसहरू सब अर्कै भइसके । बेलायत अर्कै भइसक्यो तर अहिले पनि जिउँदै छु भन्नु हुन्छ तपाईं ।

मेरो असहमती छैन यसमा बन्धुवर ! सत्य के पनि हो भने यी परिवर्तन भित्र म र मेरो समय पनि विद्यमान छ । हिजोभित्रै आजका दिनहरू जन्मने गर्छन् । आज नभएको भए भोलि पनि हुने थिएन । राम्रो नराम्रो कुरालाई एकछिन् बिर्सौं ।

तिमी म भएर वा म तिमी भएर देखियौँ भने हाम्रो स्वतन्त्र अस्तित्व नै रहँदैन । दुवै रहने थिएनाँै । म मैं भएर आजपर्यन्त जीवित छु । तिमी भएर पनि होइन, तिम्रो समय भएर वा तिम्रो जीवन जिएर पनि होइन । आफूलाई मात्रै होइन मैले त्यसबेलाका मानिस, मेरो युग र पूरा शताब्दीलाई आफूमा समेटेर मानवीय चरित्र, प्रवृत्ति, आकाङ्क्षाहरूलाई उद्बोधित गर्ने धृष्टता गरेको छु । त्यसैले ममा मै मात्र होइन मेरो समय बोल्छ, मानिसहरू बोल्छन् ।

आफू जन्मँदाको समयभन्दा बढी हामी बोल्दैनौँ । त्यसलाई शब्द दिने गर्छ साहित्यले । त्यसैले भन्दैछु ममा मेरो समय समाज, मानिसहरू सबैलाई एक साथ पढ्न सक्छौ । उनीहरूका पीडा सुन्न सक्छौ! षडयन्त्र, अपराध देख्न सक्छौ! मन, चरित्र बुझ्न सक्छौं । वास्तवमा स्वयंको मौलिकताले नूतनता प्रदान गर्ने सिर्जनात्मकताको बिम्ब भई हामी पछिको युगमा उपस्थिति हुने गर्छौं । वाणीझैँ सम्बोधित शब्द तिमी हौ । तिम्रा आकाङ्क्षा, अभाव, सपनाहरूको प्रतीकात्मक बिम्ब भएर त्यहाँ व्यक्तिने गर्छौ । यसै अर्थमा जीवित छु भनेको हुँ- तिमी भएर पनि । शेषपछिको पुस्ता भएर पनि । समयअनुसार कला, साहित्यमा भइरहने सिर्जना, प्रयोगहरूले तिनको निरन्तरतालाई सङ्केत गर्न खोजेको हुँ । यही शाश्वततालाई बुझाउने प्रतीकात्मक अवस्थितिलाई मेरो बाँच्नुले बिम्बित गर्छ ।

आउने जानेहरूको अविराम अविच्छिन्नताभित्र यो अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्दै विदा हुन्छु ।

शेक्सपियर महोदय ! असङ्ख्य धन्यवाद ।

शेक्सपियरलाई उनको घरमै भेटेर तृप्ति अनुभव गर्छु । समयाभावले त्यहाँ मञ्चित भइरहने नाटक हेर्न पाइन । दुःख लाग्यो । वास्तवमा नाटक हेर्ने विद्वान्-विदुषी तथा श्रद्धालुहरूको घुइँचो नै लागिरहन्छ । पार्किङ्ग गर्ने त्यतिका ठाउँहरूको व्यस्था हुँदाहुँदै पनि हामीले पार्किङ्ग गर्ने ठाउँ पाएनौं । दुई चक्कर लगायौँ, एउटाले गाडी फर्काएर हिँडेपछि त्यही पार्किङ्ग गर्न सक्यौं । यसबाट त्यहाँ आउनेहरूको अनुमान लगाउन सक्छौं ।

चीनमा पनि त्यहाँका कवि लेखक कलाकारहरूको घर, तिनको स्मृतिमा निर्मित विशाल पार्क, समाधिस्थलहरू छन् । ती हेर्ने अवसर पाएको छु । सेचुआन प्रान्तको राजधानी छनतुमा सुप्रसिद्ध चिनियाँ कवि तू फुको स्मृतिमा निर्मित ६० हजार वर्गफुटको विशाल पार्क छ । संघाइमा स्थापित प्रसिद्ध चिनियाँमा लेखक लूसुनको समाधि पनि देखेको छु तर यति पर्यटकहरू देखिन ।

भने नि स्ट्रेटफोर्ड गाउँ अब सहर भइसक्यो । -हाम्रो दाँजोमा भन्दैछु ।) उनीहरू त गाउँ नै भन्छन् । पहिलेको तुलनामा त्यहाँ सुविधा बढ्यो होला । धेरै व्यवस्थित गरियो होला । चाहिने सुधारहरू पनि निकै भए होलान् । जीवनस्तर प्रशस्त उठेको हुनुपर्छ । आधुनिक प्रविधिहरू त्यहाँ पनि पुग्यो होला । कुनै कुराको अभाव र सुविधाहरू सायद अब छैन भन्ठान्छु । यदि भइकन पनि गाउँको आˆनो जुन चिनारी हो, प्राचीन सांस्कृतिक स्वरूप, आकृति-प्रकृतिहरू लाग्छ जीवित छन् । त्यसलाई मास्नेगरी आधुनिकताले हस्तक्षेप गरेको देखिन । मलाई लाग्यो स्ट्रेटफोर्ड गाउँजस्तो पनि छैन, आधुनिक सहर पनि होइन । दुवैलाई एकसाथ देख्छु स्ट्रेटफोर्डमा । ग्रामीण क्यानभासमा सहर मुस्कुराइरहेजस्तो, सहरी आधुनिकतामा गाउँ रमाइरहे

जस्तो । मैले त भादगाउँ पो सम्झेछु ।

अनि आˆनो देश र्फकन्छु । यहाँका देवकोटा र उनको मैतीदेवीको घर हेर्छु । बालकृष्ण समलाई सम्झन्छु र उनको ज्ञानेश्वर स्थित निवासस्थान पुग्छु । एउटालाई भारतीय कवि पन्त, प्रसाद, निराला भने, अर्कोलाई नेपालका शेक्सपियर । कसैसँग तुलना गरेर कसैको प्रतिष्ठा वा उचाइले सिद्ध गर्ने महानताले कोही कहाँ तौलिन्छन् ? हरेकको आˆनै राष्ट्रिय परिवेश हुन्छ । मौलिक आधार स्रोतहरू हुन्छन् । यसबाट परिचालित प्रयोग, विशिष्टता, सीप र योगदानहरू फरक फरक हुनसक्छ । यिनीहरू नै पनि यथेष्ट छैन र कसैको महानता परिगेल्नलाई ?

सन्दर्भमा गाँसिएको प्रश्न हो यो मेरो । प्रसङ्ग त देवकोटा र बालकृष्ण सम हुन् । उनीहरू जन्मेको घर, उनीहरूले प्रयोग गर्ने गरेका वस्तु जो ऐतिहासिक अर्थ राख्छन्- गायव हुँदैछन् । तिनको संरक्षण हुन सकेनन् न परिवारबाट भइदिन्छ, न साहित्यिक सङ्घ-संस्थाहरूबाट न सरकारी, अर्धसरकारी स्तरबाट । आदिकवि भानुभक्तलाई मात्रै होइन भारतका पन्त, प्रसाद, निराला भनिने महाकवि देवकोटालाई पनि सम्झेनौ, शेक्सपियरको उपािध पाउने बालकृष्ण समलाई पनि याद गरेनौं । बालकृष्ण समको सालिक हेर्दा लाग्छ घरबाट निष्कासित भई कमलपोखरी छेउको डिलमा बसेर कसैको आश्रय खोजिरहेका छन् । उनलाई त्यहीँका छिमेकीहरूले पर्यन्त चौबाटोमा उभिन दिएनन् । रानीपोखरीको पश्चिमपट्ट िदरबार हाइस्कुलको अगाडिको पर्खालमा अडेसिएर भानुभक्त लाग्छ चौकीदारी गरिरहेछन् । अनि आˆनो घर हेर्दै एउटा कुनामा कोचि्रएका कवि सिद्धिचरणलाई यसैको सुरक्षा गर्न खटिएको जस्तो लाग्छ । हामी यो अपमानित बोध गर्दैनौं ।

सालिकमा रूपान्तरित भएर टुहुरो मान्छेझैँ किन बाँच्न खोजेका हौँ ? उनीहरूका कृति नै उनीहरूका सालिक हुन् । ढुङ्गामा अवतरित भई सालिकले त हाम्रो मृत्युको घोषणा गर्छ ।

सिमानाले रचेको रक्तरञ्जित देश र राष्ट्रियताभन्दा पर मानिसको बस्ती छ । मानिसहरू सीमाहीन प्रदेशका नागरिक हुन् । दुर्घटित चरित्रहरू केलाएर मानिसलाई घृणा गर्न भन्दैन । पुनर्सिर्जना गर्दै आफूलाई मानिस हुन उद्बोधित गर्छ । शेक्सपियर तिनै सीमाहीन प्रदेशका स्रष्टा हुन् जहाँ पुगेर मैले एउटा धाम पूरा गरें जस्तै लाग्यो ।

Segments: 

Comments