खजूर / इद्रिस सायल

म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा (खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।

मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन गरिदिएको थिएँ- बानो, तिम्रो नाममा रुपियाँ पठाइदिएको छु । ईदको खर्च पनि यसैमा छ, लिनु ।

"कति रुपियाँ पठाउनुभएको छ ?"

बानोले सोधेकी थिइन् ।

"३० हजार ने.रु. ।"

मैले उताबाट जानकारी दिएको थिएँ ।

एकदिन बानोले पनि फोन गरिन् र भनिन्- "समसाद, कोही घर आयो भने तपाईंले टिपेको चिनो खजूर पठाइदिनु होला ।"

झण्डै तीन वर्षपछि अरबबाट कमाएर फर्कें म ।

तत्कालै भाइहरू मेरो आँगनमा देखिए । भेटघाटपछि भाइहरूले भन्नथाले- "दादा, केही चिनो त दिनोस् ।"

"के चिनो दिने ?"

मैले सोधेँ ।

"एउटा घडी नै भए पनि दिनोस् ।" भाइहरूले भने ।

"घडी त ल्याएको छैन । खजूर मात्र ल्याएको छु, लेऊ ।"

मैले भाइहरूको हातमा एकएक मुठी खजूर राखिदिँदै भनेँ । भाइहरूले खजूर त लिए तर त्यही दिनदेखि बोल्नै छोडिदिए ।

बहिनीहरू पनि मलाई भेट्न आए र भने- "हामीलाई केही चिनो दिनोस्न, दादा ।"

"के चिनो ?" मैले सोधेँ ।

"एउटा-एउटा माला नै भए पनि दिनोस् ।" बहिनीहरूले भने ।

"माला त ल्याएको छैन । यही खजूर मात्र ल्याएको छु ।"

मैले बहिनीहरूलाई देखाउँदै उनीहरूको हातमा एकएक मुठ्ठी खजूर राखिदिँदै भनंे ।

त्यसपछि त बहिनीहरू पनि माइत नै आउन छोडिदिए ।

श्रीमती बानो भने पैसा जति लिएको ऋण तिर्दैमा सकिए पनि त्यही खजूरमा रमाइरहेकी थिई र खजूर टिप्दा भाँच्चिएको मेरो हातमा मल्हमपट्टी गरिरहेकी थिई ।

[Madhuparka Monthly]

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom