Loading

कविताको कमाल / रामकुमार पाँडे

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न ।

उदण्डलाई दण्ड ! अर्थात् लठ्ठीको झट्टी ! लठ्ठी पनि हेर्नाका छन् । कुनै लामा, कुनै छोटा, कुनै सिकुटे, कुनै मोटा । लठ्ठीको प्रमोशन भएर छालाले मोडे छडी सुनको भए दण्ड । त्यही दण्ड लिने दङ्ग पर्दै जङ्ग गर्न बेर हुन्न । दण्ड भएपछि दण्डवत् गर्नेको लहर लागि उदण्ड भएको पत्ता पाइन्न । लठ्ठीको काम पशु तह लगाउन गोठालाले प्रयोग गर्न लाग्दा पशु अधिकारवादीले ड्रममा लठ्ठी पडकाइ हाल्छन् । अनि ठटाउने भनेको लठ्ठी नहुने अर्थात् दण्डवत् नगर्नेलाई नै हो । नत्र पुलिसले थोडै फुलिस हुन लठ्ठी समाउँथे ? लठ्ठी समाउँदा किन रमाउँथे ? लठ्ठी समाउँदा हात कमाउनेले किन कमाउँथे र जमाउँथे ? अझ भेडाको बगालझैँ ठूलो भीड देखे लाठो नै उचाल्छन् ।

लठ्ठी पक्डने मास्टर पनि हुन्छन् । वेनमास्टर त अझ लठ्ठीले नै लत पर्दै पार्दै धुन तर्काउँछन्, मर्काउँछन् र चर्काउँछन् । लठ्ठी लिनुभन्दा कलम लिनु जाति ! कलमले उस्तै परे छाती चिर्छ र सात पुस्ता पिर्छ । कलमले तरबारको घरवार उडाउँछ । नपत्याए हेर्नोस् पत्रकारको पत्रिका र पत्रिकाको पत्रकार ! मान्छेलाई ठीक ठाउँमा ल्याउन कलमले मल्हम लगाउन पछि पर्दैन । नपत्याए नेताको पछि बुद्धिजीवी वा बुद्धीजीवीको पछि बुद्धिजीवी हेर्नोस् ! लठ्ठीको झट्टी हैन लठ्ठीको कविता पड्काएपछि लठ्ठी हाल्छ मान्छे । नपत्याए एउटा गीत नै सुन्नोस् -

काली तीरमा पहिरो गयो

थुन्यो खोलो खोल्ने को हो ?

पहरा फोर्ने मान्छे को हो ?

छिटो छिटो भन्दाभन्दै

बगायो नि ढुङ्गा मूढा

फूर्ति गर्ने पट्ठा पनि

भएछन् नि खुम्रे बूढा !

हेर्नोस् कविताको कमाल ! कविता पनि हेर्नाका छन् । कुनै लामा, कुनै छोटा, कुनै टाक्सेका कुनै मोटा,कुनै टोटा कुनै लोटा कुनै छन्दका कुनै छन्द न बन्दका । कुनै द्वन्द्वका कुनै दुर्गन्धका । कुनै रङको, कुनै ढङ्ग न रङ्गका । कविताको प्रयोगबाट रुन्चेलाई हँसाउनेदेखि मोहजालमा फसाउने काम तमाम । नपत्याए हेर्नोस् शोषकलाई हाइकुले हृवाइचेट पार्छ-

रगत चुस्यौ

करङ बाँकी भयो

भरेङ चढ ।

अझ हनिमुन हाइकु झन् कमालको हुन्छ । यौनवादी भए नभएको व्याख्या गर्दा बर्बादी हुन्छ । नभए यो प्रगतिवादी हो-

कस्तो रोग यो

दूध पिएको थिएँ

जरो चम्कियो ।

नेतालाई दे दनादन गर्न हाइकु नै दन्काउनुपर्छ-

हाम्रो देशमा

पशुपति कृपाले

गोरु मन्त्री छ ।

अरू त छँदै छ कविताबाट सम्पूर्ण संस्कार सम्पन्न गर्न सकिन्छ । अक्षतापाती र खेतीपाती उस्तै हो-

हलो जोतेर

बीउ रोप्ने त्यो हली

हिलोमा डुब्यो ।

शिक्षा नदिदा पनि आफै जान्ने प्राथमिक संस्कारलाई अर्को हाइकुले ठाउँमै पुर्‍याउन सकिन्छ-

पोखरी छेउ

डिलमा चिप्लेकीरा

तर डुब्दैन ।

मान्छे भनेको एउटै स्वादमा नरम्ने अजीव जीव हो । हाइकु मात्र हैन मुक्तक पनि कम्ता छैन । मुक्तक ठाउँमा पर्‍यो भने मुक्तकण्ठले प्रशंसा नगरी सुख ? व्रतवन्ध गर्दा यही मुक्तकको मन्त्र दान गरे उन्मुक्त भइन्छ-

जगल्टा लामो गजल्ट

जोगी जस्तो

मुन्द्री कानमा उभयलिङ्गजिस्तो

बाँदरझैँ स्वभाव संस्कारमा विकार

मान्छे हेर्दा खोई के हो हान्ने गोरुजस्तो ।

व्रतवन्ध गरेपछि बिहे गर्ने चलन उहिलेको छ । व्रतवन्ध अघि हनिमुनको जात्रा सकेर झ्याइँकुटी झ्याइँ हैन झ्याइँकुटी पार्दै फुटी झ्याइँ पारेपछि विवाह गर्ने चलन आजको । यस्ता बिहेमा वैदिक विधिको साटो विधिअनुसार कविताले नै गिरि लिदीको भेद नपाउनेको झाँको किन नझार्ने ?

बिहे त भयो लाटाको अनुभव कस्तो

श्रीमान् पर्‍यो हिजडा नपुंशकजस्तो

हनिमुनमा मह चाट्छ चन्द्रमा हेर्दै

जग्गे

नै बनेछ प्रसूतिको बेडजस्तो ।

गजल ठोकेपछि बिहेमा पजल नहुने कुरै छैन ।

बिहे सक्न पाएको छैन अङ्ग्रेजीमा उल्था र उल्टा हुँदै बिहे हेवी अर्थात् गह्रौं हुँदाहुँदै त्यसैले थिचेर बाँचुञ्जेल नर्क भोग गरे पनि खुस्केपछि अर्थात् सास फुस्केपछि स्वर्गारोहण हुन्छ, हुन्छ । जसरी राजनीतिका नेताको शक्ति खुस्केपछि स्याप्रे बेलुन बन्छ ।

बाँच्दा गरेको कालो करतुतले भुँडी फुटुन्जेल हसुर्नेले नर्कको पुर्जी पाइसक्दा पनि कतै त्यसलाई वर्खासत गर्न सकिन्छ कि भनी

दर्खास्त हाल्छ सतसङ्गतमा सत्सङ्गतबाट सद्गत हुने ठानी स्वजनसँग भजन पाटीमा छिर्छ-

म्याद हो नै दुवै दिनको तैपनि दम्भ कस्तो

देखिन आँखा प्रभो कुन महँगो कुन सस्तो

पैसा, पद र प्रशंसाले बिर्सिए राम नाम

न घरको भएँ न घाटको प्रभो गधा जस्तो ।

खुस्केपछि सम्झनु पर्‍यो । श्राद्ध गर्नैपर्‍यो । पिण्ड दिने काम चाहिँ हास्यबाट गर्नु जाति । कविताको पिण्ड-

खुस्केपछि के को प्रीत

श्राद्धमा बज्यो फिल्मी गीत

प्रदूषण बढ्दै छ

नुहाउने कुन कुण्ड

भोलि महँगीले पिर्छ

खाउ जीउँदै पिण्ड ।

हेर्नोस्, कविताले र्फम चलाउने काम उहिले नै भानुभक्तले गरेका हुन् । ढिलासुस्तिको सास्ति पाएपछि अड्डाको फन्को मार्दा कुन रन्को निस्केको कुस्ती खेल्ने मस्तिको कविता कोरेका हुन् । भोलि भोलि भन्दै सब दिन वितिगो बक्सियोस आज झोली नै कवितामय बनाएपछि मान्छेको टोकसो माथि जरुर साथी म पागल भने देवकोटाले हेर्नोस्, आफै माथि व्यङ्ग्य महान् मान्छेले मात्र गर्न सक्छ । त्यसै मैले आफैमाथि कविताको व्यङ्ग्य बजारेको हुँ र ?

झुकेन शिर कतै पद र पैसामा खाली

भ्रष्ट भाँड भरौटेलाई दिएन कतै गाली

खाने एक पेट नै हो लाइन्न दुइटा टोपी

मरिचजस्तै भए मान्छे बोल्दैन मन खोली ।

कविताले दोहरी खेली श्रीमती भित्र्याउने काम उहिल्यै भएको हो । अहिलेका कवि लाछी परेछन् कि क्या हो ? कविताले भित्र्याउनु त कता हो कता भएकै पनि बाहिरिन बेर हुन्न । यसको प्रमाण कवि सम्मेलनमा कविता वाचनलाई पाचन गर्न नसकी जर्‍याकजुरुक दर्शक उठ्दै कुलेलम ठोकेबाट पनि पाइन्छ ।

कविता लामा जामाजस्तो बनाएपछि कसले हेर्छ ? हट प्यान्टीजस्तो ताङ्का चाहिन्छ-

अघि जानिन

पछि राँड मानिन

बाघ झम्टियो

राँड त्यसै चिच्याइ

बाघ लग्यो घिच्याइ ।

यो त तान्का तन्काउने काम भयो । पुरानो उखानलाई रिमिक्स गरेपछि कमालको कविता भइहाल्यो । अब हर्नोस्, यो जमाना नै मिक्स र रिमिक्सको हो । अनमेल विवाहदेखि राजनीतिमा बेमौसमी गठबन्धन भएपछि कवितालाई पाइला पाइलामा प्रयोग गर्न नसकिने कुरै भएन । कविता र जाँड, जाँड र राँड, राँड र माड, माड र गाँड, गाँड र भाँड, भाँड र जाँडमै घुम्छ तान्त्रिक कवि अर्थोक त अर्थोक कविता माथिको मिश्रण कवितामा नै हुन्छ भने यसपछि अरू कुरै नगरी कविताको कमाल कस्तो हुन्छ भन्नै परेन-

कविता रोप कविता खाउ

कवि नै छोप्छ कविता दाउ

कवि नै हो है कविता साहू

कविता बिक्छ कौडीको भाउ ।

[Source: Madhuparka Monthly]

Segments: 

Comments