जीवित नायकको आत्मकथा / शैलेन्द्र साकार

ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत ब्रुसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।
आठ बजे उसको काम सुरु हुन्छ
पाँच बजे अफिस छुटेर घर र्फकन्छ
केहीबेर गीत सुन्छ, खाना पकाउँछ
र टि.भि. हेर्दै खाना खान्छ
यसरी नै धेरै वर्ष विताएको छ उसले
ऊ मात्र एउटा पात्र हो उपन्यासको
उपन्यास लेखक हरेक पात्रलाई अन्त्यमा मृत्यु दिन्छ
यो सबैलाई थाहा छ ।
कुनै खराव लत छैन
कुन कारणले लेखकले उसलाई असमयमै मार्ने ?
तर लेखक भने चिन्तित छ- कसरी आफ्नो पात्रलाई मार्ने ?
पात्रलाई त्यो कुरा एकदिन थाहा हुन्छ
ऊ आफ्नो लेखकलाई भेटेर प्रश्न गर्न चाहन्छ
मैले किन असमयमै मर्ने ?
तर लेखक आफ्नो प्रत्येक उपन्यासमा
पात्रलाई मार्न बाध्य छ
उसले मर्नैपर्छ ।
तर कसरी ? क्यान्सरले एक्कासि ऊ मर्न सक्दैन
त के हृदयघात गराएर उसलाई मार्ने ?
लेखक एकदमै चिन्तित छ ।
पात्रलाई लेखकको गोप्य योजना थाहा हुन्छ
ऊ समालोचककहाँ पुग्छ र अनुरोध गर्छ
'मलाई बचाउन लेखकलाई भन्दिनु पर्‍यो
समालोचक भन्छ-असम्भव, उसले तिमीलाई बचाउनै सक्दैन
उसका प्रत्येक नायकहरू यसरी नै असमयमै मर्छन् ।
नायक बाँच्ने कोसिस गरिरहन्छ
कोसिस नम्बर १- कुनै काम ठीक समयमा नगर्ने
नम्वर-२ जागिर छाड्ने र दिनभर कतै नजाने
नम्वर ३-कसैको फोन रिसिभ नगर्ने । त्यो लेखकको कल हुन सक्छ ।
अनि कहिल्यै नसोचेको एउटी साधारण ठिटीको 'बार' मा पसेर
ऊ दिनभर बिताउँछ
कारण यस्तो ठाउँ उसको नियन्ता
उसको जन्मदाता लेखकलाई थाहनै नहोस्
ऊ लेखकलाई फोन गर्छ
घण्टी बजिरहन्छ फोन उठ्दैन
अन्त्यमा बल्ल फोन उठ्छ
लेखक भन्छ- तिमीले छिट्टै मर्नुपर्छ
मेरा प्रत्येक पात्र यसरी नै छिट्टै मर्छन्
लेखक उपन्यासको अन्तिम परिच्छेद लेख्दैछ
केही घटित हुनु नै छ
लेखक पाण्डुलिपिको अन्तिम परिच्छेद लेख्दैछ
'नायकले उपन्यासको लेखकलाई फोन गर्छ
र आफू मर्नुपर्ने उचित कारण माग्छ
तर लेखक भने जवाफ दिन चाहँदैन ।
विस्तारै पात्रलाई लाग्न थाल्छ
लेखकले उसलाई बिर्सिसक्यो
अनि ऊ आफ्नै पुरानो घडीको हिसाबमा
अनायास बस विसौनी पुग्छ
बस सात बजेर बाइस मिनेटमा हिँड्छ
उसलाई पक्का छ
त्यही बेला एउटा बालक साइकलमा दौडेर
बसतिर आउँदैछ
ऊ ठीक सात बजेर बीस मिनेटमा बस चढ्न सक्दैन
बस हिँड्छ
बालक बचाउन ऊ बसको अगाडि हुत्तिन्छ
उसको हात भाँचिन्छ
र टाउको गम्भीर चोट लाग्छ
ऊ बेहोस हुन्छ
अस्पतालमा ऊ ब्यूँझन्छ
डाक्टर उसलाई भनिरहेको हुन्छ-अहिले तिमी खतरामुक्त छौ
एक मिनेटले तिमी बाच्यौ
लेखक आफ्नो उपन्यासको अन्तिम वाक्य
यसरी लेख्न बाध्य भयो-
यसरी ऊ बाँच्यो
एउटा बालकलाई बचाएकोले ऊ बाँच्यो
प्रत्येक उपन्यासको मेरो नायकझैँ ऊ मरेन ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom