Loading

हिउँ र तिमी / दिनेश अधिकारी

न्यानो लाग्नेगरी

चिसो हिउँ परिरहेको छ

र, म तिमीलाई

हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्भिmरहेँछु

त्यसबेला

तिमी असाध्यै नरम र न्यानी थियौ ।

कपासजस्ता हिउँका कोमल फूलहरू

समय बित्दै जाँदा

कठोर चट्टानमा परिणत भएछन्

अहिले म

त्यही हिउँ-चट्टानमा उभिन आइपुगेको छु

जुत्ताको तलुवा छेडेर

खुट्टाको बाटो हुँदै

चिसो शरीरभरि फिँजिएको छ

प्रत्येकपल्ट पाइला टेक्ता चिप्लिने डरले

मस्तिष्क एक किसिमले काँपिरहेको छ

हाम्रो वर्तमानमा

एक पटक फेरि

म तिमीलाई सम्भिmरहेको छु

अहिले तिमी

हिउँ-चट्टानभन्दा पनि कठोर लागिरहेकी छ्यौ �

हामी खेल्ने ठाउँको मौसमी हिउँ न हो यो

हिउँको कठोरता पनि

कहाँ धेरै दिन टिक्दोरहेछ र ?

अलि पर

तलतिर

विस्तारै विस्तारै

पग्लँदै

पानी भएर हिउँ बग्दै गरेको देखिरहेँछु

र, मनमनै कामना गरिरहेँछु-

हिउँको यो स्वभाव

चाँडै तिमीमा पनि सल्कियोस्

विश्वास छ,

हाम्रो आगामी भेट अगावै

हिउँ-चट्टानबाट

तिमी कलकलमा परिणत भइसकेकी हुनेछ्यौ !

न्यानो लाग्नेगरी

चिसो हिउँ परिरहेछ

र, म तिमीलाई

हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्भिmरहेँछु

त्यसबेला

तिमी असाध्यै नरम र न्यानी थियौ ।

[Madhuparka Monthly]

Segments: 

Comments