Loading

वी.पी.को 'हिटलर र यहूदी' उपन्यासमा मानवतावाद / चारूभा घिमिरे

विषय प्रवेश

नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । 'संसारका थोरै व्यक्तित्वमा हुने विशेषता(व्यक्ति एक, व्यक्तित्व अनेक(बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।' राजनीतिक क्षेत्रमा आजीवन अथकरूपमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सही व्याख्या र नेतृत्व दिँदै आएका उनी नेपाली कथा साहित्यका कोसेढुङ्गा हुन् । उनले समकालीनहरू मैनाली, सम, पुष्कर शमशेरभन्दा भिन्न विचार अघि सारे अर्थात् उनले कथा साहित्यमा मनोविज्ञान र यौनमनोविज्ञानलाई भित्र्याए । साथै उनले कथा र उपन्यासका माध्यमबाट नारीवर्गलाई स्वतन्त्र, आत्मविश्वासी र पुरुषको अधीनमा नरहेर पनि छुट्टै अस्तित्वमा रहन सक्ने वर्गको रूपमा प्रस्तुत गरे । त्यसैले उनको लेखकीय योगदान अनुकरणीय र उल्लेखनीय छ । उनका कृतिहरू नेपाली साहित्यका भण्डारमा महìवपूर्ण सम्पत्तिका रूपमा रहेका छन् । उपन्यासका क्षेत्रमा उनको योगदान प्रशंसनीय रहेको पाइन्छ । नेपाली साहित्यको उन्नयन र विकासमा उनको भूमिका उच्च रहेको छ । उनको पौराणिक तथा ऐतिहासिक विषयवस्तुमा आधारित 'हिटलर र यहूदी' चर्चित मानवतावादी औपन्यासिक कृति हो । विश्व साहित्यकै दाँजोमा मानवतावादी कृतिको उन्नयनमा रहेको यस उपन्यासलाई विश्व मानवतावादको सन्दर्भमा समीक्षा गर्नु वाञ्छनीय भएकाले यस प्रसङ्गमा उक्त कृतिको समीक्षात्मक प्रदक्षिणा गर्ने प्रयास गरिएको छ ।

कृतिका आलोकमा उपन्यासकार

मानव जीवनको सम्पूर्णताको अभिव्यक्ति नै उपन्यास हो । यसले मानव सभ्यताका विविध पक्षहरूमाथि आधारित घटना शृङ्खलाको यथार्थ वा अतिरञ्जनात्मक बृहत् गद्यपरक आधारको कलात्मक अभिव्यक्ति दिन्छ । उपन्यासभित्र मानवीय जीवनको सुख(दुःख, माया(प्रीति, सपना(विपना, आशा निराशा, करुणा, सहानुभूति, आपत्(विपत्का साथै यथार्थ, आदर्श, विसङ्गत पक्ष आदि समावेश भएको हुन्छ । जसमा जीवनका यावत भोगाइ तथा अनुभवहरू उतारिएको हुन्छ । इटालीयन भाषाको 'नोभेला' शब्दबाट 'नोभेल' भएको यो विधा नेपाली भाषा साहित्यमा 'नोभेला' को नेपाली रूपान्तरण 'उपन्यास' शब्द प्रचलित छ । पूर्वीय साहित्यमा आख्यान तथा आख्यायिका भनेर चिनिने उपन्यास शब्दले आज जीवनका व्यापक तस्बिरहरू समेटेर राख्ने साहित्यिक विधाको रूप प्राप्त गरेको छ । हाल यो वर्तमान युगको वास्तविकता, जटिलता र परिवर्तनशील स्वभावलाई अभिव्यक्त गर्न सक्षम विधाका रूपमा स्थापित भएको छ र यसै परिप्रेक्ष्यमा कोइरालाका औपन्यासिक कृतिहरू सिर्जित भएका हुन् ।

नेपाली साहित्यमा मनोविज्ञान तथा यौनमनोविज्ञान भित्र्याउने कथाकार तथा नारीअस्तित्वको खोजी गर्ने उपन्यासकारको रूपमा प्रसिद्धि पाएका विश्वेश्वरप्रसाद कोइरालाको योगदान उच्च छ । उनले भौतिक, सामाजिक र आर्थिकजस्ता स्थूल सम्बन्ध र यसबाट उत्पन्न पीडा, बाधा वा सफलतालाई मात्र कथा र उपन्यासभित्र समेट्ने परम्परालाई तोडेर मान्छेभित्र रहेका अदृश्य उथलपुथल, मानवीय भावना, रतिराग, प्रेमलाई खोतल्ने काम गरे । समाजले जतिसुकै वर्जनीय, निन्दनीय कामको दुहाइ दिए पनि यो मानव मनको अन्तस्करणको प्रवृत्तिलाई रोक्ने प्रयत्न गर्‍यो भने कुण्ठाग्रस्त भएर ऊ समाजलाई काम नलाग्ने बन्न सक्छ भन्ने अवधारणा उनका साहित्यिक कृतिहरूमा मुख्य विषय बनेर रहेको पाइन्छ । उनका उपन्यासहरूको मुख्य पक्ष भनेको मानव जीवन, दर्शन र मानवतावादी अवधारणा नै हो । "मान्छे शरीर मात्र होइन, शरीर पशु मात्र बाँच्छ । मान्छे मन र हृदय हो, मान्छे बुझ्न उसको मन र हृदयमा पस्नुपर्छ ( भट्टराई, २०५८ ः १०८) ।" भन्ने मानवतावादी दृष्टिकोण उनका उपन्यासहरूमा पाइन्छ । सामाजिक, सांस्कृतिक तथा पौराणिक विषयवस्तुलाई प्रयोग गरी व्यक्तिको मनलोकभित्र पस्न रुचाउनु उनको औपन्यासिक विशेषता र प्राप्ति पनि हो ।

विवेच्य उपन्यासको पृष्ठभूमि

कोइरालाको 'हिटलर र यहूदी' उपन्यास (वि.सं. २०४०) लेखन (वि.सं.२०२५, पाँचौँ संस्करण भूमिका) को दृष्टिले पहिलो उपन्यास हो । यो उपन्यासको पृष्ठभूमि भागवत् गीताको युद्धकाल हो । यो उपन्यासमा मानवतावादी अवधारणाको वकालत गर्नेक्रममा गीताको नयाँ ढङ्गले व्याख्या गरिएको छ । तत्कालीन समयमा कौरव र पाण्डवबीचको युद्धले पनि समस्या समाधान गरेको थिएन र द्वितीय विश्वयुद्धको समयमा हिटलर र यहूदीबीचको युद्धले पनि समस्या समाधान गरेन । त्यसैले युद्धलाई कुनै पनि हालतमा समस्या समाधानको उपायको रूपमा लिन सकिन्न र लिनु हुँदैन भन्ने दार्शनिक अवधारणा नै यो उपन्यासको मूल पृष्ठभूमि हो ।

मानवतावादको अर्थ

मानवमा हुने गुण वा विशेषता र मानव हुनुको भावना मानवतावाद हो भने मानव कल्याण र मानव आदर्शमा विश्वास गर्ने सिद्धान्त मानवतावाद हो । मानवतावादमा विश्वास गर्ने, मानवतावादको सिद्धान्तलाई समर्थन गर्ने वा अनुशरण गर्नेलाई मानवतावादी भनिन्छ । मान्छेले मान्छेलाई मानवीय व्यवहार गर्नुपर्छ । एक मान्छेलेे अर्को मान्छेलाई सहयोग गर्नुपर्छ र सहानुभूति व्यक्त गर्नुपर्छ । आफ्नो स्वतन्त्रता र अरूको इच्छालाई दमन गर्नु हुँदैन । 'मानवीय सोच, धारणा र विचारलाई आत्मसात गरी मानवहितमा समर्पित हुनु वास्तविक रूपमा मानवतावाद हो (गौतम, २०३७ ः ५०) ।' मान्छे नचाहेरै जन्मन्छ र नचाहेरै मर्दछ पनि । मृत्यु अवश्यम्भावी छ । नचाहेरै मर्नु पर्ने बाध्यताका बीच पनि उसले कर्म गर्नुपर्छ । कर्म गर्नका लागि नै मानवले शरीर प्राप्त गरेको छ । यदि उसले व्यक्ति, समाज र राष्ट्रका लागि केही गर्ने विचार राख्दछ भने त्यसले कार्य गर्न पाउनुपर्छ । यो उसको अधिकार हो । मान्छेमान्छेमा मानवीय भावनाको विकास हुनुपर्छ, न कि दानवीय भावनाको । मान्छेले, मान्छेलाई, मान्छेकै रूपमा हेर्नुपर्छ भन्ने दृष्टिकोण नै मानवतावादी अवधारणा हो ।

हिटलर र यहूदी उपन्यासमा मानवतावाद

'दोस्रो महासमर र त्यसले छोडेर गएको वीभत्स अवशेष, मान्छेले बोकेर हिँडेको त्यो युद्धको गहिरो घाउ र आँसु (ऐ उपन्यास भूमिका)' मा द्रवीभूत भएर लेखिएको यो उपन्यासमा पौराणिक गीता दर्शनको नवीनशैलीमा व्याख्या गरिएको छ । 'म' पात्र स्वाथ्योपचार गर्न जाँदा र फर्केर आउनेक्रममा भेटिएका पात्र र त्यसैक्रममा घुमेका स्थल अनि देखिएका दृश्यले मानव मनलाई दिने पीडाहरू यो उपन्यासको केन्द्रविन्दुमा रहेको छ । यसमा विशेष गरेर युरोपभित्र पस्दै जाँदा साक्षात्कार गरिएका दृश्यहरू "ध्वस्त भएका घरहरू, पाटो लडेका गिर्जाघर, पुलहरूको खम्बामात्र या रेलका लाइन बाङ्गिएर पाखाबाट पानीमा तेर्सा भएर डुबेका करङजस्ता फलामे सत्तरीहरू, विभिन्न आकारमा लडेका.. प्रकृति र कालको युगल हातले ढाक्न नसकेका मलिन दृश्य ( ऐ . पृष्ठ ७७)" ले 'युरोपलाई दानवसम्राट हिरण्यकशिपुको ठूलो कारखाना' बनाएको दृश्य वर्णन गरिएको छ । 'यस्ता खण्डहरू भूगोलमा मात्र होइन, त्यहाँ बाँचेका मानिसहरूको हृदयमा त्यसले छोडेर गएको खण्डहर असहृय छ (ऐ.पृष्ठ ७८) ।' यसबाट हिटलर मायावी दानव थियो । ऊ कालो प्रतिशोध पाशविक तरिकाले लिन्थ्यो भन्ने पुष्टि गरेको छ । साठी हजार यहूदी पोलेको ठाउँ/भट्टी/स्नानाघर/ग्यासचेम्बर वा दाहगृहबाट मान्छे पोलेको दुर्गन्ध आएर क्याम्पभन्दा बाहिर बस्नेको मुटुले ठाउँ छोडेरे के भएको भनी सोध्दा त्यहाँ रहेका अमानवीय मुटु भएका रक्तसञ्चारहीन ढुङ्गा भइसकेका सिपाहीका मुखबाट 'त्यो त जवानहरूले रमाइलो गर्दै आलु पोलेका थिए (पृष्ठ १०३)' भन्ने जवाफ दिन्थे । उनीहरूलाई जीवित मानव पोलिएको दृश्यले खासै असर गर्दैनथ्यो । जर्मनहरूको सोखलाई हेर्दा पनि उनीहरूमा मानवीय संवेदना बाँकी नरहेको प्रतीत हुन्छ । किनकि क्याम्पको कमान्डरकी दुलही नाकका खाडल तल किच्च परेर हाँसेको जस्तो देखिने डरलाग्दो सेतो खप्पर राख्थिन् । उनको टेबुल लेम्पको पर्दा पनि मान्छेको छालाको थियो । उपन्यासको कथावस्तुमा बाँच्ने कतिपय पात्रहरू मानवीय मूल्यविहीन अवस्थामा (बाँच्न नचाहेर) पनि अवश्यम्भावी मृत्युलाई कुरेर बाँचिरहेका छन् । थियोडोरा जो पथ प्रदर्शिका हो, ऊ भत्केको घरमा बस्छे । ऊ भरखरकी किशोरी ठिटी (लडाइँपूर्व १५ वर्षकी र लडाइँ सकिँदा बूढी भएर निस्किएकी ४५ वर्षकीझैँ पृष्ठ ८२) उमेरभन्दा अधिक नारी चातुर्य भएकी नारी पात्र हो । ऊ युद्धका कारण बुबा, आमा, भाइ र प्रेमीलाई गुमाउन विवश पात्र हो, जसले सिपाहीबाट बलात्कृत् हुनु पर्‍यो । अर्की पात्र इल्जे जो बालिका नै भने पनि हुने तर रोगी आमा र अशक्त, गनगने बाबुसहित आफ्नो पापी पेट भर्नका लागि ओठमा रातो कागज चपाएको रङ र आँखामा ध्वाँसो अनि तेलको कालो दलेर ठूली भएको देखाउँदै आफूलाई यौन व्यापारमा संलग्न गराउन बाध्य छे । अर्को पात्र लियोनार्ड जो सन् १९१४ को लडाइँमा त्यसै बत्तिएर आएको ˆटेको छड्के फलामे टुक्राले घुँडामा लागेर खोरण्डो भयो । उसकी प्यारी डोरिस उसँग एउटा मात्र खुट्टा बाँकी भएकोले आधा मानिस सम्झेर (मानवीय संवेदना भुलेर) पूरा मानिससँग पोइल गई पूरा मानिसले मात्र छोराछोरी दिन सक्छ भनेर ।

यी पात्रको जीवन दुःखदायी छ । अत्यन्त माया गर्ने पे्रमी पाएकी थियोडोरा, चाँडै ठूली हुन विवश इल्जे, एउटा खुट्टा लिएर बाँचेको लियोनार्ड यो सुन्दर संसारमा बाध्यतामा बाँचेका देखिन्छन् । मान्छे सङ्घर्ष गर्दै जीवनलाई अघि बढाउन चाहन्छ । जीवन भनेकै प्रेम र मायामा अडेको छ । यदि जीवनमा माया र प्रेम नपाउने हो भने त्यसको महìव र उपयोगिता के रहृयो र ? मान्छेले मान्छेलाई पीडा दिनु मानवीय व्यवहार होइन । घृणा गर्नु विरक्तिको अर्को रूप हो । थियोरोडा, इल्जे, लियोनार्ड, यहूदी मान्छेहरूबाटै उपेक्षित, अपहेलित र तिरस्कृत भएका छन् । यो क्रियाकलाप साँच्चै मानवता विरोधी चरित्र हो । थियोडोराको वैवाहिक बन्धनमा बाँधिने इच्छा हुँदाहुँदै युद्धमा प्रेमीको मृत्यु भएको छ । इल्जेले युद्धपश्चात आफूलाई बिहे गर्ने पुरुष पाएकी छैन । लियोनार्डले खुट्टा गुमाएको कारण प्रेमीको सुख प्राप्त गर्न सकेन । यहूदीहरूले युरोपमा जन्मेको कारण मृत्युवरण गर्नुपरेको छ । यस किसिमको भयावह एवं कारुणिक घटनाले मान्छे साँच्चि नै त्रस्त बनेको छ । शक्तिसम्पन्नहरूले शक्तिहीनहरूलाई दबाउने चलन अझै कायम रहेको छ । यस किसिमको युद्धको अन्त्य भई मानवले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्ने विचार नै 'हिटलर र यहूदी' उपन्यासको मानवतावादी मान्यता हो ।

जिजीविषा

कोइरालाको 'हिटलर र यहूदी' उपन्यास मानवतावादी अवधारणालाई व्यक्त गर्ने उत्कृष्ट उपन्यास हो । यसमा धर्तीलाई भोग गर्न चाहने ग्रेटा, थियोडोरा, इल्जे, लियोनार्डजस्ता पात्रहरूको चाहना पूरा हुन सकेको छैन भने यहूदीहरूले बाँच्ने अधिकार गुमाएका छन् । युद्धपश्चात जति जीवित छन्, उनीहरूमा आफन्तहरूको वियोग सहेर पनि बाँच्ने इच्छा बाँकी छ । उनीहरूको उत्कृष्ट जीवन बाँच्ने इच्छालाई निम्न भनाइले प्रष्ट पारेको छ ।

थियोरोडा ः 'हामीहरू मुटुमा चिहान लिएर हिँड्छौँ, आफ्ना प्याराहरूको चिहान, यौवनका यावत सपनाहरूको चिहान (पृष्ठ ८१)', 'मेरो प्रणय(वस्, त्यही एउटा चुम्बन हो, जसलाई मैलै अधीर भएर ऊसँग खोसेर लिएकी थिएँ । ( पृष्ठ ८२ )। '

इल्जे ः 'जर्मनीमा केटा पाइँदैनन्, यात्रीहरू बिहे गरेर सफरमा आउँछन् .........कसरी बिहे हुन्छ हाम्रो (पृष्ठ ८८) ।'

लियोनार्ड ः 'दुई गोडामा नउभिएको भए त्यो मानिस हुन्न रे Û मोरी डोरिस । कुकुर्नी Û उसले मलाई भनी खिल्ली उडाएर लियोनार्ड( दुईवटा गोडामा उभिएर मेरो हात माग्नु ( पृष्ठ ९४)।'

यी भनाइबाट इल्जेमा बिहे गरेर घर बसाउने रहर, थियोडोरामा आफ्नो प्रेमीलाई जीवनमा सजाउने चाहना अनि लियोनार्डमा (शारीरिक अपाङ्ग भए पनि मानसिकरूपमा सवलाङ्ग) प्रेमिकाको माया पाउने जिजीविषा कायम रहेको प्रष्ट हुन्छ । यी पात्रहरूमा जिजीविषा र भोगेच्छा हुँदाहँुदै पनि उनीहरू युद्धले छोडेर गएका वीभत्स अवशेष बोकेर बाँचेका छन् । मानवले प्रकृतिमा स्वच्छ र मनोरम शीतल छहारीमा खेल्न(रम्न पाउनै पर्छ । स्वतन्त्रतापूर्वक जीवन बाँच्न चाहनेले बाँच्न पाउनै पर्छ । जीवनलाई हरण गर्ने अधिकार जीवन दिनेलाई पनि हुँदैन । मान्छेले मान्छेकै हत्या गर्नु अमानवीय र निन्दनीय काम हो । यदि मानवले मानवतालाई नै उपेक्षा गर्ने हो भने मानव जीवनको कुनै अस्तित्व र महत्त्व हुँदैन ।

उपन्यासकारको दार्शनिक सोच

एघार खण्डमा विभाजित यो उपन्यासमा गीता दर्शनको नयाँ ढङ्गले व्याख्या गरिएको छ । यहूदीले ग्यासचेम्बर स्वीकार्नु परेको बाध्यता, लियोनार्डको खुट्टा खोच्याइ, इल्जेले ठूली हुनुपरेको वास्तविकता अनि थियोडोराको एक कोठा सद्दे भएको घरले उपन्यासमा कारुणिकताको चरमविन्दु छोएको छ । यस्ता घटनाप्रति उपन्यासकारले असन्तुष्टि प्रकट गर्दै मानवतावादको ठाडो उलङ्घन भएको विचार प्रकट गरेका छन् । लडाइँपछिको युरोपको दृश्य 'खाली कोठाहरू छन्, निभेका ठूला ठूला फलामे चिसा चुल्हा र तीनवटा ढिस्का पुराना जुत्ताहरूका ( पृष्ठ ९७) ।' 'उनीहरू (यहूदी) ले छाडेर गएका थोत्रा जुत्ताहरूको पहाडै छ । ( पृष्ठ .ऐ..)।'  त्यो हिटलरको भूगर्भस्थित जगत प्रख्यात बङ्कर हो । हिटलर र उसकी पि्रयसीको चिहान पनि (पृष्ठ ८०)' बाट उनी अत्यन्त भावुक हुन पुगेका छन् । उनी जति जति युरोपको भग्नावशेष देख्दै जान्छन्, त्यतित्यति उनको मन कुँडिएको छ । युरोपसँगको साक्षात्कारबाट उनी आफू युद्धको साक्षी भएको सम्झन्छन् र आˆनी पत्नीका आँखा चोखै रहेको अनुभव गर्दछन् 'यो दृश्यबाट तिम्रा आँखा चोखै रहुन् ( पृष्ठ ७८) ।' साथै युद्धपश्चात् त्यहाँ बाँचेका पात्रहरूको जीवन भोगाइबाट उपन्यासकारको मन छियाछिया भएको छ । यति भीषण युद्ध भयो, असङ्ख्य मानव जीवन क्षति भयो, युरोपको भूखण्ड नष्ट भयो । यी सबैको प्रमुख कारक जर्मनीको क्रूर शासक हिटलर हो । यदि उक्त युद्धमा हिटलर नभएको भए यति ठूलो विनाश हुने थिएन होला । यस्तो क्रूर व्यक्तित्व, युद्धको प्रमुख कारक, मानवीय क्षतिको कारण हुँदाहुँदै पनि उपन्यासकारले हिटलरलाई मानवतावादी आँखाले पनि हेरेका छन् । महाभारतको भीषण युद्धका कारक कृष्ण स्वर्गमा पुगेका तर हिटलर मानव भएकै कारण स्वर्ग प्राप्तिमा अयोग्य ठहरिएकोमा उपन्यासकार असन्तुष्ट देखिन्छन् ।

मानव विरोधी गतिविधिको अन्त्यको उद्घोष

युद्धको विरोध गर्नु र मानवताको वकालत गर्नु यो उपन्यासको मुख्य उद्देश्य हो । युद्ध मानवीय संवेदनाशून्य र आकाङ्क्षाको प्रतिफल हो भन्ने सन्देश उपन्यासमा अभिव्यञ्जित भएको छ । प्रत्येक क्षण मानवीय संवेदनाशून्य भएर व्यक्तिले जीवनमा इच्छा रोज्छ भने त्यसको परिणाम अरू मान्छेलाई मात्र होइन, स्वयम् उसका लागि पनि घातकसिद्ध हुन सक्छ । (हिटलर र यहूदीे उपन्यासको पात्र 'हिटलर') युद्धप्रति वितृष्णाभाव जगाउनु र मानवताको पक्षमा रहेकालाई वकालत गर्न उत्सुक तुल्याउनु यो उपन्यासको मूल उद्देश्य हो । यो उपन्यासमा व्यक्तिले भगवान्को परिभाषा नबुझिकन उसप्रति भक्तिभाव प्रकट गर्दा कसरी अनायस नै उसको हातबाट उसको आफ्नै (महाभारतको युद्ध) जाति अर्थात् मानव जाति (यहूदी) का लागि अहित हुने काम भइदिन सक्छ भन्ने कुरालाई पनि स्पष्ट पारेको छ । आफूबाट सधैँ मानवहितको लागि काम होस् र आफू उदाहरणीय व्यक्तित्व बन्न सकियोस् भन्ने चाहना राख्ने हरेक व्यक्तिले आफूमा असल चरित्र धारण गर्न प्रयास गर्नुपर्छ । असल चरित्र भनेकै मानवीय संवेदनाले भरिएको 'आफू' बन्नु हो । जसबाट सधैँ असल इच्छा नै रोजिन्छ, उसका हरेक कर्मको प्रतिफल उसका लागि पनि असल नै बन्छ भन्ने धारणा व्यक्त गर्दै यो उपन्यासका पात्रको जस्तो दुःखद् अवस्थाको सामना गर्नु नपरोस्, यस्ता घटनाहरू इतिहासका रूपमा पुनःनदोहोर्‍याउन सबैलाई उपन्यासकारले आग्रह र सचेत पार्ने प्रयत्न पनि गरेका छन् ।

निष्कर्ष

विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका चर्चित साहित्यकार हुन् । 'आधुनिक नेपाली उपन्यासको दोस्रो चरणमा पारिजात र धु्रवचन्द्र गौतम आदि सशक्त प्रतिभाभन्दा पछि आफ्ना मौलिक औपन्यासिक कृति लिएर देखापरेका कोइराला मिथकीय उपन्यासका प्रयोक्ता हुन् (बराल र अन्य, २०६७ ः२६७) ।' साहित्यलेखनको उत्तरार्द्धचरणमा उपन्यास विधामा देखापरेका उनको जेल जीवन नै उपन्यासलेखनको प्रेरक विन्दु हो । द्वितीय विश्वयुद्धको अवशेषलाई मुख्य विषयवस्तु बनाएर लेखिएको 'हिटलर र यहूदी' मौलिक उपन्यास हो । श्रीमद्भागवत् गीतामाथि प्रश्नचिन्ह लगाउँदै लेखिएको यो उपन्यासमा 'अरूलाई जुधाएर कमजोर पारी आफू भगवान् बन्न चाहने अमानवीय प्रवृत्तिको विरोध गरेर मानवमात्र भएर बाँच्नुपर्छ भन्ने विचार अघि सारिएको छ (बराल र अन्य, २०६७ ः २६८) ।" प्रथम पुरुष केन्द्रीय दृष्टिविन्दु प्रयोग गरेर लेखिएको यो उपन्यासमा आत्मकथात्मक, संवादात्मक र पत्रात्मकशैलीको प्रयोग गरिएको छ । मान्छेले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न पाउनुपर्ने मानवतावादी चिन्तन मुखरित भएको यो उपन्यासले युद्धप्रति घृणाभाव प्रकट गर्दै युद्धलाई दुतकारेको छ । जिजीविषा र भोगेच्छाको विषय पनि उपन्यासको मूलमर्म बनेको छ । उपन्यासकारले उपन्यासमा मार्मिकता भोगेका पात्रहरूप्रति सहानुभूति प्रकट गरेका छन् । बहुपात्र संयोजन गरी लेखिएको यो उपन्यासमा हिटलरको अन्धभक्ति, षडयन्त्रकारी चाल र स्वार्थी प्रवृत्तिले नै इल्जे, थियोरोडा, लियोनार्ड, यहूदीहरू, निर्दोष पक्ष तथा विपक्षमा लड्ने सिपाही, गोल्डवर्गकी भतिजी आदिको मानवता हनन् भएको दुःखद् यथार्थलाई अभिव्यक्त गरिएको छ ।

सन्दर्भ सामग्री

१.कोइराला, विश्वेश्वरप्रसाद (२०५७), हिटलर र यहूदी, पुल्चोक ः साझा प्रकाशन ।
२.बराल, कृष्णहरि र नेत्र एटम (२०६७), नेपाली कथा र उपन्यास, काठमाडाँै ः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि. ।
३. भट्टराई, तुलसी (२०५८), बी.पी.कोइराला चिन्तन र प्रयोग, काठमाडौँ, हिमशिखर प्रकाशन ।
४.शर्मा, गोपाल, (२०३७), अन्तर्राष्ट्रिय मानव अधिकार, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
५.गौतम, तारानाथ (२०३७), , कवि माधवप्रसाद घिमिरेको जीवनी व्यक्तित्व, अप्रकाशित शोध प्रबन्ध, काठमाडौँ ः त्रि. वि. ।
६ उपाध्याय जगत् (सम्पादक) आलोक वर्ष १, अङ्क १ , नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन, काठमाडौँ,२०६७ ।

(Source : Madhuparka Literary Monthly Magazine)

Segments: 

Comments