Loading

१/ हे नारायण के भयो !/ माधव घिमिरे

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

कस्तो शान्ति छ – रातको पहरा रातै घुसेको सिर
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सिर
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सिर

मान्छे हो अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस् त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !

बेहानीपख जो उठेर बटुवा चल्छन् तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के सब जना बाँच्छन् तिमी बाँच्दिनौ

हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा'को दिन
बाँचेरै यतिसम्म एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठुे विशाल उनका लेखा जगत् सिद्धियो

तिम्रो अन्तिमको शिँगार सँगिनी ! 'कात्रो' कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो 'टीलो' कसोरी भनूँ
गाली होइन किन्तु भन्नु कसरी यो अन्न 'बुर्की' भनी
मुर्दानी्र कसरी भनूँ जुन तिमी मेरी थियौ जीवनी

यत्रो लोक कहाँ गयो जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर फेरि ममता मेरो लिएरै पिन
हा अज्ञान अभाव भूलहरुमा तिम्रो गयो जीवनी !

अउन्नन् अब हे नहेर चुचुरा ! गौरी पखेरामिन
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमिन
बसर्ी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ- आमा गइन् मावल !

Segments: 

Comments