Loading

हतियार / डा. ऋषिराज बराल

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।

सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो ।

कामको सुपरिवेक्षण र अनुगमन गर्न विशेष कार्यदल तत-तत् क्षेत्रमा तीन महिनापछि आउने कुरा पनि सुनाइयो । हातहतियार र गोलिगट्ठा पनि सबैलाई थमाइयो । सबैले खुसी भएर आआफ्नो झोला बोके ।

कमरेड प्रवीण भने केही बोलेन , मौन, चूपचाप र गम्भीर देखियो ।

कार्यदलका कमाण्डरले फेरि उनै कुरा दोहोर्‍याए ।

प्रवीणले आफ्नो कुरा राख्यो—"खोइ मेरो हतियार ?"

"तपाईंलाई यत्रो अत्याधुनिक हातहतियार र गोलिगट्ठा दिइएको छ ,फेरि तपाईं ?"—कमान्डर झोक्कियो ।

प्रवीणको अनुहार व्यङ्ग्यात्मक देखियो ।

एकछिन त कमाण्डर केही नबुझेझैँ गरी घोरियो । त्यसपछि एक जनालाई अरायो र प्रवीणको सामु झोला राख्दै भन्यो- "ल यसमा अरू तीन सय गोली छन् ।"

प्रवीण भने केही बोलेन । उभिरहृयो, मौन र गम्भीर भएर । अनुहारको भाव अर्कै थियो- एकदमै व्यङ्ग्यात्मक ।

"तपाईंले मलाई खास हतियार नै दिनु भएको छैन ?"

कमाण्डरको अनुहार एकदमै भिन्नै भयो- आक्रोशित ।

"तपाईंले क्रान्तिको मर्मलाई बुझ्नु भएन कमरेड ?"

"बुझेर नै मैले बन्दुकसँगै कलम पनि मागेको हुँ ।"

कमाण्डर रिसले थरथर काम्दै के के बोल्दै थियो ।

प्रवीण कमरेड भने व्यङ्ग्यात्मक अनुहार लगाएर एकटकले कमाण्डरतिर हेरिरहेको थियो ।

Segments: 

Comments