रेडियो नेपालका प्रथम गायक रिमाल अस्वस्थ

२६ मार्च २०११/
एक्कासि बिरामी परेपछि बुधबार अस्पताल भर्ना गरिएका रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाललाई शनिबार डिस्चार्ज गरिएको छ। डिस्चार्जपछि उनलाई नयाँ बानेश्वरस्थित निवासमा लगिएको छ।

खाना खाँदै गर्दा टाउकोमा झट्का लागेजस्तो भएर मुन्टो हल्लाउन थालेपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो। उहाँलाई टोलाउने एकोहोरिने अनि केही अप्ठ्यारो भयो भनेपछि तुरुन्तै अस्पताल ल्यायौं -रिमालको स्याहारसुसार गरिरहेकी श्रीमती कल्याणीले डिस्चार्जअघि भनिन्- अहिले स्वास्थ्यमा केही सुधार भएको छ।

नर्भिकमा उनलाई आकस्मिक कक्षमा राखिएको थियो। बिहीबार सीसीयूमा राखेपछि शुक्रबारबाट मात्र साधारण कक्षमा सारिएको थियो। उनको उपचार डा. रमेश चोखानेले गरेका थिए। कल्याणीका अनुसार अघिल्लो वर्ष पनि रिमाललाई यस्तै समस्या आउँदा चार दिन अस्पताल राखेपछि ठीक भएको थियो। डाक्टरले रगतमा सोडियम पोटासियमको कमी भएको र औषधिको प्रतिक्रियाले त्यस्तो समस्या आएको बताएको उनले जानकारी गराइन्। डाक्टरले पोटासियम र सोडियमयुक्त खाना खान सुझाव दिएका छन् -उनले भनिन्।

रिमाललाई कल्याणी र उनका भतिज केशव पौडेलले अस्पतालमा हेरचाह गरेका थिए। रिमालका दुई छोरा अमेरिकामा बस्दै आएका छन्।
(source: Nepal Samacharpatra)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom