हजार सपना र मनमाया / विमला तुम्खेवा

No votes yet

यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज

उसले कुल्चिएर गएको पाइतलाको खत
कसरी हरायो
कतै,
समुद्रको तूफान भएर ।

पीरले पोतिएको उसको कालो अनुहार
पृथ्वीको कुन रेखामा पर्छ
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
तूफानजस्तो
जङ्गलका यी चोर बाटोहरूमा
हिजोजस्तो केही छैन
लोग्नेको मृत्युँसगै
आफ्नो भन्नु ट्यारलीङ्गको रातो साडी छ
जसलाई-
जतनसाथ राखेकी छे काठको पुरानो बाकसमा ।

धर्ममा बाँधिएर कसरी मानिस दास बन्छ

पूरै
पूरै जीवन स्मृतिजस्तो
लोग्नेको धुमिल तस्बिर हेर्दै बितेर जान्छ
उसको अस्तित्व भनौं
उसले हेर्ने आकाश
आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरकी विधवा पत्नी
मनमाया लिम्बू
मूलढोकाको शिरमा सजिएको केही पुरानो तक्मा
अब,
उसको आँखाको क्षितिज भएको छ
रातो सिन्दूरसँगै
उसको आफ्नो छुट्टै परिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागरजस्तो
कालो जीवन भोगेर
कसरी उभिइरही ऊ एक्लै यो ठाउँमा
छातीमा दोस्रो विश्वयुद्धको पुरानो चोट लिएर
कसरी बाँची यस समयसम्म ?
उसको पीरले पोतिएको यो वनजङ्गल
पृथ्वीको कुन सिमामा पर्छ ?
भन्छे,
यो मन पत्थर भइसकेको छ ।
तर,
यस धर्तीमा पहिलोपल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलोपल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई
र,
जीवनको साठी वर्ष
आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरकी
विधवा पत्नी भएर बिताई
जवाफ देऊ ।
जवाफ देऊ उसको पीरको
जवाफ देउ उसले भोग्न नपाउँदै गुजि्रएर गएको जवानीको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खोंचमा ?
धेरै प्रश्नहरू उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
मनमाया उभिएकी छे
यो राज्यको व्यवस्थाको अघि
यो आकाशको मुनि
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ???

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.