Ghazal
शासनके लोडहीतर लोक बनल कुच्चा छै/ धीरेन्द्र प्रेमर्षि
हामीबीचमै कोही दुश्मन लुकिरहेको हुन सक्छ / जोतारे धाइबा
हामीबीचमै कोही दुश्मन लुकिरहेको हुन सक्छ
क्रान्तिको चेपतिर भजन लुकिरहेको हुन सक्छ ।
सबैतिर अमनचैन छ भनेर झुक्याउलान् उनीहरू,
कुना-कन्दरामा अझै जलन लुकिरहेको हुन सक्छ ।
लडाइँ लड्छु भन्नेले आँखा तिखो नपारी कहाँ हुन्छ,
पाइलैपिच्छे बाधा अड्चन लुकिरहेको हुन सक्छ ।
कमाएर खोइ पठाएन फर्किएर आफू आएन,
ल्हासामा बिखर्ची मदन लुकिरहेको हुन सक्छ ।
पागल हो भनेर कति पो पन्छाउने हो उसलाई,
सुन त, बोलीपिच्छे दर्शन लुकिरहेको हुन सक्छ ।
काँडा बनेर आज पाइतालामा बिझ्यो यो देश/ ज्ञानुवाकर पौडेल
काँडा बनेर आज पाइतालामा बिझ्यो यो देश
आँसु बनेर आज परेलीमा रुझ्यो यो देश ।
किन बिउँझेन यो देश, कति निदाउँछ यो देश
आतंक बनेर आज मनमा बिझ्यो यो देश ।
कल्ले के गरे यो देशलाई कल्ले बर्बाद तुल्याए ?
छलकपट र जालझेल मै अल्झ्यो यो देश ।
महँगी, अभाव, दुःख र यातनाका यी तीस वर्षा
सारा देशवासीका रगत र आँसुले भिज्यो यो देश ।
नेपालको अस्तित्वमा दाग लाउने अरे/ लक्ष्मण मैनाली
नेपालको अस्तित्वमा दाग लाउने अरे,
जात–भाषामा देश अब भाग लाउने अरे !
नसुन्ने रे अखण्ड एकताका गीतहरू,
विखण्डन र बेमेलकै राग लाउने अरे !
विविधता सङ्गालेर विभेद चैं मास्नु पर्थ्यो,
सयपत्री उखेलेर सिस्नाको बाग लाउने अरे !
नयाँ नेपाल विचित्रको बनाउनको लागि,
कागजको फूलमा पो पराग लाउने अरे !
बसूँ भन्दा कतै आवास छैन/ सनत कुमार वस्ती
बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन
अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन
वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन
कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन
जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन
दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन
उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन
बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।