Loading

घर-९ / परशु प्रधान

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।

अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?.. । तँ मूर्ख होस् अझ तँ पागल होस् ।

कामबाट राति दुई बजे फर्केको छु । अलिअलि बियरको धङधङी छ, अलिअलि भोलिको धङधङी छ, अनि धेरथोर आफूले भोग्नु परेको दुर्घटनाको धङधङी छ । यी सत्यहरूबीच असत्य छ, भ्रमहरूबीच निराशा छ । हात हेरेर कुनै ज्योतिषीले गरेको भविष्यवाणी सत्य हुन्छ कि कसो ? पहिलो वाक्य थियो- बिहेको लगन ढिलै छ, अर्थात् तीस-बत्तीस वर्षपछि । दोस्रो वाणी थियो- आफूले केही नबिराए पनि ठूलो मानसिक आघात र बेइज्जती सहनुपर्ने । अनि साह्रै पीडादायक तेस्रो घोषणा थियो- परिस्थिति आउन सक्छ, तपाईंले आत्महत्या गर्नु परोस् । आफ्नो कामले भन्दा हातका रेखाहरूले मान्छेको भविष्य निर्धारण गर्छ भने म किन केही गरुँ ?... तर केही गर्न पर्ने थियो, जीवनमा सङ्घर्ष गर्नुपर्ने थियो- लडेर बाँच्नु पर्ने थियो ।

मेरो मानसमा आमाबाका अनुहारहरू देखापरे । ती दुवैको अनुहारमा चाउरी बढ्न लागेका र टाउकोका केशहरू सेताम्य हिमालजस्तै भइसकेका थिए । पिताजीको मलिन स्वर मेरा कानमा गुञ्जेको भ्रम भयो- बाबु दीपक ! हाम्रो ठूलो भूल भयो तर नजानेर, थाहा नपाएर मान्छेबाट धोका भयो । तेरै मामाबाट ठूलो धोका भयो । हामी अपराधी भयौं- पापी भयौं । तिमीलाई ठूलो धोका दियौं ।

"जे भयो भयो, चिन्ता नलिनोस् बा ! तपाईंहरूले गर्नुभएको होइन, मेरो कर्म वा भाग्य नै यस्तो ।" त्यस स्वरलाई मैले जवाफ दिएँ ।

"के गर्नु ? तिमीले नेपालमा आएर बिहे गर्छु भन्यौ । घर-व्यवहारलाई नेपाली केटी राम्रा हुन्छन् भन्यौ । आफ्ना इष्टमित्र, नातागोता, कुटुम्बहरूसँग सम्पर्क राख्यौँ । तिम्रो राम्रो घरजम गराइदिने इच्छा थियो तर दैवले जुराएन.. ।" वाक्य पूरा हुन नपाउँदै बा रुन थाल्नुभएको भ्रम बुनें ।

अनि मेरो मानसको छायाँमा त्यो केटी देखापरी जससँग मेरो एक रात बिहे भयो र सोही रातमा भङ्ग भयो । सम्झे-केटी नराम्री होइन, काली भए पनि हिस्सी परेकी । महाकवि देवकोटाले लेखेझैँ-अनारे दाना जस्ती दाँत भएकी स्थानीय कुनै देवी मन्दिरमा ऊ पूजा गर्न आएकी थिई । म तुरुन्त बिहे गरेर अमेरिका र्फकने सपना लिएर त्यस मन्दिरमा पुगेको थिएँ । भक्तजनहरू त्यहाँ धेरै थिए, लाममा बसेर सुखद जीवनका लागि भगवतीसँग वरदान मागिरहेका थिए । म जुनालाई हेर्न आएको थिएँ- जुनाको सौन्दर्यपान गर्न र जीवनसाथी बनाउने सङ्कल्पमा आएको थिएँ । जुनाका सम्बन्धमा गाउँघरका साथीभाइबाट केही अस्पष्ट स्पष्ट सङ्केतसम्म आएको थियो ।

ती भन्थे-जुना यस क्षेत्रको एक नम्बरी सुन्दरी हो ।

ती भन्थे-जुनासँग बिहे गर्नेले राम्रै दाइजो पाउँछ ।

ती भन्थे-जुना आधुनिक विचारकी छे, अर्थात् परिवर्तन चाहाने ।

अझ ती भन्थे- जुना कहिलेकाहीँ.... ।

'जुना कहिलेकाहीँ पछिको वाक्य मैले पूरा सुन्न चाहिन वा पाइन । सो अमर वाक्य पूरा सुन्न पाएको भए यो दुर्घटना हुने थिएन । यो जिन्दगी इटालियन पिज्जाजस्तो हुनसक्थ्यो ।

हुनसक्थ्यो र भएन, अनि म बियरको अर्को बोतल खोलेर सपनाहरूको अर्थ खोज्न थालेको छु । मोबाइलमा केही एसएमएसहरू छन् । नसा लागेको आँखाले तिनलाई पढ्न खोज्छु । ती अक्षरहरू केरमेर धर्काजस्ता लाग्छन् ।

एसएमएस-१- दीपक � बिहे भएकोमा बधाई, हार्दिक बधाई ।

एसएमएस-२- ओ � नेपाली कन्ये, त्यो पनि नेपालमा गएर शादी � मुवारक छ, बधाई छ ।

एसएमएस-३- तिमीकहाँ बिहेको भोज खान कहिले आउने हो ? प्रतीक्षामा छु ।

एसएमएस-४- तिम्री जुना र तिमीलाई हार्दिक बधाई � जिन्दगी सफल भयो ।

मलाई मोबाइल त्यहीँ �याँकिदिएर कराउन मन लाग्छ- ए � डाँका हो � म सिद्धिएँ, म ठगिएँ, म लुटिएँ । आ�नै देशमा, नेपाली केटीले मेरो जीवन बर्बाद गरिदिई ... । म कहाँ गएर कराउ"m- एक रात मैले बिहे गरेँ र एक रात मैले पारचुके गरेँ । म कस्तो दुःखद स्थितिमा, नेपालमा आफ्ना साथीभाइ, इष्टमित्रसँग अनुहार देखाउन नसकेर अमेरिका फर्केको छु- तिनलाई के थाहा ? मभित्रको ज्वालामुखी- तिनलाई के पत्तो ?

यी सब दुःखित प्रसङ्गहरूलाई बिर्सिएर, कुनै अर्थ नदिएर म निदाउन चाहान्छु, मस्तसँग आराम गर्न चाहान्छु तर त्यही जुनाको निरीह, उदास अनुहार आएर मलाई हन्ट गर्छ- मेरो कुनै भूल छैन दीपक � म जस्तो मानसिक रोगीले बिहे गरेर आफ्नो र अरू कसैको जीवन बर्बाद पार्नुहुन्न भन्ने मेरो दृढ निश्चय थियो तर चारैतिरको दबाबले मैले हुन्न भन्न सकिनँ र यस्तो आँसुको जिन्दगी भयो ।

'अझ मलाई त के छ र � यसै म मानसिक बिरामी । औंसीपूर्णे लागिरहने, कहिले सद्धेजस्तो, कहिले पागल । कहिले ठीक- कहिले बेठीक तर दीपक � तिमी अमेरिकाबाट धेरै डलर खर्च गरेर आयौ र दोष लिएर गयौँ । मलाई क्षमा गर... । जुनाले यस्तै केही शब्दहरू पोखिरहे जस्तो अनुभूति हुन्छ ।

वास्तवमा म साह्रै थोरै दिनको बिदा लिएर नेपाल पुगेको थिएँ- पूर्वको कुनै सानु सहर पुगेको थिएँ । कुनै सुन्दरी नेपाली केटीको सिउँदोमा सिन्दूर हालेर, केही वर्षभित्रै उनलाई अमेरिका ल्याउने सपना बुनेर गएको थिएँ । बिहेको पहिलो रात सर्पझैँ फणा उठाएर मलाई टोक्न आइपुग्छ । बिहेको अघिल्लो दिन ऊसित मैले सङ्क्षिप्त कुरा गर्ने अवसर पाएको थिएँ । मैले सोधेको थिएँ- जुना � तिमी मलाई मन पराउँछौ होइन । ऊ मुस्काएकी थिई र टाउको हल्लाएर सकारात्मक सङ्केत दिएकी थिई ।

फेरि मैले सोधेको थिएँ- म तिमीलाई अमेरिका लान्छु । तिमी जान्छ्यौ होइन ?

जुनाले त्यसरी नै स्वीकृतिको टाउको हल्लाएकी थिई । मैले देखेको थिएँ- जुनाको आँखा हाँसेको, सारा अनुहारभरि गुलाफी रातो रङ चढेको ।

धारा छेउको सानु गफको तन्द्रासँगै भोलिपल्टको निर्मम र पीडादायी रातले मलाई भित्रसम्म नराम्ररी हल्लाउँछ । मेरो मानसमा उड्दै गरेको कुनै हवाइजहाज दुर्घटनाग्रस्त भएको जस्तो लाग्छ । बत्तीको धमिलो प्रकाशमा मैले जुनालाई अँगालो मारंेँ र म्वाइँ खाने प्रयास गरंेँ मलाई प्रारम्भमा नै करेन्ट लाग्यो- तँ को मलाई म्वाइँ खाने ?...।

म ठूलो भिरबाट अचानक खसें । कुनै गहिरो पोखरीमा अकस्मात् हामफालें ।

मलाई दोस्रो करेन्ट लाग्यो- मलाई यहाँ किन ल्याएको । तँ को ?... ।

'म तिम्रो लोग्ने । हाम्रो बिहे भएको होइन ?...' म सहज भएँ ।

अहिले उसले व्यङ्ग्यात्मक हाँसो हाँसी- लोग्ने रे, बिहे रे । कत्ति घीनलाग्दो... मलाई निद्रा लाग्यो ।

मैले बुझेँ- जुना एबनर्मल छे । जुनाको मगज कतै बिग्रेको छ । मेरो मनले विद्रोह गर्‍यो- तँलाई ठूलो धोका भयो । तँ कसैको जालमा परिस् । तँ बेबकूफ होस् ।

एकैछिनमा ऊ रुन लागी । रुवाई पनि सानु होइन, पूरै टोल थर्काउने गरी । त्यस स्थितिमा म उसको आँसु पुछ्न बाध्य थिएँ तर उसले मलाई अर्को थप्पड दिई- मलाई यस जङ्गलमा किन ल्याएको । तिमी बाघ हो कि भालु ! मलाई किन चिथोर्न खोजेको !

म तर्सिएँ, डरले आत्तिएँ । कुन जङ्गलबाट यौटी जङ्गली स्वास्नीमान्छे मलाई घाँडो भिराइदिएछन् । सपनाको कुनै अन्त्यहीन क्षितिजमा पनि नसोचेको, नसुनेको, न थाहा पाएको यस स्थितिले म बाध्य भएँ- छरछिमेकीसँग गुहार माग्न । म कराएँ- ए ! गाउँले हो, मलाई आपत् पर्‍यो । गुहार ! गुहार !! बचाओ ... बचाओ । यसबीच जुनाले ढोकाको आग्लो मेरो टाउकोमा एक-दुईपटक प्रहार गरिसकेकी थिई । म रक्ताम्य भइसकेको थिएँ । आफ्ना इष्टमित्र रातको गहन अन्धकारमा आइपुगे र सर्वप्रथम जुनालाई बाँधेर लडाए । ऊ दाँत कट्कटाउन लागि मानौं म उसको जन्मजात शत्रु हुँ ।

"के भएको हो ? सुहागरातमै यत्रो झगडा ?" गाउँको जेठोबाठोको स्वर आयो ।

"कस्ती केटी भिराइदिए मलाई ? यसको दिमागै ठीक छैन । मसँग झगडा गरेर, मलाई कुटेर ..." म स्पष्टीकरण दिन्छु ।

"अनि कसरी बिहे गरेको त बौलाहीसित..." अर्को युवा स्वर आयो । म के जवाफ दिउँ ? यौटा डुब्न लागेको जहाज, यौटा अभागी मान्छे । जुनाको कारणविनाको विद्रोह वा झगडा साम्य भएन । उसले दाह्रा किटिरही, अव्यक्त-व्यक्त आक्रोश पोखिरही । लाग्यो-कुन अदृश्य पापको परिणाम भोगिरहेछु म । प्रहरीको सहयोगमा भोलि बिहानै जुनालाई लिएर उसको माइतीघर पुग्न बाध्य भयौँ । म आफैँलाई धिक्कारिरहेछु- गरिस् राम्रो घरजम । अमेरिकामा बसेर फिलिपिन्सकी मार्गरेटलाई धोका दिइस् । इण्डोनेसियाको बार्बरालाई त्यसरी नै प्रेमको अभिनय गरेर फसाइस् । श्रीलङ्का र भारतीय केटीहरू सबैको नाम पनि बिर्सिसकिस् । ती युवतीहरूले दिएको श्रापको परिणाम भोगिस् ।

माइती पक्षका सबैका टाउकोहरू निहुरेका थिए । तुरुन्तै तिनले आफ्नो अपराध स्वीकारेका थिए- "हाम्री छोरीको दिमाग ठीक नभएको केही वर्ष भयो । कहाँ लगेनौँ उसलाई । औषधि मूलोमा खर्च गर्दागर्दा घरबारी सबै ऋणमा छ । अनि अमेरिकामा काम गर्ने, पैसा कमाएको केटो पाउनासाथ हामी लोभियौँ ।"

''यस्तो नचाहिँदो, अर्काको जीवनसँग खेलबाड गर्ने जघन्य अपराधीहरूलाई जेलको सजाय दिनैपर्छ । अदालतको कठघरामा उभ्याउनैपर्छ ।" प्रहरीको कडा स्वरले वातावरणलाई गम्भीर बनायो ।

'यी अपराधीहरूलाई हथकडी लाउनुपर्छ....' अर्को आक्रोशपूर्ण स्वर आयो ।

"जेठी अलि बिरामी नै थिई । खास रोग पनि पत्ता लाग्न सकेको होइन । त्यसलाई जसरी पनि कसैको जिम्मा लगाएर भारी बिसाउँ भनेको !" जुनाको पिताजीले समाजमा हात जोडे ।

"बिहेबारीमा भएको खर्च पूरै एक लाख व्यहोर्नुपर्छ पहिले । बाँकी कुरा पछि हुन्छ ... ।" मेरो पक्षमा कसैले आवाज उठायो ।

"हो..हो... एक लाखले पुग्ला र !" अर्को आवाज सुनियो ।

"म दुःखी गरिबले कहाँ पाउनु लाख-लाख रुपियाँ । बरु... " जुनाको बाले हात जोडे- "कान्छी छोरी लिएर जानुहोस् ... ।"

म रन्थनिएँ- स्वयं पागल भएँ । म कहाँ छु, कसरी उभिएको छु- मलाई थाहा भएन । मलाई रोउँ रोउँ लाग्यो । कुनै अग्लो धरहराबाट एक्कासि खसेजस्तो भएँ । दिदीको जिन्दगीमा डढेलो लाग्यो- अब बहिनीको जिन्दगीमा डढेलो लाउने कारक हुने भएँ । थाहा पाएर वा नपाएर अपराधीमा दरिने भएँ ।

"ल्याउ तिम्रो कान्छी छोरी । के कस्ती छन्- हामी हेरौँ । जेठी पागल, कान्छी अपाङ्ग होली... " फेरि अर्को आवाज सुन्न म बाध्य भएँ ।

म टाढा कतै समुद्रका किनाराहरूमा पुगेँ । गर्मीमा चिसा पोखरीहरूमा डुबेँ । कस्तो अपहत्ते मलाई, नसोचेको कस्तो सङ्कट मलाई । मैले आँखा खोल्दा यौटी युवती अगाडि उभिएकी थिई । समाजमा उभिएर उसले आफ्नो परिचय दिई- म लुना डिप्लोमा पढ्दैछु- पत्रकारिता लिएर । मलाई किन खोजको !

हेर्छु- केटी फुर्तिली छे, फ्रयान्क छे । आँखामा केही माछाहरू सल्बलाउन लागेका । मलाई लाग्छ- उसले स्थिति बुझिसकेकी छे । लुनाको व्यक्तित्वले समाज शून्यजस्तो हुन्छ । वरिपरि हेर्छु सबैजना मलामी आएका जस्ता छन् । जुनाको बूढाबा फेरि हात जोड्न लागेका छन्- नानी लुना ! हाम्रो इज्जत राखी दे । यस समाजमा हामीलाई बाँच्न दे । हामीलाई ज्यूँदो मुर्दा नबना । दिदीको ठाउँमा.. हामी गरिब, निर्धा र निमुखा ... ।'

लुनासँग मेरा आँखा जुधे । उसका आँखामा विषालु सर्पहरू फणा उठाइरहेको देखेँ । मैले बोल्ने कुरा थिएन ।

लुना अगाडि बढी- दिदीसँग म सती जान्न । तपाईंहरूको सबै षड्यन्त्र मलाई थाहा छ । म तपाईंलाई घृणा गर्छु-थुक्छु । तपाईं मलाई पाउने लोभ नगर्नुहोस् । मेरो आफ्नै प्रेमी छ ।

र, म भोलिपल्टै कसैको अनुहार नहेरी अमेरिका आएँ । अहिले यस सुनसानमा बियरका बोतलहरू साथी भएका छन् । ती पुराना कुराहरू सधैँका लागि आफ्नो मानसिक कम्प्युटरबाट डिलिट गर्न अथवा मेट्न चाहान्छु । तपाईंहरू मलाई के सल्लाह

दिनुहुन्छ ? ....।

[मधुपर्क मासिक]

Segments: 

Comments