Loading

गरिकन हेरे पछि थाहा हुन्छ / प्रेमप्रकाश मल्ल

गरिकन हेरे पछि थाहा हुन्छ, नगर्दासम्मन के थाहा ?
परिकन हेरे पछि थाहा हुन्छ, नपर्दासम्मन के थाहा ?

मरेर कोही फकर्रे आउँदैन तर, जिउँदै मरेका झैँ
मरिकन हेरेपछि थाहा हुन्छ, नमर्दासम्मन के थाहा ?

पीडाहरूका कष्टहरूका ती अग्ला–अग्ला चुचुराहरू
चढिकन हेरे पछि थाहा हुन्छ, नचढ्दासम्मन के थाहा ?

वेदनाहरूका यातनाहरूका गहिरा–गहिरा नदीहरू
तरिकन हेरे पछि थाहा हुन्छ, नतर्दासम्मन के थाहा ?

जिन्दगीमा दु:खै दु:खका खजानाहरू ढुकुटीहरू
भरिकन हेरे पछि थाहा हुन्छ, नभर्दासम्मन के थाहा ?

॰[शब्दाङ्कुर ११५]

Segments: 

Comments