Loading

एक्ली स्यारोन/ होमशंकर बास्तोला

हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको सुविधा उपयोग गर्न थालेको थिएँ । शब्दहरु लेख्दा शब्दको अघिल्लो अक्षर लेख्ने, वाक्य बुझ्नै नसक्ने र अपूरा हुन्थे । यस विषयका भुक्तभोगीहरुका लागि यस्ता शब्द र वाक्यहरु उनीहरु राम्ररी बुभ्mदारहेछन् । मैले पनि बिस्तारैबिस्तारै बुभ्mन थालेको थिएँ । हाम्रा दिनहरु प्रायः कम्प्युटरमा च्याट गरेर बित्थे । ऊ प्रत्येक दिन मलाई माया उत्प्रेरित हुने शब्दहरु टाइप गरेर पठाउँथी । म पनि उसै गर्थें । उसले आफ्नो ठेगाना अमेरिका बताएकी थिई । मेरो ऊसँगको प्रमुख आकर्षण युवती वा यौवनको कारणले भन्दा अर्कौ कारण थियो । उसले आफू बाईस÷तेईस वर्षे युवती भएको म्यासेज गरेकी थिई । मैले छब्बीस÷सत्ताइसको युवक भनेको थिएँ । उसले मेरो देशको बारेमा केही थाहा पाएकी रहिनछ । हाम्रो देशको वा संसारको अग्लो शिखर माउन्ट एभरेस्टभन्दा उसले ओ...भनी ।

‘तिमी त धेरैचोटि चढ्यौ होला नि माउन्ट एभरेस्ट, है न त ...।’ उसले यसैगरी धेरैपटक प्रश्न गरेकी थिई । मैले अनेक कुरा गरेर उसको प्रश्नलाई अन्यत्रै मोड्ने प्रयत्न गरेको हुन्थेँ र हाम्रा सुन्दर हिमाल र पहाडका बारेमा थपथाप गरेर बताउँथेँ । हिमाल चढ्ने रहरत कसलाई हुँदैन र ? तर के गर्नु ! आकाशको फल आँखातरी मर भने जत्तिकै हो । आफ्नै देशको हिमाल र संसारको अग्लो सगरमाथा चढ्न डलरमा रोयल्टी तिर्नुपर्छ । त्यत्रो रकम एउटा नेपालीका लागि जुटाउन नसकिने विषय भनौं कि जस्तो लागेको थियो । त्यसमाथि अहिलेसम्म नाम्चेबजारसम्म नपुगेको बबुरो र तीस डिग्री सेल्सियसको तापक्रममा जन्मेको व्यक्ति त्यस्तो बरफको सडकमा हिँड्न त के उभिनसम्म सकुँला कि नसकुँला भनौ कि भन्ने लागेको हो । तर म यही देशको नागरिकले सात समुन्द्रपारिकी स्यारोनलाई यावत कुराहरु बताउँदा हाम्रा हिमालप्रति अनास्था जाग्ला र मेरो देश र हाम्रा सुन्दर पहाड र हिमाल हेर्न नआउलिन् र अलाई पनि नआउन उत्प्रेरित गर्लिन् भनेर मैले केही भनेको थिइनँ ।

मैले पटकपटक भनको थिएँ ‘स्यारोन ! संसारको यति अग्लो हिमाल नचढ्ने भए पनि हेर्न आऊ न । म तिमीलाई शिरमै पु¥याउन नसके फेदमा पु¥याएर थोरै इच्छा पूरा गरिदिउँला ।’

भन्ने बित्तिकै को कहाँ पो आउन र जान सक्छ र ! फेरि त्यहाँसम्म आउन ठूलै रकम जोहो गर्नुपर्ला । मेरो एउटै इच्छा थियो, स्यारोन आइन् भने म माउन्ट एभरेस्टको फेदसम्म टेक्नसक्छु । अहिलेसम्म हिमालको फेदसम्म नपुगेको मजस्तो बबुरोको लागि एउटा प्राकृतिक सुन्दरताको मादकता पिउने र अर्को स्यारोनको विश्वास प्राप्त गर्ने इच्छा थियो । म स्यारोनलाई ह्रदयदेखिको मायाको न्यानोपन पोख्दै च्याट र मेल गर्थें । म हरेकपटक मेल र च्याटमा भन्ने गर्थें ‘स्यारोन तिम्रो देश कति सुन्दर छ हगी !’ उसले मेरो प्रत्युत्तरमा यसो भन्थी ‘अर्जुन ! मेरो देश त्यति सुन्दर भएको भए किन मेरो देशका नागरिक तिम्रो देशको पहाड, हिमाल र तालहरु हेर्न लाखौं खर्च गरेर आउँथे । त्यसमाथि यो ब्यस्त सहर, मेसिनजस्तो जिन्दगी । तिमी नै भन ? मेरो देशमा आउन जति गाह्रो छ तिम्रो देशमा जान धेरै सजिलो छ । मलाई पनि तिम्रो देश हेर्न मन लागिरहेको छ ।’
तिम्रो देश कति राम्रो छ भन्नुको मेरो उद्देश्य कमाइ राम्रो छ भन्नु हो । मेरो मन आफ्नो माटो र सुन्दर हिमालयका छेउमुनिबाट पैसाको लागि ‘तिम्रो कति राम्रो देश हगी स्यारोन ।’ भन्दा नदुख्ला र !

ओ, हो ! मैले स्यारोनलाई च्याट गरेको र उनीसँग सम्पर्क भएको छ महिना भइसकेछ । यसबीचमा उनले र मैले पठाएका मेलका पत्रहरुलाई जम्मा गर्ने हो भने एउटा राम्रै पुस्तक बन्थ्यो होला । तर यो कर्मको पर्दाफास गर्न उचित लागेन । उसले के गरी ? उसैलाई थाहा होला वा उसको मेलबक्सलाई । मैले उसलाई एक दिन भनेँ ‘स्यारोन तिमी त मेरो मुटुमा बिझिसक्यौै । तिम्रो बिझेको मुटुभित्रको खिल के धेरै दिनसम्म बिझ्ला र ? तिमी सात समुन्द्रपारि छ्यौ, म सात हिमालवारि ।’

‘अर्जुन के भन्छौ तिमी ... । भन्न कहाँ पो सकिन्छ र ? समयले मान्छे र मनलाई कहाँ पु¥याउँछ पत्ता हुँदैन । परमेश्वरले जुराए भने तिम्रो हाम्रो भेट नहोला भन्न सक्दिनँ । मैले केहीदिन अघि बी.बी.सी. न्युजमा माउन्ट एभरेस्टको बारेमा सुनेकी थिएँ । सबैभन्दा पहिले माउन्ट एभरेस्ट चढ्ने नेपाली र न्युजिल्यान्डका नागरिक रहेछन् । मलाई त्यो समाचारले तिम्रो देशको अग्लो र विश्वकै अग्लो शिखर हेर्न मुड चलेको छ । तर के गर्नु पैसा भएर मात्रै नहुने, पैसा नभए पनि नहुने... ।’ उसले मन खिन्न पारेर भनेकी थिई । त्यसपछि ऊ दुई÷तीन दिन हराई ।

मैले उसलाई प्रत्येक दिन मेल गरिरहेँ । अर्को दिन ऊ अनलाइमा आई । त्यस दिन ऊ अघिपछिभन्दा अलि उदास थिई भन्ने च्याटगफबाट लागेको थियो । उसले मलाई अलि खिन्न भावमा लेखी ‘मिस्टर अर्जुन तिमीले मेरो जिन्दगीका बारेमा थाहा पाएका छैनौ । ती सबैकुरा थाहा पाएपछि तिमी मलाई माया वा घृणा के गर्नेछौ त्यो त तिम्रो वास्तविक माया वा घृणा त्यसबाट थाहा हुने नै छ । मलाई भन्न गाह्रो लागिरहेको छ, भनेर मन हलुका पार्न मन लागिरहेको छ । अर्जुन बाईबाई । म गएँ है, ... स्यारोन ।’ यसरी नै ऊ बिदा भई ।
ऊ फेरि एक हप्तै हराई । त्यसबीच मैले उसलाई पठाएका म्यासेजले उसको मेलबक्स नै भरियो होला भन्ने लागेको थियो । म उसलाई मेल गरेर मेरो देश आउन आग्रह गरिरहेको थिएँ ।

प्रत्येक दिनझैँ त्यो दिन कम्प्युटरमा मेल खोल्ने बित्तिकै सिरानमै स्यारोनको मेल प्राप्त थियो । उसको मेल अघिपछिको भन्दा अलि लामो तर एउटा वास्तविक जीवनमा हुनसक्ने घटनाजस्तै थियो । कथाजस्तै थियो । उसले मेल यसरी सुरु गरेकी थिई –

हाई अर्जुन !

मेरो काहालीलाग्दो जिन्दगीको पीडा व्यक्त गर्न मलाई डर लागिरहेको छ । डरभन्दा अझ टाइप गर्ने हातका औँलाहरु र मेरो पूरै शरीर हल्लिरहेको छ । त्यो कहाली लाग्ने दिनको जिन्दगीको घटनाको सबै विवरण थाहा पाएपछि तिमी पक्कै मलाई मायाको साटो घृणा गर्न थाल्ने छौ । हुन त आफ्नै मान्छेले मेरो जिन्दगी नरक बनाइदियो । तिमी त सात समुन्द्रपारिका मान्छे हौ । कुनै मान्छेको व्यवहार थाहा नपाई उसको दुर्गुणको बारेमा फलाक्नु त्यति सान्दर्भिक हुँदैन । तिमीलाई थाहै छ यो विशाल डेमोक्रेटिक मुलुकभित्र यति दयावान् र मानवीय विचार भएका मानिस छन् त्यति नै यहाँ क्रूर, सैतानको जस्तै सोच र दिमाग भएका मान्छे छन् । मैले तिम्रो देश घुमेका हाम्रो देशका एकजना लेखकले लेख को पुस्तक पढेकी थिएँ, ‘माउन्ट एभरेस्टको फेदमा बस्ने मान्छेहरुको हृदय कति निश्छल छ । उनीहरु मान्छेलाई यति माया गर्छन् । हामी त्यति माया आपैंmलाई गर्न सक्दैनौँ । एक्लैएक्लै रातारत जङ्गल र सुनसान बस्तीमा हिँंड्दासम्म कसैले केही गर्दैन । बाटोमा हिँड्दा कोही दुर्घटनामा प¥यो र कसैले आक्रमण ग¥यो भने गाउँका सबै मान्छे मिलेर सहयोग गर्छन् ।’ उनले त्यस पुस्तकमा वर्णन गरेको तिम्रो देशको बारेमा मलाई यति लोभ लाग्यो, कसरी व्यक्त गरौं !
अँ ! म लेख्दालेख्दै अर्कौ मोडतिर भौतारिएछु । जसरी गाडी भौतारिन्छ र यात्रुहरु दुर्घटित हुन्छन् ।

हाम्रो परिवारमा चार जना थियौँ । ड्याडी, मम्मी र भाइ जोइ । मेरो ड्याडीको एउटा ठूलो फर्निचर उद्योग थियो । उद्योग राम्रै चलेकाले हामीलाई पैसाको खाँचो थिएन । म सानै थिएँ र स्कुल पढदै थिएँ । एक दिन ड्याडी र मम्मी एउटा पार्टीबाट फर्कदै गर्दा दुर्घटनामा पर्नुभयो । दुर्घटनास्थल र हाम्रो घर पचास किलोमिटर फरक भए पनि त्यो खबर हामीले दुई घण्टापछि थाहा पाएका थियौँ ।

भोलिपल्ट म अस्पताल पुग्दा मम्मीको शव भेटाएँ भने ड्याडी अचेत अवस्थामा छटपटाइरहनु भएको थियो । उक्त दुर्घटनाले मेरी मम्मीलाई सदा–सदाका लागि हामीबाट छुट्याएकोले म धेरै रोएँ, धेरै आँसु बगाएँ । मलार्ई सम्झाउनेसम्म कोही थिएन । आफन्त भन्ने अङ्कल पर्ने टाढाका एकजना नातेदार जर्ज थिए । ड्याडीलाई दुई महिनासम्म अस्पताल राखेपछि ठीक भयो र अस्पतालले डिस्चार्ज ग¥यो । मम्मीको अभावले मलाई र ड्याडीलाई सताएको थियो । त्योभन्दा बढी मेरो भाइ जोइलाई सताएको थियो । मम्मीको अभावले मम्मीले गर्ने कामहरु मैले गर्न थालेकी थिएँ ।
ड्याडी कम्पनीको कामले प्रायः व्यस्त हुनुहुन्थ्यो । मम्मीको दुर्घटनामा मृत्यु भएको त्यस्तै दुई वर्ष भएको थियो होला । अफिसको कामले ड्याडी विदेश जानुभएको थियो । घरमा फर्कदा उहाँको लाश आयो । ड्याडी प्लेन दुर्घटनामा मारिनुभएको थियो । मम्मीको मृत्यु हुँदा ड्याडी हुनुहुन्छ भनेर मन बुझाएकी थिएँ । तर ड्याडीको समेत मृत्यु भएपछि म धेरै रोएँ । भाइ जोइ धेरै रोयो ।

ड्याडीको मृत्यु भएको एक वर्ष भइसकेको थियो । पीडाको खाटो ओभाइसकेको थिएन । म आपूmले उक्त कम्पनी हेन्डिल गर्न नसक्ने भएकीले जर्जले उक्त कम्पनी बेच्न लगायो र त्यो सबै पैसा उसले लियो । हामी कुनै सहारा नभएकाले उसैको पछि लागिरहेका थियौँ । मैले उसलाई आफ्नै ड्याडीजस्तो मानेर सबै सम्पत्ति उसलाई सुम्पिएकी थिएँ । उसले आफ्ना परिवार अमेरिकामै राखेर व्यापार गर्नका लागि नाइजेरिया जाने बतायो । म र मेरो भाइलाई पनि नाइजेरियामै बसेर पढ्ने व्यवस्था मिलाएको बतायो । हामी विश्वस्त भएर उसको पछि लाग्यौँ । त्यो बाहेक हाम्रो अर्को विकल्प पनि त थिएन नि ! हाम्री ममतामयी मम्मी र ह्दयशील ड्याडीको मातृत्व र वात्सल्य ऊबाट प्राप्त गर्न खोजिरहेका भए पनि त्यो कहाँबाट पाउनु र ! ऊ यति रिसाहा र सन्काहा थियो त्यो म कसरी व्यक्त गरौँ । हाम्रा अभिभावको मृत्यु भएपछि हाम्रो जीवन कठिन, पीडादायी र एक्लो भएको महसुस भइरहेको थियो । हामी त्यो अङ्कल पर्नेसँग अमेरिकाबाट नाइजेरिया गयौँ । हामीसँग अमेरिकामा घर, गाडी र अनेक सम्पत्ति भए पनि त्यसबेला भाइ र मसँग केही थिएन । भएको सबै सम्पत्ति उही अङ्कल जर्जले लिएको थियो । नाइजेरिया पुगेपछि हामी एउटा ठूलो घरमा बसेका थियौँ । त्यही घरमा जर्जले विभिन्न प्रलोभन देखाएर जवरजस्ती ग¥यो । मेरो त्यस अवस्थामा केही चलेन । यथार्थ भन्ने हो भने उसले मलाई जवरजस्ती बलात्कार ग¥यो । म धेरै चिच्याएँ तर कसैले सुनेन । सुने पनि मेरो त्यहाँ को थियो र ? उसले मलाई बलात्कार गरेपछि म ऊबाट छुट्करा पाउन चाहन्थेँ तर उसले कोठामा थुनेर राख्यो । उसको इच्छा मैले पूरा गर्न नसकेकाले उसले हामीलाई घरबाट निकालिदियो । जोइ र म त्यहाँबाट बासको खोजीमा हिँड्यौँ । बाहिर सडकमा मुसलधारे पानी परिरहेको थियो । हामी पानीले भिज्दैभिज्दै हिँडिरहेका थियौँ । भोक उस्तै लागेको थियो । त्यहाँ हाम्रो बस्ने ठाउँ नभएकाले पानीले भिजेर निथु्रक्क भएका थियौँ । हामी हिँड्दा–हिँड्दै धिपधिप बत्ती बलिरहेको एउटा पसलमा पुग्यौँ । हाम्रो त्यस्तो अवस्था देखेर त्यस पसलको मालिकले हामीलाई बस्न दियो । हामीलाई केही तातो खान दियो । त्यसले हाम्रो सास आएको थियो । हामीसँग एक डलर नभएकाले पसलको टेबुलमुनि सुतेर रात काट्यौँ । हाम्रो यो अवस्था देखेर त्यस पसलको मालिकले मलाई एउटा होटलको क्लर्कमा लगाइदिएको थियो । म तिनलाई परमेश्वर मान्छु जसले मेरो जिन्दगीको कठिन मोडमा सहयोग गरेको थियो । अर्जुन तिमीलाई लागेको होला मेरो कथा सिद्धियो र तिमीले ठानौला यो कथा हो । यो कथै हो तर मेरो जिन्दगीको वास्तविक कथा ।

मैले होटलमा क्लर्कको काम थालेपछि सुखका केही दिनहरु सुरु हुन थाले । मैले केही पैसा पनि जम्मा गरेकी थिएँ । मेरो कामको इमानदारिता देखेर मेरो हाकिम सन्तुष्ट थियो । म अब आफ्नै देश फर्कनका लागि टिकटको व्यवस्था गरिरहेकी थिएँ । मैले सोचेजस्तै टिकट समेत मिलेको र हाकिमले समेत केही थप रकम दिएर मेरो देश फर्कने व्यवस्था मिलाइदिएको थियो । म धेरै खुसी थिएँ तर मेरो खुसी धेरै दिन रहेन । मेरो भाइ जोइ केही दिन अगाडिदेखि सामान्य बिरामी थियो । उसलाई बिरामले धेरै च्यापेपछि मैले अस्पताल पु¥याएँ । त्यसमा हाकिमले निकै सहयोग गरेको थियो । जोइलाई अस्पताल भर्ना गर्दा धेरै पैसा लाग्यो । उसको उपचारमा मसँग भएको सबै पैसा खर्च भयो । तर अफसोच ! मेरो प्यारो भाइ जोइलाई बचाउन सकिनँ । त्यतिखेर मेरो मुटु कस्तो भयो होला ! तिमी आपंैंm अनुमान गर ? म उसको मृत्युमा धेरै रोए, चिच्याएँ । तर मेरो चिच्याहट सुन्ने न कोही थियो न परमेश्वर ! मेरो मन अत्यन्त पीडित र बोझिलो भएकाले म रुँदैरुँदै आफ्नै देश फर्कें तर त्यहाँ पनि म एक्ली थिएँ । अमेरिका आएर मैले एउटा कम्प्युटर पसलमा काम गर्न थालेँ । म नितान्त दुःखी र सम्पूर्ण परिवार गुमाएकी अभागी थिएँ । ती अवस्थाहरुबाट म बिस्तारै–बिस्तारै नयाँ जीवनको तिर्सनाको खोजीमा लागिरहेकी थिएँ । यसरी नै तिमीसँग सम्पर्क भयो । म एउटा यस्तो आत्मीय मान्छेको खोजीमा छु जसले ती विगतका सम्झनै नसक्ने पीडाहरु बिर्साएर सुखद् जिन्दगीमा आनन्द दिन सकोस् । ...आशा छ, तिमीले चाँडै उत्तर पठाउने छौ ।
                                                       ...
                                                          स्यारोन !

उसले लेखेको इमेल म्यासेजले मेरो ह्दय टुक्राटुक्रा भयो । आँखा रसाए । बिचरा ! दैवले कस्तो खेल खेलेछन् ? विश्वास गरेको मान्छेले कस्तो धोका दिएछ ? मलाई मनमनै उसको अङ्कलदेखि साह्रै रिस उठेको थियो । उसँग भेट हुने हो भने काँचै खाउँलाजस्तो लागेको थियो । एकमनले त सोचेको थिएँ ‘उसको देशको लेखकले लेखेजस्तो हाम्रो देश कहाँ शान्त छ र ? तर शान्तिको स्वास फेर्न खोजिरहेको छ । माउन्ट एभरेस्टको फेदको सिमाना नजिक अभैm देश अशान्त र आक्रान्त छ । सबै नागरिकहरु शान्तिको कामना गरिरहेका छन् ।’ अझ लेख्न मन लागेको थियो ‘स्यारोन ! चिन्ता नगर, म छु । तिम्रो लेखकले लेखेजस्तै र तिमीले पढेजस्तै मेरो पनि तिम्रो लागि ह्दय फराक छ । आऊ तिमी मेरो ह्दयमा पूरै अटाउँछ्यौ ।’ तर लेख्ने आँट आएन । म आफ्नो एड्रेस साइनआउट गरी एउटा अन्तर्राष्ट्रिय अनलाइन समाचारलाई खोलेर हेर्न थालेँ । त्यस समाचारको हेडलाइनमा लेखिएको थियो ‘इराकमा बम विष्फोटन हुँदा पैंतीस जनाको मृत्यु । तालिवानद्वारा अफगानिस्तानको दुर्गम प्रहरी चौकीमा आक्रमण आठ जनाको मृत्यु र पन्ध्र घाइते । अमेरिकामा आर्थिक मन्दीका कारण बैङ्कहरु टाट पल्टने अवस्थामा ।’

प्रथम पेजको बीच भागमा एउटा तस्बिर थियो । त्यस तस्बिरमध्ये मैले देखेदेखे चिनेचिने जस्तो एउटा युवतीको तस्बिर पनि थियो । फोटोको बाया भागमा साना अक्षरमा समाचार लेखिएको थियो भने सिरानमा शीर्षक थियो ‘साइवर अपराधमा दुई युवक र तीन युवती पक्राउ, भिसा लगाइदिने भनी ठगी ।’ मैले तस्बिरलाई नियालेर हेरेँ वास्तवमा त्यो तस्बिर स्यारोनको थियो ।

दुबेकोल–७, खोटाङ

Segments: 

Comments