Loading

भाषाविद् तथा साहित्यकार जगनाथ त्रिपाठीको निधन

काठमाडौँ, ११ चैत (रासस)/
भाषाविद् तथा साहित्यकार जगनाथ त्रिपाठीको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै घरमा निधन भएको छ । बिहान उठी दूध खाएर विस्तारै बोल्दाबोल्दै साहित्यकार त्रिपाठीको निधन भएको उहाँका माइला छोरा कुमार त्रिपाठीले जानकारी दिनुभयो । गत दुई वर्षदेखि दुवै मिर्गौलाले काम नगरेकाले साहित्यकार त्रिपाठीलाई हप्ताको दुईपटक डायलसिस गर्नुपर्ने अवस्था रहेको थियो ।

दोलखा ज्ल्लाको सुनखानी गाविसमा विसं १९८६ वैशाख ८ गते जन्मनुभएका साहित्यकार त्रिपाठीले औपचारिकरुपमा २१ वर्षको उमेरमा भारतबाट औपचारिक शिक्षा ग्रहण गर्नुभएको थियो ।

नेपाली व्याकरणका विज्ञ साहित्यकार त्रिपाठीको शव नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भनिए तापनि जीवित हुँदा नै आफूलाई मरेपछि प्रज्ञा प्रतिष्ठानमा नराख्न पिताले आग्रह गरेकाले उहाँको शव प्रतिष्ठानमा नराख्ने छोरा कुमारले बताउनुभयो ।

साहित्यकार त्रिपाठीलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
नेपाली, अङ्ग्रेजीलगायतका भाषामा दक्षता हासिल गर्नुभएका साहित्यकार त्रिपाठीलाई उहाँको योगदानको कदर गर्दै गत माघ २३ गते राष्ट्रिय अभिनन्दन गरेर विद्योतकेशरीको पदवीले सम्मान गरिएको थियो ।

साहित्यकार त्रिपाठीको बारेमा ग्रन्थ भने उहाँको जन्मजयन्तीको अवसरमा वैशाख ८ गते सार्वजनिक गर्ने तयारी भइरहेको छ । साहित्यकार त्रिपाठीका श्रीमती, दुई छोरी र पाँच छोरा हुनुहुन्छ ।

Segments: 

Comments