Loading

भावुक साहित्यकार डा. हृषिकेश उपाध्याय / पुण्यप्रसाद खरेल

मैले ऋषिजस्ता हृषिकेश भनेर लेखेथेँ, जुहीको ५८ औं अङ्क अर्थात् डा. हृषिकेश उपाध्याय विशेषाङ्कमा । आज दुई वर्ष नबित्तै उहाँलाई 'भावुक' विशेषण लगाइरहँदा कतै प्रश्न उठ्ने हो कि ? उठ्छ भने उठोस् । मसँग उहाँ 'भावुक' हुनुहुन्थ्यो भनेर पुष्टि गर्ने अनेक प्रमाणहरू छन् । तर आज यी केही प्रमाण लिएर होइन, म श्रद्धाञ्जली लिएर आएँ । यसै साल हो, भाइको र श्रीमतीको दसगोत्र गराउनुभयो । भाइको शोकमा हुनुहुँदा र श्रीमती सुमित्राको विछोडमा सन्तप्त हुँदा म उहाँको घर भानुनगर भद्रपुर पुगेको थिएँ, समवेदना व्यक्त गर्न, शोक बाँड्न । त्यसबेला उहाँले बाहिर-भित्र गरेको, फुर्तीसाथ आगन्तुकसँग भलाकुसारी गरेको दृश्यले मलाई यति छिटो उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुपर्ला भन्ने लागेको थिएन ।

विसं १९८८ कात्तिक १० मा पाल्पाको तानसेनमा माता वेदकुमारी तथा पिता दुर्गाप्रसाद उपाध्याय मरहट्ठाका सुपुत्रको रूपमा जन्मनुभएका डा. हृषिकेश बनारस हिन्दु विश्वविद्यालयबाट चिकित्साशास्त्रमा एबीएमएस गरेको चिकित्साकर्मी हुनुहुन्छ । पैतृक थलो गोर्खा भए पनि बुबाको जागिरको सरुवासँगै बिरालाले छाउरा सारेझैं कहिले कहाँ कहिले कहाँ छोराछोरी लिएर सर्ने क्रमसँगै स्थायी बसोबास नभए जस्तो थियो उहाँको पैतृक परिवार । यसैक्रममा बुबा पाल्पामा भएका बखत जन्मनुभएको थियो उहाँ । ६ वर्षको उमेरमा टाइफाइडको बिमारबाट बुबा बितेपछि पितृविहीन हुनपुग्नु भएथ्यो । बुबासँगै क, ख सिक्नुभएको उहाँले जलेश्वरको भाषा पाठशालामा रुद्री, कौमुदी, चण्डी, अमरकोश पढ्नुभयो । पछि चिकित्साकर्मी बन्नुभएको उहाँको साहित्यको बीज भने त्यही भाषा पाठशालाले रोपिदिएको लाग्छ भने उहाँमा भावुकता हालिदिने कारक तत्त्व भने सानैमा पितृवियोग बन्नु नै हो भन्ने लाग्छ ।

जागृति आयो पूर्व दिशातिर चाँडचाँडै चाल

बढाई

अब तेरो बुझ् म्याद पुगेछ हेर्न आफ्नो दृष्टि

ठम्याई

सावधान जनशक्तिलाई जगमा रोक्ने कोही छैन

यो मानवको हृदयतन्त्रीको स्वर निनाद हो, ठट्टा होइन ।

यस्ता आत्मविश्वासी जागरणशील कविता रच्ने स्वप्नदर्शी कवि ८० वर्षको लेखो लाग्दा भाइ, श्रीमतीलाई अघि लगाएर छोराहरू अनिमेश, अखिलेश तथा छोरीहरू शैलजा तथा पद्मजालाई आफ्ना खुट्टामा उभ्याएर बित्नुभयो ।

जुही ५८ औं अङ्क पल्टाएर हेेरेँ, आवरणमा उहाँको नक्सा कस्तो ज्युँदो-जाग्दो रहेछ । उहाँसँग भेट भएजत्तिकै भयो । त्यस नक्साले पो मलाई त उहाँजस्तै झन्नै रुन्चे बनायो ।

उहाँसँगका पछिल्ला दुईवटा संस्मरण मलाई यहाँ चर्चा गर्न मनलागेको छ । एउटा हो, २०६५ वैशाख २३ को । गरामनीमा खिलप्रसाद सिवाकोटीले छोरीको बिहेका दिन झापाभरिका साहित्यकर्मीहरूलाई पनि आमन्त्रित गरेका थिए । र गोष्ठीबीच आफूलाई ३३ वर्षअघि ०३३ सालतिर पुनर्जीवन दिनुहुने डाक्टर हृषिकेशको अभिनन्दन पनि गरेका थिए । उपचार गर्ने आर्थिक ल्याकत नभएका खिलप्रसादलाई त्यसबेला डा. हृषिकेशले उपचार गरेर बचाउनुभएको रहेछ । त्यहाँ खिलप्रसादका र डाक्टरसाहेपका आँसुको दोभान हामीले देख्यौं । श्रोता तथा दर्शकहरूमाझ डाक्टरसाहेपको परोपकारी कार्यका चर्चाहरू भए । बीसको दसकदेखिका डाक्टरसाहेपले आजका डाक्टरहरूझैं पैसामुखी द्रव्यपिसाच बन्नुभएको भए उहाँको आफ्नै अस्पताल, या गतिलै नर्सिङहोम बनिसकेको हुन्थ्यो । तर मानवतावादी, कमलो हृदयको मान्छे भएका कारण उहाँले सुखसुविधाले युक्त ऐयासी जीवन बाँच्न पाउनुभएन ।

अर्को संस्मरण हो, २०६६ भदौ ६ को कन्काई माई कोटीहोममा भएको साहित्यिक सद्भाव यात्राको ९ औं कार्यक्रम अर्थात् "यथार्थ यात्रा"को घुम्टीखोली कार्यक्रम । कार्यक्रममा आमन्त्रितहरूमध्ये सबैभन्दा जेठो व्यक्तिलाई बूढोपाको भनेर प्रमुख अतिथि बनाइएको थियो, डाक्टरसाहेपलाई र उपहारस्वरूप एउटा टेक्ने लठ्ठी दिइएको थियो । लठ्ठी उपहार ग्रहण गरेदेखि गम्भीर बन्नुभएका उहाँले कार्यक्रमको टुप्पातिर मन्तव्य व्यक्त गर्ने क्रममा बढो दुःखित भएर भन्नुभयो- "म त साहित्यकार हुँ । मैले आफूलाई अहिले नै त्यस्तो लठ्ठी नै चाहिने अवस्थाको ठानेको छुइन । मलाई त उपहार कलम दिएको भए राम्रो हुन्थ्यो । मलाई टेक्ने लठ्ठी दिएर मेरो उत्साहलाई मार्ने काम भयो । एउटा साहित्यकारलाई उपहार लठ्ठी ? यस कुराले मलाई व्यथित पार्‍यो । आज म कार्यक्रमभरि उज्यालो अनुहार पारेर बस्न सकिन । तैपनि म यो लठ्ठीलाई कलमकै प्रतीक मानेर ग्रहण गर्छु ।" उहाँ साँच्चै भावुक बन्नुभएको थियो भन्ने कुराको दसी जुही- ५८ ले पनि भन्छ, "वास्तवमै भन्नुपर्दा त्यो क्षण साँच्चै भावुक बन्नपुग्यो, डा. हृषिकेश पनि भावुक हुनुभएको थियो । गहभरि उहाँका आँखामा आँसु टल्पिएको देखेँ मैले । खै के-के सोचिरहनुभएको थियो डा. उपाध्याय त्यसबेला ।" -कृष्ण सुवेदी निराकार, जुही- ५८, पेज-३८)

यसरी आफूलाई बूढो नठान्ने व्यक्ति, कोमल हृदयी व्यक्तिलाई कालले हरेर लगे पनि उहाँका ७/८ वटा कृति हर्न सकेन, उहाँको उदाहरणीय जीवनचर्या लुट्न सकेन । ती हामीसँग छन् । हामीले हरेक व्यक्तिका राम्रा गुणहरूबाट सिक्नुपर्छ । डा. हृषिकेशका मानवताका, परोपकारी भावनाका, सदैव आफूलाई जवान ठानेर जाँगर गरिरहने कुराको अनुकरण गरौं । यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।


सम्झनामा डा हृषिकेश उपाध्याय

- दिवस गुरागाईं

धेरै विधामा संलग्न रहेर पनि समाजमा परचिय बनाउन सफल थिए, डा हृषिकेश उपाध्याय। उनी राजनीति, समाजसेवा, साहित्य र चिकित्साशास्त्रका ज्ञाता थिए। नेपाल कम्युनिस्ट पार्टी संयुक्तका केन्द्रीय सदस्य उपाध्यायका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन्। विक्रम संवत् १९८८ मा पाल्पाको तानसेनमा जन्मिएर झापालाई कर्मथलो बनाएका उनले १५ फागुनमा मृत्युवरण गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी बर्मा, मानन्धर र अमात्यसमेत गरी तीन पार्टी मिलेर २०४८ सालमा बनेको नेकपा प्रजातन्त्रवादीमा उपाध्याय केन्द्रीय सदस्य बनेका थिए। उनी नेकपा बर्मामा लामो समयदेखि क्रियाशील थिए। नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीका अनुसार, उनी खाँटी समाजवादी थिए। आफूले उपाध्यायलाई कुशल समालोचकका रूपमा समेत चिनेको जोशी बताउँछन्। भन्छन्, "अनुशासित व्यक्तित्व उपाध्यायको अवसानले पार्टीलाई मात्र होइन, उहाँले दक्षता राखेका विधामा समेत अपूरणीय क्षति भएको छ।" स्वर्गीय उपाध्यायमा कम्युनिस्ट आदर्श, प्रगतिशील लेखन र नेपाली भाषामा गहिरो ज्ञान रहेको मान्छन् संयुक्तका सह-अध्यक्ष गणेश साह। भन्छन्, "पार्टीले प्रकाशित गर्ने दस्तावेजलगायतका हरेक सामग्री तयार गर्ने मात्र होइन, उहाँले हेरेपछि मात्र पास हुन्थे।" उपाध्याय ०३४ देखि नै कम्युनिस्ट पार्टीमा सक्रिय थिए ।

उनीसँग साहित्यिक लेखनको साढे पाँच दशक लामो अनुभव थियो। कृतिका रूपमा बगैँचा नामक कवितासंग्रह उनको पहिलो थियो। केही स्रष्टा द्रष्टाको दृष्टिमा, प्रस्थानविन्दु, अधुरो यात्रा, सरला आदि उनका प्रकाशित कृति हुन्। समालोचकका रूपमा समेत परचिय बनाएका उनी महानन्द पुरस्कार समिति तथा साहित्य विकास समिति झापाका अध्यक्ष थिए।

Comments