दिनेश अधिकारीको 'रचना'

No votes yet
Dinesh Adhikari's Rachana

काठमाडौं/रासस- कुनै बेला स्वर सम्राट नारायण गोपालले भनेका थिए, 'मलाई दिनेश अधिकारीका गीत मनपर्छ ।' नारायण गोपालका मन पर्ने गीतकारमध्ये दिनेश अधिकारी पनि थिए भन्नेमा पुराना पुस्ताका प्रायः सबैजसो संगीतकर्मी जानकार छन् ।

स्वर सम्राट त उनका गीतबाट प्रभावित भए नै, संगीतको मर्म बुझ्दै गरेकादेखि कखरा सिक्दै गरेकाहरूलाई पनि अधिकारीका गीतले प्रभाव पारेको यथार्थ छिपेको छैन । प्रचार प्रसारबाट अलि टाढै रहन रुचाउने गीतकार अधिकारी बेला-बेला झुल्किन्छन्, बान्की परेका गीत लिएर । पछिल्लो समय स्रोताका लागि 'रचना' नाम राखेको गीतिसंग्रह लिएर आएका अधिकारी भन्छन्, 'यसमा म आफैंलाई बढी मन परेको गीत समावेश  गरेको छु ।'

१० गीत संग्रहित यो एल्बम सुनिसकेपछि लाग्छ 'साच्चै स्रोताले खोजेजस्तो गीत छ, यसमा । यो राम्रो, यो कमजोर वा योचाहिँ बढी राम्रो भन्न सक्ने स्थिति छैन । किनकि गीतमा धेरैखाले परिवेश छ । कुनै गीतले जीवनका सुकिला आयामलाई उजागर गरेको होला त कुनैमा नरमाइलो परिवेश कैद भएको हुन सक्छ ।

साच्चै भन्नुपर्दा सबै गीत 'ए वान' छन् तर सबैलाई सबै गीतले उस्तै प्रभाव नपार्न सक्छ । मानौं एउटा मान्छे ठूलै बिपत्तिमा छ भने उसका लागि एउटा रमाइलो परिवेशको गीतले सन्तुष्टि नदिन सक्छ । तर, यही गीत अर्को पात्रको बुझाइमा दामी हुन सक्छ । यस कारण एल्बमका कुनै पनि गीतमा खोट लगाउने ठाउँ छैन ।

तीसको दशकदेखि गीति लेखनमा हात हालेका अधिकारीको पहिलो रेकर्डिङ ०३९ मा भएको थियो भने पुगनपुग पाँच सय गीत रर्ेकर्ड भइसकेको छ । उनका 'अविराम यात्रा, आफ्नै मन आफ्नै आँगन, मन र मोडहरू' गीतिसंग्रह बजारमा आइसकेको छ भने काव्य रचनामा पनि उनको सक्रियता लोभलाग्दो छ । अन्तरका छिटा, धर्तीका गीत, आदिम आवाज, अतिरिक्त अभिलेख र सीमान्त सपना उनका कवितासंग्रह हुन् । जंगलको कथा जंगलको व्यथा लेखेर बालरचनामा पनि उनले गहिरो प्रभाव पारेका छन् ।

'अतिरिक्त अभिलेख' कविता कृतिका लागि २०५६ मा मदन पुरस्कार प्राप्त गरेका अधिकारी साझा पुरस्कार र छिन्नलता गीति पुरस्कारबाट पनि पुरस्कृत भइसकेका छन् ।

जहाँसम्म 'रचना'को प्रसंग आउँछ, यसले गीत सुनेर मनोरञ्जन लिन चाहने जोसुकैलाई सन्तुष्टि बनाउने अभियान सुरु गरेको छ । स्वरूपराज आचार्य, दर्ुगा खरेल, सन्तोष लामा, शिव परियार, हेमन्त राना, अन्जु पन्त, शवनम गुरुङ, सनुप पौडेल, सुरेश कुमार, श्रेय सोताङको स्वर रहेको 'रचना'मा सत्य स्वरूप, सुरेश अधिकारी, हरि लम्साल, बीबी अनुरागी, राजु सिंह, सचिन सिंह, किरण कँडेल, कालीप्रसाद बाँस्कोटा, सुरेश कुमार र उदय सोताङको संगीत रहेको छ भने बिन्दवासिनी म्युजिकले बजारमा ल्याएको छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.