Loading

डायमन शमशेर राणा / सन्त गाहा मगर

श्री ३ जङ्गबहादुर राणाले बेलायतपछि गरेको फ्रान्स यात्रा इतिहास प्रसिद्ध छ। उनका सन्तति डायमन शमशेर राणाको पेरिस भ्रमण पनि कम रोचक छैन। उनको पहिलो कृति वसन्ती (वि.सं. २००६) को अनुवाद छाप्न स्थानीय प्रकाशकले डायमनलाई सम्पूर्ण खर्च बेहोरेर पेरिस बोलाएछन्। त्यहाँ पुगेको भोलिपल्ट प्रकाशकले कारमा राखेर शहर घुमाउन लगेछन्। त्यही क्रममा उनलाई बिक्रीमा रहेका बङ्गलाहरू देखाउँदै रोज्न लगाइएछ।

“झयाल किन्न नसक्ने मलाई घर देखाएर अपमानित गर्न बोलाको?” ठट्यौली मिसाउँदै उनले रिस पोखेेछन्। तर, त्यसपछि प्रकाशकले जे भने त्यो उनले कल्पना नगरेको र निकै लोभलाग्दो कुरा थियो। ती प्रकाशकले साहित्यकारले रोयल्टीबाटै पेरिसमा किनेका घरहरू देखाउँदै फ्रेन्च भाषामा वसन्ती को अनुवादपछि उनले पनि सहजै त्यसो गर्न सक्ने बताएछन्। २०५७ माघमा उपन्यासकार डायमन शमशेरले यो सम्वाददातालाई भनेका थिए, “तर, त्यसवेला विभिन्न कारणले वसन्ती अनूदित हुन सकेन। रोयल्टीको कुराले भने मलाई आश्चर्यमा पारिरह्यो।”

नकि, २००१ सालमा लेखेर पाँच वर्षपछि बल्लबल्ल छापेको ऐतिहासिक उपन्यास वसन्ती पढ्ने पाठक नै नपाएको अनुभव उनीसँग थियो। उपत्यकाका तीनै शहरमा बिए पास गरेका मानिस खोज्दै घर-घर पुगेर सित्तैँमा दिँदा पनि कसैले वसन्ती पढिदिएका थिएनन्। २०३० सालमा अर्को ऐतिहासिक उपन्यास सेतो बाघ लोकप्रिय भएपछि मात्र वसन्ती ले पाठक पाएको थियो। दोस्रो कृति सेतो बाघ ले आखिरमा उनलाई (रु.४० लाखभन्दा बढी) रोयल्टी पाउने नेपाली साहित्यकार पनि बनायो। हिन्दी, अङ्ग्रेजी, जापानी लगायतका भाषामा अनूदित सेतो बाघ फ्रान्सेली पाठकहरूले पनि आफ्नै भाषामा पढ्न पाए। वसन्ती उपन्यास पनि पछि जर्मन र हिन्दीमा अनुवाद भयो, तर फ्रेन्चमा हुन सकेन।

इतिहासलाई उपन्यासमा जीवन्त बनाएका स्वर्गीय डायमन शमशेरका वसन्ती र सेतो बाघ पछि प्रतिबद्ध (२०३५), सत्प्रयास (२०३८), अनिता (२०४३), धनको धब्बा (२०५१), गृह प्रवेश (२०५९) लगायतका कृति प्रसिद्ध छन्। २०५८ को जगदम्बाश्री पुरस्कारबाट सम्मानित डायमन शमशेरले ९४ वर्षको उमेरमा २० फागुनमा नश्वर चोला परिवर्तन गरेपछि ऐतिहासिक उपन्यास लेखनको नेपाली परम्परामा ठूलो धक्का लागेको छ।

राणा परिवारमा जन्मेर पनि जनक्रान्तिमा लागेका डायमन शमशेर कालान्तरमा नेपालको इतिहासका गुरु बनेका थिए। उनी खासगरी ती मानिसका इतिहास शिक्षक थिए जो विश्वविद्यालयमा इतिहासका विद्यार्थी थिएनन्। भनिरहनु नपर्ला, नेपालमा देशको इतिहास थाहा पाउनेहरूको सङ्ख्या कक्षामा इतिहास पढेकाको भन्दा बाहिर जानेकाहरूको बढी छ। खास गरेर राणाकालीन नेपालको अँध्यारोमा भएका षडयन्त्र र घात-प्रतिघातको इतिहास जानेका विदेशीको हकमा पनि यही नियम लागू हुन्छ। हुन पनि, इतिहास केन्द्रीय विभाग धाउने भन्दा ठमेलतिर वसन्ती र सेतो बाघ को अनुवाद किन्ने विदेशीहरू धेरै भेटिन्छन्। डायमन शमशेर पढन्तेहरूलाई नेपालको इतिहास पढाउने मात्र हैन, इतिहासतिर सहज रुचि जगाइदिने लेखक पनि थिए।

नेपाली राजनीतिमा सन्त नेताको परिचय बनाएका कृष्णप्रसाद भट्टराईको निधन भएकै दिन काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमै दिवङ्गत डायमन शमशेरको राजनीतिक देन पनि कम छैन। उनी प्रजातन्त्रका योद्धा थिए। राणा बडाहाकिमको पुलपुलिएको कान्छो छोरो र सेनाको मेजर भएर पनि उनी राणाशाही विरुद्ध लागेका थिए। यो थाहा भएपछि उनी सिंहदरबारस्थित गारदमा थुनिए। सेनाबाट हटाई पटक-पटक समातिए। त्यो समयलाई सम्झ्ँदै उनले भनेका थिए, “२००७ सालमा प्रजातन्त्र आउन केही ढिलो भएको भए मलाई पनि शहीद बनाउने थिए। झुण्ड्याइनबाट भाग्यले नै बाँचेँ।”

१ पुस २०१७ मा राजा महेन्द्रले कु गर्दा उनी नेपाली काङ्ग्रेसको पाटन जिल्ला सभापति थिए। त्यसवेला ब्याङ्क हिँडेका उनी ६ वर्षपछि मात्रै घर फर्कन पाए। जेल जीवनको त्यही अवधिमा उनले सेतो बाघ लेखे। आज उनलाई लोकतान्त्रिक आन्दोलनका योद्धा र सेनाका अफिसरको रूपमा सम्झ्ने समकालीनहरू सम्भवतः कोही बाँकी छैनन्। तर, नेपाली साहित्यको उपन्यास विधामा छुट्टै भँगालो खोलेर इतिहासको नहर निर्माण गर्ने विशिष्ट शिल्पीको रूपमा नसम्झ्ने नेपाली भने सम्भवतः कोही छैनन्।
(Source: Himal Khabar)

Comments