Loading

डेथ मिर्‍याकल / रोशन थापा 'नीरव'

बीभत्सरूपबाट प्रारम्भ अर्थात् एउटा मायिक यथार्थ

त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु पनि त्यति नै अनुचित थियो, जति नागरिकको भोको पेटका लागि अन्न होइन, पानी भए पुग्छ भन्ने आशय नेताले सम्प्रेषण गर्नु । त त्यो मान्छे... मान्छे नै किन भनियो भने त्यो अन्य जन्तु थिएन । मान्छेका रूपमा नै थियो । त्यो यति बेला मेचमा बसेको थियो । आराम गर्न भनेर वा अन्य केहीका लागि भनेर त्यो त थाहा भएन । बरु त्यो मान्छे यति बेला जुन रूपमा थियो, त्यो भने बीभत्स थियो । बीभत्स पनि कस्तो भने त्यस मान्छेका बीचको शरीरबाहेक अन्य अवयवहरू अनौठा वा शङ्कास्पद घेराबाट आवृत्त भएका थिए । यो रहस्यात्मक रिपोर्टिङ नभएर मायिक यथार्थ जस्तो लाग्ने दृश्य प्रक्षेपण हो, जुन यति बेला यहाँ गरिँदै छ । त्यो मान्छेका दुई आँखा भुक्क सोडाको गुच्चा जस्तो खुकुला भएर बाहिर निस्केर गेडे फल जस्तो तुर्लुङ्ग झुन्डिएका थिए । कानहरू पनि पछाडिपट्ट िमोडिएका । जिब्रो बाहिर टाङ्गिएको रातो मोजा जस्तो बनेको थियो । नाक बाङ्गएिको थियो । हात र खुट्टा...भन्नै पर्दैन लुला र भाँचिएर सानो हावामा पनि हल्लिने भएका थिए । अब यस्तो मान्छेलाई आराम के

भन्ने ? त्यति मात्र होइन, जीवित नै हो वा होइन ? यो पो थाहा पाउनुपर्ने । अवयव यस्तरी निमोठिएपछि कोही बाँच्छ भने त्यो मान्छे होइन, हाम्रो किंवदन्तीअनुसार प्रेत भन्नुपर्ने हुन्छ । यदि मरेकै हो भने पनि यो कस्तो खाले मृत्यु हो त ? मृत्यु यस्तो पनि हुन्छ भन्ने कुनै पनि मृत्युकोशमा लेखिएको पाइँदैन भने यस्तो मृत्यु...?

प्रेतपूर्व त्यो मान्छे अर्थात् पूर्वदृश्य

प्रेत होइन, यति बेला मान्छे भएरै ऊ मेचमा बसेर टिभी हेर्दै थियो । टिभीमा महानेता आफूलाई राष्ट्रका गरिमामय पदमा विजय प्राप्त भएपछि पूर्वराजाले श्रीपेच थाप्ताको गुहृय हषर्ानुभवलाई रोक्न नसकेका भाव जस्तो भान देखाउँदै संवार्ता गर्दै थिए ।

सोध्नेले सोध्दै थिए । महानेता जुँगे ताउयुक्त मुसुमुसु हाँसोमा दीप्त देखिन्थे ।

-नेताज्यू, अब तपाईंको आगामी कार्यक्रम के छ ?

-घर जान्छु । घरका थोत्रा पलङलाई फालेर सुनको खाट जोड्छु ।

-तर हाम्रो भनाइको अर्थ आगामी दिन भन्ने हो नेताज्यू

-ए दिन पो...? आगामी दिनमा के भन्ने ? म अब यस देशका प्रत्येक नागरिकको आय प्रतिमहिना १२ हजार पुर्‍याउनेछु ।

-कहिलेसम्ममा नेताज्यू ?

-आगामी दुई वर्षसम्ममा ।

-दुई वर्ष नै किन त नेताज्यू ?

-किनभने मलाई नै सत्ता प्राप्त गर्न दस वर्ष लाग्यो ।

-नेताज्यू, यहाँलाई थाहा छ ?

-के हँ ?

-चामलको भाउ कति पुग्यो ? ग्यासको मूल्य कति हो ? तेलको मोल किन बढयो ? पेट्रोल किन पाइँदैन ? महँगी किन चुलियो ?

-प्रश्न अशिष्टताको भानमा डुबुल्की मारेको अनुभव होला । अब नेता क्रूद्ध भएर आफ्नो बुद्धत्व फालेर कुर्लेला तर त्यस्तो केही भएन । बरु हाई गर्दै वा केही चपाउँदै बडो सरल वाणीमा यस्तरी उत्तर दिए, त्यो सुन्दा हामी यस देशका नागरिक हुनुमा गौरव गर्छौं भनेर कसैले भने वा बोले भने पनि आश्चर्य मान्नु पर्दैन ।)

-अहँ, थाहा छैन । तैपनि किन थाहा पाउने मैले ? थाहा पाएर के हुन्छ ? म त जनताको सेवक हुँ । जनता कस्ता छन्, त्यो सोच्नु पो मेरो परम कर्तव्य हो । हेर्नोस्, म प्रत्येक नागरिकको स्तर उकास्न यो हेलिकोप्टर चढेर कोसीतिर जाँदै छु ।

-किन नेताज्यू ?

-नेपाली पानीमा यस्तो पावर अर्थात् डुबाउने शक्ति कहाँबाट

आयो ? यो हेर्न ।

-अब ट्वाँ र भ्वाँ पर्ने पालो प्रश्नकर्ताको र प्रश्नकर्तासँग श्रवण गर्ने नागरिकको पनि ।)

उसलाई एक्कासि दम बढेजस्तो भान भयो । टिभी बन्द गरेर आँखा चिम्लियो । छटपटी बढयो । यताउति गरेर घुम्न थाल्यो । उसको दृष्टि टेबुलमाथिको नवीनतम सामयिक सङ्कलनमा पर्‍यो । सङ्कलन साहित्यिक पुस्तक हुँदो हो । त्यो लिएर पढ्न लाग्यो ।

किरिङमिरिङ अक्षर अर्थात् एउटा झट्का

अक्षरहरूले शान्त होइन । ऊ त उप|mन पो लाग्यो । त्यहाँका रचनाहरू उसका चिरपरिचितहरूका थिए । चिरपरिचितभित्र उसका अग्रज, मित्र, आफन्तहरू समावेश थिए । ती सबैमा एउटै पात्रको प्रयोग उपयोग गरिएको थियो र त्यो पात्र अरू कोही नभएर ऊ नै थियो । अग्रजले उसको कमजोरीमाथि व्यङ्ग्य गरेका थिए । उसको दयनीय स्थितिलाई हास्यात्मक कथा बनाइदिएका थिए । उसबारे कपोलकल्पित लाग्ने केही छुद्रताहरूको चित्रणलाई लिएर उसमाथि विनिर्माण गरिदिएका थिए । केही मित्रले चाहिँ झन् उसमाथि स्वार्थवादको उत्तरआधुनिक लेनदेनमा उपयोग गरी उसैलाई फुटकर रचनाका खलपात्र बनाइदिए र सर्वत्र घोषणा गर्दै हिँडे-'ल है, यो मान्छे झूर हो र यसको लेखनप्रवृत्ति सबै व्यर्थ हो' आदि भनेर ईष्र्याका महासागर बगाइदिएका थिए । आफन्तहरूले चाहिँ यो बढी घमन्डी, कोहीसँग नझुक्ने, आफ्नो अहंमा बाँच्ने भनेर कसरी एक्लो र निरीह पार्ने योजनासँगै आत्मकथात्मक रचना निर्माण गरेका थिए ।

यो लिखित कारुणिक कथा होइन, कारुणिक व्याख्या हो उसमाथि किनभने यो एक प्रकारले यथार्थ हो ।

ऊ अहिलेको यस लोकतन्त्रमा पनि भयङ्कररूपमा बेरोजगार भएर सास फेर्दै थियो । फेर्नुको अर्थ बाँच्नु भन्ने हो । ऊ त्यसरी बाँच्तै थियो भनँु न । उसको यो बेरोजगारीपनले अरू त अरू सत्ताको फित्ता पनि हल्लिँदो बन्ने हुन लागेको थियो किनभने जे भए पनि उसमाथिको किंवदन्ती यस्तो थियो- यो इमानदार छ, घमन्डी छ । असल छ, व्यर्थ छ । शिक्षित छ, बेकारी छ । सहयोगी छ, निरीह छ । दम्भी छ, निहत्था छ । जुझारु छ, निर्धो छ । यी सबैमा पूर्वपञ्चेदेखि वर्तमानका सत्ताशासकसमेत परिचित र आलङ्कारिक भावमा उसप्रति व्यवहार गर्दै आएका र बसेका देखिए ।

पारिवारिक हुनुभित्र पनि पीडित अर्थात् एक्लो बाँच्नु

आज ऊ कतै गएको थिएन । जानु पनि कहाँ ? कतै, कुनै, केही आशालाग्दो त्यान्द्रोसमेत फेला परेको थिएन । उसको मामलोमा यस्तो किन भयो ? अनुसन्धान नै गर्नुपर्ने देखियो तर गर्ने किन ? हास्यास्पदमाथि दयनीय हुन ? दयनीयमाथि हास्यास्पद हुन ? भनाइको सङ्क्षेप यही थियो, ऊ प्रायशः बाहिर जाँदैनथ्यो । धेरैसँग भेट्न पनि छोडिदिएको थियो तर घरमा रहनु पनि त्यति नै पीडाभित्र ग्रस्त रहनु हुँदै थियो उसलाई, जति बाहिर पुगेपछि निराशा भेट्नु । कारण अरू थिएन । उही बेकारी स्थितिका कारण । सन्तान हुर्कंदै थियो । श्रीमतीले सानोतिनो रकम कमाउने गर्थी । पसल थापेकी थिई, कोल्ड स्टोरको । त्यसैबाट सानो आम्दानी हुन्थ्यो तर आम्दानी उसका लागि सहयोग होइन, पीडामाथि पीडा र व्यङ्ग्यमाथि व्यङ्ग्य दिने खालको बन्दथ्यो । मान्छे भएर बाँच्न गाह्रो हुन्छ भाइ, बारम्बार हाँसेर अरूलाई भन्थ्यो । अब अहिले रोएर आपै"mलाई भन्नुपर्ने थियो ।

ऊ यति बेला पत्रिका हेर्दै थियो । पत्रिकामा वर्तमान सत्ताशासकका हाँस्तो जुँगे मुहार मुखरित पृष्ठहरू छरपस्टिएको थियो । सत्तानायकको महान् बखानलाई उपमाजडित अनेक विरुदावलीले गाइएको थियो । एकातिर यस्तो प्रशस्ती गान थियो भने अर्कोतिर खबरैखबर यस्तो थियो-धारिलो हतियार प्रयोग गरी हत्या/श्रीमतीलाई बलात्कार गर्ने श्रीमान्को हत्या/श्रीमतीलाई अदालतभित्रै कुटपिट/एक जोडी दम्पती भोकले पीडित भएर आत्महत्या/सात वषर्ीय बालकको टाउको काटेर बीभत्स हत्या/विदेशमा नेपालीद्वारा नेपालीकै हत्या...आदिआदि ।

अब पत्रिकामा यस्तै हत्या खबरबाहेक अरू छापिने भएन । उसले सोच्यो र पत्रिका फाल्यो । आँखा चिम्लियो । चिम्लाइको केन्द्रभित्र कतै कुनै अस्पष्ट मुखाकृति साउती मार्न आयो को ? उसले ठम्याउन चाहृयो । स्वर नारी जस्तो लाग्थ्यो-के यी मेरी पूर्वप्रेमिका हुन् ? होइन । अर्को पुरुष स्वर आउँदा लाग्यो, यो मेरै प्रतिबिम्ब हो । भन्दै थियो-हेर भाइ, निरीहका लागि यस संसारमा कोही आफ्नो हुँदैन, न परिवारमा, न समाजमा, न साहित्यमा, न देशमा, न समयमा । आफू सधैँ एक्लै बाँच्नुपर्छ । गरुन्जेल वा सकुन्जेल सबै आफनो हो, नसके कोही वा केही पनि आफनो होइन । यसैले तिमी सधैँ एक्लो, अभिशप्त पात्र जस्तो आफनो जीवन भोग्न विवश र बाध्य एकसाथ छौ । यहाँ बाँच्न र माग्नलाई केही न केही कारण र उपाय चाहिन्छ भाइ...। स्वर विलुप्त भयो । विलुप्त हुनाको कारण कुनै कर्कश स्वर हुनसक्छ । यस स्वरमा उसको अथाह पीडा प्रतिबिम्बित हुने गथ्र्यो ।

-हैन, के गरिरहेको ?

-छोरोलाई स्कुलमा पुर्‍याएर आऊ ।

-भात कहिले खाने ?

-बेकारीलाई भात होइन, हावा भए पुग्छ, होइन ?

-कामधाम नभएको पुरुष भएपछि लाछी हुनुसिवाय अरू केही हुँदैन ।

अब यथार्थ अर्थात् मायिक जालो

यथार्थतः प्रत्येक युगमा, प्रत्येक समयमा, प्रत्येक तन्त्रमा पीडित, शासित र शोषित कोही हुन्छ भने त्यो नागरिक नै हो, नागरिक जति नै दक्ष होस् । यस्तै प्रकरण उसमाथि प्रत्यारोप भएको थियो । ऊ सम्पूर्ण मनोरञ्जनयुक्त मासिक भनेजस्तै खालको पारिवारिक थियो । परिवारमा केके वाक्य, वाक्यांश आरोपित हुने गर्छ, त्यो माथिका दृश्यदृश्यांश वा अन्य कुनै फेमिली ड्रामा सोचपछि स्वतः थाहा लाग्न सक्थ्यो तर उसका सन्दर्भमा पनि चारैतिरबाट ऊ एक्लो र निरीह हुनको भावले ग्रसित थियो । काम प्रशस्त थियो देशमा तर उसका लागि रोजगारी थिएन । नेताहरू प्रशस्त थिए परिचित तर उसका लागि सहयोगी थिएनन् । सान्त्वनाहरू अनेक थिए, उपयुक्त कुनै थिएनन् । त्यसमाथि ऊ बेलाबेला विद्रुप आवरण बोकेर हिँड्ने गर्दा आख्यान, कथा, कवितामा मात्र होइन, देशैमा पनि उसबारे मिथक, प्रतीक, व्यङ्ग्य निर्माण हुने नै भयो । फलतः सबभन्दा पहिला जुन सत्ताका लागि उसले भर गर्‍यो, त्यसैले उसमाथि 'युज एन्ड थ्रो' को घन ठोक्यो र उसको टाउको चरक्क चक्र्यो । जति पनि अग्रज थिए उसले आदर गर्ने, ती सबैमा केहीले उसको अयोग्यताबारे नै प्रवचन र अलङ्कार निर्माण गर्न कलम खोप्यो र उसको आँखा दुख्यो । बेलाबेला जुनजुन मित्रलाई उसले सहयोग गर्ने गथ्र्यो, तीती मित्रहरूले उसबारे लाञ्छनाको हतियार लिएर उसको वाणीमाथि प्रहार गरे र उसको जिब्रो लाटो भयो । एवं रीतले आफन्तहरूको असहयोग आन्दोलनले उसमाथि जुन दङ्गा गर्‍यो, त्यसले उसका हातखुट्टा व्यर्थका बने । फलतः निष्कर्ष बन्यो-देश एउटा प्रेतखोर । अग्रजहरू व्यङ्ग्यनिर्माता । मित्रहरू हतियारी दैत्य । आफन्तहरू राहुकेतु । यी सबै प्रपञ्ची मायिक जालमा ऊ यस्तरी पर्‍यो, फस्यो र तड्पियो, जसबाट ऊ मान्छे होइन, कुन्नि के बन्यो अनि त्यसपछि के भयो ? समापन ?

निष्कर्ष ? अन्त्य ?

निष्कर्षको अर्थ अर्थात् यो केही होइन

मान्छे वा प्रेतका रूपमा यतिबेला त्यो थियो । जुनरूपमा त्यो विचेत थियो, त्यसबारे व्याख्यान वा आख्यान, उपमा वा गरिमा केही पनि नभनी यो कुनै पनि कथाको समापन होइन, निष्कर्ष पनि होइन भन्दा बेस हुन सक्थ्यो किनभने यो हो के भने एक सामान्य नागरिकको मृत्यु कसरी भयो भन्ने यथार्थ मात्र हो, जसलाई अतिरञ्जनापूर्ण खबर नबनाई अभिधामा वर्णन गर्दा यति गरे पुग्छ । एकादेशमा होइन, यही देशको कुनै ठाउँमा एउटा मान्छे थियो । त्यस मान्छेको मृत्यु भयो । मृत्यु जसरी भयो, देख्ता बीभत्स होइन, दयनीय लाग्दथ्यो र त्यो मान्छे यसै मुलुकका नागरिक भएकाले यस मुलुकको प्रत्येक स्वतन्त्रता र अहिलेको लोकतन्त्रमाथि पूर्ण विश्वास गथ्र्यो तर त्यही मुलुक र लोकतन्त्र भने त्यसमाथि विश्वास गथ्र्यो वा गर्थेन, यो भने साँच्चै थाहा भएन । हो, यसपछि दुई कुरा त्यसबारे चाहिँ देखा पर्‍यो, के ?

हल्ला अर्थात् अन्योलयुक्त खबर

छापाहरूमा छापहरू भटाभट देखिए, यसरी-

-सङ्घीय गणतान्त्रिक मृत्यु-

काठ.०६५।५।२५-आज एउटा अनौठो घटना भयो । एक व्यक्तिको अनौठो पाराले मृत्यु भयो । उनको शरीरका अवयवहरूको स्थिति देख्ता यस्तो मृत्यु विश्वको नभए पनि यस देशका लागि पहिलो र अनौठोको मृत्यु भयो । यस मृत्युको गणतान्त्रिक अनुसन्धान गर्न जाँचबुझ आयोग गठन सरकारी रूपमा गरिने भएको छ । कतै यो मृत्यु रोगको कारण त होइन ? रोगै हो भने प्रत्येक नागरिक यस्तो रोगबाट बच्नुपर्छ । रोग होइन, मृत्यु हो भने यो कस्तो खाले अज्ञात मृत्यु हो ?

समकालीन यथार्थ अर्थात् हास्यास्पद सत्य

यस्तो अस्वाभाविक मृत्युले देशमा मात्र होइन, विदेशतिर पनि औत्सुक्यको खैलाबैला गरिदियो । फलतः भोलिपल्ट शवको परीक्षण सरकारी रूपमा गरियो । देश-विदेशका विज्ञ, महाविज्ञहरूले जाँचे मान्छे बेरोजगार थियो, यो त थाहा भयो, तर मृत्यु कसरी भयो, यो भने थाहा भएन । कुनै ठोस प्रमाण खट्टएिन अचम्मको अज्ञात मृत्यु । अन्ततः केही नलागेर 'डेथ मिर्‍याकल' भनेर निष्कर्ष बन्यो । त्यसपछि सरकारी घोषणा भयो-यस महामृतकले जुन अनौठो खाले मृत्यु प्राप्त गर्‍यो, त्यस प्रापकका परिवारलाई सान्त्वनास्वरूप मासिक दस हजारको भत्ता दिने निर्णय गरिन्छ, किनभने यस्ता खाले मृत्यु यस संसारमा कतै कसैलाई प्राप्त भएको छैन र जसबाट यस मृत्युले साँच्चै विश्वभरि अनुसन्धानमूलक चर्चामा पुर्‍याइदियो यस मुलुकलाई । अब यो देश सगरमाथाले मात्र होइन, महामृत्युको चर्चाले मात्र होइन, महामृत्युको चर्चाले पनि चर्चित हुनेछ...।
(Madhuparka Monthly)

Segments: 

Comments