चोभारमा वसन्त कविता

काठमाडौ, वैशाख ११/

कोइली सोध्छ को हुन् ?
म भन्छु- मेरा मित्र कविहरू
कोइली सोध्छ के गर्छन् ?
म भन्छु- तिमीजस्तै गाउँछन्

जगदीश घिमिरेले कविताका यी पंक्तिहरू वाचन गरिहेका बेला चोभारगेट आसपासको जंगलमा साँच्चिकै कोइली कराइरहेको थियो । वसन्त लागेको आभाष मिलिरहेको बेला वसन्तकै कविता भन्न दुई दर्जन कविहरू भेला भएका थिए, जगदीश निवासमा । प्रायः सबैले वसन्त, खुसी, प्रेम र जीवनसँग जोडिएका रमाइला सन्दर्भहरूका रचना वाचन गरे ।

विश्व पुस्तक दिवसको अवसर पारी साहित्यकार घिमिरेले 'वसन्त कविता उत्सव' आयोजना गरेका थिए, कालीप्रसाद रिजाल, मञ्जुल, सुस्मिता नेपाल, गीता त्रिपाठी, ज्ञानुवाकर पौडेल, रमण घिमिरे, श्रीओम श्रेष्ठ रोदन, दुर्गा घिमिरे, सुलोचना मानन्धर, सनतकुमार वस्ती, डा. रवीन्द्र समीर, शीतल कादम्बिनी, नवराज लम्साल, प्रकाश सायमीलगायतले कविता र गजल सुनाए । कमलमणि दीक्षित कार्यक्रमको रोचक पात्र बनेका थिए । उनले कविता र गजलको सट्टा 'राजमती कुमति...' नेवारी गीत सुनाएर माहौल रमाइलो पारेका थिए ।

कार्यक्रममा अन्त्यतिर सनतकुमारले हार्मोनियम रेट्दै प्रेम-प्रणय सम्बन्धी तीनवटा गजल गाएर सुनाए । उनको गायन र शब्द लेखनको सबैले प्रशंसा गरे ।

दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म चलेको कार्यक्रम शीतल कादम्बिनका दुइटा प्रणय गजलबाट बिट मारिएको थियो । 'पुस्तक दिवस हामीकहाँ संस्कृतिको रूपमा विकास हुन सकेको छैन,' जगदीशले भने, 'त्यही संस्कृति विकास गराउन साहित्यिक जमघट गरें ।'

उनले विश्व पुस्तक दिवसको रोचक र ऐतिहासिक प्रसंग पनि कोट्याए । स्पेनमा प्रेमी-प्रेमिकाबीच गुलाफको फूलसँगै किताब दिएर सुरु भएको यो दिवस अहिले विश्वव्यापी मनाइन्छ । 'यो दिवसको दिन त्यहाँ (स्पेन) १७ औं शताब्दीका लेखक म्याग्वेल डे कारभेनटस्को कृति 'डन किओटे' पढ्ेर 'म्याराथन रिडिङ' नै गरिँदो रहेछ,' उनले भने, 'हाम्रोमा पनि कुनै ख्यातिप्राप्त लेखकको कृति पढ्ने संस्कृति विकास गर्न पाए हुन्थ्यो ।' कार्यक्रम उत्साहजनक रहेको दाबी गर्दै जगदीशले यसलाई निरन्तरता दिनेबारे पनि योजना भइरहेको सुनाए ।

(Source: Kantipur Daily)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom