छेपारो / एन्टोन चेखब

अनुवाद :  देव 'अञ्जान शाह'
नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य... भोका मानिसहरुलेझैं वरिपरिका पसल र भट्टीका खुला ढोकाहरुले ईश्वरीय श्रृष्टिलाई उदास नजर लगाइरहेका थिए, यतिसम्मकी आसपास कोहि मगन्ते समेत देखा परिरहेको थिएन।

“अरे, तँ मलाई टोक्ने! तँलाइ शैतान” अचानक ओचुमेलोभको कानमा एउटा आवाज गुञ्जियो, “लौ केटा हो, यसलाई पक्र। फुत्किन नपाओस है। आजकल टोकाइ प्रतिवन्धित छ। यसलाई समाउ, आह... ओह!”

कुकुरको कुइँकुइँ आवाज समेत सुनियो। ओचुमेलोभले फर्कि हेर्दा व्यापारी पिचुगिनको दाउराघर तिरबाट एउटा कुकर तीन खुट्टाको भरमा उफ्रिँदै भागिरहेको देख्यो। च्यातिएको सुतीको सर्ट लगाइ कोटको बटन खुल्ला छोडेको एउटा मान्छे कुकुरलाई पछ्याउँदै थियो। ऊ कुकुरमाथि झम्टियो र ढुल्मुलिँदै भएपनि कुकुरको पछिल्लो खुट्टा समात्यो। एकपटक फेरि कुकुरको कुइँकुइँ आवाज अनि उसको 'भाग्न नपाओस्' भन्ने चेतावनी दोहोरियो। निद्रामा उघिँरहेका मानिसहरु पसलबाट टाउको निकाली चियाउन थाले र हेर्दा हेर्दै एकैछिनमा दाउराघरको आँगनभर मानिसहरुको भीड जम्मा हुन पुग्यो, मानौं जमीन च्यातिएर निक्लिएका होउन।

“त्यहाँ त झगडा भएजस्तो छ हजुर” सहयोगी प्रहरीले भन्यो।

बायाँ माडिदै ओचुमेलोभ पनि भीडतर्फ हानियो। उसले देख्यो, कोटको बटन खुला छोडेको त्यही मानिस दाउराघरको ढोकामा उभिएर रगत बगिरहेको आफ्नो दाहिने औंला भीडलाई देखाइरहेछ। रक्सीले मत्याएको उसको मुहारमा हर्जना असुलीको स्पष्ट भाव अनि रक्ताम्य औंलामा जीतको झ48डा ठडिएको प्रतीत हुन्थ्यो। ओचुमेलोभले त्यस व्यक्तिलाई चिन्यो, ऊ सुनार रुकिन थियो। भीडको बीचभागमा अग्ला खुट्टाहरु फैलाएर शिरदेखि पाउसम्म काँपिरहेको ढाडमा पँहेलो दागयुक्त अपराधी सेतो कुकुर बसिरहेको थियो। आँशुले भरिएको उसका आँखामा पीडा अनि डरको प्रष्ट छाप देखिन्थ्यो।

“यो के हंगामा मच्चाइरहेको यहाँ?” आफ्नो काँधले भीडलाई चिर्दै ओचुमेलोभले सोध्यो, “यो औंला किन ठड्याइ राखेको? को चिच्याइरहेको थियो हँ?”

“हजर, कसैलाई कुनै अप्ठ्यारो नपारी म आफ्नो बाटो हिँड्दै थिएँ।” रुकिनले मुखमा हात राखी खोक्दै भन्यो, “मित्री मित्रिचसंग दाउरा सम्बन्धमा एउटा काम गर्न जाँदा एकाएक बिनाकारण यो बदमास कुकुरले मेरो औंला टोकिदियो... हजुर माफ गर्नुहोला, म कामकाजी मान्छे हुँ... अनि मेरो काम सुन्दर छ। तर अब एक हप्तासम्म मेरो औंलाले काम गर्न नसक्ने हुँदा क्षतिपुर्ति दिलाइपाउँ। जनावरबाट हुने ज्यादती चुपचाप सहनुपर्छ भनि कहीँ कुनै कानुनमा लेखिएको छैन... यदि सबैलाई यसरी नै टोक्दै हिँड्न थाले भने जीवन मुल्यहीन बन्नेछ।”

“हँ, धेरै राम्रो!” हल्का खोक्दै आँखीभौं उठाएर ओचुमेलोभ बोल्यो, “धेरै राम्रो। कसको कुकुर हो यो? म यो मामिला यत्तिकैमा खत्तम गर्दिनँ। कुकुरलाई छाडा छोडेको अभियोगमा म यिनीहरुलाई मजा चखाउनेछु। जो मानिसहरु कानुन बमोजिम चल्दैनन्, उनीहरुसामु कडाइका साथ प्रस्तुत हुनैपर्छ। म यस्तो जरिवाना ठोक्नेछु कि बाउको बिहे देख्नेछन्। बदमासहरु... मैले राम्ररी सिकाइ दिनेछु कुकुरलाई यसरी छाडनुको मतलब के हुन्छ... एल्द्रीन,” प्रहरीलाई सम्बोधन गर्दै नीरिक्षक चिच्यायो, “पत्ता लगाऊ कि यो कुकुर कसको हो अनि रिपोर्ट तयार गर। कुकुरलाई तुरुन्तै मार्न लगाऊ, सायद यो बहुलाइसकेको छ ... म फेरि सोध्छु, यो कसको कुकुर हो?”

“सायद जनरल जिगालोभको।” भीडबाट कोहि बोल्यो।

“जनरल जिगालोभको? हँ... एल्द्रीन, मेरो कोट फुकाल्न मद्दत गर त... गर्मी निकै चढेछ। लाग्छ, छिट्टै झरी पर्नेवाला छ। अँ, एउटा कुरा मैले बुझ्न सकिनँ नि, यसले तिमीलाई टोक्यो कसरी?” ओचुलेलोभ रुकिनतर्फ फर्कि बोल्यो, “यति सानो र होचो कुकुर तिमीजस्तो बडेमाको अग्लो मान्छेको औंलासम्म कसरी पुग्न सक्छ? कुनै किलाकाँटीले पारेको घाउको हर्जना असुल्न यो कुकुरलाई उपयोग गर्ने विचार गरेको हैनौं तिमीले? तिमीजस्ता बदमासको नशानशा बुझ्दछु म।”

“ठट्टा गर्दै यसले आफ्नो चुरोट कुकुरको मुखमा कोचिदिएको थियो। कुकुर बेवकुफ त थिएन, त्यसले पनि टोकिदियो... यो मान्छे नै मूर्ख हो हजुर”

“बिल्कुल झुठ। जो तिमीले देखेका छैनौं, सो को गलत बयान नगर। सरकार आफैमा समझदार हुनुहुन्छ, उहाँलाई थाहा छ झुठ कसले बोल्दैछ अनि कसले साँचो। यदि म झुठ बोल्दैछु भने अदालतले छिनोफानो गरोस्, कानुनले यसै भन्छ। अर्को कुरा, मेरो भाई पनि प्रहरीमै छ, भनिदिएँ मैले...”

“बन्द गर यो बकवास”

“होइन, यो जनरल साहेवको कुकुर होइन” सहयोगी प्रहरीले गम्भीरताका साथ भन्यो, “उहाँसंग शिकारी नश्ल बाहेक यस्तो खालको कुनै कुकुर छैन।”

“के तिमी निश्चित छौ?”

“हजुर साहेव”

“मलाई पनि थाहा छ, जनरल साहेवका कुकुरहरु सबै राम्रा प्रजातीका मात्रै छन्। हरेकजसो महँगा कुकुरहरु पाल्नुभएको छ उहाँले। तर यो कुकुर त अति कमसल खालको छ। कसले पालोस् यस्ता घटिया कुकुरहरु? सायद तिमीहरु जान्दैनौं, मस्को वा पिटर्सवर्गमा यस्ता कुकुरहरु देखा परेभने कानुनको कुनै परवाह नगरी तुरुन्तै खत्तम पारिन्छ। अँ त रुकिन, तिमीलाई चोट लागेको छ। यो मामिलालाई यत्तिकैमा नरोक... यस्ता मान्छेलाई मजा चखाउनै पर्छ। यसरी काम चल्दैन।”

“तर हुनसक्छ यो कुकुर जनरल साहेवकै होस्” प्रहरीले भन्यो, “कसैको निधारमा लेखिएको त हुँदैन नि। यस्तै खालको एउटा कुकुर हिँजो मैले उहाँको आँगनमा देखेको थिएँ।”

“हो त, यो जनरल साहेवकै कुकुर हो।” भीडबाट कोहि बोल्यो।

“हँ एल्द्रीन, मलाई कोट लगाउन मद्दत गर त। हावाको झोंक्काले मलाई ठण्डी लागेको जस्तो छ। कुकुरलाई जनरल साहेवकोमा लैजाऊ र पत्ता लगाऊ। भन्नु सडकमा भेट्टाएकोले यसलाई मैले फिर्ता पठाएको हुँ। अनि यो पनि भन्नु कि यसलाई यसरी सडकमा निक्लन नदिइयोस्... यस्तो मुल्यवान कुकुरको मुखमा मूर्खहरुले चुरोट घचेट्न थालेभने छिट्टै मर्न बेर छैन। कुकुर साह्रै नाजुक जनावर पो हो त... अनि तँ मूर्ख आफ्नो हात तल राख। बडो औंला देखाउँदो रहेछस्, सबै तेरै गल्ती हो...”

“हेर, जनरल साहेेवका हलुवाई यतै आउँदै हुनुहुन्छ। उहाँसंग सोधौं न... ए प्रोहोर, कृपया यता आउनुहोस् त। यो कुकुरलाई हेर्नुहोस्, के यो तपाईंहरुको हो?”

“अहो! यस्तो खाले कुकुर त हामीकहाँ कहिल्यै थिएन।”

“यसमा सोध्नुपर्ने केहि थिएन, केवल समयको बर्वादी मात्रै।” ओचुमेलोभले भन्यो, “भुस्याहा कुकुरबारे यहाँ उभिएर कुरा गर्नु निरर्थक छ। मैले भनें नि यो भुस्याहा हो भनेर, यसलाई मार र काम सिध्याऊ...”

“यो हाम्रो कुकुर त होइन,” प्रोहोर फेरी बोल्यो, “यो जनरल साहेवको भाइको कुकुर हो। हाम्रा साहेवलाई यस्तो प्रजातीको कुकुरप्रति कुनै वास्ता छैन तर उहाँको भाइलाई यो नश्ल मनपर्छ।”

“खै त मलाई बताएको कि जनरल साहेवको भाई भ्लादिमिर इभानिच यहीँ हुनुहुन्छ?” ओचुमेलोभ खुसी हुँदै चम्कियो, “मलाई थाहै थिएन। के उहाँ घुम्न आउनुभएको हो?”

“हजुर।”

“हरे, उहाँ आफ्ना दाजुदाई भेट्न आउनु भएको रहेछ तर म भने बिल्कुल अनभिज्ञ। त्यसो भए यो उहाँको कुकुर हो? सुनेर खुसी लाग्यो... यसलाई लैजानुस्। कस्तो प्यारो सानो कुकुर। यसको औंलामा झम्टेछ, हा–हा–हा... ल आऊ, किन काँपिरहेको? गुर्र... गुर्र... लौ रिसाए जस्ता छन्... कति मायालाग्दो छाउरो।”

प्रोहोरले कुकुरलाई बोलायो अनि साथ लिएर दाउराघरको आँगनबाट हिँड्यो। भीड रुकिनप्रति हाँस्न थाल्यो।

“म तँलाई ठीक पारिदिन्छु।” ओचुमेलोभले रुकिनलाई धम्क्यायो अनि आफूलाई ओभरकोटमा लुकाउँदै बाटो ततायो।

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom