बूढो पीपलबोट र नयाँ पुस्ताको आगमन / नरेन्द्र परासर

Your rating: None Average: 3 (2 votes)

छेउछाउका ध्वाँसे रक्सीभट्टीबाट बाहिर निस्किँदा कहिलेकाहीँ आपसमा हिलो छ्यापाछ्याप गरे पनि पीपलबोटको फेदबाट स्रष्टाहरूले चर्को स्वरले शाही प्रज्ञा-प्रतिष्ठानको रंगरोेगनको स्वरूपलाई सदैव चुनौती दिइरहे

'अश्वत्थ सर्ववृक्षाणाम्' सम्पूर्ण वृक्षहरूमा म पीपल हुँ भनेर श्रीमद्भगवद् गीता -१०/२६) मा भगवान् श्रीकृष्ण दाबी गर्नुहुन्छ । समुद्र सतहदेखि १६०० मिटर उचाइसम्मको क्षेत्रमा पाइने पीपल वृक्षलाई भारतवर्षको स्थानीय (एन्डेमिक) प्रजाति मानिन्छ । छिटो बढ्ने, प्रशस्त छत्र -क्राउन) फैलावट हुने, लचकदार र टल्किने पातहरू, उबडखाबढ कान्ड आदिले गर्दा यस वृक्षको भौतिक स्वरूप आकर्षक मानिन्छ । साथै, यस वृक्षको औषधीय गुणवत्ताको कारणले पनि अनादिकालदेखि नै आयुर्वेदिक चिकित्सकहरूले यसको महिमा गाउँदै आएका छन् । पीपलको पात, बोक्रा, फल, बीउ, जरा, चोप आदिमा अनेकन जैविक रासायनिक तत्त्वहरू हुन्छन् र तिनीहरूलाई औषधिको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । अर्को महत्त्वपूर्ण कुरा के भने रातदिन निरन्तर प्राणवायु उत्सर्जन गर्ने भएकोले पनि पीपललाई एउटा रहस्यमय वृक्षको रूपमा लिइन्छ । यस अर्थमा भगवान् कृष्णको 'अश्वत्थ सर्ववृक्षाणम्' भन्ने दाबीलाई अर्थपूर्ण मात्र होइन, वैज्ञानिकतामा आधारित नै मान्नुपर्छ । अर्कातिर भगवान् गौतमबुद्धले पनि यही वृक्षको फेदमा आजभन्दा छब्बीस सय वर्षअघि नै निर्वाण प्राप्त गर्नुभएको थियो । कुनै पनि वृक्षहरूको छेउमा बस्न पाउनु सबै मानिसका लागि सुखद र आनन्ददायी कुरा हुँदै हो । तर, पीपलवृक्षको सान्निध्य पाउनु भनेको थप केही रहस्यमय र गुणकारी पनि हो भन्नेे कुरा उपर्युक्त तथ्यहरूले उजागर गरेका छन् ।

नेपाली साहित्यिक जगत्मा पनि पीपलको ठूलो भूमिका रहिआएको छ । न्युरोडमा जुद्धशमशेरको सालिक मात्र छैन, त्यहाँ यही गुणकारी वृक्ष पीपल पनि आफ्नो सम्पूर्ण परोपकारी उदात्त भावनासँगै निकै लामो समयदेखि जस्ताको तस्तै शोभायमान छ । शायद यही कारणले होला मीनभवनको खरीबोट छोडेर कवि, लेखक, गायक, नेता, पत्रकार, बुद्धिजीवी, व्यापारीहरू न्युरोडको पीपलबोटमा भेला हुन थाले । वास्तवमा न्युरोडको पीपलबोटले बीसको उत्तरार्धदेखि नै मानसिक श्रम गर्नेहरूलाई निरन्तर आमन्त्रण मात्र गरेन बरु कालजयी सिर्जनाहरू गर्न प्रेरित पनि गरिरह्यो । हामीलाई थाहा छ- धेरै साहित्यकारले पीपलबोटको चौतारीमा रमाएका क्षणहरूको आल्हादकारी आनन्दको अनुभव संगालेका छन् । यही पीपलबोट हो जसले अनेकखालका साहित्यिक आन्दोलनहरूको उठान गर्नसमेत उत्प्रेरणा प्रदान गरिरह्यो । यही पीपलबोटको फेदमा हाम्रा अग्रज लेखक-साहित्यकारहरूले आपसमा हृदय साटासाट गरेर पवित्र प्रेम गरे । खुल्ला हृदयले अनेकौँ साहित्यिक विचार र वादहरूमाथि धीत मर्नेगरी बहस र छलफल गरे । छेउछाउका ध्वाँसे रक्सीभट्टीबाट बाहिर निस्किँदा कहिलेकाहीँ आपसमा हिलो छ्यापाछ्याप गरे पनि समान उद्देश्यका लागि एक भए । खुला आकाशमुनि चर्को स्वरले शाही प्रज्ञा-प्रतिष्ठानको रंगरोेगनको स्वरूपलाई सदैव चुनौती दिइरहे । वास्तवमा यही पीपलबोटको फेदबाट दर्जनाँै कालजयी पुस्तक नेपाली साहित्यले पायो । यसर्थ म यस पीपलबोटलाई सदैव सम्मान गर्छु । कदाचित् न्युरोड पुग्दा म यसको फेदमा क्षणभर उभिन्छु र यसभित्र रहेको ऐतिहासिक योगदानको धरोहरलाई सम्भिएर नतमस्तक हुन्छु । लेखनाथ पौडेलको तरुणतपसीझैँ एकतमासले एउटा लामो इतिहासको साक्षी बनेको पीपलबोट हेर्दा मभित्र अनेकौँ भावहरू प्रतिध्वनित भएर आएको महसुस हुन्छ । मलाई के लाग्छ भने अग्रजहरूलेे खाइखेली गरेको थलो भनेको एकप्रकारले हृदयलाई अविश्वसनीय रूपले ऊर्जासम्पन्न बनाउने पवित्र तीर्थ पनि हो ।

तर, समय सधैँभरि एकनासको रहने कुरा सत्य होइन र त्यसो भयो भने संसार नरमाइलो हुने कुरामा कुनै शंका रहन्न । कुनैवेला वाल्मीकि रामायण नेपालीमा उल्था हुँदामात्र पनि गर्व गर्नुपर्ने अवस्था थियो भने आज समयले धेरै कोल्टे फेरिसकेको छ । विश्वमा तीव्रगतिले भएको सञ्चार र यातायातको विकासमा नयाँ पुस्ताको सहज पहुँच र त्यसले निम्त्याएको प्रभावको कारणसमेतको कटु प्रहारले पनि हुनसक्छ पीपलबोटले आफ्नो पुरानो जवानी कायम राख्न सकेन । र, आजभोलि पीपलबोट एकप्रकारले थकित, दमित, त्रसित र भयभीत भएर झोक्राएको हो कि झैँ देखिन्छ । उक्त पीपलबोटलाई शान्त भएर अवलोकन गर्दा वास्तवमै त्यसले आफ्नो पुरानो आभा र लावण्य गुमाएको प्रतीत हुन्छ र हृदयमा एकप्रकारको अनौठो तिक्तता र खल्लोपनले घोच्ने गर्दछ ।

नयाँ पुस्ता आज निकै फरक र आक्रामक ढंगले प्रस्तुत हुन खोजिरहेको अवस्थामा र पीपलबोटको फेदमा बाँधिएका काँचा धागाहरूजस्तै लामो गोलचक्कर देखेर ऊ त्यसबाट टाढिन खोजेको छ । परम्परावादी ढर्राबाट एक कदम पनि अगाडि जान नचाहने र फरक ढंगको सोचलाई निषेध गर्ने वा आफ्नै मात्र सनाही बजाएर बस्ने आरोप पीपलबोटले खेपेको छ । उक्त आरोपमा सत्यको मात्रा जति होस्, आजभोलि युवाहरूले अलगअलग शैली र स्वरूपमा नयाँ चौतारीहरू बनाउने जमर्को गरेको कुरा भने सत्य हो । रेस्टुराँहरूमा होस् वा त्रिविको चौर वा अरू कुनाकाप्चाहरू नै किन नहुन्, तिनले नयाँ ठाउँबाट नयाँ सम्भावनाको खोजी गर्ने चर्को लालसा प्रकट गरिरहेका छन् ।

बूढो हुनु जीवनको नियम हो र पीपलबोट बूढो हुँदै गएको कुरा सत्य हो । फरक युग र नयाँ परिवेशको अलग आवश्यकता र बोधलाई सम्बोधन गर्न नयाँ विचार र फरक शैली अपनाउनु अपरिहार्य छ । नयाँ पुस्ताले भोग्दै गरेको वर्तमान समयको त्रासदी र दबाबलाई उजागर गर्न नयाँ पुस्ता मात्र सक्षम हुन्छ । आजको भागदौडको दुनियाँमा नयाँ पुस्ता एकाएक सबै प्रकारका सीमा र बन्धनलाई तोड्न चाहन्छ । यही भएर होला बजारमा आजभोलि नयाँ पुस्ता नै सशक्त रूपले हाबी भएर आएको छ । नयाँ पुस्ता जसरी नयाँ कुनाबाट नयाँ रूपरेखामा अगाडि आएको छ, यसले नेपाली साहित्यलाई छिट्टै नै अन्तर्राष्ट्रिय पहिचानको दायराभित्र छिराउन सफल हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । परम्परावादी धीमा र रुन्चे रचनाशैलीले नेपाली साहित्यलाई पुरानै गोलचक्करमा घुमाउँदै आफ्ना घरेलु पाठकहरूलाई बाध्यात्मक रूपले पुस्तक किन्न त लगाउला तर त्यसले नेपाली सीमा नाघ्न सक्दैन । सूचनासम्पन्न नयाँ पुस्ताको मनोकांक्षा र मनोविज्ञानलाई आज सहरका ठूला होटलदेखि लिएर कुनाकाप्चा र कन्दराहरूका छेउछाउमा हुने साहित्यिक कार्यक्रमहरूले उजागर गर्दै आएको भावनालाई बेवास्ता गरेर सहजै पन्छाउन सकिन्न । जुनसुकै वाद र विचारधारामा आस्था राख्ने भए पनि नयाँपन खोजिरहेको समयलाई पुरानै ढाँचा र ढर्राले अब थेग्ने सम्भावना छैन । यही कारणले हाम्रो समाजमा रहेका अतुलनीय लेखकीय खजानाहरूलाई नयाँ पुस्ताले दिनानुदिन नयाँ र फरक ढंगबाट खोजेर बाहिर ल्याउने जमर्को गरिरहेको छ ।

ल्याटिन अमेरिकी देशहरूका साहित्यकारहरूले मातृभाषामै लेखेर संसारभरि नै आफ्नो उपस्थितिलाई सुदृढ गर्न सक्छन् भने नेपाली साहित्यकारहरूले पनि आफ्नो क्षमतामा विश्वास गर्न सक्नुपर्छ । र, त्यस दिशामा प्रस्थान गर्न आफूलाई तयार पार्नु आवश्यक छ । यसका लागि नेपाली रचना उल्था गर्ने र वितरण गर्ने प्रक्रियामा केही महत्त्वपूर्ण थालनीका सुखद खबरहरू आएका छन् र नेपाली लेखकहरूले अब आफ्नो चैतन्य र बोधलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा लैजानु छ भन्ने भावना बनाएर नै लेख्ने जमर्को गर्नुपर्छ । राम्रा रचनाहरू पस्किन सक्ने हो भने विश्वबजारमा माक्र्सवादी वा गैरमाक्र्सवादी कुनै पनि प्रकारका रचनाहरूको माग घटेको देखिँदैन । अंग्रेजी नजान्नेले लेखेको रचना अन्तर्राष्ट्रियस्तरको हुन सक्दैन कि भन्ने भावना लेखकहरूले हटाउनुपर्छ । चिज सही भयो भने संसारका कुनै पनि भाषामा उल्था गर्न अब कठिन छैन, भला त्यसका लागि केही परिश्रम गर्नु किन नपरोस् ।

मञ्जुश्री थापा (काठमाडौं), युग पाठक (हेटौंडा), दीपक सापकोटा (सिन्धुपाल्चोक), नयनराज पाण्डे (नेपालगञ्ज), मणि लोहनी (काठमाडौं), मनोज दाहाल (काठमाडौं), रोशन शेरचन (बाग्लुङ), बुद्धिसागर चपाई (कालिकोट), भूपिन व्याकुल (बाग्लुङ) लगायत बजारमा तत्काल नदेखिएका अन्य कैयौँ साधकले देखाएको वा देखाउने सम्भावनालाई स्वागत गर्दै आफ्नो सम्पूर्ण ऊर्जा र शक्तिले प्रकट हुन खोजिरहेको नयाँ पुस्तालाई पीपलबोटले खुला हृदयले स्वागत गर्नुपर्छ । अन्यथा पीपलबोट झनै उदास र कुण्ठित हुने कुरा निर्विवाद छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.