विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक / रमेश विकल

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए ।

उसको सुन्दर, आकर्षक व्यक्तित्वको विपरीत उसको भेषभूषा विचित्रको थियो । उसको सुपुष्ट, सुडौल देहयष्टीमा उसले स्कन्ध प्रदेशमा जङ्गली मत्ताहात्तीको छाला ओढेको थियो । कटी प्रदेशभन्दा तल घुँडासम्म आउने गरी बबर शेरको छालाको अधोवस्त्र धारण गरेको थियो । शिरमा पिङ्गल केशराशिको जटाजुट बाँधेको थियो र भाल प्रदेशमा एउटा जनावरको अर्धचन्द्राकार टुक्रा (चाँ) सिउरेको थियो, जुन उसले सागर तटको बगरमा विहार गर्दा भेटेको थियो ।

उसको शरीरमा आभूषण पनि विचित्र विचित्र थिए । उसले आफ्नो सुनौला जटाजुटलाई मरेको सर्पको डोरोले बाँधेको थियो । कानका कुण्डल सुपुष्ट नाडी पाखुरा, पिडौँलाका बाजुबन्द, कण्ठहार, कल्ली आदि आभूषण सबै मृत विषधरकै थिए । चौंडा वक्षस्थल -छाती) मा रुद्राक्ष जातिका दानाहरूका साथमा अरू जङ्गली फलका दानाका मालाहरू थिए । समग्रमा उसको भेषभूषा, श्रृङ्गार आभूषण विलक्षण नै थियो ।

उसको यस विचित्रको अर्धसिल्ली भेष देखेर मानिसहरू खास गरी केटाकेटी र किशोर कि किशोरीहरू -अपवाद रूपमा केही बूढापाका वयस्कहरू पनि) उसको पछि लागेका थिए । को हो यो अनौठो युवा शिकारी ? कहाँबाट आएको हो यो ? उनीहरू सबै जान्न उत्सुक तर अगाडि सरेर उससँग प्रश्न गर्न हिम्मत गर्दैथे ।

त्यसै बेला त्यस गाउँ -क्षेत्र)का वृद्ध राई -किराँती मुखिया) घुम्दैघुम्दै त्यहाँ आइपुगे । उनले पनि त्यस नौलो र तेजिलो युवक शिकारीलाई देखेर आफ्नो उत्सुकता दबाउन सकेनन् । उसको नजिकै गएर सोध्न थाले- "तिमी त यस भेगमा हिजो अस्ती कहिल्यै देखिएका थिएनौ ! तिम्रो थात थलो कुन हो ? आमाबाबु कुन वंशका हौ ? कसको गोठ -गोत्र)का हौ ? यस्तो विचित्रको भेषभूषामा छँटाहा

-सिल्लड) तालले किन हिँडेका हौ ?"

"मलाई थाहा छैन । घुम्दै फिर्दै, शिकार गर्दै त्यत्तिकै आइपुगेँ ।"- युवकले निर्लिप्त पारामा अबोध, अनुहारले भन्यो । वृद्ध किराँती राईले उसलाई आँखामा दयाको भाव भरेर भने- ''थात थलो थाहा छैन, जन्मेको तिथिमिति थाहा छैन, आमाबाबुको पत्तो छैन । कस्तो मान्छे हौ त तिमी ?''

"अहँ, मलाई केही थाहा छैन ।"- केटाले निर्बोध पाराले भन्यो । वास्तवमा उसलाई मात्र होइन त्यत्रो हिमाली भूमिदेखि तराईसम्म फैलिएको विशाल किराँत प्रवेशमा देव, दानव, मानव कसैलाई पनि थाहा थिएन- ऊ कसको छोरो हो । आमाबाबु को हुन् ! कहाँबाट आयो ? कसरी आयो ?

विशाल किराँत प्रदेशको सुदूर उत्तर हिमालयपारिको देवभूमिको एउटा सानो बस्ती निवासी एक जना देव जातिको पुरुषले नुहाउन जाँदा खोलाको बगरमा असहाय मिल्किएको नवजात शिशुलाई भेटेर आफ्नो संरक्षणमा लिएर आए । अनि त्यस बस्तीका अरू गृहस्थहरूले पनि असहाय टुहुरो बच्चो ठानेर मिलीजुली पालन पोषण गरेर हुर्काए ।

तर ऊ बाल्यकालमा प्रवेश गरेदेखि नै स्वच्छन्द प्रकृति र डुलुवा स्वभावको भएर निस्क्यो । ऊ सानैदेखि हातमा गुलेली -बाँसको धनुकाण) र त्रिशूल लिएर जनावरहरूको शिकार गर्दै हिँड्न थाल्यो । उसको न सुत्ने बस्ने बास -घर)कै टुङ्गो भयो न खाने लाउने गाँस र कपास -लुगा)को । जुन बेला जहाँ रात पर्‍यो दिगम्बरझैँ लडिदियो, अनि भोक लाग्दा जहाँ जे भेट्यो भक्ष अभक्ष, मीठो नमिठो केही नभनी खाइदियो ।

यसरी ऊ कहिले वनका घाँस पत्कर बिछ्यौना बनाएर लडिदिन्थ्यो कहिले नाङ्गो धर्ती र ढुङ्गाको चट्टानकै तकिया, डसना बनाएर पसि्रदिन्थ्यो । उसका लागि मखमलको डसना र बगरको गिर्खामा कुनै अन्तर थिएन । कहिले निद्रा लाग्यो भने खोलाको बगरमा मस्तसँग दिगम्बर बनेर लडिदिन्थ्यो र कहिले शमशानमा मूर्दा पोलेेको थुप्रोलाई नै बिछ्यौना तुल्याएर सुतिदिन्थ्यो । कुनै बेला हिमाली हावा बोकेको चिसो स्याँठको अनुभव हुँदा ऊ शमशानको खरानी जिउभरि घसेर आङ्गका रोमकूपहरू सबै टालेर न्यानोको अनुभव गथ्र्यो ।

यसै गरी विस्तार विस्तार उसको बाल्यकाल, किशोरावस्था थितेर गयो । अब उसलाई विस्तार विस्तार जवानीको रुमानी सपनाले कुत्कुत्याउन थाल्यो । अब ऊ विस्तार विस्तार

समवयस्क विपरीत लिङ्गी -आइमाई साथी)को चाहना गर्न थाल्यो । त्यसैले ऊ अब बगर, शमशान, पहरा पाखा छोडेर वन उपवन, उद्यानहरूमा भौँतारिन थाल्यो । त्यतिखेरका अभिजात वर्गका देव, दानव, मानव समाजका सुन्दरी किशोरी कन्याहरू आफ्ना सहेली सङ्गनिीहरूका साथमा क्रीडाकेली -मनोरञ्जन) गर्न त्यस्तै वन उपवन, उद्यान, सरोवर खोज्दै आउँथे ।

एक दिन त्यस्तै सुन्दरीहरूको विहारस्थलको खोजी गर्दै एउटा सुन्दर उपवनमा स्थित एउटा निर्मलजलयुक्त रमणीय सरोवरको नजिक पुग्यो । त्यस सरोवरमा नीलकमलहरू फुलिरहेका थिए र तिनमा भ्रमरहरू गुञ्जन गर्दै रस बटुल्दै घुमिरहेका थिए ।

त्यसै सरोवरको पल्लो किनारा नजिकै त्यहाँ त्यस क्षेत्रको राजा -प्रजापति) दक्षकी परम सुन्दरी कन्या राजकुमारी सती पनि आफ्ना सङ्गनिी-सहेलीसँग उन्मुक्त केली -क्रीडा) गरिरहेकी थिई । उनीहरूको उन्मुक्त हाँसो र पाउजुको झन्कारले शिवको मनलाई आकृष्ट गर्‍यो । ऊ उनीहरू तिरै जान बढ्यो ।

तर उसलाई ती एकभन्दा एक सुन्दरी, किशोर वयको सिँढी चढेर नवयौवनको सुन्दर वाटिकामा प्रवेश गर्न लागेका रमणी बालाहरूका सामु जाने आँट भएन । ऊ त्यहीँ नजिकैको एउटा कुञ्ज -झाडी) पछाडि लुकेर उनीहरूको फुट्तो सौन्दर्य, मुक्त हुन खोजिरहेको यौवन र उन्मुक्त क्रीडालाई मुग्ध आँखाले पिउन थाल्यो । नवयौवना सुन्दरीहरू माझ पनि एउटी पत्थरहरूको बीचमा आफ्नो विशिष्ट गरिमा लिएर चम्किरहेको कौस्तभमाणी... ...... समान सुन्दरीमा गएर उसका आँखा टाँस्सिएझैँ भए । ऊ सम्मोहितझैँ भएर मनमा नाना खालका भावना र सपना खेलाउन थाल्यो ।

कसरी ऊ आफ्नो सपना र भावनाको सन्देश त्यस सुन्दरीसम्म कसको हातबाट पुर्‍याऊँ ? भनेर छटपटिन थाल्यो । त्यसैबेला देव समाजको लोकपि्रय सन्देशबाहक -हुलाकी) ऋषि नारद घुम्दैघुम्दै त्यहाँ आइपुग्यो । ऊ एक घडी पनि एक ठाउँमा स्थिर भएर बस्न नसक्ने, डुलुवा छुस्के -दुई जना वा दुई पक्षका बीच विग्रह पारिदिने उसको चरित्रलाई लिएर लोकमा एउटा उक्ति नै चलेको छ- 'नारदजस्तो कुराउटे, छुस्के' यसरी ऊ सन्धी विग्रह दुवैमा निपुण थियो ।

अनि यसै परिप्रेक्ष्यमा ऊ वरवधुको जोडी मिलाउने लमी काम पनि गथ्र्यो । उसकै प्रयत्नबाट समाजमा कुनै गृहस्थकी विवाह योग्य कन्या छ र उपयुक्त वर मिलेको छैन वा वधुको प्रत्यासी केटो छ र उपयुक्त विवाह योग्य कन्या मिलेकी छन् भने नारदमुनिको शरणमा गएपछि त्यो काम फत्ते हुन्थ्यो । यसरी उसको प्रयत्नमा कैयौँ यस्ता जोडीको घरजम भएको थियो । त्यसैले धेरै गृहस्थहरू उसप्रति कृतज्ञ थिए ।

तर कति विवाह हुन ठीक भएका जोडीहरूको फाटो पनि भएको थियो, उसैको कारणबाट त्यसैले केही उसदेखि रुष्ठ पनि थिए तर त्यस्तो विग्रहको परिणाम अन्ततोगत्वा सामाजिक र यदाकदा व्यक्तिको हकमा सकारात्मक नै हुनपुग्थ्यो । त्यसैले यस्ता परिणामका उपभोक्ताहरू पनि उसको गुनै मान्थे ।

यस्तो बहुउपयोगी ऋषि नारदलाई टुप्लुक्क अगाडि देख्दा शिवको मनमा आफ्नो काम बन्ने विश्वास पलायो । अनि उसलाई सम्बोधन गर्दै अति प्रशन्नताको उद्गार व्यक्त गर्‍यो- ''अ हो मुनि नारद ! आज कस्तो सुखद संयोग जुरेको यो । कुशल मङ्गल त छ होइन ?"

"प्रभो ! जसमाथि हजुरजस्तो देवाधिदेव आशुतोष कल्याणस्वरूप शिवको कृपा दृष्टि छ त्यसको कुशलमङ्गल नहुने त कुरै भएन प्रभो !" नारदले शिवलाई 'देवाधिदेव' को अत्यन्त उच्च सम्मानको सम्बोधन गर्‍यो । यसो गर्नुमा ठूलो ऐतिहासिक पृष्ठभूमि छ ।

वास्तवमा शिवको जन्म, गोत्र, थात, थलो, माताका बारेमा कसैलाई केही थाहा थिएन । विशाल किराँत भूमिअन्तर्गतको सुदूर उत्तर हिमाली क्षेत्रको देवसमूहको एक जना सज्जन गृहस्थले एकदिन नदीमा नुहाउन जाँदा उसलाई सद्यजात शिशु -भर्खरै जन्मेको बालक) का रूपमा नदीको बगरमा असहाय, परित्यक्त अवस्थामा पाएर आफ्नो संरक्षणमा लिएर घर ल्याएको थियो । यी दुई देव दम्पतीले उसलाई उचित पालनपोषण गरेर हुर्काएका थिए र शिक्षादीक्षा दिएका थिए, संस्कार दिएका थिए ।

तर ऊ बाल्यकालदेखि नै स्वच्छन्द प्रकृतिको निस्कन्थ्यो । ऊ कुनै पनि किसिमको सामाजिक अनुशासनमा नबस्ने भयो- न व्यक्ति (पालनकर्ता आमबाबु)को न त समाजको ! ऊ जहाँ मन लाग्यो हिँडिदिने- न बस्ने ठेगान, न खाने सुत्ने नै । भोकको अनुभव भएपछि जहाँ जे भेट्यो त्यही खायो । मीठो नमिठो, भक्ष अभक्ष कुनै कुराको भेद नगर्ने ।

अनि सुत्न पनि जहाँ निद्रा लाग्यो त्यहीँ दिगम्बर लडेझैँ लडिदियो । कहिले ऊ जङ्गलको घाँस-पात-पतिङ्गरलाई नै बिछ्यौना बनाएर लडिदिन्थ्यो । कहिले नदीको बगरमा बालुवा-गिर्खालाई नै बिछ्यौना बनाएर मस्तसँग सुतिदिन्थ्यो । खाली धर्ती होस् वा पहराको चट्टान, उसको शरीरका लागि कुनै फरक पर्दैनथ्यो ।

शिव एउटा दुर्दान्त शिकारी भएर पनि ऊ निर्मम र संवेदनहीन थिएन । उसमा विशिष्ट मानवीय संवेदनशीलता र सम दृष्टि थियो । ऊ दुईथरि समूह वा दुई व्यक्तिबीचमा भएको झगडा अथवा द्वन्द्व, सङ्घर्षमा सदैव दुर्वल जनको पक्ष लिन्थ्यो । अनि दुष्ट, दुराचारी, अन्यायी, शोषक, दुराचारीलाई दमन गरेर निर्वलको बल दुर्वलको त्राता बन्थ्यो ।

ऊ वन जङ्गलमा गएर शिकार गर्दा पनि निरीह, निर्वल मृग जतिको शिकार -हत्या) गर्दैनथ्यो । उसका शिकार बडे बडे हिंस्रक जनावरहरू- बाघ, भालु, अर्ना, मत्ता हात्तीजस्ता साना, निरीह मृग जातिलाई मारेर आफ्नो उदरपूर्ति गर्नेलाई मात्र माथ्र्यो । यिनै हिंस्रक जनावरहरूलाई मारेर तिनैका छालाहरूले आफ्नो पूर्ण शरीर ढाक्थ्यो । त्यसैले त उसले जङ्गली हात्तीको छाला काँधमा उपर्ना -ओढ्ने)का रूपमा र हिंस्रक बाघको छाला कटी प्रवेशमा अधोवस्त्रका रूपमा धारण गरेको हुन्थ्यो । अनि विष धर साँपलाई मारेर तिनैको आभूषणमा सजाएको हुन्थ्यो ।

ऊ देव, दानव, मानव कसैमाथि पनि व्यक्तिगत अथवा सामूहिक सङ्कट पनि आयो भने र उनीहरू उसका शरणामा 'त्राहिमाम' हुँदै आए भने ऊ त्यो सम्पूर्ण शङ्कट आफ्नो उपर लिएर समग्र प्राणीजगत्लाई रक्षा गर्दथ्यो । यसको ज्वलन्त उदाहरण समुद्र मन्थनको त्राशदीपूर्ण घटना नै थियो ।

अग्निदेव, दानव र मानव तीनै समूह मिलेर अमृत प्राप्तिको उद्देश्यले समुद्र मन्थनको भव्य आयोजना गरे तर सागरको गर्भबाट अमृतभन्दा पहिले कालकुट विष निस्केर चराचर प्राणीजगत्लाई नै दग्ध गर्न थाल्यो । समस्त प्राणी मात्रमा हाहाकार मच्चियो । अरू कसैबाट त्राण पाउने नदेखेपछि समस्त देव, दानव, मानवसहित अरू इतर जातीय समूह त्राहिमाम ! त्राहिमाम ! भन्दै आखिर शिवकै शरणमा आए- "हे देवाधिदेव शिव ! हे आशुतोष शिव! समुद्र मन्थन यज्ञमा सागरको गर्भबाट निस्केको कालकुट हलहल विषले तीन त्रिलोक, चौधै भुवन -चराचर प्राणीजगत्) दग्ध गर्न थाल्यो । तिमीबाहेक हाम्रो रक्षा गर्न समर्थ कोही छैन । तिमी नै हाम्रा रक्षक तिमी नै हाम्रा तात्रा ! हामी सबै तिम्रो शरणमा आएका छौँ । त्राहिमाम ! त्राहिमाम । हाम्रो रक्षा गर !"

देव, दानव, मानव र समस्त प्राणीहरूको आफ्नै पुकारबाट द्रवित भएर शिवले त्यो अग्नि ज्वालाका लप्का बने र फैलिन थालेको हलाहल विषलाई आफ्नो शङ्खमा समेटेर पिइदियो । हुनत उसले प्रकृतिमा जडीबुटीका रूपमा पैदा भएका विष, भाङ, धतुरो र विषधर सर्पका विषजस्ता सामान्य विष त कति कति पचाएको थियो । यस्ता पदार्थ त उसका नित्य भोजनका रूपमा रहेका थिए तर यो हलाहल अत्यन्त कडा थियो उसले यसलाई पचाउन सकेन यसले अग्नि ज्वाला बनेर उसको अन्तर दग्ध गर्नथाल्यो ।

अनि उसले उल्टी गरेर त्यसलाई बाहिर ओकल्ने उपक्रम गर्‍यो तर त्यो बाहिर आएर फैलिन थाल्यो भने त झन् चराचरलाई दग्ध गर्नेछ । यो सोचले गर्दा उसले त्यसलाई आफ्नो कण्ठको माझमा रोकेर राख्यो ।

तर त्यसको अन्तर दहन, खप्न नसकी ढुनमुनिँदै उत्तर दिशा हिमालतिर लाग्यो । त्यहाँका हिमराशि पग्लिएर बनेका एक सय आठ कुण्ड (सरोवर)मध्ये एउटा कुण्डमा पसेर डुबेर सुत्यो । यसरी अत्यन्त कडा विषबाट जगत्को रक्षा गरेकोले उसलाई उत्तर हिमालयदेखि दक्षिण तराईसम्म फैलिएको विशाल किराँत प्रदेशका देव, दानव, मानव पक्ष गन्धर्व किन्नर पिशाच सबै समूहले उसलाई देवाधिदेव महादेवको उच्चतम पदवीका साथ सम्पूर्ण किराँत प्रदेशको शासक तुल्याएर राखे ।

अनि त्यो कालकूट विषलाई कण्ठमा धारण गरेर नीलो घाँटी भएकोले उसलाई नीलकण्ठ पनि भन्न थाले र जुन हिमाली कुण्डमा सुतेर उसले आफ्नो अन्तर डाह साम्य गर्‍यो त्यो कुण्ड 'गोसाइँकुण्ड' नाउँबाट लोकमा प्रख्यात भयो ।

त्यसैले उसलाई देखेर देवसमूहको ऋषि नारदले उसलाई अगाध श्रद्धाले देवाधिदेव शिव भनेर सम्बोधनका साथमा वन्धना गर्‍यो । शिवले पनि त्यस सर्वोपयोगी फक्कड ऋषिलाई आफ्नो अगाडि पाएर आफ्नो मनोकामना पूर्ण हुने आशा भरियो र उद्गार व्यक्त गर्‍यो- "ओ नारदजी ! आज यो अपूर्व संयोग भयो ! म तिमीलाई नै सम्भिmइरहेथेँ । यो तिमी नै त हौ ? कतै म भ्रममा त छैन ?"

"होइन प्रभो ! यो हजुरको अगाडि उभिएको म हजुरकै अकिञ्चन सेवक हुँ ।"- नारदले अत्यन्त भक्तिभावले निवेदन गर्‍यो । "तर प्रभो ! हजुरको कान्ति आज किन अलि मलीन देखिएको छ ? कतै यो पनि मेरो भ्रम त होइन ?"

"होइन, नारद ! तिमीले ठीक ठम्यायौ ! आज म अलि चिन्तित नै छु । आज मलाई एउटा समस्या परेको छ । "भनेर उसले अलि पर उद्यानमा साथी-सङ्गनिीहरूका माझ उन्मुक्त केली क्रीडामा तल्लीन अनिन्ध सुन्दरी प्रजापति दक्ष कन्या सतीतिर इङ्गति गर्दै सोध्यो- "यो सुन्दरी कन्या को हो ? कसको छोरी हो ? तिमीलाई त पक्कै थाहा होला किनभने तिमी त तीन त्रिलोक, चौध भुवनको एक-एक सूचना राख्छौ ! कसो ?"

"किन नचिन्नु ख्वामित ! यो त किराँत प्रदेशको यस क्षेत्रको एउटा सामान्य शासक -प्रजापति) दक्षकी कन्या सती हो । ऊ यस क्षेत्रको सम्पूर्ण देव, दानव, मानव समुदायका युवाहरूको मुटुको धुकधुकी भएकी छ ।"

अनि एकछिन अडेर गहिरोसँग शिवको अनुहारको भावलाई पढेर अलिअलि कटाक्षको मुस्कान ओठका कुनामा फैलाएर भन्यो- "के हो ? आज यत्रो देवाधिदेव योगी भएर पनि मन अलि विचलित भएझैँ छ नि ! कतै मनको काँडो उसको पछ्यौरीमा गएर अल्झेको त होइन ?

"ठीक ठम्यायौ तिमीले ।" -शिवले आँखामा अलि सङ्कोच भरेर स्वरमा अलिकति खुसामदको चिल्लो मिलाएर भन्यो- "पि्रय नारद ! तिमी त यस्तो कार्यमा निपुण मानिन्छौ । लौ न ! मेरो पनि एउटा कार्य गरिदेऊ । मेरो मनको भावना उससम्म पुर्‍याएर उसमा मेरो प्रणय निवेद लगिद्यौ । म तिम्रो आभारी हुनेछु । म उसलाई आफनी अर्धाङ्गनी तुल्याएर आफ्नो अधुरो जीवनलाई पूर्णता दिन चाहान्छु ।

"ए, किन नहुनु ख्वामित । यो त अत्यन्तै राम्रो कुरा हो ।"- नारदले भन्यो । अनि एकछिन अडिएर अलि हास्यपूट मिलाएर भन्यो- "हामी त अब सृष्टि प्रक्रिया नै बन्द हुने हो कि भनेर चिन्तित भएका थियौँ । शिवको पुत्रलेबाहेक अरू कसैले तेरो संहार गर्न सक्ने छैन भन्ने ब्रहृमदेवको आश्वासन पाएको त्रिपुरको मालिक दानव उन्मत्त भएर देवसमूहमाथि मन लागि थिचोमिचो गर्न थालेको थियो तर हजुरको यस अठोटले अब देव समाज आश्वस्त हुने भयो । अब म तत्काल दक्ष दरबार गएर उसकी छोरी सतीका हात हजुरका लागि माग्छु । यस्ता कुरा त चुट्कीमा फत्ते गरिहाल्छु ।"

नारद बडो दम्भ मिसिएको आत्मविश्वासाथ दक्ष दर्बारतिर लाग्यो । सानो एउटा प्रान्तको प्रजापति भए पनि दक्ष अत्यन्त अहङ्कारी थियो । नारदको प्रस्ताव सुन्नासाथ ऊ भड्कियो । उसले आफ्नो भृकुटी -आँखीभौं) खुम्च्याएर रातारात आँखाले नारदलाई भष्म गरौंलाझैँ गरी हेरेर कुल्र्यो- "तिमीले मेरी अनन्य सुन्दरी, बत्तीस लक्षणले युक्त छोरीका लागि "के कुरा गर्न आएका तिमी नारद ? तिमी बौलाउन त बौलाएनौ ? मेरा अरू छोरी एक से एक सुन्दर, लायक देवकुमारहरूलाई बिहा गरेर दिएको छु । छोरो नहुनाले सो एउटी जेठी छोरीलाई बुढेशकालको सहारा होली भनेर राखेको छु । त्यसको बिहाको प्रस्ताव लिएर आयौ तिमी त्यो पनि कस्तो पात्रका लागि ? नजन्मको ठेगान, न कुल गोत्रको, न त आमाबाबुकै ठेगान त्यस्तो एउटा वासस्थानसम्मको पनि ठेगान नभएको शमशानवासी, सर्वभक्षी अघोरीका लागि लौ तिमी तुरुन्त मेरा आँखा सामुबाट गैहाल नत्र .... । यति मात्र होइन, अरू पनि भन्नु नभन्नु भन्यो । त्यो सब सुन्न नसकेर नारद त्यहाँबाट गयो ।

तर नारदले दक्षबाट गरिएको शिवको घोर अपमान र आफूसितको त्यो तिरस्कारलाई चुनौतीका रूपमा लियो । सतीलाई कुनै पनि उपायले शिवकी पत्नी तुल्याएर दक्षको अहङ्कारलाई चूरचूर गर्ने दृढसङ्कल्प बोकेर हिँड्यो ।

ऊ त्यहाँबाट क्षीरसागर क्षेत्रको अधिपति अनन्त वैभव (लक्ष्मी)को एक मात्र मालिक, चतुर कूटनीतिज्ञ विष्णुकहाँ पुग्यो । त्यो देव योनीको कूटनीतिज्ञ अत्यन्त मृदुभाषी -महको चास्नीमा डुबाए जस्तै मीठो स्वर र विनम्र व्यवहारले गर्दा मोहनीरूप पनि भनिन्थ्यो ।) देवपुत्र के नर के नारी सबैलाई मोहित गराउँथ्यो र जस्तै बिग्रँदो काम पनि पट्याउँथ्यो ।

उसको यो गुणलाई कति त उसको छुत्र्याई र छलकपटपूर्ण इन्द्रजालका रूपमा पनि हेर्ने गर्थे । ऊ आफ्नो दुनो सोझ्याउन खुसामद -चापलुसी)को हदसम्म पनि ओर्लन सक्थ्यो । उसको यो चरित्र बुझेकाहरू पनि ऐन मौकामा उसको मोहनी वाणीमा लठ्ठइिहाल्थे र पछि थक्कथक्क हुन्थे ।

नारद ऋषि आफ्नो अभीष्ट साधनका लागि यही विष्णुको शरणमा पुग्यो । विष्णु स्वयं पनि शिवको आशुतोष -सरल र चाँडै नै प्रशन्न हुने स्वभाव) महा बलशाली भएर पनि कत्ति घमण्ड नभएको, देव, दानव, मानव कसैमा भेदभाव नराखी सदैव निर्धार्दुब्ला प्राणीको पक्ष लिएर दुष्टहरूको दमन गर्ने व्रत लिएको देवदानव सबैका एक नासले पूज्य व्यक्ति शिवप्रति श्रद्धा राख्थ्यो ।

नारदबाट शिवको सहायता गर्ने अनुरोध सुनेर ऊ तत्कालै तत्पर भएर दक्षको दर्बारमा पुग्यो । प्रजापति दक्षका सामु उसको जेठी छोरी सतीको हात माग्यो तर कसका लागि ? भन्ने कुरा चाहिँ रहस्यको गर्भमा राख्यो । उसले नितान्त कूट भाषा प्रयोग गरेर- "म त तपाइर्ंकी जेठी छोरी सुन्दरी सती विवाह योग्य भएकीले तपाईं उसका लािग सुयोग्य वरको खोजीमा हुनुहुन्छ भन्ने सुनेर आएको- वरको प्रस्ताव लिएर तपाईंले खोजेजस्तै सुयोग्य वरको प्रस्ताव लिएर !"

तर मूर्ख दक्षले यताउति केही नसोची यो प्रस्ताव विष्णुले आफ्नै लागि राखेको ठानेर तुरुन्त स्वीकार गर्‍यो । त्यत्रो विशाल सागर क्षेत्रको एक छत्र अधिपति, अपार वैभव -लक्ष्मी)को मालिक, त्यसमाथि एउटा कहलिएको कूटनीतिको महापण्डितले ऊ जस्तो एउटा सानो प्रान्तको अधिपति -प्रजापति)की छोरीसँग विवाह गर्न किन खोजेको

होला ? न सामाजिक हैसियत न आर्थिक र बौद्धिक र अरू कुनै हैसियतमै समकक्षी । यस प्रस्तावका पछाडि कुनै उसको कूट अभिसन्धि पनि त हुन सक्छ, भन्ने सोच्नै सकेन ।

"देव ! हजुरजस्तो यति महान् व्यक्तिसँग सम्बन्ध जोड्न पाए, मलाई अरू के चाहियो ? "के खोज्छस् काना आँखो ।" उत्तम मुहूर्त, शुभलग्न जुराएर वरियात लिएर पाल्नुहोला ।" दक्षले गद्गद् हुँदैभन्यो । विष्णुले अझै पनि वास्तविकतालाई ओठको कुनामा खेल्ने मुस्कानको रहस्यमै लुकाएर राख्यो र त्यहाँबाट आफ्नो स्थानमा फक्र्यो ।

अनि अक्षय तुतीयाको शुभसाइत पारेर बाजागाजा, रथ, घोडा, हात्ती, व्योमयानसहितको विशाल जुलुस -जन्ती) लिएर दक्ष-दरबारको विस्तृत प्राङ्गणमा सजाइएको भव्य विवाहमण्डपमा पुग्यो तर पूर्वयोजनाअनुसार उसले आफ्नो साथमा शिव र नारदलाई लान भुलेन ।

विवाहमण्डपमा बीचमा बाँसका लिङ्गा गाडेर बीचमा यज्ञकुण्ड बनाएर त्यसमा अग्नि प्रज्वलित गरिएको थियो । पाश्र्वमा र मध्य भागमा योग्य आशनहरूमा एकातिर ब्राहृमण -ऋषिहरू बसेर विवाहका मन्त्रोच्चारणका साथ हवि -घ्यू र चरुको आहुति होम) हालिरहेका थिए । अर्को पाश्र्वमा दक्षका आफ्ना नाता कुटुम्ब र परिजनका साथ स्वयं पत्नी विरणी बसेको थिइन् ।

अनि बीचको भागमा दुलहादुलहीका लागि भव्य आशन राखिएको थियो । विष्णु गएर यौटा आशनमा बस्यो । दायाँबायाँ वरवधु केही आशनमा वरवधुका अन्तरङ्ग साथीहरू र सङ्गनिी सहेलीहरूका लागि भनेर व्यवस्था गरिएको थियो । विष्णुले निकटमा शिव र नारदलाई बसायो । शिवलाई 'वर' को साथमा देखेर दक्षको भृकुटी टेढो भयो- यो देख्तैमा अघोरी, अशोभा शिवलाई यो विष्णुले आफ्नो साथैमा किन राख्यो ?"

तर उसले समयको नाजुकतालाई हेरेर र जन्तीको मर्यादाको ख्याल गरेर -अझ विष्णुको व्यक्तित्वको सामु बोल्ने विरोध गर्ने साहस नगरेर) चुप लाग्यो ।

सबैले स्थान ग्रहण गरिसकेपछि ब्राहृमणहरूले कन्यादानको मन्त्रोच्चारण गर्नथाले । दक्षले तिलकुशसहितको सतीको हात समातेर दुलहाको आशनमा बसेको विष्णुको हातमा दिन खोज्दा त्यहाँ एउटा चमत्कार भयो सतीको त विष्णुको हातबाट फुत्केर शिवको हातमा पर्न गयो । अब भने अहङ्कारी दक्षले विष्णुले शिवलाई आफ्नो पाश्र्वमा राखेको रहस्य बुझ्यो ।

विष्णुको यो कपट चाल बुझेको अहंकारी प्रजापति दक्ष क्रोधले ज्वालामुखी बनेर अन्धो हात्तीझैँ बौलाएर चिच्याउन थाल्यो- "तिमी दुष्ट कपटी विष्णु ! तिमी अत्यन्त नीच पाखण्डी रहेछौ तिमीले आज छल गरेर मेरी अत्यन्त वैभव सुख शयलमा पालिएकी अनन्य सुन्दरी, सुशील कन्यालाई यस्तो आमाबाबु घरबास, थितिथलोको ठेगान नभएको शमशानवासी, सर्वभक्षी, गँजडी, भँगेडी, बौलाहा, विरूपाक्षको हातमा परिदियौ । तिमी महापापी हौ ।

तर कपटको विवाहलाई स्वीकार गर्दिन, म तिमीलाई श्राप -दण्ड) दिन्छु । तिमी... तर बाबुको अन्धो क्रोधलाई देखेर बुद्धिमती सतीले शान्त संयमित स्वरमा भनी बाबा ! मलाई आज नियतिले नै यस्तो गराएको छ । हजुरले र हामीले स्वीकार नगरे पनि शास्त्रोक्त विधि र समाजले त यसलाई नकार्न सक्दैन । तपाईं शान्त हुनुहोस्, छलकपटले भए पनि राजीखुसीले भए पनि मेरो विवाह देव शिवसँग भइसक्यो । जे छन्, जस्ता छन् मैले यिनैलाई आफ्नो पति, आफ्ना स्वामी मानिसकें । अब यसमा अन्यथा हुन सक्दैन ।

छोरीको यति बुद्धिमत्तापूर्ण कुरा सुनेर आमा विरणीले पनि लोग्नेलाई सम्झाउन प्रयत्न गरिन् तर छोरीको दृढ विचार र पत्नीको त्यसमा समर्थन देखेर अहंकारी प्रजापति -राजा) झन् नै उग्र भयो । ऊ अवज्ञा अपमानबोधको पीडाले तिलमिलाउँदै पुच्छर कुल्चिइएको विषधर साँप -गोमन)झैँ फुँकार्दै सुसायो- "ओहः तँ तँ मेरी छोरी । यति निर्लज्ज भएर मेरो इच्छाविपरीत यो बौलाहाको पक्ष लिएर यसैको साथमा जान उद्यत हुन्छेस् भने आजदेखि तेरो र मेरो सम्बन्धको अन्त्य भयो । जा, यसै बौलाहा भिखारीसँग ।

"तर यौटा अर्को कुरा सुनेर जा । मेरो यो अगाध सम्पत्ति, शक्तिशाली राज्यको उत्तराधिकारबाट वञ्चित हुनुपर्छ । मेरो यो अकुत सम्पत्तिबाट तैँले एउटा फुटेको खपटो पनि पाउन्नस् ।"

विष्णुले पनि दक्षको त्यो अहंकार त्यो क्रोध देखेर अब त्यहाँ बसिरहनु उचित देखेन । ऊ आफ्ना सम्पूर्ण लावालक्सर -जन्ती) लिएर आफ्नो राज्यमा फक्र्यो । अनि सती पनि आमासँग बिदा भएर बाबुलाई नमस्कार गरेर आफ्ना स्वामी शिवको हात समातेर त्यहाँबाट प्रस्थान गरी । शिवले उसलाई अगि लाएर हिमालको सुन्दर काखमा बसेको आफ्नो शिकार क्षेत्रमा लिएर गयो ।

त्यस रमणीय शिकारगाहको एक छेउमा उभिएको यौटा जीर्ण छाप्राको आँगनमा लगेर शिवले निर्दोष स्वरमा भन्यो- "कल्याणी सती ! लौ हाम्रो घर यही हो । हुन त तिमी आफ्ना पिताको अपार वैभवको मनोरम विलाश पुष्करिणी -तलाउ) मा क्रीडा गर्दै भव्य राजप्रासादमा हुर्की बढी, खेली खाई आएकी यो म जोगीको जीर्ण छाप्रोमा के मन लाग्दो हो तर के गछ्र्यौ । तिम्रो नियति र मेरो तपस्याले गर्दा यस्तोमा पार्‍यो । अब जे जस्तो छ, त्यसैमा सन्तोष गर ।"

पहिले त राजमहिषी सती बाबुको भव्य महल र त्यहाँको दिव्य भोग सम्झेर अत्यन्त दुःखी भै । उसका आँखा रसाए तर आफ्नो नियति सम्झेर उसले पिंढीको कुनामा ठडिएको खरेटो -कुचो) उठाएर छाप्रोभित्र पर चौतर्फी जेलिएका माकुरोका जालाहरू हटाउन थाली उसको सम्पूर्ण क्रियाकलापलाई गहिरोसँग हेरिरहेको शिवको मन एक्कासि द्रवित भएर आयो । उसलाई सतीमाथि अत्यन्त माया र दया लागेर आयो । स्वरमा करुणाको मीठो ध्वनि साँधेर उसले भन्यो- "पख सती । दुःख नगर । हाम्रो घर यो होइन । यो त शिकारमा आउँदा कहिलेकाहीँ रात पर्दा रात बिताउनु भनेर बनाएको अस्थायी छाप्रो हो । हाम्रो घर त ऊ त्यो हो ।"

उसले उत्तर शिरमाथि सन्ध्याको सुनौलो घाममा अमोल रत्न जवाहरात जडित स्वर्णमुकुटझैँ चम्किइरहेको कैलाश शिखरको दर्शन गरायो । सतीले यसलाई शिवको ठट्टा ठानेर सोच्न थाली- यो मेरा बाबुको भन्दा पनि भव्य र सम्पन्न देखिने दरबार कुन राजाको

होला ?

यो कैलाश दरबार उसलाई समुद्रमन्थनबाट निस्किएको त्रिलोक दग्धकारी कालकूट विषलाई आफैँले कण्ठमा धारणा गरेर चराचरको रक्षा गरेकोमा कृतज्ञ भएर देव-दानव र मानवका विविध समाज समूहले देवाधिदेव नीलकण्ठ शिवको सर्वोच्च उपाधिसहित सम्पूर्ण किराँत प्रदेशको राज्य सुम्पिंदा उपहारमा चढाएका थिए ।

शिवले बडो प्रेमले पत्नीको हात समातेर कैलाश दरबारमा प्रवेश गरायो । अनि त्यहाँ शिवका नन्दीभृङ्गी आदि र भूत, प्रेत, पिशाच र यक्ष गन्धर्व, किन्नर नाग जातिका असङ्ख्या पार्षद -सेवक) हरूद्वारा पुजिँदै सेविंदै धेरै कालसम्म कैलाश परिसरको अति सुन्दर र भव्यकञ्चन जलपूर्ण मानः सरोवरमा आनन्द क्रीडामा बिताए । त्यस्तैमा एकदिन सतीले परैबाट अनेक रत्नमणि माणिक्यका गहना गुटियाले झरिझुट्ट भएर दिव्य यानमा सवार भएर दक्षिणतिर गइरहेका अनेक देव देवाङ्गनाहरूलाई देखि । अलि गौरसँग हेर्दा उसले चिनी यी त देवसमूहसँग विवाह भएका आफ्नै बहिनीहरू र उनीहरूका पतिहरू थिए ।

यसरी कतै जान लागेका आफ्ना बिहनी, बहिनी ज्वाईंहरूलाई देखेर सतीको मनमा । एउटा खुल्दुली मच्चियो । यी मेरो बहिनीहरु आफ्ना स्वामीहरूका साथमा कुनै भव्य समारोहमा जान लागेझैँ कहाँ जान लागेका ? मलाई किन थाहा नदिएका ? उसको मनमा अनेक जिज्ञाशाका तरङ्गहरू उठ्न थाले ।

अनि त्यसैको जवाफमा आएझैँ गरी त्यहाँ डुलुवा नारदमुनि उभिन आइपुग्यो । सतीलाई अलि चिन्तित देखेर उसले सोध्यो- "माते ! हजूर अलि चिन्तित झैँ देखिनुहुन्छ । के कुरा पर्‍यो त्यस्तो ?"

"नारद जी ! तपाईंत तीन त्रिलोक चौधै भुवन निर्वाध चहारेर हिँड्नुहुन्छ । तपाईंलाई सबै कुराको एक एक सूचना रहन्छ । यी स्वयं मेरा बहिनीहरू र ज्वाईंहरूसहितको सम्पूर्ण देवगण लावालस्कर लिएर कहाँ जान लगेका होलान् ? मलाई बडो खुल्दुली मच्चिएको छ । यसको समाधान गर्न तिमी अवश्यै समर्थ छौँ । भन कहाँ कस्तो मेला समारोहको अनुष्ठान हुँदैछ ।"

"मात ! के हजुरलाई थहा छैन

र ? हजुरका बाबा प्रजापति दक्षले धुमधाम ठूलो यज्ञ गर्दै हुनुहुन्छ के हजुरलाई सूचना गर्नुभएन ? यो कसरी सम्भव भयो ?" नारदको कुरा सुनेर सतीका मनमा महाभूकम्प गयो । मस्तिष्कमा अनेक तर्क-वितर्क चल्न थाले । पक्कै उसलाई पिताले डाक्न बिर्सनुभो होला । उसले शिवसँग बिन्ती गरी- "स्वामी मेरो बाबाकहाँ ठूलो यज्ञ समारोहको आयोजना भएको रहेछ । मेरा बाबाले मलाई डाक्न बिर्सनुभएछ । म जान्छु, मलाई आज्ञा दिनुहोस् ।

शिवले हाँसेर भन्यो- "प्रिय ! तिम्रा बाबाले तिमीलाई बिर्सिएर होइन जानीजानी नबोलाएका हुन् । तिमी त्यसै पनि परित्यक्ता छोरी अनि म मन नपरेको ज्वाईं । त्यसैले जानीजानी हामी ननिम्तिएका । जाने कुरा नगर । नबोलाएको ठाउँमा जाँदा अपमानित होइन्छ । जाने कुरा नगर ।"

"माइतीले नबोलाए पनि छोरीचेलीले आफ्नो माइतीघर जानमा अपमानित होइन्न म त जान्छु ।" सतीले लाख सम्झाउँदा पनि मानिन र ऊ दक्ष दरबारमा गै र बाबासँग आफूलाई नबोलाएकोमा गुनासो गरी - "बाबा ! तपाईंको यज्ञको महायज्ञमा स्वर्ग-मत्र्य-पाताल तीनै लोकका पाहुनाहरू र मेरा बहिनीहरूलाई पतिसमेत बोलाइँदा म एउटी मात्र किन छुटाइएँ ? किन मलाई मात्र बिर्सनुभएको ? म त्यतिसारो अपहेलित किन हुन पुगें ? म छोरी त हुँ नि !"

"चित्त नदुखा छोरी ! मैले तँलाई उपेक्षा गरेर नबोलाएको पनि होइन र बिर्सिएको पनि होइन तर के गर्नु ? यत्रा-देव-दानव-मानव समाजका बडेबडे प्रतिष्ठित पाहुनाहरूका बीचमा तेरो त्यो अघोरी बहुला न कुलगोत्रको ठेगान भएको, आमाबाबुकै ठेगान नभएको त्यस्तालाई कसरी बोलाउनु भनेर उसलाई बोलाउन सकिएन । अनि तलाई मात्र बोलाउँ भने त्यो निर्लज्ज बहुरूपी पछि लागेर आइदेला भनेर नै तँलाई पनि नबोलाएको । तँ आफ्नी छोरी । तँ आइहालिस । मलाई पनि सन्तोष भयो, तेरो पनि आफ्नी आमा सारा बहिनीहरू, आफ्ना सँगिनी-सहेलीहरूसँग भेट हुने भयो धित मारेर कुराकानी-भलाकुसारी हुने छँदैछ । त्यसैले तँ अन्यथा नमान् ।"

यत्रो हिमाच्छादित कैलाश शिखरदेखिका किराँतप्रदेशमा पूज्य, अधिपति, देवाधिदेव पदवीबाट विभूषित, शान्त, सरल, अत्यन्त दयालु सदैव निर्धा, शोषितपीडित जनताको पक्षमा उभिएर दुष्ट अहङ्कारीहरूको दमन गर्न तत्पर, देवदानव र मानवमा फरक नगरी समान न्याय गर्ने, भेदभावरहित समानरूपले दण्ड र पुरस्कारले न्याय गर्ने आशुतोष शिव, आफ्ना प्रिय स्वामीको आफ्नै बाबुले गरेको घोर निन्दालाई सहन नसकेर देवी सतीले आफ्नै बाबुको यज्ञकुण्डको धकधकाउँदो अग्नि ज्वालामा समाहित प्राण विसर्जन गरी ।

यो अप्रत्यासित बिघ्न पर्दा साह्रा, देवदानव, मानव, निम्तालु, पाहुनाहरूमा हाहाकार मच्चियो । अब के उपद्रो हुनेहो भन्ने शङ्काले धेरै पाहुनाहरूमा भीषण आतङ्क मच्चियो । अधिकांश निम्तालुहरू जता गोडाले डोर्‍याएछ उतै आँखा चिम्लेर भागाभाग गर्नथाले । यसरी तँछाडमछाड गर्दै भागाभाग गर्दा एकआपसमा जुधेर लडेर एकअर्काको गोडामुनि दबेर घाइते भए । नारी र बालबालिकाहरूको रुवाबासीले दिगन्त थर्कियो ।

तर त्यसैबेला अर्को उत्पात मच्चियो । एक्कासि मेघ गर्जनसहित मुशलधारे पानी बर्सेर बाँकी प्रज्वलित यज्ञाग्निलाई पनि निभाइदियो र बाँकी बचेका वरिष्ठ पाहुनाहरू र परिमार्जन मिलेर फेरि अग्नि प्रज्वलित गराएर यज्ञको आहुति दिने प्रयत्न गर्न थाले ।

अर्कोतिर कैलाश दर्बारमा चिन्तित हुँदै मनमा अनेक शङ्का उपशङ्काका गरिरहेको महादेव शिवको अगाडि एक्कासि ऋषि नारद पुगेर दक्षयज्ञमा भएको हृदयविदारक दुर्घटना र सतीको देहत्यागको खबर सुनायो । यसरी महा अभिमानी दक्षद्वारा आफ्नो घोर निन्दा भएको र त्यो निन्दा सहन नसकी आफ्नी पि्रयतमा सतीले यज्ञकुण्डमा हाम्फाली प्राण त्यागेको चित्रात्मक वर्णन सुनाए पछि शिवले रुद्ररूप धारण गर्‍यो उसको तेस्रो आँखाबाट प्रलय ज्वाला निस्किएर तीनैलोक भष्म गरौँलाझै भयो ।

अनि उसले आफ्नो अति पि्रय र आज्ञाकारी पार्षद् महावली वीरभद्र किरातीलाई बोलाएर दिगन्त थर्काउने गर्जन गर्दै आज्ञा दियो- "वीरभद्र ! आज महादुष्ट प्रजापति दक्षले मेरी प्राणेश्वरी देवी सतीको बीभत्स हत्या गर्‍यो । तँ तुरुन्त आफ्ना केही सैन्य लिएर त्यो यज्ञस्थलमा गएर त्यसको कलुषित यज्ञलाई विध्वंश गरेर आइज ।"

शिवको आज्ञा सुनेर वीरभद्र किराँती आफ्ना चुनिएका किराँती फौजलाई लिएर यज्ञस्थलमा गएर त्यहाँ बाँकी रहेको यज्ञ समारोहलाई तहस नहस पार्‍यो । दक्षका लडाकु देव-सैन्यहरूलाई ध्वंस गर्‍यो । अनि अन्त्यमा दक्ष स्वयंलाई उसैले आयोजना गरेको अग्निकुण्डमा होमेर मारिदियो ।

यो महा विनाश देखेर आफ्नो पतिको त्यति बीभत्स अन्त्य भएको आफ्ना राज्य सेनाको विनाश भएको देखेर दक्ष पत्नी विरणी अत्यन्त कातर भएर विलाप गर्दै वीरभद्रका अगाडि नतमस्तक प्रार्थना गर्न थाली- "महावली वीरभद्र । मेरो पति महाअभिमानी हुँदा आज उसको यति भीषण अन्त्य भयो तर म निर्दोष नारी आज अनाथ भएँ । मलाई यसरी नारकीय बैधव्य जीवन बाँच्न नछोड्नोस् । म या त मेरो स्वामीलाई जीवनको वरदान दिएर प्राण दान देऊ, कि त मलाई पनि उनैको सँगै मृत्यु देऊ ।"

विरणीको यो कातर विलापले वीरभद्रको मन पग्लियो । हो त यसको लोग्ने दुष्ट र पशुथियो । उसको विनास् हुनै पथ्र्यो, भयो तर लोग्नेको अपराधका लागि यस निर्दोष नारीले दण्ड पाउनु त मनासिप थिएन तर के गर्ने । यसको मुख्य शिर नै अग्निीमा डढेर भष्म भइसक्यो । अब पुनर्जीवन दिन तत्पर भयो ।

तर दक्ष्यको शिर त यज्ञकुण्डमा जलेर भष्म भइसकेको थियो । त्यसैले यज्ञमै बलिदिएको पशु -बोको) को टाउको लिएर दक्षको गर्दनमा हिमाली संजीवनी बुटीको लेप दलेर जोडिदियो ।

तर जोड्दा मुखकण्डा -पछाडि) तिर पर्न गएछ । त्यसैले प्रजापति दक्ष्य पशुको उल्टो टाउको भिरेर जीवनभर पशु बोली बोल्दै पशुतुल्य भएर आफ्नो अहङ्कारको फल भोग्दै प्रायश्चित गर्दै बाँची रहृयो तर उसको प्रायश्चित आजका हाम्रा राजनेताहरूको जस्तो हात्तीको देखाउने दाँतजस्तो मात्र थियो । त्यसले उसको अहङ्कार नाम संसारका अभिमानी, अहङ्कारी दुष्ट प्रजापित

-राजा महाराजाहरू, बाँचेर निमुखा निरीह जनता जनार्दनमाथि निरङ्कुश निर्मम शासको तण्डब चलाइरहेछ ।

-२०६५ मङ्सिर

(साभार: मधुपर्क मासिक
पुस २ गते स्वर्गीय हुनुभएका वरिष्ठ साहित्यकार रमेश विकलको प्रस्तुत कथान्यास अन्तिम सिर्जना भएको अवगत गराउँदछौँ । -सम्पादक/मधुपर्क मासिक)

Segments: 
Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom