Loading

भाषाको राजनीति/दिल साहनी

भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ ।

तराईमा जनगणना भइरहेको अवस्थामा केही मधेसवादी दलहरूले मैथिली, भोजपुरी, अवधि, थारू मातृभाषा हुने नेपाली नागरिकलाई जबर्जस्ती हिन्दी भाषालाई मातृभाषाका रूपमा लेख्न लगाएको र त्यसको प्रतिरोध त्यहाँका जनताले गरेको कुरा प्रचारमा आएको छ । यस घटनाले मेरा मनमा अनेक तरंग पैदा गर्‍यो । यिनै मधेसवादी दलहरूले खस शासकहरूले मधेसी जनता र जनजातिमाथि जबर्जस्ती खस (नेपाली) भाषा थोपरेको आरोप लगाइरहेको अवस्था छ । तर, फेरि यिनै मधेसवादी दलहरूले मधेस तराईका मैथिली, भोजपुरी, अवधि, थारूभाषी नेपाली नागरिकलाई जबर्जस्ती हिन्दी भाषा थोपर्ने दुस्साहस गरेका छन् । यसको प्रतिरोध हुनु स्वाभाविक कुरा हो । हिन्दी वास्तवमा तराईका जनताको मातृभाषा होइन । साँच्चै कुरा गर्ने हो भने भारतमा पनि हिन्दी मातृभाषा हुने समुदाय पाउन गाह्रो छ । उत्तर प्रदेश, मध्य प्रदेश र बिहारलाई हिन्दीभाषी क्षेत्र भनिन्छ । तर, यहाँका जनताहको आ-आफ्नै मातृभाषा छन् । मैथिली, भोजपुरी, अवधि आदि यहाँका जनताका मातृभाषा हुन् । हिन्दी त दिल्लीको नजिकै मेरठको वरिपरि बोलिने भाषा मानिन्छ । तर पनि यो कसको मातृभाषा हो भन्न गाह्रो छ ।

महात्मा गान्धीले अरू भाषाको तुलनामा हिन्दी सरल भएको हुनाले यसलाई भारतको राष्ट्रिय भाषा बनाउनुपर्दछ भने । यो कुरा ठीक हो अरू भारतीय भाषाको तुलनामा हिन्दी अति सरल भएको हुनाले यो धेरैले सजिलै बुझ्दछन् । तर, यो कुरा पनि साँचो हो भारतमा हिन्दी पटक्कै नबुझ्ने भारतीय नागरिकको संख्या पनि कम छैन । भारत सरकारले हिन्दीलाई राष्ट्रभाषाको दर्जा दिएको छ । हिन्दीलाई राष्ट्रभाषाको दर्जा दिइसकेपछि भारत सरकारले यसलाई भारतको लेखापढीको भाषा बनाउने प्रयास नगरेको होइन । तर पश्चिम बंगाल र खासगरी दक्षिण भारतमा तमिल, तुलेगु, मलयलम र कन्नड भाषा बोल्ने भारतीय जनताले हिन्दी भाषाको चर्को रूपमा विरोध गरेको र कतिले त आत्मदाहसम्म गरेको अवस्था भएको हुनाले भारत सरकारले घोषणा गरेको थियो । जबसम्म स्वयं भारतीय जनताले हिन्दीलाई राष्ट्रभाषाका रूपमा स्वीकार वा माग गर्दैनन् तबसम्म उनीहरूमाथि यो भाषा जबर्जस्ती लादिने छैन । यतिवेला भारत सरकारले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउन पैसाको खोलो बगाएको छ । तर पनि उसले घोषित रूपमा त्यसलाई लागू गर्ने हिक्मत गरेको छैन । यो सम्भव पनि छैन । भारतको यस्तो अवस्थाबाट पटक्कै अनभिज्ञ नरहेका मधेसवादी दलहरू आफ्नो मातृभाषालाई लत्याउँदै हिन्दी भाषालाई जबर्जस्ती थोपर्ने जमर्को गर्दै छन् ।

यस प्रसंगमा मलाई आसामको जनगणनाको सम्झना हुन्छ । आसासमा आजभन्दा झन्डै चार दशकअघि पचास लाखभन्दा बढी नेपाली छन् भन्ने गरिन्थ्यो । तर, त्यहाँको जनसंख्याले आसाममा नेपालीभाषी नेपालीको संख्या मुस्किलले दुई लाख पनि पुग्दैनथ्यो । मलाई त्यतिवेलाका नेपाली नेताहरू (अहिले उनीहरूले आफूलाई गोर्खाली भन्न थालेका छन्) ले भन्ने गर्दथे सरकारले जनगणना गर्दा नेपाली मातृभाषा भएका नेपालीको पनि मातृभाषा आसामी भाषा बनाइदिएको हुनाले उनीहरूको जनसंख्या थोरै देखिएको हो । हुन सक्दछ कुनै-कुनै नेपालीले आफ्नो मातृभाषा स्वेच्छाले नै आसामी लेखाइदिएका होलान् । तर, धेरैजसो नेपालीको मातृभाषा सरकारले सचेत रूपले नै आसामी लेखाइदिएको थियो । यसमा कुनै शंका छैन, थिएन ।

यसै प्रसंगमा मैले आजभन्दा झन्डै तीन दशकअघि राजधानीमा भएको भाषाविज्ञानको सम्मेलनमा डा. कमलप्रकाश मल्लले आफ्नो कार्यपत्रमा नेवारी भाषाको बारेमा बोलेका कुरा स्मरण गर्दछु । उनले भाषा सम्बन्धमा समानताको दृष्टिकोण कम्युनिस्टहरूले अवलम्बन गर्ने भनिए पनि नेपालमा त्यस्तो कुरा नपाइको गुनासो गरेका थिए । यसमा मलाई उनले भाषा सम्बन्धमा कम्युनिस्टको दृष्टिकोण राम्ररी नबुझेको जस्तो लाग्यो । हुन त भाषा सम्बन्धमा कम्युनिस्टहरूको कस्तो दृष्टिकोण हुन पर्दछ भन्ने सम्बन्ध जति लेनिन र स्तालिनले चर्चा गरेका छन् त्यति अरू कसैले चर्चा गरेका छैनन् होला । स्तालिनको त भाषाविज्ञानसम्बन्धी पुस्तक नै प्रकाशित छ । लेनिनले भाषा सम्बन्धमा कम्युनिस्टहरूको नीति वा दृष्टिकोण प्रस्ट पार्दै भनेका कुरा हुन्—

भाषा कसैले पनि थोपर्ने र थोपर्न सक्ने विषय होइन । भाषा स्वेच्छाले ग्रहण गर्ने कुरा हो । जनताले त्यही भाषा प्रयोग गर्दछन् जुन भाषा प्रयोग गर्दा उनीहरूको बन्द-व्यापार, उद्योग-धन्दा वा कारोबार राम्ररी चल्न सक्दछ । हुन पनि हो मारवाडी जहाँ गएका छन् उनीहरूले आफ्नो बन्द-व्यापार वा उद्योग-धन्दा त्यहाँको स्थानीय भाषा प्रयोग गरेर नै काम चलाएका छन् । दार्जिलिङमा मारवाडीले नेपाली भाषा बोले भने दार्जिलिङका नेपालीले जस्तै बोल्दछन् । त्यस्तो नेपाली नेपालका नेपालीले पनि बोल्न सक्दैनन् । फेरि नेपालका मारवाडीले नेपाली भाषा बोले भने उनीहरूले कुनै पहाडी नेपालीले बोलेभन्दा खासै फरक बोल्दैनन् । त्यसरी नै हामीले देख्न सक्दछौँ आसामका मारवाडीहरूले आसामी भाषा कुनै आसामीभाषीले भन्दा कम बोल्दैनन् । आसामले त आसामी भाषामा मारवाडी कविसमेत पाएको छ । आसाममा नेपाली वस्तीमा बस्ने मारवाडीले नेपाली भाषा बोलेर नै आफ्नो बन्द-व्यापार चलाएका हुन्छन् । म यही कुरा मुस्लिम समुदायमा पाउँछु । मुस्लिमहरू धर्ममा कट्टर हुन्छन्, तर भाषामा हुँदैनन् । बंगाली मुसलमान बंगाली भाषा बोल्दछन् । बिहारी मुसलमान बिहारी भाषा बोल्दछन् । आसामी मुसलमान आसामी भाषा बोल्दछन् । मणिपुरी मुसलमान मणिपुरी भाषा बोल्दछन् । चीजलाई यसरी हेर्दा भाषा सम्बन्धमा लेनिनले भनेका कुरा सोह्रै आना सही छन् । यद्यपि लेनिन कुनै भाषाविद् होइनन् । अर्को कुरा लेनिनको पालामा भाषाविज्ञानको खास विकास पनि भएको थिएन । भाषाविज्ञानको विकास दोस्रो विश्वयुद्धपछि मात्र द्रूत गतिमा हुन पुगेको हो ।

नेपालको जनगणना हुँदा खसभाषी शासकहरूले नेवारी भाषाप्रति अन्याय गरेको सम्बन्धमा डा. कमलप्रकाश मल्लले उठाएको सवाल निराधार भने अवश्य होइन । हुन पनि नेपाली खस शासकहरूले एक भाषा, एक धर्म र एक संस्कृतिको नीति लिएकै हुन् । यसले गर्दा नेपालको भाषाका फूलबारीमा फुलेका धेरै फूलहरू राम्ररी फुल्न पाएनन् । टाक्सिए । झरे । ओइलाए । निश्चय पनि जनगणनामा आसाम सरकारले जस्तै नेपाल सरकारले कति ठाउँमा सचेत रूपमा नै नेवारहरूको मातृभाषा नेपाली लेखाइदिएको हुन सक्दछ । आसाम दार्जिलिङ वा सिक्किमका नेवारहरूको मातृभाषा नेपाली भए पनि नेपालमा नेवारहरूको मातृभाषा नेवारी नै हो । आसाम दार्जिलिङ वा सिक्किमतिरका नेवारहरूले नेवारीभाषा नबोल्ने हुनाले उनीहरूले आफ्नो मातृभाषा नेपाली भन्नु ठीक हो । तर, नेपालको अवस्था त्यस्तो होइन । यति भएर पनि नेपालको पहाडी भेगमा बन्द-व्यापार गरेर बसेका नेवारहरू नेवारी भाषा जान्दैनन् । उनीहरू परस्परमा नेपाली भाषा नै बोल्दछन् । यसरी नेवारी भाषा नजानेर घर-परिवारको बीचमा पनि नेपाली भाषा नै बोल्ने नेवारहरूका नेपाली मातृभाषा हुनु स्वाभाविक हो । यस अर्थमा डा. कमलप्रकाश मल्लले लगाएको आरोप सोह्रै आना सही पनि होइन ।

मधेस तराईमा बस्ने नेपाली नागरिक घर-परिवार वा परस्परमा बोल्दा मैथिली, भोजपुरी, अवधि, थारू आदि भाषा बोल्ने हुनाले ती भाषा नै उनीहरूका मातृभाषा हुन् र ती भाषा नै उनीहरूको जनसंख्या हुँदा उल्लेखित हुनुपर्दछ । हो मधेस तराईका जनताले स्वेच्छाले मैथिली, भोजपुरी, अवधि आदि भाषा बोल्न छाडेर हिन्दीमा नै परस्परमा कुराकानी गर्न थाल्छन् भने उनीहरूले हिन्दीलाई मातृभाषाका रूपमा लेखाउनु गलत कुरा होइन । तर, मलाई के विश्वास छ भने आफूले दिनप्रतिदिन बोलिरहेको भाषा कसैले पनि कदापि बिर्सन सक्दैन । यसै प्रसंगमा मैले गोरखपुरमा प्रसिद्ध डाक्टर नरेन्द्रबहादुर सरकारीको सम्झना गर्न पुग्दछु । उनले एकपल्ट कुनै एक सन्दर्भमा भनेका थिएँ — म बेलायतबाट पढेर फर्केपछि भोजपुरी बोल्दा कतिले भने— कस्तो तपाईंले अझसम्म पनि भोजपुरी भाषा नबिर्सनुभएको ? मैले उनीहरूलाई जवाफ दिएँ— चार वर्ष बेलायतमा बसेँ भन्दैमा मैले के आमाको काखमा सिकेको भाषा बिर्सन सक्दछु । आफ्नी आमाको भाषा बिर्सन सक्दछु । मलाई लाग्दछ यतिवेला हाम्रा मधेसवादी नेताहरूले नेपाली जनतालाई आमाको काखमा बोल्ने गरेको भाषा बिर्सन भनिरहेका छन् । मलाई लाग्दछ मैथिली, भोजपुरी, अवधि, थारूलगायतमा कुनै पनि तराई मधेसमा बोलिने भाषालाई बिर्सन सकिन्न । लत्याउन सकिन्न । नेताले बिर्से-लत्याए पनि जनताले बिर्सन र लत्याउन सक्दैनन् ।

यसै सन्दर्भमा म कुनै वेला गुहाहाटी विश्वविद्यालयमा अंग्रेजी विभाग प्रमुख रहेका प्राध्यापक तथा आसामका प्रसिद्ध वाम चिन्तक डा. हेरेन गुवाईको भाषाबारेको भनाइ सम्झिन्छु । उनले आसामी भाषामा सम्पादन गर्ने पत्रिकामा लेखेका थिए—

जुन मान्छेले अर्काको भाषालाई माया गर्न सक्दैन उसले आफ्नो भाषालाई माया गर्दछु भन्नु झुटा कुरा मात्र हो । उनले यो कुरा आसामीभाषीहरूले आसाममा बंगाली भाषाको चर्को विरोध गरिरहेको प्रसंगमा भनेका थिए ।

नेपालमा एक सयभन्दा बढी भाषा जीवित छन् । कुनै भाषा त विलुप्त हुन थालेका पनि छन् । यो हाम्रो चिन्ता र चासोको कुरा हो । नेपालमा बोलिने सबै भाषा नेपालमा गहना हुन् । सम्पत्ति हुन् । हिन्दी भाषाप्रति पनि हाम्रो माया-ममता नै छ । अंग्रेजी भाषाप्रति पनि हाम्रो माया-ममता नै छ । वास्तवमा संसारका सबै भाषाप्रति हाम्रो माया-ममता नै छ र रहनेछ । हो जहाँसम्म भाषाको प्रयोगको कुरा छ त्यो लेनिनले भनेजस्तै कसैले कसैमाथि जबर्जस्ती थोपर्ने विषय होइन । यो स्वेच्छा र आवश्यकताले स्वयं जनताले ग्रहण गर्ने कुरा हो । भाषा समले भने जस्तै सारा उदय उन्नतिको मूल हो । भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ ।

[Source: NayaPatrika Daily]

Author: 

Comments