भानु महोत्सव

रासस/ दमौली, चैत २८ गते । राष्ट्रपति डा. रामवरण यादवले अहिले पनि राष्ट्रलाई एकतामा बाध्न भानुभक्तको प्रेरणा उत्तिकै आवश्यक भएको बताउनुभएको छ ।

चुँदी रम्घामा आयोजित भानु महोत्सवको सोमबार उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले सो कुरा बताउनुभएको हो ।

घाँसीको प्रेरणा पाएर रामायणजस्तो महाग्रन्थ लेख्ने भानुभक्तले देखाउनुभएको बाटो तमाम नेपालीले अवलम्बन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

पहाड र मधेसबीच मात्र नभई छिमेकी देशहरूबीच एकता र सद्भाव राख्न पनि आदिकवि भानुभक्तको प्रेरणा आवश्यक छ भन्दै राष्ट्रपति डा. यादवले रामायणलाई विभिन्न भाषामा अनुवाद गरिएपछि संस्कृतिको जगेर्नामा थप टेवा मिलेको बताउनुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि पनि अबको डेढ महिनामा शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने काम पूरा गर्न दलहरूलाई सुझाव दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्यको पुनः संरचनामार्फत नेपाली जनताको अधिकार सुरक्षित गर्न सकिने बताउँदै नेपालीको पहिचान जोगाउन भानु महोत्सवले सहयोग पुर्‍याउने बताउनुभयो ।

भानु जन्मस्थल विकास समितिका अध्यक्ष श्रीभक्त आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सभासद् भीमप्रसाद गौतम, राष्ट्रकवि माधव घिमिरे, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति तीलविक्रम नेम्वाङ, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रति, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेललगायतले भानुभक्तको योगदानबारे चर्चा गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति डा. यादवले भानु जन्मस्थल विकास समिति र महोत्सवमा राखिएका स्टलको निरीक्षण गर्नुभयो ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom